week 25

परिच्छेद २५

राजकुमार निकोलास आन्द्रेयेविच बोल्कोन्स्कीको जिमीदारी बाल्ड हिलमा हरेक दिन छोरा राजकुमार आन्द्रेइ वोल्कोन्स्की र उसकी श्रीमतीको आगमनको प्रतीक्षा भइरहेथ्यो । तर यो प्रतीक्षाले बुढा राजकुमारको घरको दिनचर्यामा कुनै फरक परेको थिएन । वडा जर्नेल राजकुमार निकोलास आन्द्रेयेविच, (जसलाई उच्च समाजमा प्रसियाका वादशाह भनिन्थ्यो)लाई सम्राट्पाउलले उनको आफ्नै गाउँमा निर्वासित गरिदिएपछि उनी आफ्नी छोरी राजकुमारी मेरी र उसकी सङ्गिनी, कुमारी बुर्येतसँग, अविच्छिन्न रूपमा त्यहाँ बस्दै आएका थिए र कहीँ पनि आउने जाने गर्दैनथे । यद्यपि नयाँ जार सुत्तारुढ भएपछि उनलाई राजधानीहरूमा फर्कन पाउने अनुमति दिइएको थियो तथापि जसलाई उनको आवश्यकता पर्छ मस्कोबाट बाल्ड हिल पहाडसम्मको एक सय माइलको यात्रा गरेर उही मान्छे नै उनलाई भेट्न आउन सक्छ भन्दै उनी गाउँमै बस्ने गरेका थिए र उनी आफ्नो लागि कुनै चिज र कुनै मानिसको सहयोगको आवश्यकता छैन भन्ने गर्थे । मानिसले गर्ने गल्तीका श्रोत दुइटा हुन्छन्‌- “आलस्य र अन्धविश्वास”, र त्यस्तै राम्रा कामका पनि दुइटा श्रोत हुन्छन्‌ “सक्रियता र बुद्धि” भन्ने उनको भनाइ थियो । आफ्नी छोरीको शिक्षादीक्षाको काम उनी आफैँले जिम्मा लिएका थिए र यी दुइटा मुख्य गुणहरू विकाश गर्नका लागि छोरीलाई उनले रेखागणित र बीजगणित पढाउँथे र उसको लागि यस्तो समयतालिका निर्धारण गरिदिएका थिए कि ऊ जति बेला पनि कुनै न कुनै काममा व्यस्त रहोस्‌ । उनी आफै पनि कुनै न कुनै काममा लागिरहेका हुन्थे । उनी आफ्नो संस्मरण लेख्थे, खराजमा नसदानी बनाउँथे, फुलबारी बगैँचामा काम गर्थे, निर्माणसम्बन्धी कामको निरीक्षण गर्थे र अङ्कगणितको समस्या हल गर्थे, जुन काम उनको जिमीदारीमा कहिल्यै सकिदैनथ्यो । किनकि कुनै पनि काम सुचारु रूपले चलाउन व्यवस्थित नियमितता पहिलो शर्त हुन्छ भने, त्यो नियमितता राजकुमारको घरायसी जीवनमा यथार्थताको चरम विन्दुमा पुर्याइएको थियो । खाना खान टेबुल-कुर्सीमा बस्दा पनि उनको जीवनमा यही अपरिवर्तनीय नियम लागू थियो । उनको समय एक घन्टा त के कुरा एक मिनेट पनि फरक पर्दैनथ्यो । आफ्नो छोरीदेखि नोकरचारकहरूसम्म वरपरका सबैसँग उनको व्यवहार त्यस्तै कडा थियो । उनी क्रूर हृदयका मानिस थिएनन्‌ तर उनले सबैको मनमा यस्तो डर र आदरको भाव उत्पन्न गरिदिन्थे कि जतिसुकै कठोर हृदय भएको मानिसले पनि त्यस्तो बसमा गर्न सक्तैनथ्यो । यद्यपि उनले सेवाबाट अवकाश प्राप्त गरिसकेका थिए र राजनीतिक वृत्तमा उनको कुनै प्रभाव थिएन तापनि यस प्रान्तमा नियुक्ति लिएर आउने जुनसुकै र जतिसुकै उच्च ओहदाको अफिसरले पनि एक पटक उनलाई भेटेर नमस्कार गर्नु आफ्नो कर्तव्य ठान्थ्यो । र अग्लो छानो भएको ठूलो खोपीमा उनको इन्जिनियर, माली वा खुद आफ्नै छोरीले जस्तै उनी नआउन्जेल तोकेको समयसम्म कुरेर बस्थे । यस खोपीमा बस्ने जोसुकै होस्‌ उनलाई आदर गर्ने मात्र होइन उनीसँग डराउँथे पनि । जब बैठकको विशाल ढोका खुल्थ्यो, पाउडर दलेको कृत्रिम कपाल लगाएको, सानासाना र शुष्क हात भएको, फुस्रो र घना आँखीभौँ भएको, पुड्कोपुड्को खालको एउटा बुढो मान्छेको स्वरूप देखिन्थ्यो, जसले कहिलेकाहीँ यस्तो फुर्ती देखाउँथ्यो कि उसका आँखीभौँहरूले उसको कुशाग्र बुद्धि भएको तथा जवान मान्छेका जस्ता देखिने आँखाको चमक कतै ओझेलमा पारिदिन्थे ।

राजकुमार आन्द्रेइ र श्रीमती आइपुग्ने दिन बिहान राजकुमारी सधैँझैँ आफ्नो बुबालाई बिहानको अभिवादन गर्न बैठकमा गई । उ त्यत्तिकै डराएर क्रसको निसाना बनाउँदै र मनमनमा प्रार्थना गर्दै जान्थी । प्रत्येक दिन बिहान ऊ यसै गरी जाने गर्थी र दिनदिनको अन्तर्वार्ता सफल होस्‌ भनेर प्रत्येक बिहान उसले भगवानसँग प्रार्थना गर्थी ।

बैठकमा बसिरहेको पाउडर घसेको एउटा बुढोनोकर विस्तारै उठ्यो र सुस्तसुस्त भन्यो, “कृपा गरेर भित्र आउनुहोस्‌ ।”

ढोकाबाहिरबाट खराज चलेको आवाज लगातार आइरहेको थियो । राजकुमारीले डराइडराई ढोका खोली, जुन ढोका सजिलैसित विनाआवाज खुल्यो । ऊ सँघारमा अडिई । राजकुमार खराजमा काम गर्दै थिए । उनले मुन्टो फर्काएर यसो छोरीतिर हेरे र फेरि आफ्नो काममा लागे ।

निरन्तर रूपमा प्रयोग भइरहने त्यो विशाल कोठा मालसामानले भरिभराउ थियो । किताबको थुप्रो विभिन्न सारिणीबद्ध कार्यविवरण ताल्चा लगाइएका र ऐना भएका ठूल्ठूला किताबका दराजहरू, उभिएर लेख्न मिल्ने कापी राखिएको अग्लो डेस्क र तह मिलाएर राखिएको औजारहरूसहितको खराज तथा जताततै छित्रिएको रण्डा लगाएर राखिएका काठका पातला चिराहरू- यी सबैले यहाँ लगातार, विविधतापूर्ण र परिपाटी मिलाएर कामकार्वाही गरिँदो रहेछ भन्ने अवस्थाको बोध गराउँथे । चाँदीको जरी भरेको कुनै असभ्य मान्छेले लगाउने जस्ता बुट लगाएको, सानासाना पाउको चाल र नशा फुलेको पातला हातको दृढ चापले यो बुढेसकालमा पनि राजकुमारको शारीरिक शक्ति र कार्यक्षमता दृढ र सञ्चित रहेछ भन्ने कुरा प्रष्ट रूपमा देखिन्थ्यो । अरू केहीबेर खराज घुमाएपछि उनले पाउदानबाट खुट्टा झिके, राँबो पुछे, त्यसलाई खराजमा झुण्डिएको छालाको थैलोमा राखे र कुर्सीनजिक आएर छोरीलाई आफूसँग बोलाए । उनी आफ्ना छोराछोरीलाई कहिल्यै आशीर्वाद दिँदैनथे सो उनले (नकाटेको हुँदा) दारीको ठूटा भएका आफ्ना गाला छोरातिर बढाउँदै, उसलाई कठोरतापूर्वक, ध्यानपूर्वक र स्नेहपूर्वक हेर्दै भने :

“सन्चै छौ होइन, ल. बस,” उनले आफैले लेखेको रेखागणितको अभ्यासपुस्तिका लिएर खुट्टाले एउटा कुर्सी घिसारे ।

“पर्ख त्‌ छोरी, तिम्रो एउटा चिठी आएको छ,” राजकुमारले अचानक टेबुलमाथि झुण्डिएको झोलाबाट कुनै महिलाले लेखेको एउटा चिठी निकालेर टेबुलमा पसार्दै भने ।

चिठी देख्नेबित्तिकै राजकुमारीको अनुहार आफ्सेआफ रातो भएर आयो । उसले हत्तपत्त चिठी हातमा लिई र टाउको निहुर्याएर हेर्न थाली ।

“हेलोइसीबाट आएको होइन ?” राजकुमारले आफ्ना बलिया तथा प्रहेँला दाँत देखाउँदै र एउटा मुस्कान छोड्दै सोधे ।

“हो, जुलीले पठाएकी,” डराइडराई हेर्दै र डराइडराई मुस्कुराउँदै राजकुमारीले जवाफ दिई ।

“म तिमीलाई अरू दुइटा चिठी दिन्छु तर तेस्रो चाहिँ म आफै पढ्छु,” राजकुमारले कठोर हुँदै भने । “फाल्तु कुरा लेखेर पठाएकी ,रहिछौँ झैँ लागेको छ मलाई । त्यसै भएर तेस्रो चिठी म आफैँले पढ्न लागेको हुँ ।”

“तपाईंलाई पढ्न मन लाग्छ भने, पढ्नुहोस्‌ बुबा,” झन्‌ बढी लजाएर चिठी दिदै राजकुमारीले भनी ।

“यो होइन, मैले भनेको तेस्रो चिठी हो,” त्यो चिठी एकातिर हुर्याउँदै राजकुमार एकदमसँग चिच्याए र कुर्सीमा कुँहनो टेकाएर ज्यामितिका सूत्रहरू भएको कापी आफूतिर ताने ।

“लौ त, महारानी,” छोरीतिर भएको किताबमा झुक्दै र ऊ बसेको कुर्सीपछाडि हातको अडेस लगाएर राजकुमार भन्न थाले । राजकुमारीले जमानादेखि अनुभव भइरहेको आफ्नो बाबुको बुढ्यौली र तमाखुको तिखो गन्धले आफू चारैतिरबाट घेरिएको थाहा पाई । “हेर, महारानी,” यी त्रिकोणहरू बराबर छन्‌ । अब ख्याल गर कियो कोण एबीसी…….. ।”

राजकुमारीले डराइडराई चम्किरहेका आफ्ना बाबुका आँखानजिकै गएर हेरी । उसको अनुहारमा राताराता लाली उठ्ने र हराउने गर्न थाले । यो स्पष्ट थियो छि उसले केही पनि बुझेकी थिइन र ऊ यति डराएकी थिई कि उसको बुबाले जत्तिसुकै सजिलोसँग बुझाउन प्रयास गरे पनि उसंको मगजमा केही पनि घुस्दैनथ्यो । यो गल्ती गुरुको हो वा चेलीको हो थाहा भएन तर हरेक दिन यो प्रक्रिया दोहोरिइरहन्थ्यो । राजकुमारीका आँखा धमिला भएर गए । उसले न केही देखिरहिथी न केही सुनिरहिथी । उसले खालि आफ्नो अति बिघ्न कडा बाबुको ओइलाएको आफूनजिकैको अनुहार, उसको स्वास र गन्ध मात्र थाहा पाउँथी । उसलाई जति सक्यो छिटो यहाँबाट उम्केर आफ्नो कोठामा जाने र ठन्डा दिमागले सूत्रहरू हल गर्ने मात्र ध्यान रहन्थ्यो । बुढाको रिस थामी नसक्नु भएको थियो । उनी आफू बसेको कुर्सी घरि अगाडि घरि पछाडि घिसार्थे, आफूलाई नियन्त्रण गर्ने प्रयास गर्थे । उनी साह्रै अर्घलो हुन् त चाहँदैनथे तर सधैँजसो रिसाएर आगो हुन्थे, जथाभावी भन्थे र कहिलेकाहीँ त किताब-कापी नै एकातिर हुर्याई दिन्थे ।

राजकुमारीले दिएको उत्तर मिलेन- गल्ती भयो ।

“बुद्धि नभएकी केटी,” किताब-कापी हटाएर एकातिर फन्किदै उनी चिच्याउँथे । तर उत्तिखेरै उठेर आफूलाई शान्त तुल्याउने प्रयास गर्थे, माया गर्दै छोरीको कपाल सुमसुम्याउँथे र फेरि आफ्नो ठाउँमा आएर बस्थे ।

राजकुमार बुढाले कुर्सी समातेर अगाडि सारे र छोरीलाई विस्तारै बुझाउन लागे ।

“यस्तो गरेर काम चल्दैन, राजकुमारी यसो गरेर हुँदैन,” राजकुमारी मेरी किताब-कापी लिएर बन्द गर्दै भोलिको पाठ लिएर जान लाग्दा राजकुमारले भने “हेर्नुस्‌ महारानी, गणितशास्त्र भनेको एउटा महान्‌ विद्या हो । म तपाईंलाई अरू मूर्ख महिलाहरूजस्तो भएको देख्न चाहन्नँ । प्रतीक्षाको फल मीठो हुन्छ, उनले व्यङ्ग्य गर्दै भने – अलिकति कोसिस गर तिमीलाई आफै रस बसेर आउँछ ।” उनले छोरीका गाला थपथपाए । “त्यसपछि तिम्रो दिमागका फाल्तु कुराहरू आफै हराएर कतै जाने छन्‌ ।”

राजकुमारी फेरि हिँड्ने सुर गरी तर बुढाले उसलाई इशारा गरेर रोके र अग्लो टेबुलबाट एउटा नयाँ पुस्तक उठाए, जसका पानाहरू अझैसम्म खोलिएका थिएनन्‌ ।

“यहाँ तिम्रो जुलीले तिमीलाई पठाएको केही गाँठी कुरा छन्‌ । धर्मसम्बन्धी रहस्यहरू । म कसैको आस्थामा हस्तक्षेप गर्दिनँ । मैले यो हेरिसकेको छु । यो लेऊ । र अब तिमी गए पनि हुन्छ ।”

उनले छोरीका गालामा थपथपाए र ऊ गएपछि आफैले उठेर कोठाको ढोका बन्दगरे ।

राजकुमारी मेरी उदास र भयपूर्ण अनुहार लिएर आफ्नो कोठामा फर्की । उसको अनुहारमा यस्तो भाव धेरैजसो हुने गर्थ्यो र यस बखत त्यो झन्‌ बढेर गयो । ऊ लघुचित्रहरू राखेको आफ्नो लेखेर बस्ने कुर्सीमा गएर बसी, जहाँ कागज र किताबहरूको पसारो थियो । राजकुमारीका बाबु जति सफा-सुग्धर थिए, राजकुमारी त्यसको उल्टो थिई । उसले रेखागणितको कितीब टेबुलमा झ्याम्म राखी र उत्सुकतापूर्वक चिठी खोली । त्यो चिठी उसको बाल्यकालदेखिको सङ्गिनी जुली कारागिनाले लेखेको चिठी थियो । उही कारागिना, जो रोस्तोभ परिवारमा मनाइएको जन्मदिनको उत्सवमा भेट भएकी थिई ।

जुलीको चिठी फ्रान्सेली भाषामा लेखिएको थियो :

मेरी प्यारी र अमूल्य साथी, बिछोड भन्ने कुरा कति भयङ्कर र कति डरलाग्दो हुँदो रहेछ म भन्न सक्तिनँ । म आफैलाई थाहा छ तिमी मेरो आधा जीवन र आधा सन्तोषको आधारशिला हौँ । हामीबीचको दुरीले हामीलाई जतिसुकै छुट्याए पनि हाम्रो हृदय अटुट बन्धनमा बाँधिएको छ । मलाई यहाँ जतिसुकै आनन्द र रमाइलो गर्न पुगिसरी आए तापनि मेरो हृदयले मेरो भाग्यसँग एक प्रकारको विद्रोह गरिरहन्छ । हामी घ्रुट्टिएको बेलादेखि मेरो मनभित्र गुम्सिरहेको अदृश्य पीडा सहन मलाई धेरै गाह्रो भएको छ । गत सालको बर्खामा जस्तै तिम्रो ठूलो कोठाको नीलो सोफामा त्यो गोप्य सोफामा किन हामी फेरि भेट हुन सक्तैनौँ ? तीन महिनापहिले जस्तै अहिले किन म, तिम्रो शान्त, विनम्र र तिखा आँखाले, जसलाई म अत्याधिक प्रेम गर्छु र अहिले यो चिठी लेखिरहेको बेला आफ्नै आँखाअगाडि देखिरहेछु, नयाँ र नैतिक शक्ति प्राप्त गर्न सक्तिनँ ?

यहाँसम्म चिठी पढेपछि, राजकुमारी मेरीले लामो सास फेरि र आफ्नो दायाँ छेउतिर रहेको ऐनामा आफ्नो अनुहार हेरी । ऐनामा नराम्रो, कमजोर शरीर र दुब्लो-पातलो अनुहार देखियो । सधैँ उदास देखिने उसका आँखाले अहिले त झन्‌ निराश भएर ऐनामा हेरिरहेका थिए । “उसले मेरो चिप्लो घसिरहिछ,” राजकुमारीले सोची अनि उसले मुन्टो फर्काई र फेरि चिठी पढन लागी । तर जुलीले आफ्नो साथीलाई चिप्लो घसेकी थिइन । राजकुमारीका ठूल्ठूला गहिरा र तेजस्वी आँखा (यस्तो लाग्थ्यो उसका आँखाबाट मानौँ कहिलेकाँही मीठो प्रकाशको किरणपुञ्ज निक्लिरहेको होस्‌) यति सुन्दर थिए कि धेरैजसो उसको अनुहार नराम्रो भए तापनि यी आँखा सुन्दरभन्दा पनि बढी आकर्षक देखिन्थे । तर बिडम्बना राजकुमारी आफ्नै आँखाका यति बिघ्न सुन्दर स्वरूप आफैले कहिल्यै देख्न सक्तिनथी, खास गरेर त्यस बेलाको रूप जुन बेला ऊ आफ्नो निजी जीवनबारे सोचिरहेकी हुन्थी जस्तो कि सबैलाई हुन्छ । उसले ऐनामा हेर्नेबित्तिकै उसको अनुहारले एकप्रकारको तनावपूर्ण र अस्वाभाविक रूप ग्रहण गर्थ्यो । ऊ फेरि चिठी पढ्न लागी ।

सम्पूर्ण रसियामा युद्धको मात्र चर्चा छ । मेरो एउटा भाइ पहिलेदेखि नै विदेशमा छ । अर्को गार्डसेनामा भर्ती भएको छ । जुन सेना चाँडै नै युद्धमोर्चामा जाने तयारीमा छ । हाम्रा प्रिय सम्राट्ले पिटर्सबर्ग छोडिसकेका छन्‌ र यस्तो बुझिन्छ कि उनी आफ्नो अमूल्य जीवन युद्धमा होम्ने सुरमा छन्‌ । भगवानका कृपाले देवतासमान हाम्रा सम्राट्ले, जसलाई भगवानले हामीमाथि सुशासन गर्न पठाएका छन्‌, त्यो कोर्सिका द्वीपमा जन्मिएको राक्षस नेपोलियनलाई पराजित गर्न सकून्‌, जो युरोपको शान्ति भङ्ग गर्न ज्यान फालेर लागिपरेको छ, मबाट बिछोड गराएको छ ।

मैले, भन्न खोजेको त्यो तन्नेरी युवक निकोलास रोस्तोभ हो, जो आफ्ना जोस र उत्साहले अभिप्रेरित भएर अध्ययन गर्दागर्दै बीचैमा विश्वविद्यालय छोडेर सेनामा भर्ती हुन गयो । म तिमीसँग सत्य कुरा गर्दै छु प्रिय मेरी, उर्लदो जवानीमा ऊ सेनामा भर्ती हुन जानु मेरो लागि गहन शोकको विषय हो । गत जाडोमा मैले तिमीसँग चर्चा गरेको यो तन्नेरी मानिस यति उदात्त प्रवृत्तिको र यथार्थ रूपमा यति तरुण भावनाले प्रेरित छ कि बीस वर्षका युवकहरूमा त्यस्तो गुण भएको अर्को मानिस पाउन आज-भोलि सायद सबैलाई दुर्लभ होला । उसको आत्मा यति शुद्ध र यति काव्यात्मक छ कि उसँग भएको मेरो क्षणिक सम्बन्ध यति धेरै व्यथा र बेदना सहेको मेरो दुःखी मनलाई प्रसन्नता प्रदान गर्ने एउटा अत्यन्त मीठो आधार भएको छ ।

कुनै दिन हामीहरू छुट्टिँदा र त्यस बखत हामीबीच भएका सबै कुराको विवरण तिमीलाई सुनाउनेछु । मेरो दिमागमा ती कुराहरू अझै पनि ताजै छन्‌ । ओहो, मेरी प्रिय साथी, तिमी धेरै सुखी छौ यसकारणले कि तिमीलाई सुखदु:खका यस्ता मर्मस्पर्शी क्षणहरू भोग्नु परेको छैन । तिमी भाग्यशाली छौ किनभने सामान्यतया सुखभन्दा दुःख सशक्त र शक्तिशाली हुन्छ । मलाई राम्रै थाहा छ कि काउन्ट निकोलास, उसको उमेरलाई ध्यानमा राख्दा, मेरो लागि एउटा साथीभन्दा अर्को केही हुन सक्तैन तर उसको त्यही विशुद्ध सामीप्यता, त्यही काव्यात्मकता र त्यही मीठो मित्रता नै थियो, जो मेरो हृदयलाई नितान्त आवश्यक थियो । भैगो अब यस बारेमा धेरै गन्थन नगरौँ । अहिलेको घडीमा रसियाको सबभन्दा सनसनीपूर्ण खबर बुढा काउन्ट बेजुकोभको मृत्यु र उनको विशाल धनसम्पत्तिको उत्तराधिकारी भएको छ । तिमीले यत्ति बुझ कि तीन जना राजकुमारीहरूले उक्त सम्पत्तिको सानो हिस्सा मात्र पाएका छन्‌ । राजकुमार भासिलीले एक कौडी पनि पाएनन्‌ र भएभरको सम्पत्ति पियेरेले मात्र पाएको छ । यत्ति मात्र होइन उसले कानुनी, रूपमा काउन्ट बेजुकोभको छोराको मान्यता पनि प्राप्त गरेको छ र अन्त्यमा भन्नु पर्दा, यसरी पियेरे नयाँ काउन्ट बेजुकोभ भएको छ र हालको रसियामा सबभन्दा ठूलो सम्पत्तिको मालिक पनि उही भएको छ । अर्थात्‌ ऊ रसियाको सबभन्दा धनी मानिस भएको छ । हल्ला त यस्तो छ कि राजकुमार भासिलीले यस मामलामा धेरै निन्दनीय भूमिका खेलेका थिए र फलस्वरूप उनी लुत्रुक्क परेर पिटर्सबर्ग फर्केका छन्‌ । म मान्छु, मलाई बकसपत्र, हकवाला र उत्तराधिकारी इत्यादि विषयमा धेरै ज्ञान छैन तर मैले मान्नै पर्छ कि यो तन्नेरी मानिस, जसलाई हामी सबैले सामान्यतया मि. पियेरे भनेर चिन्ने गथ्यौं, अहिले सम्पूर्ण रसियाको सबभन्दा धनी मानिस मात्र होइन, ऊ काउन्ट बेजुकोभ पनि भएको छ । मलाई विवाहयोग्य ती छोरीका आमाहरू र स्वयम्‌ ती तरुणी युवतीहरूले पियेरेप्रति गर्न थालेको व्यवहार र वाणीमा एक्कासि आएको परिवर्तन देखेर आश्चर्य लागेको छ, जसलाई तिमी-हामीले एउटा तुच्छ मान्छेका रूपमा हेर्ने गथ्यौँ । विगत दुई वर्षदेखि मेरो लागि लोग्ने खोज्नेहरूदेखि वाक्क भएकी मलाई (अधिकांश केटाहरूलाई त म चिन्दा पनि चिन्दिनथेँ) अहिले मस्कोका कुटुनी बुढीहरू भविष्यकी काउन्टेस बेजुकोभ भनेर सम्बोधन गर्न थालेका छन्‌ । तर तिमीले बुझ्नु पर्ने हो कि मलाई त्यो पदवीको लालचा छैन । प्रसङ्गवस विवाहको कुरा आयो । तिमीलाई थाहा छ कि छैन कुन्नि, “नगरफुपू” अन्ना मिखायलोभ्नाले केही समयपहिले मसँग अत्यन्त गोप्य रूपमा तिम्रो विवाहसम्बन्धी योजनाको कुरा गरेकी थिइन्‌ । जुन मान्छेसँग तिम्रो विवाह गरिदिने कुरा चलेको थियो त्यो अरू कोही नभएर राजकुमार भासिलीकै छोरा एनातोल हो, जसलाई उनीहरू कुनै गुणवती र धनाढ्य परिवारको छोरीसँग विवाह गरिदिएर सुधार्न चाहन्छन्‌ । यसको लागि उचित पात्रको रूपमा तिमीलाई नै छानिएको छ । यसबारेमा तिम्रो के विचार छ, मलाई थाहा छैन तर मैले बाल्यकालकी सङ्गिनीका हैसियतले तिमीलाई पूर्वसूचना दिनु आफ्नो परम कर्तव्य ठानेँ । सुनेबमोजिम अनातोल अत्यन्त सुन्दर र उत्तिकै उदण्ड केटा छ रे । मैले उसको बारेमा पत्ता लगाएको कुरा यत्ति मात्र हो ।

तर अब धेरै कुरा गरियो । दोस्रो पाना पनि लेखेर भरिसकियो । आमाले मलाई अप्राकसिन परिवारकहाँ खाना खान जाने भनेर बोलाउन पठाउनु भएको छ । मैले तिमीलाई एउटा रहस्यवादी पुस्तक पठाएकी छु । अवश्य पढ्ने छौँ । हामीहरूका तिर यो किताब सबैले धेरै चाख मानेर पढिरहेका छन्‌ । अवश्य पनि यस किताबमा केही यस्ता, कुराहरू छन्‌ जो सामान्य मानवले बुझेर परिलाउन गाह्रो छ । यो एउटा यस्तो किताब रहेछ कि यो पढेपछि मान्छेलाई एक प्रकारको शान्ति मिल्दो रहेछ र उसको आत्मालाई उच्च स्थानमा पुर्याउन सहयोग गर्दो रहेछ । लौ त अहिलेलाई बिदा चाहन्छु । तिम्रो मान्यवर बुबालाई मेरो सादर प्रणाम सुनाई दिनू र कुमारी बुर्येनलाई पनि मेरो यथोचित नमस्कार छ भनिदिनू।

हार्दिक स्नेहसहित :
तिम्रो जुली

पुनश्च : तिम्रो दाइ र प्यारी भाउजूका बारेमा पनि लेख्ने कष्ट गर्ने छौँ ।

राजकुमारी गम्भीर मुस्कानका साथ केही छिन विचारमग्न भई । उसका चम्किला आँखाले आलोकित अनुहार ठ्याम्मै बदलियो । ऊ अचानक बसिरहेको ठाउँबाट उठी र गरुङ्गो पाइला चाल्दै कुर्सीमा गएर बसी । उसले हातमा कागज र कलम लिईर छिटोछिटो लेख्न सुरु गरी । उसले पनि फ्रान्सेली भाषामा नै जवाफ पठाई ।

 

“मेरी प्यारी र अमूल्य सङ्गिनी,

तिम्रो तेह्र तारिखको पत्र पाएर धेरै खुसी लाग्यो । मेरी रमाइली जुली, मप्रति तिम्रो अझैसम्म यति माया रहेछ, होइन ? बिछोड, जो तिमीले कष्टप्रद त भन्छयौ तर त्यसले तिमीमाथि सामान्य प्रभाव पनि पारेजस्तो लागेन । तिमीले हामीबीचको बिछोडबारे दुःख मनाउ गरेकी छौ । “तर मेरो ठाउँमा तिमी भएकी भए के गर्थ्यौ; जसले आफ्ना सम्पूर्ण प्रियजनसँग बिछोड भएर बस्नु परिरहेछ ?” हेर, यदि हामी अलिकति धर्म नमान्ने मान्छे भएको भए हाम्रो जीवन कति दुःखद हुने थियो होला । त्यो तन्नेरी मानिसप्रति तिमीले पोखेको मायालाई मैले कडा रूपमा हेर्नु पर्दछ भनेर तिमी किन तर्कना गर्छ्यौ ?

यस्ता विषयमा म आफैप्रति मात्र कडा छु । अन्य व्यक्तिहरूमा पनि यस प्रकारका भावनाहरू हुन्छन्‌ भनेर राम्ररी बुझन सक्ने क्षमता मसँग पनि छ । तर आफैले कहिल्यै अनुभव नगरेकी हुँदा म यसको समर्थन पनि गर्न सक्तिनँ र विरोध पनि गर्दिनँ । मलाई यस्तो लाग्छ कि आफ्ना सङ्गीसाथी मात्र होइन शत्रुहरूप्रति पनि इसाई धर्मअनुरूप प्रेम गर्नु ती भावनाहरूभन्दा पनि धेरै स्तुत्य, सुखकर र ठूलो कुरा हुन्छ, जुन भावनाहरूले एउटा तन्नेरी मानिसका सुन्दर आँखाले तिमी जस्ती मायालु तरुणी केटीको हृदय जित्न सक्छन्‌ ।

काउन्ट बेजुकोभको मृत्युको समाचार हामीले तिम्रो पत्र आउनुभन्दा पहिले नै पाइसकेका थियौँ । र मेरा बुबा उक्त समाचार सुनेर विह्वल हुनु भयो । उहाँ भन्नुहुन्छ कि काउन्ट बेजुकोभ यस महान्‌ युगको अन्तिम प्रतिनिधि थिए – र अब उहाँको पनि पालो आउँदैछ । तर उहाँले आफ्नो पालो जति सक्यो पर सार्न सकेसम्म प्रयास गर्नु हुनेछ र भगवानका कृपाले हामीले त्यो दिन देख्न नपरोस्‌ ।

पियेरेका बारेमा म तिमीसँग सहमत हुन सक्तिनँ, जसलाई म बालक्‌ अवस्थादेखि नै चिन्दछु । ऊ मलाई अत्यन्त असल हृदय भएको व्यक्ति जस्तो लाग्छ र यही गुणलाई नै मैले मानिसमा हुनु पर्ने सबभन्दा बहुमूल्य गुण हो भन्ठान्छु । जहाँसम्म उसले प्राप्त गरेको उत्तराधिकार र राजकुमार भासिलीले खेलेको भूमिकाको प्रश्न छ, दुबैका निम्ति दुर्भाग्यपूर्ण छ । हेर मेरी प्यारी सङ्गनी, भगवानको साम्राज्यमा एउटा धनी मानिस प्रवेश गर्नुभन्दा सियोको प्वालबाट छिरेर एउटा उँट बाहिर निस्कनु सजिलो हुन्छ भन्ने हाम्रा दिव्य उपदेशकका शब्दहरू सत्यपरक छन्‌ । मलाई राजकुमार भासिलीप्रति दया लागेर आउँछ भने पियेरेको अवस्थाप्रति म झन्‌ दुःखी छु । ऊ भर्खरको युवक छ तर उसलाई यति धेरै धनसम्पत्तिको व्यवस्थापन गर्नेः जिम्मेवारी आइलागेको छ । उसले कस्ताकस्ता प्रलोभनहरूको सामना गर्नु पर्नेछ, थाहा छैन । मेरी प्यारी साथी, तिमीले मलाई रसियामा यति बिघ्न चर्चित, जुन पुस्तक पठाइ दियौ, त्यसका लागि म अत्यन्त आभारी छु र हजार पटक धन्यवाद दिन चाहन्छु । तर तिमी मान्छ्यौ ? उक्त पुस्तकमा धेरै राम्रा कुराहरू भए तापनि हामीजस्ता सबै सर्वसाधारणले बुझ्न गाह्रो छ, त्यसैले मलाई यस्तो लाग्छ कि बुझ्नै नसकिने यस्तो किताब पढेर निरर्थक रूपमा समय खेर फाल्नु हुँदैन किनभने यो पढेर केही फाइदा नै नहुने जस्तो देखियो । मैले केही मानिसहरूको सोख कहिल्यै बुझ्न सकिनँ, जो यस्ता रहस्यवादी किताबहरूको घनचक्करमा परेर आफ्नै विचारधाराहरूका विरूद्ध,द्धन्द्व सिर्जना गर्छन्‌, आफ्नै मन-मष्तिष्कमा शङ्का उपशङ्काहरू उत्पन्न गर्छन्‌, आफ्नै कल्पना परिकल्पनाहरूलाई अति उत्तेजित तुल्याउँछन्‌ र यस्ता अतिशयोक्तिहरूतर्फ उन्मुख हुन्छन्‌, जो क्रिश्चियन धर्मको सरलता र सरसताको विल्कुल प्रतिकूल छ । त्यसकारण मेरा विचारमा त बरु न्यू टेस्टामेन्टमा लेखिएका उपदेशहरू र धर्मग्रन्यहरू पढ्नु नै श्रेयष्कर होला । यी पुस्तकहरूमा कस्ता रहस्य लुकेका छन्‌ भनेर हामीले घोत्लिन्‌ पर्दैन किनकि हामीजस्ता दयाका पात्र र पापी मान्छेले ईश्वरीय विधानका ती भयानक र पावन रहस्यहरूलाई तबसम्म आत्मसात्‌ गर्न सक्तैनौं जबसम्म हामीले यो नश्वरः शरीरको जामा पहिरेका हुन्छौँ र, जो हाम्रो र शाश्वत सत्यको बीचमा अभेद्य आवरण बनेर बसेको छ ? त्यसकारण राम्रो त यही हुन्छ कि हामीले ती महान्‌ सिद्धान्तहरूको अध्ययनसम्म मात्र सीमित राखौँ, जो हाम्रो दिव्य उद्धारकले यस पृथ्वीमा हाम्रो पथप्रदर्शनका लागि छोडेर गएका छन्‌ । हामीले ती मार्गद पुष्टि र अनुगमन गर्ने प्रयास गरौँ र यो सम्झने प्रयास गरौँ कि हाम्रो दुर्बल मनलाई जति कम छाडा छोड्छौँ त्यति नै बढी मात्रामा हामीले भगवानलाई रिझाउन सक्छौँ किनभने भगवान्ले आफूबाट निःसृत नभएको कुनै पनि ज्ञानलाई ठाडै अस्वीकार गर्छन्‌ र हामीसँग लुकाएर प्रसन्न हुन खोजेका विषयमा हामी भगवानको जति कम खोजीनीति गछौं उति छिटो उनले आफ्नो दैवी शक्तिद्वारा हामीलाई श्रुति प्रकाश बक्स गर्ने कृपा गर्ने छ्न्‌ ।

बुबाज्यूले मेरो हुनेवाला वरको बारेमा मलाई केही भन्नु भएको छैन । तर यति मात्र भन्नुभएको छ कि उहाँले राजकुमार भासिली यहाँ आउँदै छन्‌ भन्ने एउटा पत्र प्राप्त गर्नु भएको छ रेँ । मेरो विवाहको विषयमा प्यारी साथी, म तिमीलाई खुलस्त भन्न चाहन्छु कि मेरो विचारमा विवाह एउटा दैवी विधान हो, जसलाई हामीले अङ्गीकार गर्नै पर्दछ । मेरो निम्ति जतिसुकै कष्टप्रद भए पनि यदि भगवानले मलाई कसैको पत्ती-र आमाको कर्तव्य पूरा गर्ने अभिभारा सुम्पने इच्छा राख्छन्‌ भने म त्यसलाई आफूले जाने-बुझेस्‌म्म र सकेसम्म इमान्दारी र निष्ठापूर्वक पालन गर्ने प्रयास गर्नेछु । भगवान्ले जसकसैलाई पनि मेरो पति बनाउन्‌, मेरा आफ्ता भावनाहरूलाई निश्चित मात्रामा आघात नपारी मैले प्रसन्नतापूर्वक स्वीकार गर्नेछु ।

मैले मेरो दाइको एउट चिठी पाएकी छु । दाइ भाउजू छिट्टै बाल्ड हिल आउँदै हुनुहुन्छ । हुन त यो आनन्द क्षणिक हुनेछ किनभने उहाँ त्यस युद्धमा सरिक हुन तुरुन्तै हामीलाई छोडेर फर्किहाल्नु हुनेछ, जुन, युद्धले हामीलाई यहाँसम्म ल्याइपुर्याएर छोडेको छ । किन र कसरी भन्ने कुरा त भगवानलाई मात्र थाहा होला । अनेक क्रियाकलाप र समाजको केन्द्रविन्दु भएका कारण तिम्रो मास्कोमा मात्र होइन, खेती किसानी गरेर खाने प्रकृतिको शान्त थलो हाम्रो गाउँमा पनि, नगरबासीहरूले कल्पना गरेजस्तै युद्धकै चर्चा चलेको सुनिन्छ, जसले गर्दा मेरो मन दु:खेर असाध्य हुन्छ । मेरो बुबा केवल आक्रमण र प्रत्याक्रमणको मात्र कुरा गर्नु हुन्छ, जसका बारेमा मलाई कुनै ज्ञान छैन । दुई दिन पहिलेको कुरा हो । म यसो घुम्दै सधैँझैँ गाउँतिर लागेकी थिएँ, एउटा हृदयविदारक दृश्य देखेँ । हाम्रो गाउँमा जबर्जस्ती भर्ती गरिएका सिपाहीहरूलाई फौजमा हाजिर हुन पठाइँदै थियो । उनीहरूका आमा, बालबच्चा र स्वास्नीहरूले बिलौना गर्दै रोएको दृश्य हेर्नै र सहनै नसकिने खालको थियो । यस्तो लाग्थ्यो मानौ मानव मात्रले हाम्रो दैवी उद्दारक्ले बसालिदिएको नियम कानुनलाई मिचेर भताभुङ्ग अवस्थामा पुर्याइदिएको छ । भगवानले मानिसहरूलाई प्रेम गर्न सिकाए, क्षमा दान दिन अह्राए तर मानिसले आपसमा काटमार गर्न र रागद्देष फैलाउन सिक्यो ।

मेरी प्यारी र दयालु साथी, लौ त अब म पनि बिदा हुन्छु । तिमीमाथि हामीहरूका दैवीउद्धारक र उसको पवित्रतम्‌ आत्माको पावन र सर्वशक्तिमान्‌ छत्रछाया सदा रहिरहोस्‌ ।

तिम्रो मेरी ।

“चिठी पठाउन लागेकी हो, मेरी ? पठाइसकेँ मैले त, बुबा,” राजकुमारी मेरीले जवाफ दिई । राजकुमारी मेरीकी साथी कुमारी बुर्येनले पनि मुस्कुराउँदै र “र” ध्वनिको अस्पष्ट उच्चारण गर्दै छिटोछिटो मधुर र रसिलो आवाजमा भनी, “मैले पनि मेरी दुःखी आमालाई चिठी पठाएँ । तत्पश्चात्‌ उसले राजकुमारी मेरीलाई चिन्तित, उदास र विषादपूर्ण मनस्थितिबाट झक्झक्याएर चञ्चलता, प्रसन्नता र आत्मसन्तुष्टिको अर्कै संसारमा प्रवेश गराई ।

“राजकुमारी, मैले तिमीलाई यो चेतावनी दिनै पर्छ,” उसले आवाज अलि सानो पार्दै थपी । ऊ आफूसँग आफै प्रसन्न थिई र “र” ध्वनिको अस्पष्ट रूपमा उच्चारण गर्दै बोल्दै थिई, “तिम्रो बुबाले आज मिचेल इभानोभिचलाई एकदम नराम्रोसँग झपार्नु भएको छ । उहाँ असाध्य खराब मनस्थितिमा हुनुहुन्छ र रिसले चूर हुनु भएको छ । होस्‌ गर है ।”

“हेर, प्रिय सङ्गिनी,” राजकुमारीले जवाफ दिई । मेरो बुबाको मनस्थिति कुन बेला कस्तो हुन्छ भनेर मलाई सम्झाउने प्रयास कहिल्यै नगर्नू भनेर तिमीलाई कतिपटक भनिसकेकी छु, होइन ? उहाँको बारेमा म आफू पनि कुनै टीकाटिप्पणी गर्दिनँ र अरूले गरेको पनि रुचाउँदिनँ, बुझ्यौ !”

राजकुमारीले घडी हेरी र क्लाभिकर्ड बजाउने अभ्यास सुरु गर्न पाँच मिनेट ढिलो भएको देखेर डराउँदै कोठाभित्र पसी । दैनिक कार्यक्रमअनुसार दिनको बाह्र बजेदेखि दुई बजेसम्म बाबुचाहिँ आराम गर्थे र छोरीले क्लाभिकर्ड बजाउँथी ।