भागमा दाँत गाड्यो । अनि बूढोले पनि मुङ्ग्रो मास्तिर उचालेर जोडले त्यसको फराक टाउकोमा हिर्कायो । रबरमा कुनै चिप्लिए जस्तो चिप्छियो मुङ्ग्रो । अनि त्यसले माछो छोड्ने बित्तिकै बूढोले फेरि नाक मास्तिर जोडले हिर्कायो ।

अर्को शार्क चाहिँ पानी भित्र पस्दै निस्किँदै गरिरहेको थियो | फेरि मुख बाउँदै आयो त्यो शार्क । त्यो शार्कले माछाको शरीरमा टोकेर मुख बन्द गर्दै गर्दा बूढोले त्यसको मुखको एउटा कुनाबाट माछाको सेतो मासु झुण्डिएको देख्यो । शार्क यताउति हल्लिँदै गर्दा, बूढोले त्यसको टाउकोमा घोचिदियो अनि बूढोतिर फर्केर त्यसले मुख बायो |

शार्कले माछालाई फेरि खान आँट्दा बूढोले त्यसको टाउकोको रबर जस्तो गिलो खेँदिलो भागमा मुङ्ग्रोले हान्यो ।

“यता आइज, गालानोस्‌” बूढोले भन्यो, “यता आइज फेरि ।”

त्यो शार्क झम्टिँदै आएर माछालाई टोक्न थालेको मात्रै के थियो त्यसलाई बूढोले जोडले हिर्कायो

बूढोले सकेसम्म मुङ्ग्रो मास्तिर उचालेर जोडले हिर्कायो त्यसलाई । यो चोटि ऊ मस्तिष्कमुनिको हड्डीलाई हिर्काउन सफल भयो | अनि फेरि त्यही ठाउँमा हिर्काउँदा मात्रै शार्कले माछाको मासु लुछेर बिस्तारै हिँड्यो ।

बूढो फेरि शार्कको प्रतिक्षामा बस्यो तर शार्क देखापरेन । एकैछिनपछि एउटा शार्क पानीमा चक्राकारले घुम्दै गरेको देख्यो उसले । अर्को शार्कको चाहिँ पखेटा समेत देखेन |

ती शार्कलाई मार्ने आश गर्दिन म । उसले सोच्यो । युवाअवस्थामा भए सक्थें होला तर मैले दुवैलाई निकै चोट पुर्याएको छु अनि एउटैको पनि अवस्था राम्रो देख्दिन म । दुवै हातले समातेर मुङ्ग्रो हान्न पाएको भए पहिलाकोलाई चाहिँ पक्कै मार्न सक्थे होला । अझै पनि सक्छु । बूढोले सोच्यो । माछोतिर त फर्केर पनि हेर्न मन लागेन उसलाई |

आधाभन्दा बढी मासु नाश भैसकेको कुरा थाहा थियो बूढोलाई । शार्कसित लडाइँ गर्दागर्दै घाम अस्ताइसकेको थियो ।

“अब छिट्टै रात पर्छ । उसले भन्यो । त्यसपछि मैले हवानाबाट आएको उज्यालो देख्न पाउँछु | यदि म पूर्वपट्टि धेरै टाढा रहिछु भने पनि कुनै नयाँ समुद्रतटको उज्यालो त अवश्यै देख्न पाउनेछु ।”

“धेरै टाढा पुगेको त नहुनुपर्ने हो म । उसले सोच्यो । मलाई लाग्छ मेरो बारेमा कोही पनि चिन्तित छैन । अवश्य, केटोले चाहिँ दुःख मनाउला । तर म निश्चिन्त छु कि केटोको ममाथि _ पूरा भरोसा छ । अरू थुप्रै बूढा माझीहरू पनि दुःखी हुनेछन्‌ । अरू अरू पनि छन्‌ मेरा बारेमा चिन्ता गर्ने । उसले सोच्यो । म एउटा राम्रो शहरमा बस्छु ।”

माछोसित केही कुरो गर्न सकेन बूढोले किनभने माछो नराम्रोसित क्षतविक्षत भैसकेको थियो । त्यसपछि केही छिनमै, उसको दिमागमा बुद्धि पलायो ।

“अर्ध माछा” उसले भन्यो, “कोही बेला तँ पनि सग्लो माछा थिइस्‌ । टाढा पुगेकोमा म दुःखी छु । मैले गर्दा हामी दुवै बर्बाद भयौँ । हामी दुवै मिलेर थुप्रै शार्क मार्यौ । अरू पनि थुप्रैलाई बर्बाद पार्यौ । अहिलेसम्म तैँले कतिलाई मारिस्‌ बूढो माछा ? तेरो टाउकाको | त्यो, भाला जस्तो चीज, त्यसै बनेको होइन होला त ।”

माछाको बारेमा सौच्दा उसलाई ठीकै लाग्यो । म पानीमा स्वतन्त्र रूपले पौडिन पाएको भए के गर्थ्यो होला शार्कलाई । तिनीहरूको चुच्चो काटेर लड्थेँ तिनीहरूसित । उसले सोच्यो । तर मसित न त बन्चरो छ न त चक्कु नै ।

तर यदि ती चीजहरू मसित भैइदिएको भए म बहानाको टुप्पोमा बाँध्ने थिएँ । कति राम्रो हतियार बन्थ्यो होला । त्यसपछि हामी दुवै तिनीहरूसित लड्थ्यौं । यदि तिनीहरू राति आए भने तँ के गर्न सक्छस्‌ ? के नै गर्न सक्छस्‌ र तँ ?

“लड्छु म तिनीहरूसित ।” उसले भन्यो, एक मुठ्ठी सास छउन्जेल लड्छु म तिनीहरूसित ।”

तर यतिखेर यो अँध्यारोमा, न कुनै उज्यालो बस्तु छ, न कुनै बत्ती छ खालि हावा मात्रै चलेको छ । डुङ्गाको स्थिर गतिमा उसलाई लाग्यो कतै ऊ मरिसकेको त छैन । दुइटै हात एकै ठाउँमा खप्ट्याएर हत्केला छामिहेर्यो उसले । मरेका रहेनछन्‌ ती हातहरू । हत्केला खोल्दै बन्द गर्दै जिन्दगीको पीडा बोध गर्यो उसले । डुङ्गाको पछाडिपट्टि अडेस लाग्यो अनि थाहा पायो कि ऊ अझै जीवित छ । उसका दुइटै काँधले पनि उ मरेको छैन भन्ने संकेत गर्यो ।

माछा समात्न सकें भने मैले गर्छु भनेका प्रार्थनाका प्रतिज्ञाहरू भुलेको छैन मैले अझै । उसले सोच्यो । तर अहिले प्रार्थना गर्न सक्ने अवस्था छैन मेरो । धेरै थाकेको छु म । बरू थैलो काँधमा बोक्नु नै उचित होला ।

अडेस लागेर डुङ्गा चलाउँदै गर्दा कतैबाट आकाशमा उज्यालोको किरण देखपर्छ । प्रतिक्षा गर्न थाल्यो बूढो । मसँग मान्छे आधा मात्रै छ । बूढोले सोच्यो । मेरो भाग्यमै सायद त्यही आधा मात्रै लान लेख्या होला । अलिकति भएपनि भाग्य त छ है मेरो । “अँह” उसले भन्यो , “त्यति टाढा गएर तैले आफ्नो भाग्य बर्वाद पारिस्‌ ।”

“तँ मूर्ख छस्‌ ।” उसले चिच्च्याएर भन्यो । होश गरेर डुङ्गा चला । अझै भाग्यले साथ दिन सक्छ तँलाई ।

“भाग्य किन्ने ठाउँ भए अलिकति किनेर ल्याउँथे म । उसले भन्यो । कसरी किन्नु ? के ले किन्नु ? किन्नै पाएपनि ? उसले आफैंलाई सोध्यो । हराएको माला, भाँच्चिएको चक्कु, अनि दुइटा यी काम नलाग्ने हातले किने त हो नि ।

“सक्थिस्‌ होला सायद तैँले ।” उसले मनमनै भन्यो । समुद्रमा तैले बिताएका ती चौरासी दिनले यसलाई किन्ने कोशिस नगरेको होइनस्‌ । झण्डै तँलाई नै उल्टै बेचिदिए तिनीहरूले ।

यस्ता वाहियात कुरा सोच्नु हुँदैन मैले । उसले सोच्यो । भाग्य एउटा यस्तो चीज हो जुन विभिन्न रूप लिएर आउँछ । कसले चिन्न सक्छ र त्यसलाई ?

भाग्य किन्न पाए त म जति भने पनि तिर्थे । कतैबाट उज्यालो देख्न पाए पनि हुन्थ्यो । उसले सोच्यो । धेरै चीजको इच्छा गर्छु म । तर यतिखेर मैले चाहेको चीज भनेको भाग्य मात्रै हो । आरामसित बहाना चलाउन थाल्यो अनि शरीरमा पीडा महसुस भएपछि उसलाई थाहा भयो कि र अझै मरेको रहेनछ ।

जून झुल्किनु देखिएको त्यो उज्यालो केहीबरेका लागि मात्रै बोधगम्य भयो । त्यसपछि हावा लाग्नासाथ कठोर हुने समुद्रपारि त्यो प्रकाश स्थिर भयो ।

अब चाँडै नै यो डुङ्गाले खोलाको किनारमा धक्का दिने छ ।

अहिलेलाई बाँचियो । उसले विचार गर्यो । फेरि आक्रमण गर्न सक्छन्‌ तिनीहरूले मलाई । एउटा निहत्था मान्छेले अँध्यारामा तिनीहरूको विरूद्ध के नै पो गर्न सक्छ र ?

राति ठण्डीमा उसको शरीर कामीरहेको थियो भने काटेको र दुखेको ठाउँमा अझ बढी पीडा भैरहेको थियो | मलाई लाग्छ अब मैले फेरि लड्नु पर्दैन होला । उसले सोच्यो । ठूलै आशा छ फेरि लड्नु पर्दैन होला भन्ने ।

तर मध्यराति उसले फेरि युद्ध गर्नुपर्यो । तर यो चोटिको युद्ध निरर्थक हुन्छ भन्ने थाहा थियो उसलाई । शार्कको बथानै आएको थियो । तिनीहरूको पर्खेटाले पानीमा बनाएका घेरा अनि माछामाथि तिनीहरूले फ्याँकेको धिपधिपे उज्यालो मात्रै देख्यो बूढोले । उसले शार्कका टाउकामा हिर्काउँदा माछालाई चिथोरेको आवाज र तलबाट डुङ्गा हल्लिएको चाल पायो बूढोले । निराशोन्मत्त भएर बूढोले जताजतै पिट्न थाल्यो शार्कलाई तर अकस्मात्‌ कसैले उसको मुङ्ग्रो खोसेर भाग्यो । मुङ्ग्रो गुमाउन पुग्यो बूढो ।

बूढोले मार्गदर्शकबाट बहाना झिक्यो अनि दुइटै हातले समातेर भएभरको बल लगाएर पिट्न थाल्यो शार्कलाई |

डुङ्गाको छेउमै आएर एकपछि अर्को गर्दै माछाको मासु चिथोर्नाले पानीमुनि मासुका टुक्रा टल्किरहेको थिए । फेरि फर्केर आए अनि मासु चिथोरेर लगे शार्कहरूले ।

अन्तमा एउटा शार्क आयो माछाको टोउको ताक्दै । उसलाई थाहा भयो अब चाहिँ सकियो भनेर । माछाको टाउकोमा जुन ठाउँमा शार्कले चिथोरेको थियो त्यही ठाउँमा बूढोले बहाना उचालेर दुइटै चिउँडोमा हिर्काएर लखेट्ने कोशिस गर्यो । हिर्काउँदा बहाना भाँचियो । त्यही भाँच्चिएको बहानाले सीधै फोक्सोमा पर्नेगरी घोचिदियो बूढोले ।

शार्कको शरीरभित्र बहानाको तीखो टुप्पो पसेको थाहा पाए पछि उसले त्यो बहानाको टुक्रो निकालेर फेरि घोच्यो । त्यो शार्क पानीभित्र पस्यो । शार्कको बथानको त्यो नै अन्तिम शार्क थियो । खानको लागि बाँकी नै के थियो र माछाको शरीरमा ।

सास फेर्न निकै गाह्रो भयो बूढोलाई अनि अनौठो खालको स्वादको अनुभूति भयो बूढोको मुखभित्र ।

गुलिया-गुलियो थियो त्यो स्वाद डुङ्गा चलाईरह्यो । एकछिन त डरायो बूढो तर स्वाद धेरै बेर बसेन ।

बूढोले समुद्रमा थुक्दै भन्यो, “त्यो खा, गालानोस्‌ अनि मान्छे मारेको सपना देख्‌ ।’ “

अन्ततः ऊ पराजित भयो । केही उपाय नदेखेपछि डुङ्गाको टुप्पोतिर लाग्यो । त्यहाँ उसले बहानाको चोसो निस्केको टुप्पो फेला पार्यो जुन पङ्खाको प्वालमा जोड्दा डुङ्गा चलाउन सजिलो हुन्छ । थैली काँधमा राखेर डुङ्गा चलाउन थाल्यो बूढो । बिस्तारै चलायो डुङ्गा । मनमा कुनै चिन्ता आवेगको अनुभूति भएन उसलाई । बूढोले अतितका सबैकुरा बिर्सिदै बडो चलाखीपूर्वक घरको बाटो ततायो । टेबुलबाट रोटीका टुक्रा झिके जस्तो गरी राति शार्कले माछाको कङ्कालबाट एक एक गरेर मासु चुँडालेर लगे । डुङ्गा चलाइरह्यो । केही वास्ता गरेन बूढोले अरू कुराको ।

उसलाई यति मात्र ख्याल भयो कि डुङ्गा हलुको छ अनि राम्रोसित अगाडि बढिरहेको छ । डुङ्गामा कुनै गह्रौ चीज छैन ।

डुङ्गा विल्कुल ठीक छ । उसले सोच्यो । बहाना बाहेक डुङ्गाको अझै कुनै चीजमा क्षति पुगेको छैन । त्यो त सजिलै फेर्न सकिन्छ । आफू समुद्री धारमा पुगेको थाहा भयो बूढोलाई अनि समुद्रतटका बस्तीहरूबाट आएको बत्तीको उज्यालो देख्यो | आफू कहाँ आइपुगियो थाहा भयो उसलाई । अब उसले घर पुग्न धेरै हिँड्नु पर्दैनथ्यो ।

जे होस्‌ हावा हाम्रो साथी हो । तर कहिलेकाही मात्र । यो ठूलो समुद्रमा हाम्रा साथी पनि छन्‌ । साथै शत्रु पनि । ओछ्यान पनि ठूलै चीज हुन सक्छ, उसले सोच्यो । ओछ्यान कसरी आरामदायी हुन्छ मलाई थाहा छैन । अनि कसले पराजित गर्यो तँलाई ? उसले सोच्यो ।

“अहँ ।” कसैले पराजित गरेन मलाई । उसले चिच्च्याएर भन्यो । धेरै टाढा पुगेछु र मात्रै हो ।”