माधवले भन्यो, “ लालटीन बालेर र कुर्सी सजाएर बसीबसी यस्ता कुरा सोधेर केही फाइदा हुन्न ,बाबुसाहेब । हामीलाई केही भन्नु छैन । शशी बाबु समितिको मुख्य मान्छे हुन् । हामीलाई आधा मजुरी दिन पनि दाँतबाट पसिना निकाल्छन् । उनैलाई सोधेर हेर्नुस न । भन्नुस शशी बाबु, तपाईँ नै जवाफ दिनुस ।”
फेरि माधवले भन्यो, “ उठौँ सबै जना । घर जाऊँ अब ।”
र ,उनीहरू सबै जना उठेर हिँडे ।
छक्क पर्दै द्वैपायनले सोध्यो, “के भयो ? केही बुझिरहेको छुइनँ म त । यिनले कुनै आन्दोलन त ग¥या होइनन् ?”
शशीले भन्यो, “टुडुको नाम लिनुभयो । त्यसै पनि यिनीहरू हामी कसैलाई विश्वास गर्दैनन् ।”
“पवन किसकु खेजुरहाटामा छ ?”
“अँ , जाऊँ । फर्कौँ ।”
“भोलि त्यहीँ जाउँला ।”
भोलिपल्ट उनीहरू खेजुरहाटा गए । त्यहाँ पु¥याइदिएपछि गोराले भन्यो,“म जीप लिएर जान्छु । भुइँयाको जीप हो । त्यहाँबाट उसको ड्राइभरले लगिहाल्छ ।”
“किन ?”
“इन्द्र , ऊसँग घुमेर म के गरौँ ? कहाँबाट के गर्न आएको हो यहाँ ? कसलाई के थाहा छ र ? शहरमा मेरो काम पनि छ ।”
द्वैपायनले भन्यो,“जीप चाहिँदैन ।”
“चाहिँदैन ?”
“चाहिँदैन ।”
“कसरी फर्कनुहुन्छ त ?”
“पैदल वा गोरुगाडामा पनि ।”
“ठीक छ । हिँडनुस ,भेटघाट गराइदिन्छु ।”
“कहाँ ? कोसँग ?”
“समितिको कार्यालयमा । बैरागी सर्दारको घरमा कार्यालय छ । मन्त्री उही हो । जाऊँ त भनियो …तर बैरागी भेटिएला के ? धान रोपाइका बेलामा ऊ गाउँमा विरलै बस्छ । ”
कच्ची घरकोएकातिर बैरागीको आवास र अर्कोतिर समितिको कार्यालय । बिचमा बार । उनीहरू आउने खबर पहिले नै आइपुगेको थियो । तर तिथिमिति ठेगान गरिएको थिएन । बैरागीको छोराले समितिको कोठा खोलिदियो अनि त्यहाँ बाँधिराखेको खसीबाख्रा डो¥याउँदै अर्कोतिर लग्यो । भुइँमा गुन्द्री ओछ्याइएको थियो । कुनामा कागजपत्रको चाङ थियो । इन्द्र र द्वैपायनले गुन्द्रीमा आफ्नो झोलीझाम्टा बिसाए । बैरागीकी दुलही टाउकामा दाउराको भारी बोकेर आँगनमा देखा परी । दाउराको भारी बिसाउँदा बिसाउँदै उनीहरूलाई देखेर भनी, “ घरमा छैनन होला , कतै गएका होलान् ।”
इन्द्रले भन्यो, “ठीक छ । हामी बसिहाल्छौँ ।”
दुलही बिरामी जस्ती थिई । मसिनो स्वरमा भनी, “त्यतातिर इनार छ ,पानी छ । तपाईँहरू नुहाइधुवाई गर्नुस । म भात बसाउँछु । चिया बनाऊँ कि ?”
मान्छेहरू आउँदै होलान । चियाको बन्दोबस्तले नै अनुमान गर्न सकिन्छ । शख्खरको सादा चिया,त्यसमा अदुवाको रस वा दूध हँुदैन । खाना बनाउनका लागि इन्द्रले काममा सघाइदियो ।इनारबाट पानी तानिदियो ,दाउरा चिरिदियो । बैरागीको जहानले नाइनास्ति गरिन । बरु पछि भनी, “भात र पोस्तामात्र हुन्छ । अरुथोक केही पनि छैन ।”
“यति नै प्रशस्त भयो ।”
“मानिसहरू कति थोक दिन खोज्छन् तर ऊ केही पनि लिँदैन ।”
बैरागी आइपुग्दा साँझ परिसकेको थियो । द्वैपायनलाई देखेर आत्तिए जस्तो भयो । इन्द्रसँग भन्यो, “ पवनको कोठा उतातिर छ । यसैपालि नयाँ बनाएको हो । तपाईँहरू त्यतै हिँडनुस । ”
“होइन , यहीँ ठीक छ ।”
द्वैपायनले असजिलो मानिरहेको देखेर इन्द्र मनमनै खुसी भइरहेको थियो । भन्यो, “ प्राकृतिक कर्मबाट निवृत्त हुन बाँसघारीतिर गएर ‘भेटी चढाउनु’ ।”
द्वैपायनले सहिदको जस्तो मुखमुद्रा बनाउँदै सोध्यो,“ भेटी ?”
“खाल्डोमा अनुदान दिने कार्यलाई भेटी भन्छन् यतातिर ।”
बैरागीले भन्यो, “भेटीको राम्रो सुविधा छ । खाल्डो भरिएपछि माटोले पुरिदियो अनि खाद बनायो । त्यो खाद खेतमा खन्याएपछि माटोमा सुन फल्छ ,सुन । पहिले त कोही पनि त्यसो गर्न मान्दैनथे । म भन्छु फोहोर त माट्टिइसकेपछि फोहोर रहँदैन,माटो बन्यो माटो । योभन्दा राम्रो त कुनै खाद हुनै सक्दैन ।”
इन्द्रले जिस्क्याउँदै भन्यो, “तपाईँ जानुस । नजानेभए जागुला नफर्कुन्जेलसम्म चेपेरै बस्नुस ।”
”सर्प त छैन ?”
”हेले –ढेमना सर्प त होला नै ।”
द्वैपायन उत्सर्जनका लागि जान त गयो तर तुरुन्तै फर्केर आयो ।
बैरागीको समितिको कोठा । मध्यान्हमा भात र पिँधेको पोस्ता । उत्सर्जनका लागि जाँदा सर्पसँग जम्काभेट हुने सम्भावना । गाउँसँग घनिष्ठ परिचय बढाएर उसलाई वा गाउँलाई कुनै लाभ भएको जस्तो लाग्दैन उसलाई । इन्द्रले खुसी जाहेर गर्दै भन्यो, “ अब जीप आउँदैन । हिलो,गेगर र माटोमा लडदैपडदै पैदलै हिँडनु पर्छ । अबचाहिँ साँच्चै नै गाउँसँग तपाईँको साक्षात्कार हुने भयो ।”
एकछिनपछि फेरि सोध्यो, “भन्नुस् त ,किन आउनुभएको हो तपाईँ ?”
“भनँुला ,भनँुला ।”
साँझमा उनीहरू पवनको घरमा गए । पवन किसकु । आफ्नो जातिमा धनीमानी । पन्ध्र बिघा जमीनको मालिक । देख्दै थाहा हुन्छ उसको सुखसुविधा । सफासुग्घर आँगनमा सुङ्गुरको खोर र गाईको गोठ ।चौतारोमा झुण्डेको कालो पाटी अनि फलेक ठोकेर बनाइएको तखतामा पातला पातला पुस्तकहरू । साँझ साँझतिर उसको दुलही,आमा र छोरी डालोमा माछा बोकेर आइपुगे । नजिकैको नहरबाट माछा समातेर ल्याएका । पवन कुनै राजनीतिक पार्टीमा सामेल भएको छैन।
इन्दको नाम सुन्नासाथै पवनले उसलाई चिनिहाल्यो । भन्न लाग्यो, “चुडामणिसँग झगडा गर्छौ ,त्यो पनि खाली हात ?नक्सली आन्दोलनकै बेलादेखि पुलिससँग उसको लोग्ने स्वास्नीको जस्तो नाता बनेको छ । उसले एउटा बन्दुक खोसेको थियो । अचेल ऊसँग तिनवटा बन्दुक छ । दनादन चलाउँछ । अनि यी महाशय को हुन ?”
”यिनकै लागि त आएको हँु ।”
”किताब लेख्छन् कि ?”
द्वैपायनले भन्यो, “होइन , होइन ।”फेरि वरिपरि आँखा डुलाउँदै सोध्यो, “तिमी लेखपढ सिकाइरहेका छौ तर कसलाई ?”
“जो आउँछन् ,तिनैलाई ।”
“कुनै सरकारी कार्यक्रम हो कि ?”
“होइन ।”
“अनि ?”
“लेखपढ गर्न जानुन,यही उद्देश्यले । पुस्तक पढेर ज्ञान गुन सिकुन । यहाँका मान्छेहरू बिचरा केही पनि जान्दैनन । यसैले मार खान्छन् बिचराहरू । ”
“जाने ,थाहा पाएभने ?”
“हाम्रो हक के हो – यत्ति मात्र थाहा पाउन सकुन् । सरकारले जे दिइरहेको छ ,त्यति पनि थाहा छैन यिनलाई । नक्सली आन्दोलन चल्यो,फेरि बसाईले लडाइ चलाए । कानूनविदलाई गुहारेर प्रताप कुडाको बेनामी र ऐलानी (खास) जमीन पत्ता लगायौँ र खोस्यौँ । सबैलाई अलिअलि भए पनि बाँड्यौँ । मेरो घरमा तेह्र जना छन् ,जम्माजम्मी पन्ध्र बिघा जमीन छ । दुई वर्षसम्म कसैले केही ध्यान दिएनन । प्रतापका मानिसहरूले हाम्रो जमीन खोसेर लिइरहेका छन् । मेरो जमीन किन दिन्थेँ म ? कानून पनि थाहा छ । लडाइ लडन पनि जानेको छु ।”
“हकका लागि लडछौ ?”
“नलडे त सबै हडपिहाल्छन् । यो सारा जमीन सन्थालहरूको जङ्गलबाट लिइएको हो । कहाँ गयो त्यो सारा जमीन ? लडाइ नलडेरै गुमेको हो नि । त्यसैले लडाइ लडछु । हक चाहिन्छ ।”
“तिमी त मोजै गरेर बस्या छौ !”
“त्यो त छ । आनन्दै छ ।”
“आफ्नो समाजको अरु मानिसभन्दा त सम्पन्नै छौ नि ।”
“भन्दै जानुस,हजुर ।”
“पछिल्ला दश वर्षमा तिमीहरूले कुनै आन्दोलन गरेनौ । यस्तो किन भयो ,भन्न सक्छौ ? के लाग्छ तिमीलाई ?”
“सबै कुराको जवाफ दिन्छु । अरु जेजे सोध्नु छ , सोध्नु ।”
“तिम्रो समाजमा निकै थोरै मान्छेहरू मात्र आन्दोलनमा उत्रिएका छन ,धेरै मानिस आन्दोलनमा आएनन । जो पढेलेखेका छन ,तिनै मानिसहरू समाजबाट परपर हँुदै गइरहेका छन् । उनीहरू कुनै पनि आन्दोलन चाँहदैनन, होइन त ? अनि कुन बाटोबाट तिमीलाई हक मिल्दछ , भन त ?”
“के भनौँ ? कुनचाहिँ कुरो भनौँ ?”
“तिमीलाई देख्नासाथै थाहा भइहाल्छ । यहाँसम्म कि सन्थाल नेता बसाई टुडुको आन्दोलनको कुनै असर पनि परेन तिम्रो समाजमा । होइन त ?”
“जुन नाम तपाईँ पटकपटक लिइरहनु भएको छ ,त्यति सजिलै त्यो नाम समाजबाट मेटिँदैन ,बुझ्नु भयो ? को हो तपाईँ ? आँखामा चश्मा, हातमा मेसिन । यहाँ आएर तपाईँ फटाफट उनको नाम सोध्नुहुन्छ ,किन ? अहँ ,हँुदैन । म केही पनि बताउँदिन तपाईँलाई । त्यस बेला नक्सल आन्दोलन चलिरहेको थियो । बसाईले हामी सबैलाई आह्वान गरेका थिए । त्यसबेला पनि एकजना महाशय आएका थिए । सुधो अनुहार बनाएर हामीसँग अनेक जाति सोध्थे र पुलिसलाई सल्लाह दिन्थे । ”
“अरे , म त पुलिसको मान्छे हुइनँ नि ।”
“होइन ,होइन ।” पवनले नकारमा टाउको हल्लाउँदै भन्यो, “अहिले भन्नुभयोकि म बाँकी समाजभन्दा सम्पन्न छु । यस्तो किन भन्नुभयो ? मसँगै सबैले जमीन पाएका थिए । डरधम्की र कुटपिटका कारण उनीहरूले जमीन छाडिदिए । आफ्नो जमीन त कब्जा गर्छु नै ।जबसम्म त्यो काम सम्पन्न हँुदैन तबसम्म खाइपिई गरी बचेको आफ्नो जमीनको फसललाई धर्मभकारी बनाएर राखेको छु । ती बाबुलाई थाहा छ नि, सोरेनले फसल यसैगरी जम्मा गरेका छन् । हामी अलि फरक तरिकाले राख्छौँ । पढेलेखेको सन्थाल पनि समाजको कुरो सोच्दछन् ,समाजसँग सरोकार राख्दछन् । रह्यो कुरो लडाइको । लडाइमा को सामेल भएन ? कसले पिटाइ खाएन ? कस्तो खाले कुरा गर्नुहुन्छ तपाईँ ?”
“तर ?”
“मैले पनि नौ कक्षासम्म पढेको छु ,तपाईँहरूकै स्कूलमा । खुब पिटाइ खाएँ । अब बल्ल कुरो बुझ्दैछु ।”
द्वैपायन जवाफ दिन नसकेर फर्केर आएको थियो । त्यही राति अपमानित अस्वीकृत द्वैपायनले इन्द्रलाई आफ्नो शोधको विषयका बारेमा भन्यो । अरु कुनै बेला भए शायद भन्ने थिएन । तर पहिले माधव र त्यसपछि पवनबाट अपमानित हुनुको अनुभव उसको जिन्दगीमा पहिलो अनुभव थियो । धेरै पहिले जुन बेला ऊ विश्वविद्यालयको छात्र थियो ,सन्थालहरूको गुप्त जीवनको शोधको सिलसिलामा सन्थालको एउटा विवाह हेर्न गएको थियो । जब काला मानिसहरू नाचगानमा मस्त थिए त्यसैबेला एकजना बुढोले भन्यो,“तल्सिङ जोतदारको टाउको छिनाएर आएको हँु । त्यसैले नाचगानमा रमझम बढेको हो ।” यो सुनेर उसको त हंसले ठाउँ छोड्यो,मनमा चर्को डर पस्यो । सन्थालका बारेमा सोच्दा मनै आतङ्कित हुन्छ । यिनको अनुहार देख्नासाथै मन अत्तालिन्छ । एकदम डर लाग्छ । यो डर ,यो अविश्वास उसको मनको भित्री तहमा डेरा जमाएर बसेको छ ।
र, द्वैपायन लामो समयसम्म आम मानिसको सम्पर्कमा गएन । सामन्त,गोरा,इन्द्रहरूसँग भेट हँुदा पनि उसको मनको छटपटी बढछ । माधव ,पवन अनि भतुवा केटो – धरतीका यी खाँटी सन्तानसँगको साहचर्य पनि उसलाई प्रीतिकर लाग्दैन ।
द्वैपायन आफूजस्तै नक्कली मानिसहरूसँग मिल्दछ । उसको मन त्यहीँ रम्दछ जहाँ ऊ लामो समयदेखि सुन्दै आइरहेछ कि ऊ असामान्य विद्वान हो ,उसको अध्ययन विशाल छ । त्यो संसारमा उसलाई आदर सम्मान मिल्ने गरेको छ । श्रद्धा,सम्मान र प्रशंसाको ऊ आदि बनिसकेको छ । यिनै कुराहरूले आफूउपर उसको आस्था जागृत भएको छ । पहिले माधव र त्यसपछि पवनले आफ्नो भङ्ज्याहा कालो पञ्जाले उसको आत्मविश्वासको नक्कली आवरण र असत्यको काँचुली झिकेर फालिदिए र उसलाई खारेज गरिदिए । र , अब द्वैपायन चुहुने घडाजस्तो भएको छ ,उसको सारा पाण्डित्य वा व्यक्तित्व सापटी लिएको जस्तो भएको छ । आफ्नो भन्नु ऊसँग केही पनि छैन । त्यसैले ऊ निकै कमजोर भइसकेको छ । उसको आत्मविश्वास डगमगाइसकेको छ ।यदि मनको यस्तो अवस्था हुन्छ भन्ने थाहा पाएको भए उसले इन्द्रसँग यी कुराहरू भन्ने थिएन ।
मनको यस्तो अवस्था हँुदाहँुदै पनि पहिले उसले यस्ता कुरा कसैसँग पनि भन्न पाएन । बैरागीको घरमा फर्केर आएपछि कालो धुवाँ फाल्दै गरेको लालटीनको उज्यालोमा गुन्द्री देखेपछि बल्ल उसले राहतको सास फेरेको थियो । त्यसपछि इन्द्रसँग उसले सोध्यो,“ अलिकति ह्विस्की पिउँछौ ?”
“अहँ । ”
“म पिउँछु । ”
“पिउनुस ।”
“गिलास ?”
“यिनको गिलास पानी पिउनका लागि हो । आफ्नो थर्मसको गिलासमा पिउनुस न । ”
“त्यसैमा पिउँछु ।”
“सादै पिउनुहुन्छ ?”
“पानी पाइएला त ?”
“किन, यहाँ आएर पानी खानुभएको छैन ? तपाईँ पनि बिचित्रै हुनुहुन्छ ! गाउँ देहातमा घुम्ने लहड किन चल्छ तपाईँलाई ?”
“ म केही पनि खाँदिन ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।