साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छेको भाग्य र दोनका कथाहरू भाग ९

week 9

“पसले साहु गाईवस्तुलाई बजारतिर बेच्न लैजाँदै थियो । उसैले जानाजानी तिम्रो खेतमा गाईवस्तु हुलिदिएको हो….।” बाबुले आफ्नो मेच अझैं वर सारेर अगाडि भन्दै गए

“पसले साहु र अरू धनीमानीहरूले भएभरको जग्गाजमीन हडप गरेर लिए। गरीबहरूसंग खेतीपाती गर्ने एक धरो जग्गा पनि बाँकी रहेन। हाम्रो गाउँमा मात्न होइन, जताततै यस्तै अवस्था थियो। त्यस ताका उनीहरूले हामीलाई सताउनसम्म सताएका थिए।… जिउनु नै धौ धौ परेको थियो। मैले गाउँलेहरूको गोठालो बनेर जीवन धान्नु पर्यो। पछि म भर्तीमा गएँ। भर्तीमा पनि कुनै राम्रो चाला थिएन । सानोतिनो भूलचूकको लागि पनि अफिसरहरूको चुटाइ खानु पर्दथ्यो।.. पछि बोल्शेभिकहरू देखा पर्ने थाले। लेनिन भन्ने एक जना उनीहरूका नेता थिए। यसो हेर्दा त उनी उतिसारो ठूला मान्छे होलान्‌ जस्तो लाग्दैनथ्यो, हामी जस्तै खेतीवालकै भाइछोरा जस्तै थिए। तर उनी अग्घोरै पढेलेखेका विद्वान्‌ थिए । बोल्शेभिकहरूले हामीलाई खुबै पो हपारे त ! “किसान र मजदुरहरू हो ! किन पक्क परेर लाटोले केरा हेरे जस्तै हेरिरहन्छौ हँ ? ”- उनीहरू भन्ने गदेथे । – “आफ्ना मालिक र हाकिम भनाउँदाहरूलाई कुचोले कसिंगर बढारे झैं बढारेर मिल्काइदेओ न ! सबै कुरो आखिर तिमीहरूकैत हो नि ! ..” यस्तो कुरा गरेर उनीहरूले हामीलाई खूबै हौस्याए ।

हामी बोल्शेभिकहरूको कुराको खण्डन गर्ने सक्तैनथ्यौं, किनभने, जब हामी सोच्न थाल्दथ्यौं, उनीहरूले भनेकै कुरा नै सही पाउँथ्यौं। अनि हामीले जग्गाधनीहरू र जिमिन्दारहरू बाट जग्गा खोसेर लियौं। उनीहरूलाई यस्तो कुरा अवश्यै मन परेन। उनीहरू आफ्नो जग्गाजमीन गुमेकोले असन्तुष्ट हुन गए । उनीहरू रीसले चूर त हुने नै भए। अनि हाम्रो बिरोधमा खेतीवाल र ज्यामीहरूको विरोधमा उनीहरूले लडाईँ नै छेडिदिए…। बुझिस्‌ त छोरा, कुरा को कस्तो निस्कियो ?

अनि बोल्शेभिकहरूका नेता तिनै लेनिनले त्यसरी नै जनतालाई जगाए जसरी हलीले हलोको फालीद्वारा माटोको ढिस्को माथि उठाउँछ । मजदूर र सैनिकहरूलाई एकजूट पारियो र मालिकहरूको विरुद्ध खडा गरियो। मालिक भनाउँदाहरूको सातोपुत्लो नै उड्यो । सिपाही र मजदुरहरूले लाल गाड भन्ने नाउँ पाए। म पनि लाल गाडमा नै भर्ती भएँ। हामी एउटा बडेमाको घरमा बसेका थियौं जुन स्मोल्नी भनिन्थ्यो । बुझिस्‌ छोरा; त्यस घरमा ज्यादै ठूला र लामा हलहरू छन्‌ र कोठाहरू पनि यति बिघ्न धेरै छन्‌ कि त्यहाँ आफू नै गुम हुन बेर लाग्दैन ।

एक पल्ट मैले मूल ढोकैमा राति पालो बस्नु पर्यो। बाहिर मुटु नै ठिहिर्याउने जाडो थियो, तर मसित भने न्यानो लुगाको नाउँमा एउटा सैनिक वर्दी सिवाय अरू केही पनि थिएन । सिरेटोको झोक्का पनि सोझै ममाथि नै परिरहेको थियो। यत्तिकैमा दुई जना मानिस ढोकाबाट बाहिर निस्किए र मेरै बगलबाट अगाडि लम्किए । जब उनीहरू मेरो नजीकै आए, तब मैले देखें कि ती दुई जनामध्ये एक जना चाहिँ लेनिन थिए । उनी फटाफट मनेरै गराए र स्नेहपू्र्वक सोध्न लागे-

“जाडो त लागेको छैन, साथी ? ”

“छैन, साथी लेनिन ! “- मैले सलाम ठोकेर जवाफ दिएँ – जाबो जाडोले त के, कस्तै खुँखार दुश्मनले पनि हामीलाई, डगमगाउन सक्ने छैन। बुर्जुवाको हातमा थपक्क सुम्पिदिन हामीले अवश्य पनि सत्ता जितेका होइनौं ! ”

उनी खुलेर हाँसे, अनि खुला दिलले, मसित हात मिलाउँदै मेरो हात जोडले च्यापे। त्यसपछि उनी बिस्तार-बिस्तार ढोकातर्फ लागे ।

बाबु एक छिन चूप लागे, अनि गोजीबाट उनले सूर्तीको बट्टा झिके, कागजको एउटा सानो चिट हातमा लिए र त्यसमा अलिकति सूर्तीको धूलो हालेर बटारे। जब उनले त्यो चुरोट सल्काउन सलाई कोरे, मिशाले उनको खैरो र टर्रो जुँगामा आँसुको एक बुँद टल्किरहेको देख्यो जुन बिहान झिस्मिसमा सिस्नुको पातमा झुण्डिरहने शीतको थोपा जस्तै प्रतीत भइरहेको थियो ।

“देखिस्‌, उनी कस्ता थिए ! ”-बाबुले अगाडि भने। – सबै -कुरामा चासो राख्थे उनी। हरेक सिपाहीको निम्ति भित्नी दिलदेखि नै चिन्ता गर्दथे . . .। त्यसपछि मैले उनलाई धेरै पल्ट देखेको थिएँ। उनी मेरो बगलबाट अगाडि लम्कन्थे, टाढैबाट मलाई चिनिहाल्थे र मुस्कुराउँदै सोध्ने गर्थे-

“बुर्जुवाहरूले हाम्रो ढाड भाँच्न सक्तैनन्‌, हैन त ?”

“उनीहरूको दह्याँकुलोमा ह्याउ नै छैन, साथी लेनिन ।” म जवाफ दिन्थे।

कुरा त उनले भनेकै जस्तो पो भयो, छोरा ! हामीले जग्गाजमीन र कलकारखाना खोसेर लियौं., र हाम्रो रगत चुस्न पल्केका धनीमानीहरूलाई गलहत्त्याइदियौं …। हुर्केपछि पनि तँ यो कुरा नबिर्सेस्‌ कि तेरो बाबु -नौसैनिक थियो र कम्यूनको निम्ति उसले चार वर्षसम्म रगत बगाएको थियो। त्यत्तिखेरसम्म म मरिसकेको हुने छु, लेनिन पनि त मरेर जालान्‌ ; तर हामीले जुन कार्यको लागि डटेर लड्यौं त्यो चाहिं युगयुगान्तरसम्म अजर-अमर रहने छ…। जब हुर्केर ठूलो होलास्‌, तँ पनि त सोभियत सत्ताको निम्ति लड्लास्‌ नि, आफ्नै बाबुले जस्तै ? ”

“लडुँला ! ”-मिशा करायो र बाबुको गलामा अँगालो मार्ने खोज्दै खाटमा बुर्लुक्क उफ्रियो । नजीकै हजुरबा पल्टिरहेका त उसलाई होशै भएन ! बूढाको भुँडीमा नै उ कुल्चन पुगेक्को थियो ?

हजुरबा पीडाले बेसरी घुर्राए र हात पसारेर मिशालाई जगल्ट्याउन खोजे । तर- बाबुले मिशालाई हातमा उठाएर अर्को कोठामा लिएर गैसकेका थिए।

केही बेरपछि बाबुको काखमा नै मिशा भुसुक्क निदायो । तर सुत्नुभन्दा पहिले उसले लेनिन भन्ने अचम्मको मान्छेबारे र बोल्शेभिकहरूबारे, लडाइँबारे र जहाजहरूबारे धेरै बेरसम्म खुब, सोचविचार गर्यो । तन्द्रामा उसले शुरूमा खासखुस स्वर सुन्यो, पसीना र चुरोटको मीठो गन्धको अनुभव गर्यो, अनि, आँखा झम्म भएर आयो र बिल्कुलै बन्द भयो मानौं कसैले कुहिनोले उसको आँखाको पटल थिचिराखेको होस्‌ !

मस्तसंग निदाउन पाउँदा नपाउँदै, उसले शहरको सपना देख्यो। सडकहरू निकै फराकिला थिए, खरानीको रासमा कुखुराका चल्लाहरू लुटपुटिंदै चारा ठुँग्दै थिए। गाउँमा त यतिबिध्न कुखुराका चल्लाहरू हुन्छन्‌ भने ठूलो शहरमा त झन्‌ बढी हुने नै भए ! घरहरू पनि बाबुले बयान गरे जस्ता नै थिए। बडेमाको घर भर्खरै काटिएका नयाँ नरकटले छाइएको थियो, धुवाँ निस्कने चिमनीनेरै अर्को घर खडा थियो । सबभन्दा माथिल्लो घरको चिमनी चाहिँ सीधै आकांश सम्म नै ठाडो उठेको थियो ।

मिशा सडकमा पाइला सार्दै थियो, उसको शिर गर्वले माथि उठेको थियो। उ चारैतिर निहार्दै थियो। एक्कासि रातो कमीज लगाइराखेको एउटा अग्लो मान्छे उसैतर्फ लस्कँदै आइरहेको उसले देख्यो ।

“काम न काज किन यताउति भौतारिदै छस्‌ हँ, मिशा? ” त्यस मान्छेले ज्यादै, दयालु स्वरमा उससित सोध्यो ।

“जीबाले मलाई घुम्न र खेल्न छेडिदिनु भा’ छ ! ” मिशाले झट्पट उत्तर दियो।

“चिन्छस्‌ मलाई ? म को हुँ ?”

“अहँ , चिन्दिनँ ! ”

“म कामरेड लेनिन हुँ ! ..”

मिशा यति भयभीत भयो कि उसका घुँडा थर्कन थाले । उसले त्यहाँबाट कतै सुइँकुच्चा ठोक्न चाह्यो, तर रातो कमीज लगाइराख्ने मान्छेले मिशाको पाखुरा तान्दै भयो-

“मिशा , तँसंग सोमत भनेको फुट्या कौडी जति पनि रहेन छ। तँलाई थाहै होला म गरीबहरूको लागि लड्दै छु। तँ किन मेरो सेनामा भर्ती भइनस्‌ ? ”

“जीबा मलाई छोड्नै चाहन्नन्‌ । ” मिशाले स्पष्टीकरण दियो ।

“हेर्‌, जसो भन्छस्‌ !” -कामरेड लेनिन भन्दै थिए। “तर तँ बेगर मेरो काम नै बनिरहेको छैन। तैले मेरो सेनामा भर्ती हुनै पर्छ ! अरू ह्यानत्यान कुराको मलाई चासो छैन… । ”

मिशाले कामरेड लेनिनको हात समाउँदै दृढतापूर्वक जवाफ दियो-

“लौ, हुन्छ ! म जीबासित नसोधीकनै तिम्रो सेनामा भर्ती हुँला र गरीब जनताको लागि लडुँला । तर जीबाले मलाई यसको निम्ति कोर्रा ठोके भने तिमी नै मेरो बचाउ गर्नू ! ”

“अवश्य बचाउ गरूँला ! ” – कामरेड लेनिनले वचन दिए र सरासर अगाडि लम्किए । हर्षले गर्दा सास घाँटीको घाँटीमै रोकिएको मिशालाई अनुभव भयो। उ जोडले के हो कुन्नि कराउन चाहन्थ्यो, तर उसको मुख नै सुकेर आयो र जिब्रो लठ्याँग्रियो . . . ।

मिशा ओछ्यानमा छटपटायो , हजुरबालाई गोडाले भकुर्यो र निद्राबाट झल्यास्स ब्युँझियो ।

हजुरबा ओंठ चलाउँदै थिए, सपनामा बड्बडाउँदै थिए झ्यालबाहिर पोखरीपारि आकाशको नीलिमा फिका पर्दै गइरहेको थियो र पूरवतर्फबाट पौड्दै आइरहेको बादलको गुलाफी फीँज उठिरहेको देखिन्थ्यो ।

 

प्रतिक्रिया
Loading...