week 24

परिच्छेद २४

प्रतीक्षा कोठामा अब राजकुमार भासिली र जेठी राजकुमारीबाहेक कोही थिएन । उनीहरू क्याथरिन महानको छविचित्रमुनि बसेर उत्सुकतापूर्वक गफ गरिरहेका थिए । उनीहरू पियेरे र उसको साथीलाई देख्ने वित्तिकै चुपचाप लागे । पियेरेलाई राजकुमारीले केही कुरा लुकाएजस्तो लाग्यो – उसले साउती गर्दै बोली “यो आइमाई मलाई आँखा फुट्न मन पर्दैन ।”

“कतिशले सानो बैठक कोठामा चिया-नास्ताको व्यवस्था गरेकी छ,” राजकुमार भासिलीले अन्ना मिखायलोभ्नालाई भन्यो । “जाऊ र केही खाइपिइ गर नत्र भोकले मर्ने छौ प्यारी अन्ना मिखायलोभ्ना ।” पियेरेलाई भने उनले केही भनेन्न खालि उसको काँधमुनि पाखुरामा सामान्य रूपमा अँठ्याए । पियेरे अन्ना मिखायलोभ्नाको पछिपछि सानो बैठक कोठामा गयो ।

“जाग्राम बसेको भोलिपल्ट यो मिठो रसियाली चियाले जस्तो स्फूर्ति अरू कुनै चिजले दिदैन,” डुडे चिनियाँ प्यालामा चिया पिउँदै लोरेन मर्यादित उल्लासका साथ भन्दै थियो । ऊ गोलाकार सानो बैठक कोठामा एउटा टेबुलअगाडि उभिएको थियो, जहाँ चियाका भाँडा र अरू केही खाने कुराहरू पनि राखिएका थिए । टेबुलको वरिपरि त्यो रात काउन्ट बेजुकोभका घरमा जो जो थिए, सबै आफूआफूलाई बलियो र फूर्तिलो देखाउन जम्मा भएका थिए । ऐनाहरू र साना साना कुर्सी राखिएको यो सानो गोलाकार बैठक कोठाको पियेरेलाई राम्रोसँग सम्झना थियो ।

यस घरमा बालनृत्य आयोजना गरिएको बेला नाच्न नजान्ने पियेरे, ती महिलाहरूलाई हेरेर यस कोठामा एक्लै बस्न रुचाउँथ्यो, जो बालनृत्यमा लगाउने पोशाक लगाएर आफ्ना नाङ्गा गर्दन र काँधमा हीरा र मोतीले सजिसजाउ भएर यस कोठाबाट ओहोर-दोहोर गर्थे । उनीहरू उज्यालो ऐनामा आफूहरूको अनुहार हेर्थे, जुन ऐनाले उनीहरूको बिम्ब कैयौँ पटक दोहोर्याउँथ्यो । तर अहिले त्यही कोठामा दुइटा मधुर मोमबत्ती मात्र बलिरहेका थिए । एउटा सानो टेबुलमा चियोको भाँडा र केही खाने कुरा अव्यवस्थित ढङ्गमा राखिएका थिए । निन्याउरो मुख लाएका अनेक किसिमका रङ्गीबिरङ्गी मान्छेहरू त्यो मध्यरातमा यहाँ बसेका थिए । उनीहरू साउती गर्दै एक-आपसमा बोल्थे । उनीहरूको हरेक शब्द र हरेक गतिविधिबाट यो प्रमाणित हुन्थ्यो कि उनीहरूमध्ये कसैले पनि अहिले यहाँ के भइरहेछ र काउन्टको शयनकक्षमा के हुनेवाला छ. भन्ने कुरा बिर्सेका थिएनन्‌ । असाध्यै भोक लागेर खान मन लागे पनि पियेरेले केही खाएन । उसले प्रश्नसूचक दृष्टिले आफ्नो सल्लाहकारतिर हेर्यो र देख्यो कि ऊ फेरि औँलाका भरले टेक्तै राजकुमार भासिली जेठी राजकुमारी बसेको स्वागतकक्षमा जाँदै थियो । पियेरेले यो पनि जरुरी छ भन्ने निष्कर्ष निकाल्यो र एकछिन पछाडि आफू पनि पछि लाग्यो । अन्ना मिखायलोभ्ना राजकुमारीको बगलमा उभिइरहेकी थिई । उनीहरू दुवै सानो-सानो स्वरमा तर रिसाएर एक-आपसमा भनाभन गरिरहेका थिए ।

“मैले के गर्नु पर्छ र के गर्नु पर्दैन भन्ने कुरा तिमीलाई भन्दा बढी मलाई नै थाहा छ राजकुमार,” राजकुमारी कतिश भन्दै थिई । ऊ सम्भवत: रिसको त्यही आवेगमा थिई, जुन आवेगमा ऊ ढ्याम्म गर्दै आफ्नो कोठाको ढोका बन्द गर्ने बखतमा थिई ।

“तर मेरी प्यारी राजकुमारी,” नम्रतासँग तर आफ्नो कुराको विश्वास दिलाउँदै र काउन्टको शयनकक्षको बाटो छेकेर राजकुमारलाई भित्र जानबाट रोक्दै अन्ना मिखायलोभ्नाले भनी । “आराम गर्न जरुरी भएको यस्तो अवस्थामा बिचरा काकाश्रीलाई कष्ट हुँदैन ? यस संसारबाट उहाँ अर्को संसारमा जान लाग्दै हुनुहुन्छ, यस्तो अवस्थामा यो सांसारिक झमेला झिक्नु राम्रो होला …?”

राजकुमार भासिली स्वाभाविक ढङ्गमा सदाझैँ उपर्खुट्टी लगाएर कुर्सीमा बसिरहेको थियो । थैलीजस्तै तलतिर झोल्लिएका उसका थलथले गाला जोडसँग फर्फराइ रहेका थिए । तर उसलाई ती दुई जनाका बीचमा चलिरहेको जुहारीमा कुनै चासो थिएन ।

“होइन, प्यारी मिखायलोभ्ना, राजकुमारी कतिशलाई जे गर्न ठीक लाग्छ, गर्न देउ । काउन्टले उसलाई कति माया गर्नु हुन्छ भन्ने कुरा तिमीलाई थाहा छँदै छ ।”

“मलाई त यो कागजमा के लेखेको छ भन्ने पनि थाहा छैन,” राजकुमार भासिलीलाई सम्बोधन गर्दै र हातमा लिएको थैली देखाउँदै राजकुमारीले भनी । उनले लेखेको सक्कली बकसपत्र त उनको कागजपत्र राख्ने दराजमा छ र यो त काम नलाग्ने उनले बिर्सिसकेको कुनै एउटा लिखतपत्र मात्र हो । मलाई यत्ति मात्र थाहा छ” उसले भनी ।

राजकुमारी कतिश अन्ना मिखायलोभ्नाबाट उम्कन चाहन्थी तर अन्ना मिखायलोभ्ना उसको बाटो छेक्ने हिसाबले उठी ।

“मलाई थाहा छ, मेरी प्यारी दयालु राजकुमारी,” उक्त थैली बलियोसँग पकडदै अन्ना मिखायलोभ्नाले भनी । तर यो स्पष्ट थियो कि ऊ राजकुमारीलाई सजिलोसँग त्यहाँबाट उम्कन दिने पक्षमा थिइन । “प्यारी राजकुमारी, म तिमीसँग वित्ती गर्छु, म तिम्रो खुट्टा ढोग्छु । काउन्टप्रति दया गर, ।”

राजकुमारीले कुनै उत्तर दिइन | थैलो खोसाखोस गर्दा निस्केको आवाज मात्र त्यहाँ सुनिन्थ्यो । । तर यो पक्का थियो कि यदि राजकुमारीले केही शब्द बोली भने अन्ना मिखायलोभ्नाका लागि कदापि सुखकर हुने छैन । अन्ना मिखायलोभ्नाले थैली बलियोसँग पकडेकी थिई तर उसको बोलीमा भने सधैँको जस्तो मधुरता र कोमलता यथावत थियो ।

“प्यारो पियेरे लौ यता आऊ । पारिवारिक सरसल्लाहमा उसलाई छुट्याउन हुँदैन जस्तो लाग्छ मलाई त होइन त राजकुमार ?”

“तपाईं किन बोल्नु हुन्न, काकाश्री ?” राजकुमारी यति जोडले चिच्याई कि बैठक कोठामा भएका सबैले त्यो आवाज सुने र झस्के । “तपाईं किन चुप लाग्नु हुन्छ ? भगवान्लाई थाहा छ कि मरणासन्न मानिसको कोठाको ढोकामा आएर बेकारमा यस किसिमको उपद्रो मच्चाउने यो आइमाई को हो ? फटाही कहीँ की !” उसले रिसले फुत्कार छोडी र भएभरको बल लगाएर थैली आफूतिर तानी ।

तर अन्ना मिखायलोभ्ना थैली पकडेकै अवस्थामा एक दुई कदम अगाडि बढी र थैली फेरि अर्को हातले पकडी ।

“राजकुमार भासिली उठ्यो । …ओहो, के चाला हो यो ?” उसले भर्त्सना गर्दै र आश्चर्य पनि प्रकट गर्दै भन्यो “यो त ज्यादै लज्जास्पद काम भयो । भैगो, छोडी देऊ, म भन्छु छोडी देऊ ।”

राजकुमारीले छोडी दिई ।

“तिमीले पनि छोडी देऊ ।”

तर अन्ना मिखायलोभ्नाले उसको अनुरोध मानिन ।

छोडी देऊ,भनेको, यसको जिम्मेवारी म लिन्छु । म आफै गएर उनीसँग सोध्छु । हो, म आफै जान्छु …….. तिम्रो चित्त बुझ्छ ?”

“तर राजकुमार,” अन्ना मिखायलोभ्नाले भनी, “यति ठूलो अनुष्ठान सम्पन्न भएको छ, उहाँलाई केही क्षण शान्ति महसुस गर्न दिऔँ ।”

“यहाँ आऊ पियेरे, तिमीले पनि उहाँहरूलाई आफ्नो विचार सुनाऊ,” तन्नेरी मानिसतर्फ फर्कदै उसले भनी । पियेरे अन्ना मिखायलोभ्नाको एकदम न‌जिक आइसकेको थियो र उसले रिसले विकृत तथा आफ्नो सम्पूर्ण गरिमा हराइसकेको राजकुमारीको अनुहार र राजकुमार भासिलीको फर्फराइरहेका थुलथुले गाला आश्चर्यचकित भएर हेर्दै थियो ।

“याद गर तिमीले गरेको यो सम्पूर्ण कुकर्मको परिणाम तिमीले नै भोग्नु पर्ने हुन्छ,” राजकुमार भासिलीले अत्यन्त कठोर शब्दमा भन्यो । “तिमीले के गरिरहेछौ भन्ने कुरा तिमीलाई थाहा छैन, बुझ्यौ ।” “अति भो ।”

“दुष्ट आइमाई,” अप्रत्यासित रूपमा मिखायलोभ्नालाई झम्टँदै र उसको हातबाट थैली खोस्दै राजकुमारी बेसरी चिच्याई ।

राजकुमार भासिलीले शिर निहुराए र दिक्क हुँदै आफ्ना हात झट्कारे ।

ठीक यही बेला, त्यो भयावह ढोका, जो पियेरेले अहिलेसम्म हेरिरहेको थियो र जो सधैँजसो विप्तारै विस्तारै खुल्ने गर्थ्यो, ठूलो आवाज गर्दै खुल्यो र ढ्याङ्ग गर्दै भित्तामा

ठोकियो तीन बहिनीमध्ये माहिली राजकुमारी हात माड्दै हुत्तिएर बाहिर निस्की ।

“तपाईं यहाँ के गर्दै हुनुहुन्छ !” उसले रिसले चुरिँदै भनी । “उहाँको अन्तिम सास जान लागिरहेछ तर तपाईं भने मलाई उहाँसँग एक्लै छोडेर आउनु भयो ।”

उसकी दिदीले थैली सैली फ्याँकिदिई । अन्ना मिखायलोभ्नाले हत्तपत्त त्यो थैली समाती र काउन्टको कोठाभित्र कुदी । जेठी राजकुमारी र राजकुमार भासिलीलाई पनि होस फर्केजस्तो भयो र उनीहरू उसको पछिपछि लागे । त्यसको केही मिनेटपछि जेठी राजकुमारी पहेँलो र कठोर अनुहार लिएर तल्लो ओठ टोक्दै बाहिर निस्की । पियेरेलाई देख्नसाथ उसको अनुहार अदमनीय घुणाले अन्तर्व्यप्त भयो ।

“अब बल्ल तिमीलार्इ हाइसन्चो भयो होला,” उसले भनी । “यही पर्खेर बसिरहेथ्यौ होइन ।” यति भनेर आँसुका धारा बर्साउँदै उसले रुमालले मुख छोपी र ढोकाबाट निस्केर दगुरी

त्यसपछि राजकुमार भासिलीको पालो आयो । ऊ लडखडाउँदै पियेरे बसिरहेको सोफामा आएर ढयाम्म पछारियो । उसले पनि हातले मुख छोपेको थियो । पियेरेले उसको अनुहारको रङ उडेको र च्यापु काम जरो आउँदाझैँ लुग्लुगाइरहेको देख्यो ।

“ओहो, मेरो मित्र,” पियेरेको कुहिना आफ्नो हातमा लिँदै उसले भन्यो। उसको आवाजमा यति इमान्दार, निष्कपटता र कोमलता थियो, जो पियेरेले यसअगि कहिल्यै देखेको थिएन । “हामीले कति पाप गर्छौँ, कति छलकपट गर्छौँ तर त्यो सब केका लागि ? म पनि साठी पुग्न आँटिसकेँ, प्रिय मित्र …….. म पनि…….:मेरो पनि पालो……। सबैथोक मृत्युसँगसँगै समाप्त भएर जान्छ, केही रहदैन, सबै थोक…….। मृत्यु अग्घोर डरलाग्दो हुन्छ ………,” क घ्वाँघ्वाँ रुन थाल्यो ।

सबभन्दा पछि अन्ना मिखायलोभ्ना निस्की । ऊ विस्तारै पाइला उचाल्दै पियेरे भए ठाउँमा गई ।

“पियेरे,” उसले भनी ।

पियेरेले उसलाई प्रश्नसूचक दृष्टिले हेर्यो । उसले आफ्नो आँखा आँसुले भिरजाउँदै पियेरेको, शिर चुम्बन गरी र केही समय चुप लागेर बसी र भनी :

“काउन्ट जानु भयो ……….।”

पियेरेले उसलाई चश्माबाट हेर्यो ।

“आऊ, म तिमीलाई लिएर जान्छु । तिमी रुने प्रयास गर । आँसुले जस्तो शान्ति दिने दुनियाँमा अरू कुनै चीज छैन ।”

उसले पियेरेलाई अँध्यारो बैठक कोठामा लिएर गई । आफूलाई कसैले देख्न सक्तैन भनेर पियेरे दङ्ग थियो । अन्ना मिखायलोभ्नाले उसलाई छोडेर गई र ऊ आउँदा पियेरे हातको सिरानी लिएर मस्त निदाइरहेको थियो ।

भोलि बिहान । अन्ना मिखायलोभ्नाले पियेरेलाई भनी ।

“हो, मेरो प्यारो पियेरे, यो हामीहरू सबैको लागि ठूलो क्षति हो तिम्रो मात्र के कुरा । तर ईश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ, तिम्रो उमेर छ र मलाई विश्वास छ तिमी ज्यादै ठूलो धन-सम्पत्तिको मालिक भएका छौ । इच्छापत्र अझै खोलिएको छैन । म तिमीलाई भित्रैदेखि चिन्छु । र मलाई पूरा विश्वास छ तिमी सम्पत्तिको तुजुक देखाएर घमण्डी हुने छैनौ । तिमीमाथि जिम्मेवारी पनि त्यत्तिकै धेरै आउने छ । हो, मात्र तिमी एउटा सामर्थ्यवान्‌ र असल मान्छे हुनु पर्दछ । बस ।”

“म तिमीलाई पछि भन्दै गरुँला, मेरो प्यारो छोरा । म त्यस बखत त्यहाँ नभएकी भए के हुने थियो भगवानलाई मात्र थाहा होला । काकाश्रीले दुई दिन अगाडि मात्र तिमीलाई थाहा छ, मसँग बोरिसलाई पनि नबिर्सते वाचा गर्नु भएको थियो । तर उहाँले त्यो वाचा आफू जीवित छँदै पूरा गर्न सक्नु भएन । त्यसैले मेरो मित्र, मलाई आशा छ तिमीले आफ्नो बाबुको इच्छा अवश्य पूरा गर्ने छौ । ?

पियेरेले यी सब कुरा केही बुझेन र लाजले रातो मुख लाउँदै चुपचाप लागेर राजकुमारी अन्ना मिखायलोभ्नाको मुख मात्र हेरिरह्यो । पियेरेसँग यति कुरा गरेपछि अन्ना सिखायलोभ्ना रोस्तोभहरू कहाँ फर्केर गई र सुती । भोलिपल्ट बिहान उठेपछि उसले रोस्तोभहरू र अन्य परिचितहरूलाई काउन्ट बेजुकोभको मृत्युको सम्पूर्ण विवरण सुनाई । उसले काउन्ट मरेपछि आफूलाई पनि मर्न मन लागेको कुरा बताई र भनी उनको अन्त्य मर्मस्पर्शी मात्र नभएर शिक्षाप्रद पनि थियो । ऊ भन्दै गई बाबुछोराको अन्तिम भेट यति हृदयविदारक थियो कि त्यो क्षण सम्झदा ऊ नरोई बस्न सक्तिन । र त्यस दुखद क्षणमा बाबु-छोरामध्ये कसले राम्रो व्यवहार, गर्यो उसलाई थाहा भएन । बाबुले जसले अन्तिम क्षणमा सबै कुरा र सबै मान्छेलाई सम्झे र छोरासँग यस्तो मार्मिक कुरा गरे, वा छोरा पियेरेले जसको हृदय धेरै दुःखका कारण चुँडेको थियो तर मर्न लागेको बाबुको मन नदुखोस्‌ भन्ने हेतुले आफ्नै दु:ख आफैंसँग लुकाउने प्रयत्न । गर्यो । “यो घटना दुःखद त छ नै तर उत्तिकै मात्रामा शिक्षाप्रद पनि छ । बुढा काउन्ट र उनको पियेरेजस्तो सुयोग्य छोराजस्ता मान्छेहरूलाई देखेर आत्माको उत्थान भएर जान्छ,” उसले उद्गार प्रकट गरी । उसले जेठी राजकुमारी र राजकुमार भासिलीको व्यवहारको चर्चा गर्दै उनीहरूको भर्त्सना, पनि गरी तर, अत्यन्त रहस्यमय, गोप्य तथा मसिना शब्दहरूमा ।