“तर किन यस्तो हुन्छ ?” भावनाको प्रवाहमा बग्दै उक्राइनिले सोध्यो – “यो कुरा बुझ्न कति पनि गाह्रो छैन । यसको कारण एउटै मात्र छ – त्यो हो, मानिसहरु एकैनासले बाँचेका छैनन् । हामीले सबैलाई एकैस्तरमा ल्याउनुपर्छ । मानिसले आफ्नो विवेकद्वारा जेजति कुरा सिर्जना गरेको छ, आफ्नो हातले जेजति कुरा बनाएको छ – सबै एकैनासले बाँडिनुपर्छ ! हामीले भय र ईष्र्या, लोभ र मूर्खताको गुलामीबाट मुक्त हुनुपर्छ .. !”
आमा र आन्द्रेइबीच बराबर यस्तो वार्तालाप हुन्थ्यो ।
उक्राइनिले फेरि फैक्ट्रीमा काम पायो । ऊ आफ्नो पूरा मजदुरी ल्याएर आमाको हातमा दिन्थ्यो र उनी उसको हातबाट यो पैसा त्यत्तिकै सजिलोसँग स्वीकार गर्थिन्, जस्तो पाभेलबाट ।
कहिलेकाहीँ आन्द्रेइ मुस्कुराउँदै आमालाई भन्थ्यो –
“आमा, अलि पढ्ने होइन ?”
आमा हाँस्दै दृढतापूर्वक अस्वीकार गर्थिन् । आन्द्रेइको यो मुस्कुराहट उनलाई जिस्क्याएजस्तो लाग्थ्यो र मनमनै भन्थिन् –
“ठट्टाको ाकुरा लाग्छ भने किन बेकारको झन्झट उठाउँछौं ?”
तर अब उनी सधैंजस्तो ऊसँग कुने न कुनै शब्दको अर्थ सोध्ने गर्थिन् र सोध्दा अर्कैतिर हेरेकी हुन्थिन् । उनको स्वरबाट यस्तो भान हुन्थ्यो, मानौं उनलाई उसको जवाफमा केही वास्ता छैन । उनी लुकीलुकी पढ्ने गर्छिन् र ऊसँग पढाइको कुरा गर्न उनलाई लाज लाग्छ भन्ने कुरा आन्द्रेइले बुझिहाल्यो । त्यसपछि उसले आफैंले यस विषयमा कुरा गर्न बन्द गरिदियो । तर एकपल्ट उनले आफैंले भनिन् –
“आन्द्रेइ, मेरो आँखा कमजोर हुन थालेका छन्, चस्मा राख्न पाए हुन्थ्यो । सहर जान्छु । त्यहाँ डाक्टरलाई देखाइसकेपछि चस्मा किनौंला .. ।”
आमा पाभेलसँग भेट्ने अनुमति लिन तीनपल्ट गैसकिन् । तीनैपल्ट कपाल फुलेको, रातारात गाला र बडेमाको नाक भएको राजनैतिक पुलिसको बूढो जर्नेलले बडो शिष्टतापूर्वक अस्वीकार ग¥यो ।
“आमा, एक हप्तापछि । त्यसभन्दा अगाडि हुन सक्दैन । एक हप्ता पर्ख, अनि विचार गरौंला । अहिले बिलकुल असम्भव छ .. ।”
ऊ बिलकुल गोलमटोल थियो र उसलाई हेरेर आमालाई पाकेको आलुबखडा याद आउँथ्यो, जुन धेरै दिनसम्म त्यसै सडेर कुहिन थालेको थियो । ऊ जहिले पनि एउटा पहेँलो तीखो सिन्काले आफ्ना सानासाना सेता दाँत कोट्याइरहेको हुन्थ्यो । उसका सानासाना हरिया आँखामा उदार मुस्कुराहट हुन्थ्यो र स्वरमा सधैँ शिष्टता र मित्रताको भावना हुन्थ्यो ।
“बडो भलाद्मी छ ।” आमाले उक्राइनिलाई भनिन् – “सधैं मुस्कुराइरहेको हुन्छ ।”
“किन नहुनु र !” – उक्राइनिले भन्यो – “उनीहरु सबै भलाद्मी र उदार हुन्छन् – सधैँ मुस्कुराइरहेका हुन्छन् । उनीहरु भन्छन् – “यो हेर, यो मान्छे बुद्धिमान र इमानदार छ, त्यसैले हाम्रा लागि खतरनाक पनि । लौ त झुन्डयाइदेऊ यसलाई !” उनीहरु मुस्कुराउँछन्, झुन्डयाइदिन्छन् अनि त्यसपछि फेरि मुस्कुराउन थाल्छन् ।”
“हाम्रो घर खानतलासी लिन आउने मान्छे त त्यस्तो थिएन ।” – आमाले ती दुई जनालाई दाँज्दै भनिन् – “ऊ त हेर्दै चण्डाल होलाजस्तो देखिन्थ्यो .. ।”
“उनीहरु सबै एकैनासका हुन्छन् । उनीहरुबीच मान्छे भेट्टाइँदैन – सबै मुङ्ग्रोजस्ता हुन्छन्, जसलार्य हाम्रो टाउकामा हिर्काउन उपयोग गरिन्छ । हामीलाई काबुमा राख्न यस्ता मान्छेहरुको उपयोग गरिन्छ । यिनीहरु आफैं आफ्ना हाकिमहरुको सुविधाअनुसार तालिम भैसकेका छन् । यो काम गर्नुप¥यो भन्ने कुरा नसोची, नसोधी उनीहरुलाई जे काम अह्राए पनि सबै गर्न सक्छन् ।”
अन्त्यमा गएर आमाले पाभेलसँग भेट्ने अनुमति पाइन् । त्यो आइतबार उनी जेलको अफिसमा चुपचाप लागेर एउटा कुनामा बसिरहेकी थिइन् । त्यो सानो, फोहोर र होचो कोठामा अरु पनि केही मान्छेहरु कैदीहरुसँग भेट्न पर्खँदै थिए । स्पष्ट थियो, उनीहरु यहाँ पहिलोपल्ट आएका होइनन् किनभने एक–दोस्रालाई चिन्थे र सानोसानो स्वरले आपसमा कुरा गर्दै थिए । उनीहरुको त्यो सुस्त वार्तालाप माकुराको जालजस्तो उनीहरुमै टाँसिएको भान हुन्थ्यो ।
“सुन्नुभयो ?” – एउटी मोटी आयमाईले भनिन् । उनको अनुहार चाउरी परेको थियो र काखमा एउटा सफरी झोला थियो – “आज प्रातकालीन प्रार्थनामा गिर्जाघरको गान मण्डलीका नाइकेले एक जना गाइने केटाको कान फाडिदिए .. ।”
“यी गाइने केटाहरु सबै बदमास हुन्छन् !” – एक प्रौढ व्यक्तिले, जसले पेन्सनवाल अफिसरको बर्दी लगाएको थियो, खोक्दै आफ्नो मत प्रकट ग¥यो ।
एक जना होचो कदको खल्वाटे मान्छे, जसका खुट्टा सानासाना एि, हात लामा र चिउँडो बाहिर निस्केको थियो, छिटोछिटो ओहोरदोहोर गर्दै धोत्रे र उत्तेजित स्वरमा लगातार बक्दै थियो – “दिन प्रतिदिन मोल बढ्दै छ, त्यसैले त मान्छेहरुले पनि मनपरी गर्न थालेका ाछन् । कमसल गाईको मासु पनि पाउण्डको चोध कोपेक पनृ थालिसक्यो । रोटीको दाम फेरि अढाइ कोपेक पुगिसक्यो .. ।”
कहिलेकाहीँ कुनै कैदी त्यहीँ पस्थ्यो । आफ्नो खैरो बर्दी र छालाको गह्रौं जुत्तामा उनीहरु सबै एकैनासका देखिन्थे । त्यो अद्र्ध अन्धकार कोठामा पस्नासाथ उनीहरु आँखा मिच्न थाल्थे । एक जना कैदीको खुट्टामा त नेलसमेत ठोकिएको थियो ।
जेलको वातावरणमा एक अनौठो शान्ति थियो र प्रत्येक काम बडो सुगम तरिकाले हुन्थ्यो । ती मानिसहरु धेरै समयदेखि यी सबै कुराको अभ्यस्त भैसकेका छन् र उनीहरुले आफूलार्य भाग्यको सहारामा छाडिदिएका छन् जस्तो लाग्थ्यो । केही मानिसहरु बडो धैर्यसाथ आफ्नो सजाय काट्दै थिए, केही मान्छेहरु शिथिल भावनाले पहरा दिँदै थिए र केही अरु मान्छेहरु नियमिततासहित कैदीहरुलाई भेट्न आउने गर्थे । आमाको हृदय अधिरताले काँप्न थाल्यो । उनी चारैतिर सबै कुरा ठूलो आश्चर्यसहित हेर्दै थिइन् । उनलाई यस वातावरणको वाक्कलाग्दो सरलतामाथि आश्चर्य लाग्दै थियो ।
आमासँग एउटी होचीहोची बुढिया बसेकी थिइन् । उनको अनुहार सुकेको थियो, तर आँखामा अझै पनि युवावस्थाको चमक थियो । उनी आफ्नो पातलो गर्दन घुमाउँदै सबैको कुरा सुनिरहेकी थिइन् र सबैलाई आफ्ना अनौठो किसिमको चम्काहट भएका फुर्तिला आँखाले हेर्थिन् ।
“तपाई कसलाई भेट्न आउनुभएको ?” – पेलागेया निलोभ्नाले बिस्तारै सोधिन् ।
“छोरो हो । विश्वविद्यालयमा पढ्छ । बुढियाले ठूलो स्वरले जवाफ दिइन् – “अनि तपाई नि ?”
“मेरो पनि छोरै हो । मजदुर हो ।”
“के नाम हो उसको ?”
“भ्लासोभ ।”
“अहँ, कहिल्यै सुनेकी छैन उसका बारेमा । कति भो जेल परेको ?”
“सातौं हप्ता चल्दै छ .. ।”
“मेरो छोरो त दस महिना भैसक्यो !”बुढियाले भनिन् । उनको स्वरमा गर्वको झलक थियो ।
् “त्यही त भनछु ।” – खल्वाटे बूढो बक्दै थियो – “सहनशीलता भनेको कसैमा छैन सबै झगडिया छन्, सबै कराउँछन् र मोल त्यस्तै किसिमले बढ्दै छ । यस्तै किसिमले मान्छेको मूल्य कम हुँदै गैरहेको छ । तर यी सबै कुरा रोक्ने आवाज कतै सुनिन्न ।”
“बिलकुल ठीक भो !” – पेन्सनवाल अफिसरले भन्यो – “अब त हद भैसक्यो ! अब त कुनै त्यस्तो मान्छेको जरुरत छ, जसले आफ्नो कडा आवाजमा यी सबै बकवास बन्द गर्ने आज्ञा देओस् । यही कुरा चाहिएको छ । शक्तिशाली आवाज चाहिएको छ .. ।”
सबै यस वार्तालापमा सम्मिलित हुन थाले, बहस चर्किन थाल्यो । प्रत्येक व्यक्ति जीवनसम्बन्धी आफ्नो मन्तव्य प्रकट गर्न तत्पर थियो, तर उनीहरु सबै सानोसानो स्वरले कुरा गर्दै थिए र आमाले यी सबै कुरामा आफ्ना लागि पराइ भावना अनुभव गरिन् । घरमा अर्कै तरिकाले कुरा गर्थे – स्पष्ट सीधासादा र बढी उच्च स्वरमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।