साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृङ्खला १७

week 17

“अनि किन अचानक मेरो घाँटीमा यो झुण्ड्याउनी अर्थात् ढोलना ? मलाई के सारा गाउँको बारेमा थाहा छ र ? जसलाई थाहा छ तिनलाई किन पठाइँदैन ?”
“ थाहा छैन । शायद गोरालाई थाहा होला ।”
“गोरा बाबु ? शहर छाडेर ?”

गोराले भन्यो,“अवश्य जानेछु । तिमी मभन्दा कनिष्ठ हौ । अहिले पनि तिम्रो जानकारी न्यून छ । मसँग घुम्यौ–डुल्यौ भने केही सिक्ने पनि छौ । अहिले खेतिपातिको काम चलिरहेको छ नत्र बेटेरामलाई तिनीहरूको उत्सव देखाइदिनु हुन्थ्यो ।”
द्वैपायनले भन्यो, “मैले धेरै उत्सव देखेको छु । ती उत्सवहरूमा पहिलेको जस्तो नाचगान अचेल कहाँ छ र ?”
गोराले भन्यो,“ त्यस्तो नाच अचेल कतै पनि छैन । किन हँुदैन, त्यो पनि कसैलाई थाहा छैन । मानिसहरू अचेल सबै बेग्लैबेग्लै हँुदै गएका छन् नि ।”

इन्द्रले ठट्टा गर्दै भन्यो,“ शायद खान नपाएर होला ।”
“अँ , ठीक भन्यौ तिमीले ।”गोराले सही थाप्यो ।

उनीहरूको तर्कको जवाफमा द्वैपायनले एउटा सानोतिनो प्रवचन नै दियो, “खान पाउनु नपाउनुसँग नाचगानको कुनै सम्बन्ध छैन । सन्थाल र अन्य आदिबासीहरू जिन्दगीको खुसीले नाच्दछन् । जिन्दगीको खुसी भनेको एउटा यस्तो कुरो हो जसको भोकसँग कुनै सम्बन्ध छैन ।”

गोरा मुर्खानन्द थियो, आवेशमा प्रतिवाद ग¥यो,“ ए ऽ ऽ ,पेटको भातसँग त्यसको कुनै सम्बन्ध छैन ?”
“होइन । यस्ता कुराहरू विदेशी विशेषज्ञहरूलाई नै थाहा हुन्छ ।”
“खान नपाएपनि बाबुसाहेब आउनु भएको छ भनेर नाच्नु पर्दछ ?”

द्वैपायन व्यङ्गपूर्ण हाँसो अधरमा खेलाउँदै अविश्वस्त भएर चुप लाग्यो ।
“भोकका कारणले नष्ट वा लोप भएको होइन भने राम्रो कुरो हो । त्यसोभए तिनको जिन्दगीको खुसी के कारणले गुमिरहेको छ त ?”

द्वैपायन फेरि पनि विद्रुपपूर्ण र धीर हाँसो हाँस्यो अनि आफ्नो प्रवचनको दोश्रो किस्ता जारी गर्दै भन्न थाल्यो, “तिनीहरूमा राजनीतिक चेतना जगाउने ,तिनमा गैर आदिबासी शिक्षा व्यवस्था सञ्चालन गराउने जस्ता कुराहरू ठीक छैन । त्यसले तिनको आदिबासीपनाको मौलिकता नाश गरिदिन्छ । तिनको भेषभुषामा, कुराकानीमाफरक पर्दै जान्छ ।”
गोरालाई झन रिस उठ्यो । जीपमा उक्लिँदै प्रतिकृया जनायो, “ यो त कस्तो कुरो भयो ?”

“चर्को राजनीतिक चेतनाका कारणले नै अहिले पृथकतावाद व्याप्त भइरहेको छ । सबै कुरो प्रष्टै देखिइरहेको छ नि ।”
इन्द्रले कुरो काट्दै भन्यो, “ पहिरन र बोलीचाली फेरिँदैन रे ? लेखपढ गरेपछि शिक्षादीक्षा पाएपछि कामधाम सङ्गतसंस्कारले त्यो जगतमा कुनै असर पर्दैन रे ?”

द्वैपायनले चर्को स्वरमा प्रतिवाद ग¥यो, “होइन, होइन । त्यस्ता आदिबासीहरू कृत्रिम कृत्रिम जस्ता देखिन्छन् । ”
इन्द्रले तर्क ग¥यो,“शोधका लागि जीपमा चढेर तपाईँ गाउँमा पुग्दा तिनीहरू पढाइलेखाइ र कामधाम छोडेर छोटोछोटो धोति लगाएर नाचिरहून , होइन त ?”

“किन होइन ?” द्वैपायनले तिनीहरूको अबुझपनालाई अझ प्रष्टसँग अथ्र्याउँदै भन्यो,“तिनीहरू आपसेआप बुझ्दै जानेछन् कि उनीहरूको वास्तविक रूप त्यही हो ।”

“तपाईँलाई यस्तो कुरो कसले भन्यो ? कुन भगवानले दीक्षा दिएको हो तपाईँलाई ?”
“कत्ति धेरैले भनेका छन् । बरा, यही कुरोमा कत्ति अनुसन्धान भइरहेको छ ..!”

“खुब राजनीतिक चेतनाको कुरा गर्नुहुन्छ ! ”रिसले गोराको कन्पारो तात्दै थियो, “थाहा छ, उनीहरूले हूल गरेका थिए ? किन ? गरेका थिएनन् र ? त्यही कुरालाई लिएर यो कार्यक्रम पनि हुनेछ । त्यो हेर्नुहोला । ”

“अरुले सिकाएको भरमा तिनीहरू हूलजस्तो लडाइ लडन सक्छन् ? त्यो त अपूर्व भयो ! तीर र धनुष ! राताम्य गेगरिलो धरतीमा काला मानिसहरूको भीड । तर त्यो लडाइ गलत हो । तिनले बुझ्नेछन् त्यो । बन्दुकका अघिल्तिर तीर कमान कति पो टिक्न सक्छ र ? तिनले आफैँ थाहा पाउने छन् । ”

गोरा अलि अबुझ र सोझो छ । नबुझेपछि रिस उठ्न थालिहाल्छ । त्यसैले रिसले फतफताउँदै भन्न थाल्यो,“के बुझ्या छौ बसाई टुडुका बारेमा ? केही थाहा छ ? छैन । कति वर्षसम्म उनले सरकारलाई थर्कमान पारिदिएका थिए ।”
“तर त्यसले केही फाइदा भयो त ?”

इन्द्रले गोराको हात अँठ्याउँदै चुप लाग्ने सङ्केत ग¥यो तर गोराले मन थाम्न सकेन । भन्न थाल्यो,“होइन ,होइन । फाइदा त के हुनु थियो र ? हिंसा राम्रो कुरो त होइन नि । यही कुरो त हामी तिनलाई सिकाइरहेका छौँ ।”
”बसाई टुडुका बारेमा मलाई राम्रोसँग थाहा छ ।”

”थाहा छ ।” गोरा चुप त लाग्यो तर उसलाई उकुसमुकुस भइरहेको थियो । उनीहरू बाकुली गाउँबाट अगाडि बढिसकेका थिए र सुडा गाउँको नजिक पुग्दै थिए । गोरा भन्न थाल्यो, “ यो ठाउँमा डाकबङ्गला (सरकारी अतिथिगृह) बन्ला भनेर कहिल्यै सोचिएको पनि थिएन । यो सबै कुरो उनै बसाईको युद्धपछि नै भएको हो । धत्तेरिका ! फेरि उनै बसाईको नाम जिभ्रोमा आइहाल्यो !”

एकदम सानो डाकबङ्गला । दुईटा कोठा छन् । दुबैतिर शौचालय र स्नानागार पनि छ । बङ्गाली काँडादार तारद्वारा घेरबेर गरिएको छ । भित्र करेसाबारीमा कुभिण्डो,खोर्सानी र तोरियाँका लहरा र बोट छन् । बङ्गलासँगै गाँसिएको एउटा कोठामा चौकिदार बस्ने व्यवस्था गरिएको छ ।

गोराले अघिदेखिनै सबै बन्दोबस्त मिलाइराखेको थियो । गाउँको प्राथमिक विद्यालयका शिक्षक,तालागुडका व्यापारी तथा किराना पसलका मालिक शशी हाजरा ओसरामा कुरिबसेका थिए । गोरालाई देख्नासाथ खातिरदारी गर्दै उनले भने,“ चिया यहीँ पाकिहाल्छ । खाना म पठाइदिउँला । ”
”के छ खानामा ? माछा कि कुखुरा ?”

“आम्मै..! के भन्नुभएको.. ! एउटा सिङ्गै खसी काटेको छु । लिनुस् साँचो । कोठा सफा गराइदिएको छु । टर्च छ नि ? सर्पको निकै बिगबिगी छ ।”

“अनि आफू कता नि ?”
“यसो खाजापानी बन्दोबस्त गरौँ भनेर । यो जागुला त होइन नि । यहाँ त केही पनि पाइँदैन । पक्की सडक बनेपछि त कुन्नि ।”

द्वैपायनले भन्यो,“ सडक पक्की भएपछि त गाउँका सबै कुरा बाहिर नजालान र ?”
“सडक त कहिले हो कहिले ! बोक्सीका हातमा बच्चा ! चुडामणिको रेखदेखमा सडक बन्ने हो ! सुर्खी ( इँट र माटोको धूलो) हालेर बनाउने हो । त्यसमा पनि बाह्र सत्ताइस नखरा !”

“सन्थाल अर्थात् माझीपाडामा पु¥याउनु छ यिनलाई । भोलि नै । अहिले त तिम्रा विद्यार्थीहरू खेतमा पसेका होलान्?”
माझीपाडा । यहाँका केटाहरू कति प्रगति गरिरहेका छन् अचेल । खेजुरहाटाको पवन किसकु प्रौढहरूलाई लेख्नपढन सिकाइरहेको छ । कम्मर कसेर लागेको छ त्यसमा । घरमा टन्न अन्नपात छ । पन्ध्र बिघामात रामो खेति छ । पानीको कुनै दुःख छैन । तर अब यही प्रौढ शिक्षामा लागिपरेका छन् ।

गोरा फिसिक्क हाँस्यो र भन्न थाल्यो, “ पवन किसकु कालीदाको अखबारको संवाददाता थिए । तर ..अँ , सन्थालबहुल गाउँ भएकोले पञ्चायतको हर्ताकर्ता पनि उनै हुन् र काम पनि गरिरहेका छन् ।”

शशी हाजराले रिस पोख्दै भन्यो,“उसैका कारणले हामी हैरान छौँ । केटाहरूलाई उचालेर ऊ आन्दोलनमा उत्रिन्छ र कृषि मजदुरहरूको ज्याला सात रुपियाँमा पनि बढाएर माथि पु¥याइदिएको छ । सात रुपियाँ नगद र त्यसमाथि खाजामा मुरही र प्याज पनि । यति त दिन सक्दैनौँ हामी ।”

“ए ऽऽ , यसो पो !”
“हामी त पुलिस चौकीमा गएर बाझ्यौँ पनि ।”
“किन ?”
“रानी मझिनीसँग कुनै पुलिसले छेडछाड गरेको थियो ।”
“पुलिसका मान्छे निकै उत्ताउला हुन्छन् ।”

“आम्मै , पवनको त्यो लामोलस्टो कुरो ! सुन्दछु, केटीहरूसँग जिस्क्यो भनेपनि आगो फुकिदिन्छ । एउटा कुराको निकै चर्चा छ यतातिर तर बुझिरहेको छुइनँ ।”

“के कुरो ?”
“भन्छन् ,बसाई टुडु फेरि फर्केर आउँछन् रे । पहिले गोरालाई पठाउँछन् रे ।”
“होइन । होइन, त्यो वाहियात हल्ला मात्र हो । ”
“वाहियात हल्लै भए पनि सुन्दा त राम्रै लाग्छ ।”
द्वैपायनले हठात् सोध्यो,“ बसाई टुडु ? खस्यो –गिरा)?”
“दाइ ,म जाऊँ है ?”शशी हाजराले अनुमति चाह्यो ।

खाजाका लागि शशीको घरबाट परौठा र तिलको छोप आयो । द्वैपायन स्वचालित स्वावलम्बी व्यक्ति हो । उसले आफ्नो बिस्तराको बन्दोबस्त राम्ररी मिलायो । झूल पनि टाँग्यो । कछुवा छाप धुप पनि सल्किरहेको थियो । गोरा र इन्द्रका लागि शशीकहाँबाट झूल,तकिया,गद्दा र बर्को(च्यादर) आइपुग्यो ।

प्रसन्न हँुदै गोराले भन्यो, “शशी पक्का मान्छे छ । सबैथोकको बन्दोबस्त मिलाउने गर्छ ।”
साँझमा द्वैपायन आफ्नो कोठामा बसेर ब्याट्रीबाट बज्ने टेपरिकर्डर बज्छ कि बज्दैन भनी जाँच गरिरहेको थियो । टर्च बोकेर इन्द्र घुम्नका लागि निस्क्यो तर एकैछिनमा फर्केर आयो । फर्कदा बाटोमा शशीको घरको नोकरसँग उसको भेट भयो –बाल नोकर । नोकरले अनुरोध ग¥यो ,“घरै जाऊँ ,हजुर । बाटो राम्रो छैन ।”“एहे..,सर्प !”

”हो , हजुर । जता त्यतै सर्प छ । दुई दिन पानी के परेको थियो ,सबै सर्पहरू दुलाबाट बाहिर निस्किहाल्यो । यसपल्ट त सबै निकै डराएका छन् ।”

”सर्पले त तिमीलाई पनि त डस्छ नि ।”
“त्यो त हाम्रो भाग्यमै लेखिएको छ ,हजुर ।”
“तिमी शशी बाबुको नोकर हौ ?”
“बाह्रमहिने हँु, हजुर ।”
“स्कुल जाँदैनौ ?”
“पहिले जान्थेँ ।”
“त्यसपछि ?”
“बाबु मरे ,अनि म बाह्रमहिने नोकर बनेँ ।”
“कता हिँड्यो त ,अहिले ?”
“घर ।”
“टाढा छ ?”

“उ ऽ ऽ.. त्यहाँ पर.. ।” हातले घर भएको दिशातिर देखाउँदे भन्यो ।
“खानाचाहिँ शशी बाबुकै घरमा खान्छौ ?”
“अँ , रात परेपछि घर जान्छु ।”

इन्द्रसँग अतिथिगृहसम्म आएपछि ऊ अँध्यारैमा घरतिर लाग्यो । यिनको विश्वास छ – नर र नागको बास सँधै धरतीमै रहिआएको छ । सर्पले टोकेछ भने भन्छन् –सर्पको डसाइको लेखन्त र बाघको देखन्त टारेर टर्दैन । हुन त विज्ञानतिर उन्मुख भएको आधुनिक जीवन शैली र शिक्षा सुविधाले बिस्तारै बिस्तारै यस्तो नियतिवादी विश्वासलाई मेटाउला । हातमा टर्च र खुट्टामा जुत्ता भएपछि सर्पको डसाइबाट जोगिन केही सजिलो त होला । गाउँठाउँमा सर्पडसाइको उपचार व्यवस्था पनि हुनुपर्दछ । गाउँ–देहातको जीवनको हरेक तन्तुमा क्यान्सरको सङ्क्रमण छ । बाह्रै महिना निरन्तर शशी बाबुहरूको दिनरातको चाकरी गर्दै कमारो बनिरहन्छन् गरिब बाउहरू । तिनको मृत्युपछि तिनका छोराहरू पढन छाडेर बह्रमहिनेबाँधा बन्दछन् । बाँधा मजदुरी उन्मूलन अध्यादेश १९७५ मार्फत् कृषि र ऋणदास प्रथा उपर प्रतिबन्ध लगाउन सकिन्छ । त्यो कानूनमा बाँधा मजदुरहरूलाई राज्यवार नाममा बह्रमहिने नाम पनि समावेश गर्नुपर्छ । त्यसो गरेर तिनका संरक्षक राजनीतिक दलहरूको केही बिग्रने होइन । पश्चिम बङ्गाल सरकार संविधानको हेक्का राख्दै अनेक डरलाग्दा रोगहरूसँगै बाँधा मजदुररूपी क्यान्सरलाई लिएर प्रगतिपथमा अगाडि लम्किरहेको छ । काली साँतराले जिल्ला वार्ता अखबारमा बाह्रमहिने बाँधाहरूको जिल्लागत तथ्याङ्क तालिका प्रकाशित गरेका थिए । पार्टीको अर्धपागल निःसङ्ग मनुवा ! मारिए वाबेपत्ता पारिएका हुन् ,अहिलेसम्म पनि थाहा छैन, तर उनको फोटो अहिले पनि थानाको भित्तामा झुण्ड्याइराखिएको छ । के तिमी फगत एउटा तस्वीर थियौ –थानाको भित्तामा झुण्डिरहने तस्वीर ?

इन्द्र फर्केर आउँदा द्वैपायन नुहाइवरी बसेको थियो । आँगनको इनारबाट पानी भरेर नुहाइधुवाइ गरेछ । अनि कफी तयार पारिरहेको थियो । गोरा कफी पिउँदैन । बुर्जुवाविलासको कुनै कामकुरोमा पनि ऊ आफूलाई समावेश गर्दैन । इन्द्र कोठामा पस्नासाथै द्वैपायनले भन्यो, “सुस्तरी बसेऊ । खाट खुकुलो र कमजोर छ । चुइँचुइँ बज्दोरहेछ । भोलिबिहानैदेखि हामी हाम्रो काममा लाग्नेछौँ ।”

”गोरा बाबु खोई त ?”
“शशी हाजराकहाँ गएको छ ।”
“चौकिदार नि ?”
“ऊ पनि घर गएको छ ।”
“ए ऽ ऽ.. अँ ,राम्रै भएछ ।”

ढोकाको दुबै पाटामा हात टेकाएर उभिएको थियो इन्द्र । सोध्यो,“ तपाईँको अनुसन्धानको विषय के हो ?”
”किन भनौँ ?”

”दिनभरि तपाईँसँग घुम्छु–डुल्छु । कोसँग डुलिरहेको छु, किन डुलिरहेको छु भन्ने कुरो पनि त भन्नुपर्दो हो नि ? सन्थालहरूको गाउँहरूमा घुम्छौँ । अस्तिनै त्यहाँको गाउँमा यत्ति ठूलो काण्ड भएछ ..के भन्नु..! त्यहाँ जानुहुन्न ?”

”कसले भन्यो जाँदिन भनेर ?”
“जानुहुन्छ ?”
“जहाँ जानु आवश्यक छ त्यहाँ जाने हो ।”
“के सिलसिलामा जाँदै हुनुहुछ ?”
“सन्थाल समाजको नयाँ समीक्षा गर्नका लागि ।”

“समीक्षा ! हेर्नुस , म काम गरेर खाने मान्छे हँ” । यो शोधबोध म केही जान्दिन र जान्नु आवश्यक पनि ठान्दिन । उनीहरू कुनै चार सय बिस जस्ता नकच्चरा उरेण्ठेउला त होइनन् नि । अनि यो भन्नुस त अन्त्यमा आल्तुफाल्तु उटपट्याङ त लेख्नुहुन्न ?”
“हौइन , साँचो कुरा नै लेख्छु ।”

“के लेख्नुहुन्छ ?भन्नुस न हामीलाई पनि । म त अबुझ मान्छे हँ” । उनीहरूका माझ मैले काम गर्नुपर्छ । काम सिध्याएर तपाईँ गइहाल्नु हुन्छ । तपाईँसँग मैले सिकिँनभने फेरि म कसरी काम गरौँला ?”

कुइसो द्वैपायनले कैलो आँखाले हेर्दै भन्यो, “ भनँुला । ”

रिसले मनमनै भुटभुटिँदै इन्द्रले द्वैपायनका सामानहरूमा सर्सर्ती नजर दौडायो – नाइलनको झूल तथा अन्य विदेशी सरसामानहरू । नरम र किमती सिल्क र नाइलनको स्लिपिङ ब्याग । ब्यागभित्र केको प्याडिङ छ ? क्यामरा र टेपरिकर्डर र नाइलनको पाइजामा । ‘यो मान्छेलाई धान रोपाइको काममा जोताइदिन पाए कस्तो हुन्थ्यो होला ?’ स्वगत सोच्यो ।
शशी र गोरा पनि आइपुगे । ठूलो गम्छामा बाँधेर ल्याएका छन् – मासुको डेक्ची । मासुको हरहर बास्ना ।
शशीले भन्यो,“आएपछि चौकिदारले पानी दिनेछ । म हिँडे त ।”

भातको पनि हरर बास्ना चल्यो । मिठो चामलको भात । पिरो मासु । इमलीको अचार,त्यो पनिमलाईदार । तारेको भाण्टा । इन्द्रले टन्न खायो डकारुन्जेल अनि भुइँमा सतरञ्जा तन्ना ओछ्याएर झुल टाँगेर पल्ट्यो र छिनैमा निदाइहाल्यो ।
भोलिपल्ट सुडाको माझीपाडाका मान्छेहरू जम्मा पार्दापार्दै साँझ परिहाल्यो । दिउँसो सबै जना धान रोपाइँमा र माटो पन्छाउने काममा व्यस्त भए ।

शशीको स्कूलमा लालटीन झुल्दै झुण्डिरहेको छ । टन्न कुर्सीहरू छन् । सामुन्ने कतिपय अभिव्यक्तिहीन निरव कालाकाला अनुहारहरू लस्करै बसेका छन् । द्वैपायनले भन्यो, “यसरी यो हुलमुलमा कसरी के कुरा हुन्छ ? कोही एकजनालाई बोलाउनुस् । ”

माधव आयो । माधव हाँसदा । उसलाई देखेपछि द्वैपायनले सम्झ्यो –ऊसँग पहिले पनि कुराकानी भएको छ । टेपरिकर्डर अन गरेर द्वैपायनले कुराकानीले थाल्यो । प्रश्नहरू सोध्यो– गाउँमा कति मान्छे छन् ? लेखपढ गरेका कति छन् ? लेखपढ गर्नुको उद्देश्य के हो ? के केटीहरू पनि लेखपढ गर्छन् ? माधवले आफूले जानेसम्मको जवाफ दिँदैगयो–अप्ठ्यारो नमानीकन, नअडकिकन,नअलमलिइकन ।

“आफ्नो हक पाउनका लागि यहाँका मानिसहरू के गर्छन् ? लड्छन् पनि कि ?”
“यसको जवाफ पवन किसकुले दिन सक्नुहुन्छ ।”
“ यहाँ नक्सली आन्दोलन भएको थियो त ?”
माधवलाई यो कुरा थाहा थिएन ।

“तिमीहरू त्यो आन्दोलनमा गएनौ । मसँग त्यसको समाचार छ । किन गएनौ आन्दोलनमा ? किन ?”
माधवले चकित र सतर्क दृष्टिले प्रश्नकर्तातिर हे¥यो । केही जवाफ दिएन । आफ्नो वरिपरि हे¥यो । ऊ केही बुझ्ने प्रयास गरिरहेको थियो ।

“बसाई टुडुको आन्दोलनमा पनि गएनछौ , किन ?”
माधवले हात उठायो । भोको खेत मजदुरको स्वभाविक मुद्रा धारण गर्दै रिसाएको स्वरमा शशीसँग भन्न थाल्यो,“ अस्तिनैको चोटि जुन मान्छेलाई ल्याउनु भएको थियो ,उसले सोधेको थियो –तिमीहरू बसाईसँग किन लागेका थियौ ? नक्सली आन्दोलन किन चलाएका थियौ ? तर यी बाबुसाहेब त सोध्दैछन् कि तिमीहरू किन नक्सल बनेनौ ? बसाईसँग आन्दोलनमा किन गएनौ ? यस्तोकुरा किन सोध्नुुहुन्छ तपाईँहरू ? जानुस् ,जानुस् । यस्ता फाल्तु कुराको जवाफ छैन ।”
शशीले सम्झाउँदै भन्यो, “अरे , यिनीत सोधिमात्र रहेका छन् नि ।”

 

प्रतिक्रिया
Loading...