week 13

हल्लाउँदै आयो । सकेसम्म डोरी तानेर माछालाई आफू नजिक ल्याउने कोशिस गर्यो बूढोले । केही छिनका लागि मात्रै माछो बूढोतिर फर्कियो । त्यसपछि त्यो सीधा भएर फेरि घुम्न थाल्यो।

“त्यसलाई हल्लाई दिएँ मैले ।” बूढोले भन्यो । “त्यसलाई खेलाएँ मैले ।”

आफू निकै कमजोर भएको महसुस भयो बूढोलाई । तैपनि उसले त्यो माछोको मुखमा अड्किएको डोरीलाई अठँयाइराख्न सकेसम्म डोरी तानिनैराख्यो । मैले त्यसलाई हल्लाइदिएँ । उसले सोच्यो । अब म त्यसलाई मास्तिर ल्याउन सक्छु होला । बूढोले मनमनै भन्यो, ‘तान्‌ हात त्यसलाई । खुट्टा पनि सीधा हो । पीडा खपेर बस्‌ ।’

यस अघि त यस्तो धोका दिएको थिइनस्‌ तैंले । यो चोटि त म त्यसलाई बाहिर नल्याई छाड्दिन ।

भएजति बल लगाएर तान्नु अघि नै त्यो माछो डुङ्गादेखि धेरै टाढा गयो । त्यसपछि आफूसेआफू सोझियो अनि पौडिन थाल्यो ।

“माछा” छ जोडले करायो । “हेर, माछा” तँ जसरी पनि मर्छस्‌ । तँ मलाई पनि मार्न खोज्दैछस्‌ ?”

बूढोले सोच्यो अब यो तरीकाले केही हात लाग्दैन । मुख सुकेर बोल्न पनि नसक्ने भएको थियो बूढो तर पानी भए ठाउँ जान सकिरहेको थिएन । यो चोटि जसरी पनि म त्यसलाई डुङ्गा नजिक नल्याई छाड्दिन । उसले सोच्यो । त्यसले यसरी धेरै चोटि घुमेको हेरेर बस्न सक्दिन म । हो तैँले सहनै पर्छ जतिखेरसम्म सहन सक्छस्‌ । उसले आफैँलाई भन्यो । “तँ सँधै सहन सक्छस् ।”

अर्कोचोटि घुम्दा झण्डै समातिसकेको थियो माछोलाई उसले । तर माछो सोझियो अनि बिस्तारै पौडेर टाढियो ।

तँ मलाई मार्दै छस्‌ माछा, बूढोले सोच्यो । तेरो अधिकार पनि छ छन त । तँ जस्तो सुन्दर, विशाल, शान्त र सौम्य माछा मैले कहिल्यै देखेको थिइन भाइ । आइज मलाई मार्‌ | कसले कसलाई मार्छ मलाई केही पर्वाह छैन ।

यतिखेर तँ निकै अन्योलग्रस्त छस्‌ उसले सोच्यो । तँ मानसिक रूपमा स्वस्थ हुनैपर्छ अनि मान्छेले वा माछाले पीडा कसरी सहनुपर्छ त्यो पनि सिक । बूढोले सोच्यो ।

“स्वस्थ हो टाउको” उसले झिनो स्वरमा भन्यो, “स्वस्थ हो ।”

दुई फन्को घुम्दा पनि त्यो माछो अझै त्यस्तै छ |

म जान्दिन, बूढोले सोच्यो । हरेक पल्ट बूढोलाई आफै लडुँला जस्तो भान भैरहेको थियो । म जान्दिन किन यस्तो हुन्छ तर अझै एकचोटि कोशिस गर्छु ।

बूढोले फेरि एकचोटि कोशिस गर्यो तर माछो घुमेर जाँदा आफैं लडुँला जस्तो भयो फेरि उसलाई । माछो सीधा भयो अनि हावामा पुच्छर हल्लाउँदै बिस्तारै पौडेर पानीभित्र गयो ।

फेरि कोशिस गर्छु म । बूढोले प्रतिज्ञा गर्यो । यद्यपि उसका हातहरू यतिखेर निकै लुलो भैरहेका थिए भने उसका आँखाले उज्यालोमा मात्रै देख्नसक्थे ।

बूढोले फेरि कोशिस गर्यो तर यो चोटि पनि त्यस्तै हालत भयो | शुरू गर्नु अघि नै बूढो लड्यो । बूढोले फेरि सोच्यो । म फेरि अझै एकचोटि कोशिस गर्छु ।

सारा कष्ट सहेर अतीतको गौरव सम्झिँदै, भएजति बल लगाएर बूढोले माछालाई तान्यो । बूढोको छेउमै आएर तीखो मुख डुङ्गामा छुवाउँदै त्यो लामो, ठूलो, सेतो र बैजनी रङ्गको चेप्टो माछो बिस्तारै पौडियो अनि डुङ्गा पार गर्दै नदेखिने गरी पानीभित्र गयो ।

बूढोले डोरी हातबाट खसालेर खुट्टाले थिच्यो अनि भाला सकेसम्म माथि उचालेर मास्तिर आउँदै गरेको माछाको छातीको

पखेटाँको छेउमा जोडले हिर्कायो । भालाको फलाम माछाको मुखभित्र पस्यो भन्ठानेर बूढो त्यतातिर ढल्क्यो अनि माछामाथि भएजति बल लगाएर थिच्यो ।

मृत्युलाई साथमा लिएर जिउँदो माछो आफ्नो भएभरको शक्ति, सौन्दर्य, लम्बाइ चौडाइ प्रदर्शन गर्दै पानी बाहिर निस्क्यो । डुङ्गाभन्दा मास्तिर हावामा झुण्डिए जस्तै देखियो त्यो माछो । त्यसपछि माछो भयङ्कर आवाजसित छवाप्लाङ्ग पानीमा खस्यो जसले गर्दा पानीका छिटाले बूढोको जीउ र डुङ्गालाई भिजायो ।

मूर्छा पर्यो बूढो । आँखाले राम्ररी ठम्याउन सकेन । तर उसले भालाको डोरी झिकेर हातबाट बिस्तारै जान दियो । आँखाले देख्न थालेपछि हेर्दा त माछो सेतो भूँडी पल्टाएर उसको पछाडिपट्टिबाट पानी बाहिर निस्किँदै गरेको देख्यो उसले । भालाको बीँड माछाको काँधको छेउमा एउटा कुनामा निस्केको थियो भने माछाको मुटुबाट निक्लेको रगतले गर्दा समुद्र नै रङ्गिएको थियो । शुरूमा त त्यो रगत नीलो पानीमा बालुवाको किनारा जस्तो देखिन्थ्यो मानौं त्यो एक माइल गहिरो थियो | त्यसपछि त्यो बादल जस्तै गरी फिजिँदै गयो । सेतो र निश्चल देखिने त्यो माछो समुद्रको छालसँगै तैरिरहयो ।

एकदमै गम्भीरतापूर्वक हेरिरहयो बूढोले त्यो दृश्य । त्यसपछि आराम गर्न भालाको डोरी डुङ्गाको टुप्पोमा दुइफन्को बेरेर टाउको आफ्नो हातमा अङ्यायो ।

“मेरो टाउकोलाई स्वस्थ पारेर राख्‌” बूढाले डुङ्गाको पछाडिपट्टि हेरेर भन्यो, “एउटा थाकेको बूढो मान्छु हुँ म । तर मैले आफ्नै भाइजस्तो माछोलाई मारेँ र अब नोकरले जस्तै तानेर लाने काम पनि मैले नै गर्नुपर्छ ।”

अब माछोलार्इ बाँधेर लैजान डोरीमा सुर्केनो गाँठो बनाएर राख्नुपर्छ मैले । बूढाले सोच्यो । यदि हामी दुईजना हनथ्यौँ र त्यसलाई बोकेर डुङ्गामा हाल्थ्यौं भने पनि डुङ्गामा अट्ने थिएन । सबैथोक ठीक पार्छु अनि माछालाई डुङ्गाको छेउमा ल्याएर मज्जाले बाँध्छु । त्यसपछि पालको खाँबो गाडेर पाल फिँजाउछु अनि डुङ्गा लिएर घरतिर लाग्छु ।

बूढाले माछाको नाकबाट डोरी छिराएर त्यसको मुखबाट निकाल्यो अनि टाउको डुङ्गाको टुप्पामा बाँध्न मिल्ने गरी तान्न थाल्यो । म अब त्यसलाई हेर्न चाहन्छु, बूढोले सोच्यो । माछालाई छोएर अनुभव लिन मन लागेको छ मलाई । बूढोले सोच्यो, माछो त मेरो सर्वश्व हो । तर मैले त्यसकै लागि मात्रै छुन लागेको चाहिँ होइन । उसले सोच्यो, दोस्रो चोटि भालाले हिर्काएर मैले त्यसको मुटु छोइसकेको छु । अब माछालाई डुङ्गामा ल्याएर राख्‌ अनि पुच्छर र ढाडमा सुर्कनो पारेको डोरीले डुङ्गामा कसेर बाँध् ।

“काम गर्न थाल्‌ बूढा काम गर्न ।” उसले आफैंलाई भन्यो, “अलिकति पानी पियो उसले । माछासितको लडाइँ सिद्धिएपछि नोकरले गर्ने काम थुप्रै बाँकी छ अझै ।”

बूढाले एकचोटि आकाशतिर हेर्यो अनि माछातिर फर्क्यो । घामतिर पनि हेर्यो । होसियारीपूर्वक समयको अड्कल गर्यो । दिनको बाह्रभन्दा बढी बजेको छैन | हावा पनि बिस्तारै चल्दै थियो । डोरी पनि भद्रगोल छ । घर पुगेपछि केटो र म भएर समाल्नु पर्ला ।

‘यता आइज माछा’ बूढाले भन्यो । तर त्यो माछा आएन । माछो समुद्रमै पुर्लुक्क पल्टेर बस्यो । बूढाले डुङ्गालाई माछा भएतिर लिएर गयो ।

आफ्नो साथमा भएको माछाको आकार देखेर विश्वासै लागेको छैन बूढालाई । तर डुङ्गाको टुप्पामा बाँधेर राखेको भालाको डोरी फुकालेर माछाको कानको प्वालबाट पसाएर गिँजाबाट निकाल्यो अनि मुखको लामो थुतुनोमा बेरेर अर्को प्वालबाट निकाल्यो । त्यसपछि त्यो डोरी काटेर माछाको पुच्छर बाँध्नलाई डुङ्गाको पछिल्तिर गयो बूढो । सेतो बैजनी रङ्गबाट माछो बदलिएर चाँदी जस्तो पूरै सेतो भैसकेको थियो । अनि शरीरका कत्लाहरू पनि पुच्छर जस्तै फिका नीलो रङ्मा परिणत भैसकेका थिए । एउटा मान्छेको हातभन्दा पनि ठूला थिए ती कत्लाहरू । माछाको आँखा फुटेको सिसा जस्तै देखिन्थ्यो अर्थात्‌ एउटा शोभायोत्रामा गएको सन्यासी जस्तै अलग्गै खालको देखिन्थ्यो ।

“यसलार्इ मार्ने एउटै यही त उपाय यही त थियो ।” बुढोले भन्यो, पानी पिएपछि उसलाई अलि सन्चो भयो । टाढै जान नसके पनि उसको टाउको स्वस्थ नै छ । माछो पक्कै पनि पन्ध्रसय पाउण्डभन्दा बढी तौलको हुनुपर्छ । अड्कल गर्यो । अझ बढी होला बरू घटी चाहिँ छैन । यदि त्यसको दुई तिहाइ भाग प्रति पाउण्ड तीस सेन्टमा बेच्यो भने कति आउला ?

“मलाई त्यसका लागि त पेन्सिल्लै चाहिन्छ ।” उसले भन्यो, मेरो टाउको त्यति स्वस्थ छैन । तर मलाई लाग्छ यदि बिख्यात डिमागियोले यो कुरा थाहा पाए भने कति गर्व गर्थे होलान्‌ म प्रति आज ।

मेरो खुट्टा दुखेको छैन तर हात र डँडाल्नु चाहिँ निकै दुखिराखेको छ।

अचम्म लाग्छ मलाई आखिर के हो झस्को पस्नु भनेको ? उसले सोच्यो, हुन सक्छ हामीले थाहै नपाईकन खुट्टामा झस्को पस्न सक्छ ।

डुङ्गाको अगाडि, बीचमा अनि पछाडि कसेर बाँध्यो बूढोले माछोलाई । माछो यति ठूलो थियो कि डुङ्गामा अर्को ठूलो डुङ्गा जोडेर ल्याए जस्तो देखिन्थ्यो । बूढोले एक टुक्रो डोरी काटेर माछाले मुख खोल्नै नसक्ने गरी तल्लो गिँजा र थुठुनो बाँधिदियो । ताकि डुङ्गा सजिलै चलाउन सकियोस्‌ | बूढोले त्यसपछि डुङ्गाको बीचको खाँबो राम्ररी बाँधेर पाल हाल्यो त्यसमा अनि डुङ्गाको पछिल्तिर ढल्केर डुङ्गा दक्षिण पश्चिम दिशातिर लग्यो ।

दक्षिण पश्चिम दिशा कता हो पत्ता लगाउन उसलाई कहिल्यै कम्पास चाहिएन । दैनिक हावाको प्रकृति र पालको गति हेरेर दिशा पत्ता लगाउँथ्यो बूढो । सानो डोरीमा एउटा चम्चा बाँधेर पानीमा फालिदिने हो भने जाडोका लागि केही खानेकुरा पाइन्थ्यो कि । बूढोले सोच्यो, तर चम्चा फेला परेन । उसका सार्डिनहरू पनि सबै कुहिसकेका थिए । त्यसैले उसले बल्छीमा पहेँलो समुद्री झारको टुक्रो हालेर पानीमा फालिदियो । एकैछिन पछि बल्छी तानेर हेर्दा त डुङ्गाको फल्याकमा झिँगे माछा झर्यो बल्छीबाट । एक दर्जनभन्दा बढी झिँगे माछा बलौटे कीरा जस्तै उफ्रिन थाले । बूढोले चोरीऔंला र बूढीऔंलाले च्यापेर तिनीहरूको टाउको निमोठ्यो अनि खोल र पुच्छर सबै चपायो । सानो देखेर के गर्नु निकै स्वादिलो र पोषिलो थियो झिँगे माछा ।