भोलिपल्ट बिहान जब म पिङ्की मेडमलाई लिएर मल जाँदै थिएँ, मेरो जुत्तामुनि सानो कपासको डल्लो भएकोले असजिलो अनुभव गरेँ । ढोका ड्याम्म बन्द गरेर उनी गइन् । मैले दस मिनेट पर्खे । अनि कारभित्रै लुगा फेरेँ ।
नयाँ सेतो टिसर्ट लगाएर म मलको मूलद्वारतिर गएँ । तर त्यहाँ पालेलाई देख्ने बित्तिकै फरक्क फर्केर होन्डा सिटी भएको तिर लागेँ । कारभित्र पसेर महाकालीको प्रतिमालाई तीन थप्पड लगाएँ । लामो जिब्रो निकालेकी महाकालीको स्टिकरमा इच्छासिद्धीको कामना गर्दै छोएँ ।
यसपालि म पछाडिको मूलद्वारमा गएँ ।
मलाई थाहा थियो बिचमा एउटा अङ्ग्रेजी शब्द भएको पूरै सेतो टिसर्ट र कालो जुत्ता लगाएरै गएको भए पनि ढोकामै उभिएको पालेले मलाई भित्र जान दिँदैनथ्यो । उसले हकार्दै भन्थ्यो, “हुन्न ! तिमीलाई भित्र जाने अनुमति छैन ।” मलाई थाहा थियो कि अन्तिममा मलाई समातिन्थो, बाहिर डाकिन्थ्यो र थप्पड लगाएर लाज मर्नु पारिन्थ्यो ।
म मलभित्र हिँड्दा पनि कसैले पक्कै, “ए त्यो ड्राइभर यहाँ किन आएको ? त्यसको के काम छ ?” भन्छ कि भनेर झसङ्ग भै रह्यो । प्रत्येक तलामा हरियो पोसाक लगाएका पाले थिए । सबैले मलाई नै हेरिरहेजस्तो देखिन्थ्यो । यो मेरो भगुवाको जीवनको पहिलो अनुभव थियो ।
हावामा सुगन्ध, सुनौला बत्तीहरू, एयरकन्डिसनरको चिसो हावा, टिसर्ट र जिन्स लगाएका मानिसहरू अनौठो मानेर मलाई हेरिरहेका आदि यी सबै कुराहरूको मलाई ख्याल थियो । सुनौला सिसा भएको लिफट तलमाथि गरिरहेको देखेँ । सिसाको पर्खालमा युरोपियन केटाकेटीहरूको पोस्टर टाँसिएका पसलहरू देखेँ । यतिबेला मलाई अरू ड्राइभरहरूले देख्न सक्ने भए कस्तो हुन्थ्यो होला !
बाहिर निस्कन पनि भित्र पस्न जस्तै झेल गर्नुपर्ने । तर पालेहरूले एक शब्द बोलेनन् । म सीधै कारपार्क गरेको ठाउँमा गएँ र कारभित्र पसे अनि उही पुरानै रङ्गीन सर्ट फेरेर त्यो धनीले लगाउने टिसर्ट पोको पारेर गोडाको छेउमा राखेँ ।
म दौडेर अरू ड्राइभरहरू बसिरहेको ठाउँमा आइपुगे । तिनीहरू कसैले पनि म भित्र गएको र बाहिर आएको देखेका थिएनन् । तिनीहरू अरू नै केही कुरामा मग्न थिए | जतिखेर पनि हातमा साँचोको सिक्री घुमाइरहने चाहिँ ड्राइभरको हातमा मोबाइल थियो | मोबाइल देखाउँदै भन्यो, “ए यसबाट तेरो बूढीलाई फोन गर्छस् ?”
“यसबाट अरूलाई फोन गर्न मिल्दैन, मूर्ख यो त एकातर्फ उठाउने मात्र हो ।”
“त्यसो भए परिवारलाई फोनै गर्न मिल्दैन भने यस्तो फोनको के काम ?”
“यसको काम के हो भने मलाई मालिकले कहाँ, कति बेला लिन आउने भनेर निर्देशन दिन सक्छन् । त्यही भएर म जहाँ गए पनि यसलाई बगलीमै राख्नु पर्छ ।”
उसले मेरो हातबाट फोन तान्यो (लग्यो), सफा पारेर पुछ्यो र खल्तीमा राख्यो । आज अघिसम्म ड्राइभरहरूको बीचमा उसको हैसियत तल थियो किनभने उसको मालिकको सानो मारूती सुजुकी जेन कार थियो । आज त उसको धाकै ठूलो। बाँदरहरूले जसरी कुनै टल्किने वस्तु देखे भने टिपेर हेरिरहन्छन्; त्यसरी नै सबै ड्राइभरले उसको मोबाइल हातहातै गरेर वाल्ल परेर हेरेँ । हावामा अमोनियाको गन्ध्र आयो, किनकि एकजना ड्राइभरले नजिकै पिसाब फेरिराख्याथ्यो।
दुबी ओठेले कुनामा बसेर मलाई चियाइराखेको थियो ।
“ए पाखे” उसले भन्यो, “तलाइँ केही भन्न मन छ कि हँ ?”
मैले टाउको हल्लाएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।