-week 7

“लौ भन्‌ के भन्ने हो ?”

बालुवामाथि सिकुटे गोडा चालेर नाच्दै पादरीको छोरो खिसिक्क मुस्कुरायो र जिस्क्याउँदै भन्न थाल्यो –

“कम्युनिष्ट हो रे तेरो बाबु ! जब तै मर्ने छस्‌ र तेरो आत्मा स्वर्गमा उडेर जाने छ, त्यतिखेर भगवानले तँलाई भन्ने छन्‌, “तेरो बाबु कम्युनिष्ट हो, त्यसैले तँलाई सीधै नरकमा पठाइदिन्छु ! ” तल कुम्भीपाक नरकमा तँलाई दैत्यहरूले बेसरी तताइएको कराहीमा भुट्ने छन्‌ ! ..”

“के तँलाई त्यसरी नै नभुट्लान्‌ भन्ठान्याछस्‌ त ?”

“मेरा बुबा त पादरी हुनु हुन्छ ! .. तँ अनपढ पटमूर्ख होस्‌ र तँ केही बुझ्दैनस्‌ पनि ! ..”

मिशा डरले भुतुक्कै भयो। उ चूपचाप फर्कियो र घरतिर दौडियो ।

करेसो बारीको बारनेर उ टक्क रोकियो र पादरीको छोरोतर्फ मुक्का देखाउँदै करायो –

“हेर्‌, जीबासंग सोधिहेर्छु ! झूठो बोलेको रहिछस्‌ भने तैले हाम्रो आगनको सेरोफेरो पाइला नहाले पनि हुन्छ! ”

कठबार नाघेर उ घरतर्फ दौडियो। मिशाले तताइएको कराहीमा आफूलाई वल्टाइपल्टाई घिउमा तारिरहेको कल्पना गर्यो…। कराही निकै तातेको थियो र त्यसमा घिउ र सिकर्नी भकभक उम्लिरहेको थियो र फीज उठिरहेको थियो। उसको आङ नै जिरिङ्ग भयो। छिटै हजुरबा भए ठाउँसम्म दौडेर पुग्न पाए हुन्थ्यो, उनीसंग सबै, कुरा सोध्न सकिन्थ्यो . . . ।

त्यत्तिकैमा उसले आफ्नो अगाडि एउटा सुँगुर्नी देख्यो । तगारोको प्वालमा उसको टाउको अल्झिराखेको थियो, खुट्टाले भुइँमा बेसरी टेकेर टाउको झिक्ने कोशिश गर्दै थियो, जोडले टाउको झट्कार्थ्यो, पुच्छर माथि उठाउँथ्यो र हतारिदै चित्कार गर्दथ्यो। मिशा उसलाई छुट्कारा दिलाउन बेगले दौडियो, तर तगारो झिक्न थाल्दा सुंगुर्नी जोडले सूँ सूँ गरेर कराउँथ्यो । मिशा उसको पीठमा चढ्यो, अनि सुंगुर्नीले चाहिँ झट्का दिएर तगारोको साङलो नै चुँडालिदियो र चित्कार छोड्दै आगनमा जथाभावी दौडादौड गर्न थाल्यो । मिशा दुबै गोडाले उसको आङमा एेडी दिँदै थियो र सुंगुर्नीले पनि उसलाई यस किसिमले बेतोडसित दौडाइरहेको थियो कि बतासको झोक्काले उसको कपाल समेत छताछ्लुल्ल पाँरिसकेको थियो। मिशा आगनको खलिहाननेर सुंगुर्नीको पीठबाट बुर्लुक्क उफ्रर ओर्लियो । जब उसले चारैतिर नजर दौडायो , तब मात्र हजुरबाले घरको संघारनेरै उभिएर औंलाले ईशारा गर्दै डाँकिरहेको उसले चाल पायो ।

“यता आइज त, बच्चू ! ”
हजुरबाले किन बोलाइरहेका होलान्‌ भन्ने मिशाले अन्दाजै लगाउन सकिरहेको थिएन। उसको मथिंगलमा त फेरि त्यही कुम्भीपाक नरककै तात्तिएको कराहीकै झझल्को मात्र थियो। र, उ सोझै संघारतिर बेगले दौड्यो ।

“जीबा ! जीबा ! के दैत्यहरू आकाशमा बस्छन्‌ ? ”

“पख्लास्‌, छिटै तैले दैत्यहरूको दर्शन पाउलास्‌ …। फिलामा सुम्लो उठेपछि चाल पाउलास्‌ ! लुच्चा कहींका ! सुंगुर्नीको पिठ्युँमा बुर्इ चढेर खूब गरेँ भन्दो होस्‌ ! ?”

हजुरबाले मिशाको बुल्बुली समातेर जगल्ट्याए जसले गर्दा उ हलचल नै गर्न नसक्ने भयो । अनि उनले कोठाभित्र बसिरहेकी आमा चाहिँलाई डाँक्तै भने-

“ए, यहाँ आएर एक पल्ट आाफ्नो कर्मचण्डाल छोरोको मुख हेरिहाल्‌ ल ! ”

“आमा घरभित्रबाट आगनमा निस्किन्‌ ।

“क बिरायो र उसले ? ”

बिराउन त के बिराउँथ्यो र? बस्‌, सुंगुर्नीको पिठ्यूँमा चढेर आगनमा चक्कर लगाउँदै थियो, चारैतिर धूलोको मुस्लो उडाउँदै थियो ! ”

“के त्यो, भर्खरै ब्याएकी सुगुर्नी नै चढ्न पुगे छ? ” आमाले घिन मान्दै भनिन्‌ ।

मिशाले आफ्नो बचाउको लागि एक लवज पनि बोल्न नपाउँदै हजुरबाले छालाको कमरपेटी फुकाले र पाइजामा नखसोस्‌ भनी देब्रे हातले थाम्दै दाहिने हातले चाहिँ मिशाको टाउको आफ्ना दुई घुँडाको च्यापोमा घुसार्न थाले । अनि उनले मिशाको तिघ्रामा एक दनक बजाएर कड्कँडै भने-

“हेर्, अब फेरि सुंगर्नीको घोडा नचढेस्‌ ! .. कहिल्यै नचढेस्‌ ! ”

मिशा जोडले कराउन मात्रै के आँटेको थियो, हजुरबाले उसलाई झपारे-

“यसरी नै तँ आफ्नो बाबुलाई माया गर्छस्‌ हैन के, लठ्ठक ? उ भखर मात्र, घर आइपुगेको छ, बाटोको थकाईले चूर भएर सुत्न पल्टेको छ, तँ भने यस्तो डाँको छोड्छस्‌ ! ”

मिशाले चूप लाग्नु नै पर्ने भयो। उसले हजुरबालाई लात्तले धकेल्न भने नचाहेको होइन, तर भेट्टाउनै सकेन । आमाले उसलाई समातेर घरभित्र हुलिदिइहालिन्‌ !

“चूप लागेर बस्‌ ! ..”- आमाले भनिन्‌ ।- “ज्यादा चक्‌चक गरिस्‌- भने तेरो छाला काढेर सुकाइदिउँला ! तेरा जीबाले जस्तो माया गरुँला भनी नठान्‌ ! ..”

हजुरबा भान्साको तख्तामा बसेर मिशाको काँधमा धाप दिइरहेका थिए। मिशा चाहिं भित्तातिर मुख लाएर बसिरहेको थियो। हातको लबटाले आँसु पुछ्दै हजुरबातिर फर्केर सुँक्क सुँक्क गर्दै उसले भन्यो-

पर्खेनोस्‌ जीबा ! म ठूलो मात्रै त होऊँ ! ”_ मिशा दैलोमा अडेस लाग्दै बड्बडायो ।

“उल्लू ! के तँ आफ्नो बाजेलाई तर्साउन खोज्दै छस ? ”

हजुरबा फेरि आफ्नो कमरपेटी फुकाल्न तम्सिए। मिशाले बेलैमा दैलो अलिकति खोत्नु नै श्रेयस्कर ठान्यो।

“मलाई तर्साउने, हैन त ? ”- हजुरबाले फेरि दोहोर्याए ।

मिशा फुत्रुक्क ढोका बाहिर अलप भयो। अनि दैलोको चिराबाट भित्र चियाएर हेर्दै हजुरबाको हरेक चालढाल हेर्ने थाल्यो। आखिर उसले चिच्याउँदै भन्यो-

“पर्खेनोस्‌ , जीबा ! .. सप्पै दाँत झरेर जब तपाईं थोते हुनु होला, म ज्यान गए पनि तपार्इका निम्ति चपाइदिने छैन ! अनि थाहा पाउनु होला ! ”

हजुरबा ढोकाबाहिर दलानमा निस्किए। उनले करेसो बारीमा सनपाटको हरियो झ्यापुल्ले झ्याङभित्र, मिशाको टाउको अलपिँदै गएको देखे। उसले लगाइराखेको गाढा नीलो रङको जाँगे मात्रैँ झल्याक-झुलुक देखा पर्देथ्यो र बिलाउँथ्यो। बूढा हजुरबा आफ्नो लौरो हल्लाउँदै निकै बेरसम्म मिशालाई हकारिरहेका थिए, तर उनको ओठको मृदृ मुस्कानलाई भने झुस्स परेको दाह्रि-जुँगाले अरूले नदेख्ने गरी छोपिराखेको थियो ।

**********

बाबुले, उसलाई मिन्का भनेर बोलाउने गरेका थिए। आमा चाहिँ मिन्यूश्का भनेर डाँक्थिन्‌ । हजुरबा प्यारो गरेर बोलाउँदा बच्चू भन्द्थे भने अरू बेला, जब उनको खैरो झ्यापुल्ले आँखीभौं समेटिएर , भृकुटीमा गाँठो पर्ने पुग्दथ्यो, उनी भन्ने गदेथे- “ए मिखाइलो फोमिच ! यता आइज ! कान निमोठेर तेरो कन्सरी अलि तताइहालुँ ! ”

अरूहरूको निम्ति अर्थात्‌ कुरौटे छर-छिमेकीहरू, ठिटाठिटीहरू र पूरै गाउँको निम्ति चाहिं उ कि त मिशा थियो । कि त अक्सर ग्री फुच्चे नकच्चरो !

बिहे हुनुभन्दा पहिले नै आमाले उसलाई जन्माएकी थिइन्‌ । हुन त छोरो जन्मिएको एक महीनापछि नै गोठालो फोमासंग उनको बिहाबारी भएको थियो । फोमाबाट नै उनमा गर्भ रहेको थियो, तर पनि “फुच्चे नकच्चरो?” भन्ने अप्रिय उपनाम उसले पाएको थियो र जीवनभरि नै लिसो टाँसिए झैं मिशासंगै टाँसिएर रह्यो।

मिशा वास्तवमा फुच्चे नै थियो। उसको कपाल वसन्तमा फक्रिएको सूयंमुखीको पत्र जस्तै देखिन्थ्यो, जूनतिर घामले डढेर खस्रो हुन्थ्यो र घुँगुरिएको बुल्बुली जिरिग पर्दथ्यो । अनि उसका गालामा भँगेराको फूलमा जस्तै चायाको दाग थिए भने घामको राप र बारम्बार पोखरीको डुबुल्कीले गर्दा नाकमा चाहिँ छालाको पत्र उप्केको हुन्थ्यो । धनुषाकार गोडा भएको मिशासंग यदि राम्रो भन्न सकिने कुनै कुरा थियो त त्यो हो- उसको आँखा। निक्खुर नीला र कुटिल उसका ती आँखा नदीमा पग्लिन बाँकी बरफको ऐनाका टुक्रा जस्तै चिम्से पटल भित्रबाट चियाइरहेका प्रतीत हुन्थे ।

यिनै आँखाको लागि र आफ्नो चुलबुले स्वभावको लागि नै उसले बाबुको स्नेह पाएको थियो । लडाईंको मोर्चाबाट बाबुले छोरालाई ज्यादै बासी भएको हुँदा ढुंगा जस्तै कडा भैसकेको गुलियो रोटी र एक जोर जडावरी बुटजुत्ता पनि ल्याइदिएका थिए,। बूटजुत्ता त आमा चाहिंले एउटा तौलिया रूमालमा पोको पारेर सन्दुसमा थन्क्याइदिइसकेकी थिइन्‌ । जहाँसम्म गुलियो रोटीको सवाल छ, मिशाले त्यसै दिन साँझ ढोकाको संघारमा काठको ठेलोमा राखेर हत्यौडाले ठोकी धुजा धुजा पारेको थियो र एक टुक्रा पनि बाँकी नराखेर मुखमा हालिसकेको थियो।

भोलिपल्ट मिशा एकाबिहानै निद्राबाट ब्युँझियो । उसले खड्कलोबाट अलिकति तातो पानी उबायो र झटपट मुख धोयो । अनि बाहिर आगनतिर दौडियो ।

आमा आगनमा गाईको स्याहार-सुसार गर्दै थिइन्‌ । हजुरबा चाहिँ घरको पेटीमा बसिरहेका थिए। उनले मिशालाई डाँके-

जा, बच्चु ! धनसारमुनि हेर त ! त्यहाँ कुखुराले फूल पार्यो कि ? कुखुरीको क्वा क्वा सुनिएको थियो ! ”

मिशा हजुरबाको सेवामा सदैव नै तत्पर रहन्थ्यो। उ निहुरिएर बल्लतल्ल धनसारमुनि छिर्यो र अर्को तर्फबाट निस्केर सुइँकुच्चा ठोक्यो। करेसो बारी पार गर्दै उ सरासर पोखरीतर्फ लाग्यो। उ बेला बेलामा पछिल्तिर फर्केर पनि हेर्ने गर्थ्यो – कतै हजुरबा त उसलाई चियाउँदै छैनन्‌ ? बार पनि नाघ्रन पाइएको थिएन , सिस्नुको झ्याङले उसको गोडामा च्वास्सं पोलिहाल्यो। हजुरबा चाहिँ उसको बाटो कुरिरहेका थिए ,“उसलाई डाँक्तै पनि थिए। तर, कुनै जवाफ नपाएर उनी ज्यादै अधीर..भए, अनि आफु नै चारै खुट्टाले भुईंमा टेकेर , धनसारमुनि घिस्रिए। कुखुराको सुलीमा’ उनको आङ लतपतियो , चूक घोप्ट्याएको आँध्यारोले गर्दा आँखा चिम्स्याउँदै उनी -छामछाम छुमछुम गर्दै घिस्रेर गए, कति पल्ट त छतमा टाउको ठोकिएर उनी रन्थनिए पनि । आखिर बडो मुश्किलसाथ उनी अर्को पुछारसम्म पुगे ।

ए, चण्डाल मिशा ! तँ अझैँ पनि कुखुराको डिम्मा खोज्दै छस्‌ त! .. के कुखुरीले यस्तो ठाउँमा पनि फुल पार्छ र ? उ हेर त, त्यो ढुंगोनेर फूल हुनु पर्छ ! बच्चू, तँ कहाँ घिस्रँदै छस्‌ हँ अझैं ? ”

हजुरबाले कुनै उत्तर पाएनन्‌ । उनले पतलूनमा टाँसिएको कुखुराको सुली टक्टक्याए , धनसारमुनीको छिंडीबाट बाहिर निस्किए, अनि आँखा चिम्स्याउँदै’ एक टक लगाएर पोखरीतिर चियाएर हेरे। उनले मिशालाई त्यहाँ देखे र हात झट्कार्दै फर्किए ।

पौखरीनेर गाउँका केटाकेटीहरूले मिशालाई घेरिराखेका थिए ।

“तेरा बा काँ थे हँ? ”- कसैले सोध्यो ।- “केलडाइँमा ? ”

“हो !”

“के गर्न गाका नि?”

“थाहै छ नि-लड्न गएका ! ”

“ईस्‌, पत्याएँ अब ! .. जुम्रासित लडे मात्रै ! बरू भान्साअगाडि गुल्टिएर हाड चबाउँथे होलान्‌… । ”

केटाहरू खित्का छोडेर हाँसे, मिशालाई औंलाले घोच्दै उफ्रन – कराउन थाले । मिशाको गहभरि बर्बरि आँसु भरिएर आयो । त्यसमाथि पनि पादरीको छोरो भित्याले त बेसरी उसको गोडामा नै कुल्चिदियो ।

“तेरो बाबु कम्युनिष्ट हैन र ? ”_ कसैले सोध्यो ।

“था ! छैन ! ..”

“मलाई था’ छ ! कम्युनिष्ट हो ! उसले आफ्नो आत्मा नै भूतप्रेतलाई बेचिसक्यो रे ! आजै बिहान मात्र मेरा बाले भन्नु भा’को ! अब चाँडै नै सबका सब कम्युनिष्टहरूलाई रूखमा झुण्ड्याउँछन्‌ रे ! ”

केटाहरू, चूप लागे। तर मिशाको मुटुमा भने च्वास्स घोच्यो। बालाई साँच्ची नै झुण्ड्याउने नै हुन्‌ त? किन? उनले के अपराध गरे र यस्तो ? मिशाले बेसरी दाँत किटकिट गर्दै गुनगुनाएर भन्यो –

“मेरा बाले ठूलो बुन्द्रक ल्याएका छन्‌ र सबै बुर्जुवाहरूलाई धडाधड मारिदिने छन्‌ ! ”

“भुत्रो मार्लान्‌ ! ”-भित्याले एक पाइला अघि सरेर गर्वसाथ घोषणा गर्यो । “मेरा बाले आशीर्वाद नै दिने छैनन्‌ र आशिष नपाईकन कसैले केही नाप्न सक्तैन …। ”