week 12

हातबाट डोरी फुत्किँदै गइरहेको भएता पनि त्यसको गति निकै कम भैसकेको थियो । माछाले एक एक इन्च डोरी तान्ने, बूढोले डोरी छोडिरहेको थियो । काठ र डल्फिनको चेप्टो टुक्राबाट बूढोले आफ्नो टाउको मास्तिर उठायो । त्यसपछि ऊ बिस्तारै घुँडा टेकेर उभियो । डोरी छाड्दै गयो उसले तर प्रत्येक पटक खुकुलो पनि पार्दै गयो । उसले नदेखिने डोरीको गुजुल्टोलाई खुट्टाले छाम्यो । त्यहाँ अझैं पनि प्रशस्त डोरी बाँकी थियो । अघिको भन्दा धेरै डोरी पानी बीचबाट तान्नै पर्थ्यो त्यो माछाले | हो, उसले सोच्यो, एक दर्जन भन्दा धेरै चोटि माछो उफ्रिसक्यो । पिठ्युँको थैलीमा हावा भरिसकेकोले मैले तान्नै नसक्ने गरी पानीमुनि गएर मर्छ जस्तो लाग्दैन मलाई | एकैछिन पछि चक्राकारले घुम्ने छ । मैले पनि उसित लड्ने गरी तयारी गर्नुपर्छ । तर अचम्म ! यही बीचमा मलाई उसले अचानक के गर्न आँटेको हो ? कतै भोक लागेर त होइन ? कि यो निराश भएर उफ्रेको हो ? राति यसलाई कसैले तर्सायो कि ? अकस्मात्‌ डर लागेको पनि हुनसक्छ यसलाई । तर यो शान्त, शक्तिशाली, साहसी अनि आत्मविश्वासी छ भन्ने मलाई थाहा भैसकेको छ । के अचम्म हो यो ?

बूढोले मनमनै भन्यो, “बूढा तँ यो माछो भन्दा पनि निडर र आत्मविश्वासी हुनुपर्छ । फेरि समात्ने छस्‌ तैँले उसलाई ।”

देब्रे हात र काँधका बलले आफैँलाई थाम्यो बूढोले । त्यसपछि दाहिने हातमा पानी थापेर मुखमा टाँसिएको डल्फिनको टुक्रा पखाल्यो । डल्फिनको गन्धले वान्ता आउला र भएको ताकत पनि घट्ला भन्ने पीर लाग्यो उसलाई । मुख धोइसकेपछि दाहिने, हात पनि, धोएर अलिबेर नूनिलो पानीमा डुबाएर राख्यो अनि घाम झुल्किनु अघि निस्किएको प्रकाश नदेखिउन्जेलसम्म नूनिलो पानीमै डुबाइराख्यो त्यसलाई । उसले सोच्यो, माछाको टाउको पूर्वपट्टि नै छ । यसको अर्थ ऊ थाकिसकेको छ र समुद्री बहावसँगै अघि बढिरहेको छ । एकछिन पछि त्यसैले सुखै पाउँदैन । हाम्रो खास काम त त्यसपछि पो शुरू हुन्छ ।

निकै बेरसम्म दाहिने हात पानीमा राखेपछि उसले त्यसलाई निकालेर हेर्न थाल्यो ।

“त्यति खराब छैन यो” उसले भन्यो, अनि यो सानोतिनो दुःखकष्ट मान्छेका लागि केही होइन ।’

उसले डोरी दाहिने हातमा सारेर भर्खर काटेको नछुवाइकन भएभरको बल लगायो ताकि डुङ्गाको अर्को देब्रे हात पानीमा चोपल्न सकियोस्‌ ।

“तैले खासै नराम्रो काम चाहिँ गरेको छैनस्‌ ।” देब्रे हात हेरेर भन्यो उसले । तैपनि मैले चाहेको बेलामा उपयोग गर्न सकिन तँलाई ।”

दुईवटा राम्रा हात लिएर किन जन्मिन म ? उसले सोच्यो । सायद त्यसलाई राम्रोसित तालिम दिन नसक्नु मेरै गल्ती, हुनसक्छ । तर ईश्वरलाई थाहा छ यसले सिक्ने अवसर पशस्तै पाएको थियो । तर जे होस्‌ राति एकचोटि खुम्चिनु बाहेक अरु त्यति साह्रो नराम्रो काम पनि गरेन यसले । यदि फेरि भने त्यसलाई डोरीले काटे पनि काटोस्‌ ।

कुनै बेला बूढोलाई यस्तो लागेको थियो मानौ उसको टाउको स्वस्थ छैन र उसले डल्फिनको बाँकी भाग सबै खानुपर्छ । तर म त्यसलाई खान सक्दिन | उसले आफैंलाई भन्यो,
“वान्ता गरेर शक्ति नष्ट गर्नुभन्दा हलुको टाउकै ठीक । म त्यसलाई खान सक्दिन किनभने मेरो टाउको डल्फिनमाथि परेको थियो । नसङुन्जेलसम्म आपतकालिन अवस्थाका लागि साँचेर राख्छु । तर पोषिलो खाना खाएर ताकत बढाउने समय पहिल्यै सकियो । उसले आफैंलाई भन्यो, ‘तँ मूर्ख होस्‌ ।’ तँ अर्को उडुवा माछा खा ।”

उडुवा माछो पहिल्यै सफा गरेर तयार पारेको थियो उसले । बूढोले देब्रे हातले टिपेर पुच्छरसम्म हड्डी सहितै चपायो ।

अरू माछाभन्दा निकै पोषिलो छ यो, उसले सोच्यो । मलाई, चाहिने ताकत दिन्छ यसले । अहिले मैले गर्न सक्ने जति गरिसकेको छु । उसले सोच्यो । त्यसलाई घुम्न दिउँ अनि मात्रै हाम्रो लडाइँ शुरू हुन्छ ।

उसको समुद्र यात्राको तेस्रो चोटिको सूर्योदय हुँदाहुँदै त्यो माछो घुम्न थाल्यो ।

माछो, घुम्दैछ भन्ने कुरो डोरीको तन्काइ हेरेर ठम्याउन सकेन बूढोले । ठम्याउने बेला पनि भएको थिएन । डोरी लचिलो भएको महसुस गर्यो उसले अनि डोरीलाई दाहिने हातले सुस्तरी तान्न थाल्यो । पहिले जस्तै निकै कस्सियो डोरी तर चुँडिन लागेको ठाउँ पार भएपछि डोरी राम्ररी तन्किन थाल्यो ।

काँध र टाउकोबाट डोरी छिराएर बिस्तारै तान्न थाल्यो बूढोले । उसले त्यो काममा दुईटै हातको उपयोग गर्यो । शरीर र खुट्टाको बलले सकेसम्म तान्यो उसले डोरी । जति जति डोरी तानिन्थ्यो उति उति उसका बूढोको खुट्टा र काँध दुइटै लगलग कामिरहेका थिए ।

“निकै ठूलो घेरो हो यो ।” उसले भन्यो, “तर माछो घुमिरहेकै छ अझै ।”

त्यसपछि त्यो डोरी तानिएन तर घाममा डोरीबाट पानीको थोप्ला नउछिट्टिउन्जेल समातेर तानिराख्यो । त्यसपछि डोरी फेरि पानीमुनि जानथालेपछि बूढोले घुँडा टेक्यो अनि भुत्भुताउँदै बाध्य भएर राति अँध्यारोमा डोरी छोड्दै गयो ।

“निकै फराकिलो घेरो बनाउँदै छ यसले अब ।” उसले भन्यो । बूढोले सोच्यो, मैले डोरी सकेसम्म समातिराख्नुपर्छ । डोरी कसेर तानेकाले माछाको घेरो पनि साघुँरिदै गयो । सायद एक घण्टाभित्र म त्यसलाई देख्छु । अब म त्यसलाई बाध्य पारेर नमारी छाड्दिन । तर माछो बिस्तारै घुमिनैरह्‌यो । दुई घण्टापछि बूढोको शरीरमा खलखली पसिना आयो अनि थकाइले लखतरान भयो छ । तर माछाको घेरो बिस्तारै साँघुरिँदै गयो । डोरीको लचकताबाटै बूढोले के अनुमान लगायो भने माछो घुम्दै माथितिर आउँदैछ ।

एक घण्टासम्म बूढोले आफ्ना आँखा अगाडि कालो-कालो धब्बा देख्यो । निधारबाट नूनिलो पसिना बगेकाले निधार र आँखाको डिलमा काटेको ठाउँमा पोल्न थाल्यो । बूढो कालो धब्बा देखेर डराएन | डोरी तानिराखेको तनाबको बेलामा उसले त्यसलाई सामान्य रूपमै लियो | डोरी तान्दै गर्दा दुईपटक जति रिङ्गटा लागेर मूर्छा होला जस्तो भयो । त्यसैको मात्र पीर थियो उसलाई ।

“म यसरी यस्ता जाबो एउटा माछाका लागि असफल भएर मर्न चाहन्न ।” उसले मनमनै भन्यो । अहिले त्यो माछो म तिरै राम्रैसित आइरहेको बेला ईश्वले मलाई सहने शक्ति दिऊन्‌ । म सयपटक हाम्रा पिता र सयपटक स्वागतम्‌ मेरी भनेर प्रार्थना गर्नेछु । अहिल्यै चाहिँ गर्न सक्दिन म यो प्रार्थना तर दुईचोटि प्रार्थना गरेँ भनेर ठान्दा हुन्छ । उसले सोच्यो, म पछि प्रार्थना गर्नेछु । लगत्तै बूढोले अचानक आफूले समातेको डोरीमा माछाले हानेको र जोड्ले झड्कारेको अनुभव गर्यो ।

त्यो झड्का निकै दह्रो खालको अर्थात्‌ सहजै महसुस गर्न सकिने किसिमको ठूलै झड्का थियो ।

मुखले डोरीमा हान्दैछ त्यसले अहिले । उसले सोच्यो । त्यो त माछोले बाध्य भएर गर्नैपर्थ्यो । यसले त्यसलाई उफ्रिन बाध्य पार्छ तर म चाहन्छु माछो घुमिनैरहोस्‌ । सास फेर्न पनि त्यसले मास्तिर नउफ्री सुखै पाउँदैन । तर त्यसपछि माछाले बल्छीले पारेको घाउलाई अझै ठूलो पारेर बल्छी हुत्याउन बेर पनि लाउँदैन ।

“नउफ्री माछा तँ नउफ्री” उसले भन्यो । माछाले धेरैचोटि डोरीमा प्रहार गर्यो । जति जति माछाले टाउको हल्लाउँथ्यो उति उति बूढो डोरी छोड्दै जान्थ्यो ।

मैले त्यसको घाउलाई बढ्न दिनु हुँदैन । उसले सोच्यो, मेरो घाउको मलाई कुनै पर्वाह छैन । म त सहन सक्छु । आफूलाई सम्हाल्न सक्छु म । तर त्यसको घाउले त त्यसलाई पागलै बनाउन पनि सक्छ ।

एक छिनपछि माछाले डोरीमा प्रहार गर्न छाडेर बिस्तारै घुम्न थाल्यो फेरि । बूढोले बिस्तारै डोरी, तान्न थाल्यो । तर उसले आफूलाई फेरि कमजोर भएको महसुस गर्यो । देब्रे हातले पानी उठाएर टाउकोमा छयाप्यो | उसले फेरिअलि कति पानी हातमा लिएर पछाडिको घिच्रो माड्न थाल्यो ।

“मलाई कतै दुखेको छैन अहिले ।” उसले भन्यो, “ऊ अब छिट्टै मास्तिर आउँछ पर्खिन्छु म अब त्यसलाई । पर्खिनै पर्छ तैँले । दुखाइको कुरै नगर्‌ अब ।”

डुङ्गाको टुप्पोमा घुँडा टेकेर उसले एकछिनका लागि डोरी फेरि काँध पछाडि राख्यो । म एकछिन आराम गर्छु त्यो घुम्दै गरेको बेलामा अनि त्यो मास्तिर आउने वित्तिकै म आफ्नो काम थालिहाल्छु | निर्णय गर्यो बूढोले ।

“माछाले डोरी नतानिकनै एक फन्को लगाओस्‌ अनि त्यसैबेला डुङ्गाको टुप्पोमा एकछिन आराम गर्ने इच्छा थियो बूढोको । तर डोरीतिर हेर्दा त माछो डुङ्गातिरै आइरहेको देख्यो | अनि उभिएर सकेसम्म डोरी तान्न थाल्यो ।

म पहिलेभन्दा निकै थाकिसकेको छु । उसले सोच्यो, अब त हावा पनि चल्न थाल्यो । यो हावाले माछालाई डुङ्गाको छेउमा ल्याउन सहयोग नै गर्ला । म त्यसकै प्रतिक्षामा छु |

“माछो फेरि घुम्न थालेपछि नै आराम गर्छु म ।” उसले भन्यो, अहिले म पूर्ण स्वस्थ छु । अरू दुई तीनचोटि घुमेपछि त म त्यसलाई नसमाती छाड्दिन । बूढाको छ्वालीको टोपी टाउको पछाडि निकै तल झरिसकेको थियो | त्यतिखेरै माछो घुम्न थालको र डोरी तन्किन थालेको थाहा पाएपछि बूढो डुङ्गाको टुप्पामा बिस्तारै बस्यो

तँ तेरो काम गर्‌ माछा । उसले तँलाई उसले मनमनै भन्यो । म तँलार्इ अर्कोचोटि, घुम्दै गर्दा समातिहाल्छु ।

समुद्री लहर निकै बढेता पनि मौसम राम्रै थियो । उसलाई घर फर्कन यस्तै मौसम त चाहिएको थियो ।

“म अब दक्षिण पश्चिम दिशापट्टि डुङगा लैजान्छु ।” उसले भन्यो, “समुद्रमा मान्छे कहिल्यै हराउँदैन अनि टापु पनि त लामै छ ।”

तेस्रो चोटि घुम्दाघुम्दा उसले बल्ल पहिलो चोटि देख्यो माछोलाई ।

पहिलो चोटि माछो देख्दा कालो छायाँ देखे जस्तो लाग्यो उसलाई । डुङ्गामुनिबाट निस्किन उसलाई निकै समय लागेकोले बूढोले माछाको लम्बाइ ठम्याउन सकेन ।

“अहँ” उसले भन्यो, “ऊ त्यति ठूलो हुनै सक्दैन ।”

तर त्यो माछो वास्तवमै ठूलो थियो । घुमिसकेपछि तीन गज टाढाबाट पानीको सतहमा आइपुग्दा बूढोले माछाको पुच्छर पानी बाहिर देख्यो । त्यो पुच्छर हँसियाभन्दा पनि ठूलो थियो अनि गाढा निलो पानीमा मास्तिर आउँदा हल्का निलो रङ्गको देखिन्थ्यो । पछाडिपट्टि दाँत थियो त्यसको । पानीभित्र पौडिँदा त्यसको विशाल आकार र त्यसमा भएको बैजनी रङ्गको कत्लाहरू बूढोले प्रष्ट देख्यो । माछाको पिठ्युँका पखेटाँहरू तलतिर झरेका थिए भने छातीका ठूला पखेटाँहरू फिँजिएको देखिन्थ्यो ।

यस पटकको घुमाइमा बूढोले माछाको आँखाहरू देख्यो साथै त्यसको नजिकैबाट गइरहेको खैरो रङ्गको दुईवटा स-साना माछा पनि । कुनै कुनै बेला त ती माछाहरू उसको शरीरसितै टाँसिन्थे भने कहिल्यै छुट्टिएर टाढा पुग्थे । कोही कोही बेला चाहिँ उसको छायाँमुनि पौडिन्थे । ती माछाहरू तीन फीट भन्दा लामा थिए । छिटो छिटो पौडिँदा हिले माछाले जस्तै पूरै शरीर हल्लाउँथे तिनीहरू ।

बूढाको शरीरबाट पसिना बगिरहेको थियो तर घामले नभई अरू नै कुनै कारणले । माछाको प्रत्येक शान्त र गम्भीर घुमाइमा डोरी तान्दै गयो बूढोले । दुई फन्को जति घुम्यो भने माछाको शरीरमा भाला रोप्ने सुनौलो मौका पाउने कुरामा ढुक्क थियो बूढो । तर मैले त्यसलाई नजिक नजिक ल्याउनै पर्छ । उसले सोच्यो । उसको टाउकामा घोच्न कोशिस गर्नु हुन्न । मुटुमै घोच्ने चेष्टा गर्नुपर्छ मैले ।

“धैर्यवान्‌ र बलियो हुनुपर्छ तैँले बूढा ।” उसले आफैँलाई भन्यो |

अर्कोचोटि घुम्दा माछाको डँडाल्नु पानी बाहिर निस्कियो तर ऊ अझै ढुङ्गादेखि अलि परै थियो । अर्कोचोटिको घुमाइमा डुङ्गादेखि अझै टाढै भएपनि निकै माथि आइसकेको थियो त्यो माछो । अब डोरी तानेर त्यसलाई नजिकै ल्याउन सकिने कुरामा ढुक्क थियो बूढो ।

भाला पहिल्यै तयार पारेर राखेको थियो उसले । हलुको डोरीको गुजुल्टो गोलाकार बाकसमा राखीएको थियो भने यसको टूप्पो डुङ्गाको मुखमा बाँधृको थियो बूढोले ।

घुम्दै घुम्दै त्यो माछो बडो शान्तपूर्वक र आकर्षक ढंगले पुच्छर