“बलराम, ढिलो गर्यौ त किन ?”
“क्षमा चाहन्छु मेडम ।”
“तिमी बिरामी जस्तो देखिन्छौ । तिमी सन्चै त छौ नि ?”
“हो मेडम । मेरो टाउको दुखिराकेको छ । हिजो राति निद्रा परेन ।”
“चिया पकाउ न । तिमीलाई गाडी चलाउनभन्दा चिया पकाउन राम्रो आउँछ होला ।”
“हुन्छ मेडम ।”
“मैले सुनेको तिमी हलुवाइ हो र तिम्रा परिवार कुक हुन् । तिमीलाई विशेष परम्परागत खालको अदुवा राखेको चिया बनाउन आउँछ ?”
“आउँछ मेडम ।”
“ल त्यसो भए बना त ।”
पिङ्की मेडम के चाहन्थिन् मलाई थाहा थिएन, तर कम्तीमा उनको छाती ढाकिएको थियो । मेरा लागि राहत भयो ।
चियादानीमा चिया पकाउन थालेँ । पानी भर्खरै के उम्लिन लागेको थियो कोठामा हरर्र अत्तरको बास्ना आयो । उनले ढोकामै उभिएर हेर्दै थिइन् ।
हिजो रातिको श्विस्कीले मेरो टाउको अझै घुमाउँदै थियो । कसैले मुख गनाएको थाहा नपाउन भनेर बिहानैदेखि जिरा चपाइरहेको थिएँ तैपनि म ढुक्क थिइनँ । त्यसैले म एकातिर फर्केर अदुवाको टुक्रा धारामा धोएँ ।
“के गरिराखेको ?” उनी चिच्च्याइन् ।
“मेडम, अदुवा धोएको ।”
“त्यो त दाहिने हातले हो । तेरो देब्रे हात के गर्दै छ नि ?”
“के भन्नु भएको मेडम ?” मैले तल हेरेँ ।
“त्यो देब्रे हातले चाक कन्याउन बन्द गर त ।”
“नरिसाउनू मेडम । म अब गर्दिनँ ।”
तर क्यै लागेन । उनी कराउन छोडिनन् ।
“तँ कस्तो फोहोरी । तेरो अनुहार, तेरो दाँत, तेरो लुगा हेर् त ! पानले दाँत रातै छ । सर्टमा पानको छिर्का छ । घिन लाग्ने ! लौ बाहिर गइहाल् त । भान्सा सफा गरेर बाहिर गइहाल् ।”
अदुवाको टुक्रा फ्रिजमा राखेँ, ग्याँस बन्द गरेँ र तल झरेँ । ऐना अगाडि उभिएर मुख खोलेँ । दाँत त पानले गर्दा रातो कालो भएर सडेछ । मुख कुल्ला गरेँ, तर ओठ रातै थियो ।
उनले भनेको ठीकै थियो । मेरो बुबा, किसान र म मैले चिनेका सबैले जस्तै पान खाने गरेको धेरै वर्ष भइसकेको थियो । पानले मेरा गिजा खियाउँदै थियो र दाँत कालो बनाउँदै थियो ।
भोलिपल्ट साँझ, अशोकजी र पिङ्की मेडम मूल ढोकासम्म लड्दै आए, कारमा पनि लड्दै बसे र मैले कार बकिङ्घम टावर बीबाट मूल सडकमा निकाल्दासम्म लडिरहे ।
उनीहरू चुप लागेपछि मैले सोधेँ, “माल जाने हो हजूर ?”
पिङ्की मेडमले छोटो खित्का छाडिन् ।
मैले अशोकजी होइन, उनी हाँसून् भन्ने चाहेको थिएँ, तर अशोकले उनको साथ दिए ।
” ‘माल होइन,’ ‘मल’ ” उनले भने । “ल फेरि भन त के रे ?”
उनीहरूले “ल फेरि एकपटक भन त, फेरि एकपटक दोहोर्या त” भन्दै गए, मैलै “माल” नै भन्दै गएँ । म जतिपटक ‘माल’ भन्छु त्यति पटक उनीहरू खित्का छोडेर हाँस्दै गए । अन्तिममा उनीहरू हात समातिरहन्थे । मेरो आत्मग्लानिको प्रतिफल राम्रै निस्क्यो । जे होस् अन्त्यमा म खुसी भएँ ।
उनीहरू कारबाट ओर्ले, ड्याम्म ढोका ढप्काए र मलभित्र गए । नजिकै पुगेपछि यौटा गार्ड (पाले) ले सलाम गर्यो, सिसाको ढोका आफैँ खुल्यो अनि उनीहरू भित्र हराए ।
म कारबाट बाहिर निस्किइनँ । म कारभित्रै एकाग्र भएर सोच्न सक्छु । मैले आँखा चिम्लें र सोचेँ ।
“मूल हो त ?”
“होइन ।”
“माउल”
“माल्ला”
“ए पाखे ! कार छोडेर यहाँ आइज ।”
मलको कार पार्कको छेउमा ड्राइभरहरूको सानो समूह गोलो परेर बसेका थिए । हातमा म्यागजिन लिएर एउटाले हात हल्लाउँदै मलाई चिच्च्यायो ।
ऊ त्यही दुबी ओठे ड्राइभर थियो । मुसुक्क हाँस्दै म उसैको छेउमा गएँ ।
“ए पाखे ! सहरिया जीवनको बारेमा अरू केही सोध्नु छ ?” उसले सोध्यो । बन्दुक पड्केजस्तो हाँसोको फोहोरा छुट्यो ।
मेरो काँधमा हात राखेर काने खुसी गर्यो, “मेरो प्यारो भाइ, मैले भनेको कुराको बारेमा केही सोच्याछस् ? तेरो मालिकलाई केही चाहिन्छ ? गाँजा ? केटी ? गल्फ बल ? राम्रो खालको छ | अमेरिकन बल, ड्युटी फ्रीबाट ल्याएको । चाहिन्छ ?”
“सबै कुरा यसलाई किन ऐलै दिन पर्यो ?” अर्कोले थप्यो ।
यो ड्राइभर चाहिँ भुइँमा टुसुक्क बसेर बच्चाले खेलौना खेलाएजस्तै कारको साँचोको सिक्री खेलाइराखेको थियो । फेरि जिस्क्याउँदै भन्यो, “यो भर्खर गाउँबाट आएको कच्चा मान्छे हो | यो अझै शुद्ध छ । पहिला यसलाई सहरिया जीवनले बिगारोस्, अनि बल्ल ।”
उसले ‘मर्डर विक्ली’ अर्कोको हातबाट खोसेर लिँदै चर्को स्वरमा पढ्न थाल्यो । गफ बन्द भयो । सबै ड्राइभरहरू एकै ठाउँमा झुम्मिए ।
उसले पढ्यो, “वर्षातको रात थियो । विशाल विस्तारामा पल्टियो । उसको रक्सीको दुर्गन्ध आइरहेको थियो । उसका आँखा भने झ्याल बाहिर थिए । पल्लो घरकी महिला घर आइन् र खोल्नै थालेकी थिइन्, – – -”
दुबी ओठे चिच्च्यायो, “त्यता हेर् त ! आज पनि त्यही हुने भो—”
हल्लाले पढ्दै गरेको ड्राइभर अलि चिढियो, तर पनि पढिरह्यो, तर अरू सबै उभिएर मलतिर हेर्न थाले ।
के भइरहेको थियो भने महामहिम, यस्ता घटनाहरू सपिङ मलको सुरूवातका दिनहरूमा सामान्य नै थिए । यस्ता घटना बराबर दैनिक अखबारहरूमा मुख्य सामाचारका शीर्षक बन्थे, “के यो नयाँ भारतका मलहरूमा गरिबलाई कुनै ठाउँ छैन ?”
सिसाको ढोका खुल्याथ्यो, तर भित्र जान खोजेको मान्छे जान सकेन । ढोकाको पालेले उसलाई रोक्यो । पालेले लौरोले उसको खुट्टातिर देखायो र टाउको हल्लायो, किनकि उसले चप्पल लगाएको थियो । हामी सबै ड्राइभरको पनि चप्पल नै थियो, तर मलभित्र पस्न पाउने सबैको गोडामा जुत्ता थियो ।
पछि हटेर बाहिर जानुको साटो, चप्पल लगाएको मानिस त रिसले पड्क्यो, “के म पनि मान्छे होइन ?” ऊ जस्ता दसमा नौजनाले उसले जे गर्यो त्यही गर्थे होलान् ।
ऊ यति जोडले बोल्यो -कि मुखबाट थुकको छिटा पानीको फोहोरा जस्तै उछिट्टियो र घुँडा थरथर काम्न थाल्यो । एकजना ड्राइभरले सिठी बजायो । एकजना मलबाहिरको परिसर बढारी राखेको मानिसले कुचो भुइँमा राखेर त्यतै हेर्यो ।
एकछिन त त्यो मान्छेले पालेलाई दन्काइदिने भो भन्ने लागेको थियो, तर के सोच्यो कुन्नि फरक्क फर्केर गयो ।
“त्यो मान्छे दह्रो रै’छ यार !” एकजना ड्राइभरले भन्यो । “हामी सबै त्यस्तै भए त हामी भारतमा शासन नै गर्थ्यौं र तिनीहरू हाम्रो जुत्ता पालिस गर्थे ।”
अनि फेरि ड्राइभरहरू पहिलेकै ठाउँमा गोलाकार भई बसे । कथा पढ्ने काम फेरि सुरू भो ।
साँचो झुन्ड्याउने सिक्रीमा साँचो घुमेको मैले हेरिरहे । चुरोटबाट निस्केको धुँवा हेरिरहेँ । पान थुकेर बनेको राता छड्के रेखाहरू पनि हेरिरहे ।
ड्राइभर हुनुको सबैभन्दा नराम्रो-पक्ष के हो भने मालिकलाई कुरेर बस्दा मात्रै एकछिन फुर्सद पाइन्छ । यो समय गफगाफ गरेर र चाक कन्याएर बस्न पाइन्छ । हत्या र बलात्कारको खबर पत्रिका पढ्न पाइन्छ | निजी चालकको बानी विकास गर्न पाइन्छ । नाकमा औँला राखेर केही पनि नसोची बस्न पाइन्छ । यो एक प्रकारको ‘योगा’ जरतै हो । ( यो आसनको नाम “वाक्क भएको ड्राइभरको आसन” राख्दा हुन्छ ।) लुसुक्क एक बोतल देशी रक्सी लिएर कारभित्र पसे भैगो । दिक्दारीले धेरै इमानदार ड्राइभरलाई जड्याहा बनाएको छ ।
तर यदि ड्राइभरले खाली समयलाई अवसरको रूपमा सोच्नमा खर्च गर्यो भने उसको जागिरको सबैभन्दा नराम्रो पाटो पनि अति उत्तम हुन्छ ।
त्यो साँझ अपार्टमेन्ट फर्किंदा मैले पछि हेर्ने ऐनामा हेरेँ । अशोकजीले टीसर्ट लगाएका थिए । मैले किन्नु परेको भए त यस्तो टि-सर्ट कहिल्यै पनि राज्ने थिइनँ । धेरै जसो भाग खाली, सेतो रङ्गको र विचमा सानो बुट्टा । म त धेरै बुट्टाहरू र शब्दहरू भएको रङ्गीन किन्थेँ । पैसाको पूरा सदुपयोग गर्नु राम्रै कुरा हो ।
एकरात जब अशोकजी र पिङ्की मेडम माथि उक्ले, म स्थानीय बजार गएँ । पहँलो नाङगो बत्तीमुनि मानिसहरू सडकमै टुक्रुक्क बसेर टोकरीभरि सिसाको चुरा, स्टिलको ब्रास्लेट खेलौनाहरू, स्कार्फ, कलम, कि-रिङ्गको पसल थापेर बेचिरहेका थिए । मैले टी-शर्ट बेच्नेलाई फेला पारेँ |
बिचमा अङ्ग्रेजीमा एउटा सानो शब्द लेखिएको सेतो रङ्गको नभेट्टाउँदासम्म उसले जतिवटा देखाए पनि मैले ‘हुन्न’ भन्दै गएँ । अनि म कालो जुत्ता बेच्ने मान्छेलाई खोज्दै गएँ ।
मैले त्यस राति जीवनको पहिलो दन्तमञ्जन किनेँ । त्यही मलाई सधैं पान बेच्ने मान्छेकोमा पाएँ । उसले पानको अलावा पानको असर मेटाउने दन्तमञ्जन पनि बेच्दो रैछ ।
“शक्ति ह्वाइटनर”
दाँतको सफाइका लागि अँगार र ल्वाँडको मिश्रण मात्र एक रूपियाँ पचास पैसा ! जब म औँलाले दाँत माझ्दै थिएँ, मेरो देब्रेहातले के गर्दै थियो, मैले चाल पाएँ । लुसुलुसु यो मैले थाहै नपाइकन चाकतिर चढेछ- जसरी माउसुली बिस्तारै भित्तामा उक्लन्छ र झन्डै कन्याउनै थालेको ।
म अडिएँ । चल्न थाल्यो कि त्यसलाई मैले दाहिने हातले च्याप्प समातिहाल्थेँ ।
मैले बूढीऔँला र चोरऔँलाको बिचमा, जहाँ बढी दुख्छ, चिमोटेँ र एकमिनेट पूरै त्यसैगरी राखिछाडेँ । जब मैले त्यसलाई छोडिदिएँ, हत्केलाको छालामा रातो गोलो दाग भएको थियो |
भेटिस् बल्ल ।..
अब आइन्दा फेरि चाक कन्याइस् भने तलाईं त्यस्तै सजाय हुन्छ । मेरो मुखमा दन्तमन्जनको दूधजस्तै सेतो गाज भरिएको थियो । ओठको कुनाबाट चुहिन थाल्यो । मैले थुकेँ |
माझ्यो – माझ्यो – थुक्यो
माझ्यो – माझ्यो – थुक्यो
“किन होला मेरो बुबाले चाक नकन्या भनेर कहिल्यै भनेनन् ? किन होला बुबाले दन्तमन्जनले दाँत माझ्नू भनेर कहिल्यै सिकाएनन् ? किन होला मलाई पशुजस्तै हुर्काएका ? किन होला सबै गरिबहरू यस्तै फोहर र नर्कमा जिउने ?
माझ्यो – माझ्यो – थुक्यो
माझ्यो – माझ्यो – थुक्यो
मैले आफ्ना विगतलाई पनि यति सजिलै थुक्न सक्ने भए ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।