साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृङ्खला १५

“कोसँग भनौँ ? कसले बुझिदिने हाम्रो वेदना ? इमान्दार बन्न सक्छौ तर जे गरिरहेका छौ ,त्यसले केही हुनेबाला छैन । फेदमा प्रहार भयो भने शायद केही होला , नत्र त..। सारा जमीन खालि गराऊ ,सारा ..। जोसँग जमीन छैन,तिनीहरूमा बाँडिदेऊ जमीन । यसो गर्न सक्छौ ? अहँ ,सक्दैनौ । कदापि सक्दैनौ, इन्द्र । त्यसैले हामीले यस्तो बन्दोबस्त ग¥यौँ । जमीन त लक्ष्मी हो ,लक्ष्मी । सुख्खा–अनिकालमा धान सापटी लिनेछैनौँ ,साहु महाजनका फन्दामा पर्ने छैनौँ । धान धर्मभकारीमा राख्छौँ । अरु जमीन पनि तयार पार्छौँ । जहाँ रुख छैन,झारपात मात्र छ ,त्यहाँ कोदालीकुटो लिएर पुग्छौँ । खेसारी र धान भएपछि मान्छेका मनमा तागत पनि उम्रिन्छ । जोसँग केही पनि छैन,शरीरमा छालाबाहेक अर्थोक केही छैन ,जो फगत हाडहरूको एउटा ढाँचामात्र बनेको छ ,त्यो कतिञ्जेलसम्म यसरी बेवकुफ र मुर्ख बनेर बसिरहन सक्छ ?”

“वर्गादार अर्थात् मोहीका लागि मात्र होइन,खेत मजदुरका लागि पनि लडनेछु ।”

“लड, सकेको सहयोग गर्नेछु । जायज कुराका लागि लडेर सरकारी दस्तुर पाउन सकौला त ?”

“अहँ , कसैले पनि दिँदैन । तिमीले भनेर के हुन्छ र ,इन्द्र ? तिम्रो बाउबाजेले आएर भन्नेछन्,‘रोतोनी साऊले अढाई रुपियाँ दिइरहेको छ ,लिइहाल ।एक कचौरा (कट्टा) फरई लिइहाल ,अढाई रुपियाँ लेऊ । एक छाक अङ्गर पान्ता(बासी भात) दिएभने दुई रुपियाँ लिनू । अलिअलि सहनु पनि पर्छ । अब तिमीहरूको दिन आइरहेको छ ।’ दिन आइरहेको छ..।जिन्दगीभरि यही वाणी सुनिरहेका छौ। बसाई टुडुले त्यसै हतियार उठाएका थिएनन् । साह्रोगाह्रो मै परेर उठाएका हुन ।”
“वनको जमीन तिमीलाई कसले राख्न दिन्छ ?”
“यो जमीनमा हात त लगाएर हेरुन !”
“के गर्छौ ,सोरेन ? फेरि त्यही गल्ती गर्छौ ?”

“कुन बाटो ठीक हो ? तिमीहरूको बाटो ? तेलिया शिरबाट तेल बग्दछ,रुखो शिरबाट रगत । यो त तिमी पनि देखिरहेकै छौ , तर पनि मान्दैनौ ।”

“अहँ , म मान्दिन त्यस्तो ।”

“न मान । के गर्छौ त अब ?”

“केही गर्दिन । तिमी के गर्छौ हेर्छु । आफ्नो काम गर्छु ।”

सोरेन विजयी हाँसो हाँस्यो । भन्न थाल्यो, “ कतै सन्थालहरूले हतियार पो उठाइहाल्छन् कि भनेर विभिन्न किसिमबाट प्रचारबाजी गरिँदैछ । समाज मरिरहेको छ ,अनि म बनौँ पुलिसबाला ! तिमीले देखाएको बाटोमाहिँडेपछि यस्तै हुन्छ ,इन्द्र । एक जना धनी जोतको मालिकको जिउमा काँडाले घोच्नासाथ पुलिस आइहाल्छ । अनि फेरि हेरन , धान झाँटनुभन्दा पहिलेदेखिनै सरकार प्रचार गर्न थाल्दछ कि खेतिकिसानीका मामिलामा कुनै पनि किसिमको खरखिचलो सरकारले हुनदिने छैन । खिचलोमा त जोतमालिकको एकलौटी हक लाग्दछ नि , होइन त ?”

चिन्न सकेन । सोरेनलाई उसले अझैपनि चिन्न सकेको छैन । यस असमर्थताउपर उसलाई खेद भइरहेछ । यही बोधका कारण इन्द्र सोरेनसँग अझ नजिकिएको थियो । सरकारी दरको खेतमजदुरी प्राप्त गर्ने आन्दोलनमा उसले कार्यकर्ताहरूलाईउतारेको थियो । तर केही उपलब्धि पनि हात परेन । जसरी पहिले पहिले पनि असफल भएको थियो,आन्दोलन फेरि त्यस्तै भयो । र, यसैबिच पानी प¥यो । वर्षासँगै धान रोपाइको नयाँ उत्सवमा लागेका थिए उनीहरू । सिधू–कानूको विद्रोहको स्मृतिमा चरसा गाउँमा जुन उत्सव भएको थियो,त्यो उत्सवमा मुसलधारे वर्षामा पनि रुझ्दैभिज्दै सन्थालका महिला पुरुषहरू सबै सामेल भएका थिए ।

सामन्तले भनेको थियो,“अहिले यो सबैको के आवश्यकता थियो र , अर्को साल सरकारले नै यस्तो उत्सवको आयोजनागर्नेछ ।”

“त्यसबेला हामी धुमधामसँग फेरि यो उत्सव मनाउने छौँ ।”
“पर्दैन । सरकारी अनुष्ठान नै प्रयाप्त हुनेछ ।”
“हेरौँला ।”

नवीन बाबु र मोति बाबुसँग सामन्तले भनेको थियो,“फेरिँदै गइरहेको छ यो केटो । यो इन्द्र निकै फेरिँदै गएको छ ।”
त्यसैले द्वैपायन सरकारसँग इन्द्रलाई साथ लगाइदिने कुरो सामन्तको मनमा उदायो ।

तर यसभन्दा पहिले नै बाम्भोनीको काठकाली मन्दिरको सेवाइत पञ्चायतको प्रधान अनि हुनेखाने जमीन मालिक चुडामणि पतितुण्डसँग गौरहरूको चर्कै झगडा भयो । झगडाको उजुरी आयो इन्द्रकहाँ ।एकपछि अर्को उजुरी , अर्को उजुरी ..।उजुरीहरूको खात लाग्यो ।

उजुरीको निवेदन एउटा सडकको बारेमा थियो । बाम्भोनी,बाकुली,सुडा,गञ्जरसुल,खेजुरहाटा,तालहाटा,कदमकुवाँ – यी सबै ठाउँहरू सडकद्वारा जोडिने छन् । त्यसले हाटबालाहरूलाई सबैभन्दा बढी फाइदा हुनेछ । सडक बनाउने माग स्थानीय बासिन्दाहरूले धेरै अघिदेखि गरिरहेका थिए । विधानसभाका कतिपय सांसदहरूसँग हारगुहार गर्दै उनीहरूले पटकपटक निवेदनहरू पनि दिएका थिए । तर त्यसले कुनै लाभ भएन । बाढी आएपछि त्यसले तहसनहस पारिदिएको संरचनाको मर्मत गर्ने क्रममा सरकारले सडक बनाउने निर्णय ग¥यो । उनीहरूले सरकारको यस कदमको प्रसन्नचित्तले सराहना गरे । सडक निर्माणको कार्यको उद्घाटनमा आएका मन्त्रीज्यूको पनि उनीहरूले भव्य स्वागत गरे । सडक बन्न थालेपछि गाउँका मानिसहरूले काम पाउने आशा पनि बढ्यो ।

चुडामणि पतितुण्ड काठकाली मन्दिरका कारण त्यस क्षेत्रका प्रभावशाली व्यक्तित्व बनेका थिए । किन हो कुन्नि,पतितुण्ड वंशले सपनामा प्राप्त गरेको काठको कालीको यो प्रतिमा कुभिण्डो नभई बोकाको भोग लिँदिनन । उनको मन्दिरको दियोमा दश सेर तेल खपत हुन्छ । दियोको यो तेल बाथको रोगमा र मोहिनी लगाउनका लागि रामवाण औषधि बनेको थियो । बाथको रोग यो तेल लगाउनासाथ चट्टै निको हुन्छ । कुनै पुरुष वा नारी अर्को कुनै नारी वा पुरुषको मोहजालमा परेको छ भने यो तेल लगाउनासाथै त्यस्तो मोहिनी टुट्छ । बाथ र मोहिनीको रोग निको पार्ने व्यवस्था यहाँ भएको हुनाले यस क्षेत्रका वरिपरि जति बाथको प्रकोप फैलिएको छ , त्यतिकै मोहिनीको प्रकोप पनि बढेको छ । यो दैवी तेल उनको छोरा र म्याट्रिक उत्तीर्ण छोराबुहारीले सशुल्क वितरण गर्दछन् । उनीहरू दुबै जना काठकाली माताको कार्यालयको वैतनिक कर्मचारी हुन । चुडामणि चाहिँ झण्डा फेरेर पञ्चायतको प्रधान बनेका छन् ।

कहिलेकाहीँ श्रीमतीले सोध्छिन् ,“अचेल कालीमाताको कार्यालयको काम किन गर्नुहुन्न ?”

हलुका हाँसो अधरमा खेलाउँदै चुडामणि भन्छन् ,“ तिमी बुझ्दिनौ यस्तो कुरा । अहिले म जे गरिरहेको छु , त्यो काम पनि काली माताले नै जुराइदिएकी हुन । यत्तिका धेरै पैसा हातमा खेलाउँला भनेरकहिल्यै सपनामा पनि सोचेको थिइनँ ।”
सरल र शिशुप्राण सरकार । चुडामणि पतितुड जस्तो झण्डा फेर्ने चण्ठ जोतदार र सेवाइतलाई पञ्चायतको प्रधान बनाइदियो अनि त्यस क्षेत्रको विकासका विभिन्न योजनाहरूमा चुडामणिकै हातबाट बजेटको रकम खर्च गरिनेछ भनी निर्णय पनि गरिदियो । यसमा कुनै कुविचार थिएन । हिजोको ‘तिरङ्गी’ आज ‘रातो’ भएको थियो । नहोस पनि किन ? हृदय परिवर्तन भएको थियो । यो ‘तिरङ्गी’ ले ग्राम्य जीवनमा थरिथरिको भूमिका खेलेको थियो । त्यो साहू महाजन पनि बनेको थियो ,उसको हातमा काँचो रुपियाँ पनि रहने गर्दथ्यो तर यसले के फरक प¥यो र ? के ऊ अहिले पनि पञ्चायतको सर्वेसर्वा बनेको थिएन र ?

चुडामणिकै हातबाट रकम खर्च भइरहेको थियो । सडकको निर्माण कार्य चलिरहेको थियो । अचानक सडकको काम रोकियो । इन्द्रकहाँ निवेदनहरूको खात लाग्यो । बिहानको दश बजेको हँुदो हो । ग्राम विकास अधिकारीको कार्यालयबाट धानको बिउ कसलाई दिइएको थियो भनी इन्द्रले जान्न चाह्यो । कार्यालयको लिपिक अर्थात् लेखन्दासले कदमको हातमा असार महिनामा माछाको राम्रो उत्पादनका लागि माछाको भुरा सम्बर्धन गर्न तलाउ बनाउने कामसँग सम्बन्धित कागजपत्र दिएर पठाएछ । जागुलाको मत्स्य विभागको अधिकृतले ब्लक विकास अधिकारी मार्फत् यस कार्यको प्रचारप्रसार गराइरहेका थिए अनि आफूचाहिँ वर्षा ऋतु लाग्नु अघिनै ‘माँ तारा’ स्पेशलबाट केदारनाथ–बद्रीनाथ धाम घुम्नका लागि गएका छन् ।

इन्द्र एकातिर उसलाई हकारिरहेको थियो,अर्कोतिर सरकारी प्रचारमा प्रयोग गरिएको भाषा देखेर उदेक मानिरहेको थियो । उसको सरोकार धान र धान रोप्नेछर्ने किसानसँग थियो ,न कि माछाको प्रणोदित सम्बर्धनमा संलग्न माछा पालकसँग । माछापालन गरिने पोखरीमा वैज्ञानिक खादको प्रयोग गर्नु सम्भव छैन भन्ने उसको धारणा थियो । सरकारी खाद बिक्रीका लागि होइन,प्रयोगका लागि ,वितरणका लागि हो भन्ने कुरा हारानलाई बुझाउन सम्भव थिएन । हुन त इन्द्रले भनेर पनि के हुनेहो र ? खाद किन्दा पैसा नगदमै तिर्नुपरिहाल्थ्यो भन्ने सत्य हारानलाई थाहा थियो ,भलै त्यो थोरै नै किन न होस । रुपियाँ त रुपियाँ हो नि ! र , हारानजस्तालाई के पनि थाहा छ भने एक पटक सरकारी अर्थात् रासायनिक खादको स्वाद पाइसकेपछि धरती राक्षस्नीजस्तो हुन्छिन् अनि तिनलाई जतिखेर पनि त्यही खाद चाहिन्छ । गोबरको मल काम लाग्दैन । त्यसैले सरकारी खादभन्दा गोबरकै मल कताकता जाति हो ।

यसै बेला उनीहरूले ढमढमको आवाज सुने । ढमढम ढोल बजाउँदै केही मानिसहरू शायद त्यतै आउँदै थिए । ‘को होलान ती ? के भयो होला ? के चरसामा केही भयो त ? धेरे भयो त्यता नगएको ।’ मनमनै सोच्छ इन्द्र ।

डुम,सन्थाल,केउट, काउरा आदि गरी झण्डै पच्चिस जनाजति होलान त्यो भीडमा । सबैजसो उमेर समूहका मानिस थिए त्यो हूलमा । केही युवक केटाहरू पनि थिए । गौर,कदम,रजतका चिनजानका केटाहरू । उसका पार्टीका मात्र होइनन,सबैजसो राजनीतिक पार्टीका केटाहरू थिए त्यस समूहमा । त्यो केटो त उग्रवादी राजनीतिको समर्थक हो । विभिन्न पार्टीका मानिसहरू हुन यी । ती दुई जना केटाले त कहिल्यै वामपन्थी राजनीति गरेका होइनन । किन एक्कासी यिनीहरू सबै एकजुट भएर आए ? अचानक के प¥यो त्यस्तो ? केटाहरू भीडबाट अगाडि आए । कुनै लिखत बोकेका छन् । चार्टपेपरमा बेरिएको लिखतको लामो कागत छ , दश हातजति लामो होला । सिरानमा एक अनुच्छेद केही लेखिएको छ अनि त्यसपछि सिरानदेखि पुछारसम्म बुढी औँलाको ल्याप्चे छाप ।

चुडामणिले गरेगराएका विभिन्न कामकारवाहीको फेहरिस्त । सडकको निर्माण कार्य रोकिएको छ ,फेरि सुचारु होला । वर्षा शुरु हुनु अघिसम्म निर्माण कार्य चल्नेछ । पहिले चुडामणिको बारेमा छिनोफानो होस । जागुलामा, ब्लक अफिसमा ,सदर न्यायालयमा पटकपटक उजुर गरे उनीहरूले ,तर कुनै सुुनुवाइ भएन ।

चुडामणि चा–चार आना पैसा दिएर कामदारहरू भर्ति गरिरहेको छ । सात सय कामदारहरू काममा खटिएको भनी हिसाब पेश गरिरहेको छ–चुडामणि । तर तिन सय मानिसमात्र काममा लगाइएका छन् ,बाँकी चार सय ज्यामीको ज्याला चुडामणिले झ्वाम्म पारिरहेको छ । पहिले जति गहँु दिइएको थियो ,त्यो सब पनि यसैगरी वितरण गरिएको थियो । सातामा एक दिनको ज्याला दिँदैन चुडामणिले । भन्छ त्यो रकम मन्दिरको सेवामा लगाइने छ । दैनिक मजदुरी दुई रुपियाँ । यसरी ज्याला हडप गरेर महिनाको चौबिस सय रुपियाँ लुटिरहेको छ उसले । यस आरोपको सत्यताको प्रमाण चुडामणिले यो एक वर्षमा आर्जन गरेको सम्पति हो । जागुलामा स्टेशनकै अगाडि उसको सिनेमा हल छ ,विभिन्न रूटमा चार वटा बसहरू चलिरहेको छ । जागुलामै दश वटा लरीहरू भाडामा दिएको छ । यी सबै सम्पतिहरू नक्कली नाममा दर्ता छन् । सिनेमा हलको मालिक्नी ‘जय काली’ कुनै मानवी आइमाई होइनन ,काठकाली देवीसँगै पुजिने गरेकी जयकाली देवी हुन् । चारवटा बसहरू जसका नाममा छन् ती सबै उहिल्यै दिवङ्गत भइसकेका मानिस हुन् । लरीहरूको ग्यारेज बुहारीको बुबाको नाममा छ तर उनको मृत्यु तिनी यिनको बुहारी बन्नुभन्दा धेरै पहिले नै भइसकेको थियो । त्यसैले यी सबै कुराहरूको फैसला हुनुपर्दछ ।

इन्द्रको पार्टीका युवकहरूले भने,“यो इज्जतको लडाइ हो । त्यसैले यसमा ब्लक विकास अधिकारी,पुलिस प्रशासन आदि सबै थरीको मिलोमत्तो छ । ”

इन्द्र पनि उनीहरूकै साथ लागेर गयो । बिस्तारै बिस्तारै जनताको भीड बढदै गयो र जनताको ठूलो जत्थाले चुडामणिलाई घेराउमा पा¥यो । पहिले त चुडामणि प्रतिवाद गर्दै चर्को स्वरमा करायो तर इन्द्रलाई पनि असह्य भयो र उसले चुडामणिलाई जुरुक्क उचालेर माथितिर हुत्याइदियो । चुडामणि माथिबाट भुइँमा बजारियो अनि आक्रोशित हँुदै भन्यो, “आम जनताको सामुन्ने तेरो फैसला हुन्छ आज , लु भन् ..। ”

“भन्छु , भन्छु ।”
“रुपियाँको हिसाब दे ।”
“दिन्छु ,दिन्छु ।”
“कति रकम हडपेको छस् ?”
“रुपियाँ लिएको छु ।”
“कति ?”
“यस्तै सात हजार ।”
“सात हजार !?”

अनि फेरि इन्द्रले आक्रोशमा चुडामणिलाई पटकपटक उचालेर माथि हावामा हुत्याइदियो । यस पटक चुडामणि क्वाँ क्वाँ रोयो । भन्न थाल्यो,“नमार मलाई । उफ् ..कस्तो रिङटा लागिरहेको छ । बाबु तिमी किन यस्तो नक्सली व्यवहार गरिरहेका छौ ममाथि ?”

“नक्सली काम गरेको भए तेरो खप्पर कुभिण्डोझैँ बलि चढथ्यो । धन्य त्यो बेलामा बाँचिस् र मात्र !” भीडमा कसैले भन्यो ।
“त्यो त हो । त्यो त हो ।तर बसेर कुराकानी गरौँ न । सम्वादबाटै समस्याको हल गरौँ । हुन्न र ?”
इन्द्रले कडकिँदै हका¥यो ,“तँ जस्ता चोरसँग सम्वाद ?”

अनि चुडामणिले पीरसँग भन्यो,“जति लिएको छु, सबै हिसाब मसँग छैन । तर दिनुपर्नेलाई म रुपियाँ दिन्छु ।”
स्थानीय अगुवा केटाहरू अगाडि आइपुगे । चुडामणिले भोलिपल्टै बैङ्कबाट रुपियाँ निकालेर दिन्छु भनी कबोल ग¥यो ।
आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै इन्द्रले भन्यो, “केही मानिसहरू आज यहीँ बस्नू । भोलि यसलाई बैङ्कमा सँगै लिएर जानू । यसका केटाहरूउपर पनि निगरानी राखिरहनू । ”

तिस जनाजति त्यहीँ बसिरहे,धर्ना दिएर । सामुन्ने चुडामणि र उसको छोरो थियो । इन्द्रले भन्यो, “ पञ्चायतबाट राजिनामा दिनुपर्दछ । तेरो सिनेमाघर र ग्यारेज बन्द गराइछाडछु म ।”

समय घर्किँदै गयो । त्यहाँ जम्मा भएका मजदुरहरू चुडामणिले हडप गरेको ज्याला फिर्ता पाइने भयो भनी आशामुखी बन्दै उसलाई सराप्दै बिस्तारैबिस्तारै बाटो लागे । उपस्थितहरूले निकै खिल्ली उडाए उसको । चुडामणि भन्न लाग्यो, “तिमीहरूले मलाई जेजस्तो व्यवहार ग¥यौ त्यो काली माँले देखिरहनु भएको छ र तिमीहरू सबैलाई त्यसको सजाय दिनुहुन्छ । शास्त्रमा पनि लेखेको छ – दश दिन चोरको त एक दिन साधुको ।”

इन्द्रले उसको सातो खायो ।
चुडामणिको म्याट्रिक उत्तीर्ण बुहारीतिर कसैले ध्यान दिएको थिएन । काखको छोरा सासुलाई सुम्पेर ‘जयमाँ काठकाली’ को गुहार लगाउँदै झ्यालबाट निस्केर चोरबाटो दौडँदै सडकमा पुगी ।र , बुर्कुसी मार्दै ब्लक विकास कार्यालयतिर लागी । त्यहाँ पुगेर ऊ सरक्क कार्यालयको मेचमा बसी । कार्यालयमा लिपिक थियो । त्यही लिपिक जसले चुडामणिको कृपाले पक्की घर बनाएको थियो र हरियाणाको गोरु प्नि किनेको थियो । बुहारीको आदेश बोकेर ऊ हस्याङफस्याङ गर्दै पुलिस चौकीमा पुग्यो ।

फेरि पुलिस आयो । आउँदाआउँदै पुलिसले अन्धाधुन्ध लाठीचार्ज ग¥यो र त्यहाँ धर्ना बसेकाहरूलाई कुटपिट गर्न लाग्यो । इन्द्र र उसका साथीहरूले पनि जबाफी आक्रमण गरे । यो लडाइमा गौरको टाउको फुट्यो र ऊ डङरङ्ग पछारियो । उसलाई सम्हाल्न इन्द्र अगाडि लम्केको मात्र के थियो ,उसको काँधमा खुँडा प्रहार गरेझैँ गरी लाठी बज््रयो ।उसको आँखा अगाडि अन्धकार व्याप्त भयो । फेरि टाउकोमा लाठी बज््रयो र तरतरी रगत बग्न थाल्यो ।

इन्द्र र गौरलाई पुलिसले अस्पतालमा पु¥यायो । अरु सबैलाई समातेर थानामा लग्यो अनि पार्टीका चिनिएका मान्छेहरू छाडिदियो र बाँकी मान्छेलाई थुनामा राखेर ती मान्छेउपर मुद्दा चलाउने प्रकृया अगाडि बढाउने तरखरमा लाग्यो ।

 

प्रतिक्रिया
Loading...