कवि परिचय
मध्यपुर थिमिका कवि नवीनप्रकाश श्रेष्ठ (२०२७) हालसालै ‘ह्याउँगु स्वां हाकुगु हि’ (रातो फूल कालो रगत) कविता सङ्ग्रह लिएर आएका छन् । नेपालभाषाका विभिन्न संघसंस्थामा सक्रिय उनले नेपालभाषामै स्नातकोत्तर गरेका छन् । उनी रोटरी र जेसीज आदि सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहेका छन् ।
उनको कृति ‘ह्याउँगु स्वां हाकुगु हि’ बाट एउटा कविता यहाँ प्रस्तुत छ ।
आमा र देश
पीडाका हुरीहरूको निरन्तर प्रहारले
पत्रपत्र छाला खुइलिएर
मेरी आमाको ढाड पनि
जोमसोमका उजाड पहाडजस्तै देखिएको छ
अफसोच !
मेरी आमाको ढाडदेखि घिनाउनेहरू
जोमसोमका पहाड हेर्न जान्छन् !
धर्तीका ठेकेदारहरूले
आफ्नै धर्तीको सतहमा टेक्न नदिएपछि
मेरी आमा सेती हुन्छिन्
र, बगिरहन्छिन् जमीनमुनि
अझ मुनि हुँदै
आँसुका धारा बग्दै बग्दै
धँसिएका मेरी आमाका आँखा
— बनेका छन् सिद्धगुफा र चमेरोगुफा
बगेरै आँसुका धारा
— बनेका छन् कोशी र कर्णालीहरू
जमेर आमाका आँसु
— बनेको छ रारा दह
आमाको छाती
तराईको विशाल फाँट हो
जुन फाँटको हृदयमा
बेला बेला जन्मिने गर्छन्
करुणाको बुद्ध र सहनशीलताको सीता
जसरी उभिरहेका छन्
उत्तरतिर सेता स्वाभिमानी हिमालहरू
त्यसरी नै उभिरहन्छिन्
सेतै कपाल फुलेकी
स्वाभिमानी मेरी आमा
त्यसैले म भन्छु
वेदना र स्वाभिमान शीर्षकमा
मेरो देशका आमाहरू हेरे
मेरो देश हेर्नै पर्दैन ।
मेरो देश हेर्नु छ भन्ने
हेरे पुग्छ— मेरो देशका आमाहरू !
मूल नेपालभाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।