साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छेको भाग्य र दोनका कथाहरू भाग ५

५.

बिहानै घट्टवाल इग्नात र मिखेइ नेस्तेरोभ त्यहाँ आए । ग्रिगोरी आफ्नो छाप्रोभित्रै बसेर बुट मर्मत गर्दै थियो । त्यसै बेला ती दुबै बूढा मान्छेहरू छाप्रोभित्र पसे। बुढा इग्नातले टोपी फुकाले र छाप्रोको भुइँमा परिरहेको सूर्यको तेर्सो किरणले गर्दा आँखा केही चिम्स्याएर उनले आफ्नो हात माथि आकाश- तर्फ उठाए। भित्ताको कुनामा टाँगिएको लेनिनको सानो फोटोअगाडि उनी क्रसचिन्ह बनाएर प्रातः स्मरण गर्ने खोज्दै थिए क्यार ! तर बेलैमा उनले फोटोमा अंकित आकृति देखिहाले र माथि उठिसकेको हात झटपट पीठतिर लगे। अनि रीसले थुक्क थुक्दै भने –

“अँ. . . देवप्रतिमा नै राख्ने गरेका छैनौ कि? ”
“छैन…! ”
“देवप्रतिमा राख्नु पर्ने ठाउँमा कस्को तस्वीर हो नि यो ?”
“लेनिन ! ”
“ए, हाम्रो सारा विपदको मूल नै यही हो ! जहाँ धर्मकर्मको नास, त्यहाँ रोगव्याधिको बास। यसै हुँदा त हाम्रा बाछाबाछीहरू पनि पकापक मरे…। हो, हो ! ईश्वर नै हाम्रा हर्ताकर्ता र भाग्यविधाता हुन्‌ …! ”

“बाछाहरू मर्नाको कारण त, बूढाबा, एउटै मात्र छ। पशु-चिकित्सकलाई बेलैमा बोलाइएन ! ”

“उहिले हाम्रा पालामा तिमीहरूका पशु-चिकित्सक नभए पनि काम चलेकै थियो त ! आजकलका तिमीहरू खूब पढैया भएर निस्क्या छौ..! आफ्नो पापी पुपुँरोमा कहिलेकाहीँ क्रसले छोएर भगवान्को आराधना पनि गर्ने गरिएको हुँदो हो त कुनै पशु-चिकित्सकको खाँचो पर्ने नै थिएन ! ”

मिखेइ नेस्तेरोभ आँखा तरेर हेर्दै कड्केर बोले-

“देब्र-प्रतिमा राख्ने पवित्र कुनाबाट छिटै झिक्‌ त्यस नास्तिकको फोटो ! तै मोरा अधर्मी पापीले गर्दा नै गाईवस्तुको बथान सखाप भएको हो…..?”

ग्रिगोरीको चेहरा नै फुस्रो भयो।

आफ्नै घरमा यस्तो आदेश फर्माउनोस्‌ ! यहाँ मुख फोर्नु पर्दैन…। यो सर्वहारावर्गका नेताको तस्विर हो मिखेइ नेस्तेरोभलाई निकै जङ चल्यो। उसको अनुहार नै रीसले रातो भयो।

हाम्रो नोकरी गर्छस्‌ भने हाम्रै आडर पनि मान्‌ ! ” उसले चिच्याउँदै भन्यो।-“थाहा छ हामीलाई तेरो आन्द्रा-भुँडी…। होस गर्‌, नत्र छिटै नै तेरो उछित्तो खन्ने छौँ ! ”

उनीहरूले चुपचाप टोपी लगाए र बिदाबारी नै नभई सटासट बाहिर निस्केर गए ।

दुन्यराले डर मान्दै आफ्नो दाजुतर्फ पुलुक्क हेरी ।

अर्को दिन नकर्मी तिखोन पनि आफ्नो बाछोको खोजखबर लिन गाउँबाट आयो ।  ऊ छाप्रोको अगिल्तिरै पलेटी कसेर बस्यो, र चुरोटको सर्को तान्दै मुख बिगारेर ओठमा व्यङ्गात्मक मुस्कान टाँसेर भन्न थाल्यो-

“हाम्रो जिन्दगी पनि कुनै जिन्दगी हो र ? पुराना अध्यक्षबाट बल्लतल्ल छुटकारा पाइएको मात्र के थियो, मिखेइ नेस्तेरोभको ज्वाइँको पो अहिले रजाइँ चल्न थाल्यो । आफ्नै दुनो सोझ्याउँदैमा ठीक्क छ उनीहरूलाई ! हिजो मात्रै जमीनको बँटवारा भयो । गरीबगुरूवाको भागमा एक धरो अब्बल जग्गा पर्यो कि त फेरि नयाँ बँटवारा शुरू भैहाल्छ ! फेरि हाम्रो पिठ्यूँमा धनीमानीहरू विराजमान भइहाल्छन्‌….! के भनौँ, ग्रिगोरी , उनीहरूले सबै असल जग्गा लुटेर लिइसके ! हाम्रो निम्ति त खालि बलौटे जग्गा मात्नै बचेको छ..! अचेल कामकुरोको मेसो यस्तो छ ! ”

मध्य रातसम्म अगेनाको डिलमा बसेर ग्रिगोरी मकैको खोस्टाका केसरी रङ्गका ठूल्ठूला पातहरूमा कोइलाको टुक्राले किरमिर अक्षर लेख्दै रह्यो। उसले त्यसमा जग्गा वितरणमा जुन अन्याय भएको थियो त्यसैको बारेमा लेखेको थियो । साथै पशु-चिकित्सक बोलाउनुको सट्टा सिकारीहरूद्वारा भरुवा बन्दुक पडकाएर गाईवस्तुको महामारी खोरेँतको विरुद्ध गरिएको सङ्घर्षबारे लेखिएको थियो । अनि नकर्मी तिखोनलाई आफूले लेखेका खोस्टाहरूको मूठै सुम्पेर उसले भन्यो –

“जिल्लाको सदरमुकामसम्म जाने मौका परिहाल्यो भने ‘त्रास्ताया प्राभदा’ अखबार छाप्ने ठाउँको पनि खोजखबर लिनू ! त्यहाँ नै यो उनीहरूलाई बुझाइदिनू .. ! मैले सकभर बुझिने अक्षरमै लेखेको हुँ, बरु गजमुच्च हुन नपाओस्‌ ! हेर है तिखोन , रङ्गारले लेखेको मेटिएला .. .। ”

आगाले पोलेका खतहरू भएको र. अगारले कालै देखिने औँलाहरूले नकर्मीले जतनपूर्वंक मकैका खोस्टाहरू समात्यो र काखीमुनि छातीनेरै घुसाऱ्यो । अनि बिदाबारी हुँदै पहिलेझैँ मुस्कुराउँदै उसले भन्यो-

“जिल्लाको सदरमुकामसम्मै पैदलै जाउँला ! सके त्यहाँ सोभियत सत्ता भेट्टाइहालिन्छ कि….! जाबो डेढ सय भेर्स्ता त तीनै दिनभित्र पार गरिहालुँला । हप्ता ‘दिनपछि फर्केर आउने छु र तिम्रो ढोका फेरि घचघच्याउने छु…।”

६.

शरद् लाग्नासाथ सिमसिमे झरी र नियास्रोलाग्दो बादलमा नै दिन बित्न थाल्यो।

दुन्या एक दिन सबेरै खानेकुरा ल्याउन गाउँतर्फ गई ।
बाछाहरू डाँडाको भिरालोमा चरिरहेका थिए। ग्रिगोरी छालाको कोट लगाएर तिनको पछि पछि हिंडिरहेको थियो र गोरेटोको छेवैमा उम्रिरहेको घँगारूको सुक्नै आँटेका गेडा टिप्दै विचारमग्न भएर हातले माडिरहेको थियो। शरद्को छोटो साँझ झमक्क पर्नुभन्दा केही अघि डाँडातर्फ दुई जना घोडचढीहरू आएका देखिए ।

घोडाको टाप बजाउँदै उनीहरू ग्रिगोरीको बगलमै आइपुगे ।
ग्रिगोरीले उनीहरूलाई चिनिहाल्यो -एक जना घोडचढी थियो मिखेइ नेस्तेरोभको ज्वाइँ जो नयाँ अध्यक्ष रोजिएको थियो। अर्कोचाहिँ घोडचढी घट्टवाल इस्नातको छोरो थियो।

घोडाहरू पसीनाले भिजेका थिए।
“नमस्ते, गोठाला ! ”
“नमस्ते ! ”
हाम्री तिमीलाई भेट्न आएका……।”
काँठीमा आफ्नो शरीर केही ढल्काएर अध्यक्षले हस्याङफस्पाङ गर्दै ठिहिऱ्याएका औँलाले आफ्नो फौजी ओभरकोटको टाँक खोल्यो र भित्री खल्तीबाट अखबारको एउटा पहेँलिएको पाना झिक्यो । त्यसलाई हिफाजतपूर्वक खोल्दै उसले सोध्यो –

“तिमीले नै हो यो लेखेको ? ”
ग्रिगोरीका आँखाअगाडि जग्गाको वितरणबारे र बाछाहरूको महामारीबारे मकैका खोस्टाहरूमा आफूले नै अँगारले लेखेका शब्दहरू नाच्न थाले ।

“लौ, हिँड हाम्रो साथमा ! ”
“कहाँ ? ”
“ऊ त्यो खोचमा..! केही कुरा बुझ्नु पर्ने छ…।” अध्यक्षका नीला ओठहरू काँपिरहेका थिए र आँखाहरूचाहिँ चलबलाइरहेका थिए र डरलाग्दा देखिन्थे ।
ग्रिगोरी मुस्कुरायो ।

“कुरा यहीँ गरे पनि त भैहाल्छ नि ! ”- उसले भन्यो ।
“चाहन्छौ भने यहीँ पनि कुरा गर्ने सकिन्छ… ! ”
उसले, खल्तीबाट पिस्तोल झिक्यो र चारै खुट्टा एकै ठाउँमा समेटेर पीठ उचाल्दै उफ्रन लागेको घोडालाई जोडले लगाम तानेर रोक्दै बेसरी करायो-
“बडो अखबारमा लेख छपाउने भैखा को हैन के, कुजात ?”
“किन यसो भन्नु हुन्छ ? ”
“उल्टै किन भनेर सोध्ने फेरि ? तैरै करामतले गर्दा मैले अदालत धाउनु पर्ने भो अब ! चुक्ली लगाउँछस्‌ अझै ? भन्‌, ए कम्निस्टे खच्चर ! ..”

यसको उत्तरै नपर्खीकन उसले ग्रिगोरीको मुखमा ढ्याम्म पिस्तोल दाग्यो र चुप्पी साँधेर बन्द रहेको मुख सदाको लागि मौन भइहाल्यो !

ग्रिगोरी हिनहिनाउँदै उफ्रेको घोडाको टाँगमुनि ढल्यो । उसले एक पल्ट मात्रै “एय्या ! ” भनेको सुनियो। ऊ आफ्ना नङदार औँलाले पहँलिएको र भिजेको घाँस उम्रिरहेको चपरी खोस्रँदै शान्त भयो ।

घट्टवाल इग्नातको छोरो घोडाबाट हाम्फालेर भुईँमा ओर्लियो। उसले कालो माटो खोस्रेर अञ्जुलीमा लियो र ग्रिगोरीको मुखमा कोचिदियो , जहाँबाट रगतको फीज बाहिर बगेर निस्कदै थियो ।

स्तपीमैदान निकै फराकिलो छ र कसैले पनि त्यसको नापी गरेको छैन । त्यसमा धेरै बाटोहरू र गोरेटाहरू छन्‌ । शरद्को रातमा त्यहाँ चक घोप्ट्याएझैँ अँध्यारो हुन्छ र झरीवर्षाले घोडाका टापहरूको चिन्ह पनि बिल्कुलै मेटिदिन्छ……।

७.

तुषारपात । गोधूलि। स्तपीमैदानको बाटो ।
तर जसको पिठ्युँमा जईको पाउरोटी एक टुक्रा भएको ब्याग, र हातमा एउटा मोटो लौरो छ उसको निम्ति त्यहाँ हिँड्नु गाह्रो पर्दैन ।

दुन्या बाटोको छेउ लागेर हिँड्दै छे । फाटेको झुत्लो ब्लाउजको फेर बतासले उडाइरहेको छ र उसको पिठ्युँमा हावाको झोक्काले धकेल्दै छ।

चारैतिर अँध्यारो र भयावह स्तपीमैदान फैलिएको छ। झमक्क रात पर्नै आँटेको छ।

बाटोको नजिकै थुम्को पनि देखियो । त्यसमाथि नरकटका भाटाहेरू मात्र जथाभावीसँग जिरिङ्ग उप्किरहेको एउटा थोत्रो छाप्रो खडा थियो।

दुन्या ढलपल ढलपल गर्दै त्यहाँ पुगी मानौँ उसलाई मात लागेको होस ! अनि ऊ त्यहाँनेरै भासिएको चिहानमा नै घोप्टो परेर पाल्टिई ।
अँध्यारो रात… ।

दुन्या चाहिँ चत्रेटो बाटोबाट अगाडि लम्किँदै छे जुन बाटो सोझै रेलवे स्टेससनसस्म तन्किएको छ।

उ हलुका चालले हिँड्दै छे, किनभने पिठ्यूँको ब्यागमा जईको एक टुक्रा रोटी, स्तपीमैदानको धूलोमिश्रित ह्वास्स गन्ध आउने च्यातिएको एउटा किताब र दाजु ग्रिगोरीको सनपाटको कमीजसिवाय अरू केही पनि छैन।

जब मुटुमा पीरको गाँठो बेसरी कसिन्छ र जब आँसुले आँखा पोल्न थाल्दछ , त्यतिखेर अखूले नदेख्ने गरी टाढा कतै बसेर उ ब्यागबाट सनपाटको , नधोएको कमिज बाहिर
झिक्छे . . . । अनि त्यसमा आफ्नो अनुहार लुकाउँछे र साखिलो पसीनाको गन्ध सुँघ्दछे, ..। र निकै बेरसम्म चलमलै नगरीकन पल्टिरहन्छे . . . ।

कोसका कोस बाटो पछाडि छोडिएको छ। स्तपीमैदानका खोल्साखाल्सीबाट ब्वाँसोको यस्तो हुँकार आउँछ जसमा जीवनप्रति असन्तोष झल्कन्छ। तर दुन्या बाटोको किनारैकिनार अगाडि लम्किरहेकी हुन्छे। उ शहरतिर जाँदै छ जहाँ सोभियत सत्ता कायम छ र जहाँ सर्वहाराहरू पढ्दै छन्‌, किनभने उनीहरू भविष्यमा गणतन्त्वको शासन गर्ने सक्षम बन्ने प्रयासमा छन्‌ ।

लेनिनको किताबमा यस्तै भनिएको छ।

 

सन्‌ १९२५

 

प्रतिक्रिया
Loading...