इन्द्रले भन्यो,“आपसमा केही झैझमेला नहोस । मेरो विचारमा यो कुरो तपाईँ खुला हृदयले स्वीकार गर्न सकिरहनु भएको छैन । तपाईँको आफ्नो जमीन हो र ?”

”अवश्य । सबैको आआफ्नो जमीन हुन्छ ।”
“अहँ ,सबैको आआफ्नो जमीन हुँदैन । त्यो जमीन ?”
“दर्ता भइसक्यो । बर्गादार अभिलेखमा छैन ।”
“मोति बाबुको जमीनमा बर्गा दर्ता किन भएन ?”
“बर्गा नै छैनन नि,त्यसैले ।”
“मेरो जानकारीमा त छन बर्गा ।”

“अहँ, छैनन । छैनन भन्दैछु त । गराउन् त बर्गा ,गराएर त हेरुन । बेइज्जति भएनभने ..”
“के समस्या छ ? भन्नुस त । यो जमीन दर्ता गराएर बर्गा गरेको भए कति राम्रो हुन्थ्यो ।”

गोरा निकै विश्वसनीय मान्छे हो ,तर पनि कुरो खुस्काइहाल्यो , “ यो के तिमीहामीले मात्र बुझेर हुने कुरो हो र ? हाम्रो जमीन त होइन नि यो ?”

“मोति बाबुले यस्तो गरेका हुन् ?”
“मोति बाबुले केही गरेका छैनन् । उनी त यता आउँदै आउँदैनन् । उनलाई यसको पत्तो पनि छैन , न त केही खोजखबर गर्छन् । उनका भान्जाहरूले नै सबै कामकुरो गर्छन् । बुझ्यौ ?तिनीहरूले नै जमीन फैलाउँदै फैलाउँदै यत्रो ठूलो पारिसके । मोति बाबुले बिहे गरेनन्,घर जोडेनन् । सम्पूर्ण जिन्दगी दुईटी विधवा बहिनीको परिवार पोस्दै बिताए । जेथाजमीन पनि उनीहरूलाई नै सुम्पिदिए ।”

“भान्जाहरूले मामाको व्यक्तित्व(परिचय)को फाइदा लुटे ।”
“ अँ ,प्रशस्त ।”
“यसैले त यो मामिला झन निप्ट्याउनु पथ्र्यौ ।”
“के गर्ने ? तिनलाई चिनेका छौ ?”

निकै लामो बहस छलफल भयो । इन्द्रले सोचेको थियो–भान्जाहरू निकै प्रभावशाली र सम्पतिबाल होलान् । तर मध्यराततिर एक जना पुलिस इन्स्पेक्टर आएर उसलाई ब्यँुझायो र भन्यो,“ मैले चौकी छोडेर आउनु प¥यो । तपाईँ बिनसित्तिमा किन यहाँ समस्या उब्जाउँदै हुनुहुन्छ ?”

इन्द्रले घटनाको पूर्ण विवरण बखान ग¥यो । बयानको क्रममा दीनुले उसलाई पटकपटक कोट्याउँदै त्यसो नभन्ने सङ्केत गरिरह्यो । इन्स्पेक्टर गइसकेपछि दीनुले भन्यो,“ कान्छो भान्जाले पठाएको होला । दुबै जना पुलिसमा छन् ।”

मामाको जमीनको मालिक पुलिसबाला भएपछि निर्धारित न्यूनतम हदबन्दीको जमीनले अधिकतम सीमा नाघ्नु अचम्भको कुरो हँुदैन । र त्यो जमीन अभिलेखमा पनि दर्ता हँुदैन । सरकारी परिभाषाअनुसार सरकारमा निहित पनि हँुदैन । इन्द्र पनि निकै हठी छ । रात निकै बितिसक्दा पनि प्रवल मानसिक बाधाहरूका बिच सोचमग्न हँुदै बिडी सल्कायो उसले ।
“पुलिसको हाँकडाँक कहिले कम होला ?” भन्दै ऊ ओछ्यानमा पल्ट्यो ।

दीनुले भन्यो,“मोतिदाले दायाँबायाँ हेरेनन् । यी दुबैलाई पनि गएको सरकारको पालामा जागिर मिलाइदिएको हो । तिनैका मान्छे हुन ।”

“मोति बाबुको नाताले एक त पुलिस , त्यसमाथि पनि मामाको नाम बेचिरहेको छ । त्यसैले त ..”
“हो ,दीनु ।”

“तिमीले यदि यो काम गर्न सकेनौभने कसैले पनि गर्न सक्दैन ।”
“दीनु,यथार्थलाई अस्वीकार गरेर कुनै फाइदा छैन । गाउँमा बसेर थानेदारको जमीनमा बर्गा गरेपछि हरेक बर्गादारहरू सङ्कटमा पर्छन् । तर यो यहीँ कसरी काम गरिरहेको छ ?”

“यो कुराचाहिँ हो ।”
बिहानै गोरा आएर चिच्याउँदै भन्यो,“त्यो एउटा घाँडो भयो । अरु त जति काम भइरहेको छ , गजबसँग भइरहेको छ । हामी भोलि नै जान्छौँ । शिकदारको जमीनमा बर्गा बस्नेछन् ।”

“समितिका मान्छेहरू सभ्य बन्दैछन् ।”
“सभ्य होइन ,सदस्य बन्दैछन् ।आइरहेका छन् ,बनिरहेका छन् । किन नबनून ? तिनले हामीलाई देखेका छैनन् र ?”
फर्कँदाखेरि भत्केर ढल्नढल्न लागेको घर र झ्यासझुस देखाउँदै दीनुले भन्यो, “ उद्धवको घर त्यहीँ थियो ।”
“कसैले त्यहाँ घर बनाएनछ त ?”

“पैतृक जमीनलाई कसैले पनि यति चाँडो मास्दैनन ।”
सदर गाउँको अनुभवले गर्दा इन्द्र साँच्चिकै खस्रक्क प¥यो । सोरेनलाई भेटेर कुरा गरौँ जस्तोभयो उसलाई । तर भित्र कताकता अप्ठ्यारो पनि लाग्यो । सोरेन पनि शायद सम्झँदो हो कि इन्द्र भित्र भित्र दुःखी छ र मन मारिसकेको छ। एकदिन ऊ इन्द्रकहाँ आयो ।

“निम्तो दिन आएको हुँ।”
“के को ?”
“डुमपाडामा मदन र पारीको बिहा छ ।”
“कहिले ?”
“यही बैशाखमा ।तर झमेला छ धेरै ।”
“कस्तो झमेला ?”
“वर र वधू राजी छन् तर कन्याभेटी छैन ।”
“कति चाहिन्छ ?”
“बिस रुपियाँ ।”
“के भन्छौ ? बिस रुपियाँमा नि दुलही पाइन्छ कतै ?”

सोरेन हाँस्यो र भन्न थाल्यो,“किन नपाउनु ? एउटा बेला यस्तो नि थियो –पाँच रुपियाँमा काम टरिहाल्थ्यो । बढेर अहिले बिस रुपियाँ भयो । त्यसमाथि फेरि शहरको हावाले भेट्यो ! खर्च पनि बढदै गयो । रकम पनि बढी बढी माग्न थाले । नाइलनको सारी,रोलेक्स घडी,चाँदीको गहनागुरिया ! कहाँबाट ल्याउन केटाहरूले ? चोरी गरुन् ? त्यसैले पञ्चायत बोलाएर हामीले नै नियम बाँधिदियौँ –बिस रुपियाँभन्दा धेरै दाइजो लिन पाइँदैन । सुतिको रातो सारीबाहेक बेहुलीका लागि अरु कुनै पनि लुगाफाटो माग गर्न पाइँदैन । जस्ताको बाहेक अरु गहना माग गर्न पाइँदैन । सामाजिक भोजमा दाल ,भात,अचार अनि माछा । यसबाहेक कसैलाई केही दिनु छ भने घरमा गएर सुटुक्क दिनू ।”

”आहा ! यो त निकै राम्रो नियम बाँध्यौ ।”
”मदन हाम्रो असल साथी हो । घर थिएन उसको । हामी सबैले मिलेर एउटा घर ठड्याइदियौँ । बाख्रा बेचेर रकम जुटाउने सोचेका थियौँ ..बाख्रा स्यालले टिपिदियो.. ।”बोल्दाबोल्दै सोरेन अडियो र केही सोच्नलागेझैँ देखियो । एकछिनपछि बल्ल मुख खोल्यो, “ चन्दा उठाएर बिहे गर्ने होला ..अरु त के उपाय छ र ?”

”बिहेमा भोजको बन्दोबस्त पनि हुन्छ त ?”
“हुन्छ । किन नहुनु ? पाँच जनासँग दाल चामल छँदैछ । तिमीले ठान्या हौला – माछा भनेको रोहु,कतला हो । होइन, त्यस्तो किमार्थ होइन । मैले त सबैतिर हल्ला पिटाइदिएको छु – लैठा, बेले, सिङ, टेङरा,पँुटी, चिँडिआदि कुलीन माछा हुन् र रोहु,कतला त हरिजन हुन् ,हरिजन अस्पृश्य । हाम्रो भोजमा यो चल्दैन ।”

“म के गरौँ त ?”
“भाइ, तिमीसँग लुकाउनु के छ र ! मदन पुलिसचौकीमा थुनामा छ । अरु चिजबिज त यताउताबाट जोरजाम भइहाल्छ । बिहेका लागि केही व्यवधान हुँदैन तर बेहुलाबिना त बिहे हँुदैन नि । कि हुन्छ ?सुन्या छौ कहिल्यै ,कतै ?”
“हुन्न । अनि फेरि अरु अप्ठ्यारा पनि त रहेछन् । केस के हो ?”

“धर्मराजको मेला(जात्रा)माचरसाका डुमहरू बाँसका चोया–कप्टेराआदिबाट बनाइएका चिजबिजहरू बेच्ने गर्दछन् ।पसलहरूबाट दस्तुर उठाउने कुराको प्रतिवादलाई लिएर पुलिससँग डुमहरूको पुरानो झैझमेला थियो । पोहोरसाल मदनले मिलिटरीले खेदेझैँ गरी पुलिसहरूलाई खेदिरह्यो । ”

“किन ?”

“भन्न लाग्यो–पहिलेको सरकारलाई दिन्थ्यौँ त के अब पनि दिइरहँु ?”
खिचलो शुरु हँुदा मदन शायद एकदम तातेको थियो । उसले माछाको टोकरी हतपत कन्स्टेबलको थाप्लोमा राखिदियो । माछा राख्ने ठूलो टोकरी । अनि त सबै जना जोडजोडले हाँस्न लागे र पुलिसलाई ‘धत् ,जा उता’ भन्दै दुत्कार्न लागे । त्यही भएर मदन थानामा थुनियो । जागुला बजारमा भेटेका बेलामा पुलिसले अचानक उसलाई समातिहाल्यो । दिउँसो रक्सीले मातेर ऊ बजारको शान्ति भङ्ग गरिरहेको थियो रे भन्ने सुनियो । ”

“तिमी उसलाई छुटाउन सक्छौ ?”
“ हेरौँ ।”
“सुन..”गहिरो उद्वेगका कारण सिकिएको औपचारिक भाषाको माखेसाङ्लोबाट निस्केर आफ्नो लोकलवजमा सोरेन भन्न लाग्यो,“रुँदारुँदा पारीले आँखा गोलभेँडाजस्ता बनाइसकी । आमाचाहिँको माग र किनबेच सुनेर उता ऊ बौलाहाझैँ भएको छ । चामल ,दाल छँदैछ । पूँटी, चैला पनि अचेल मनग्ये पाइन्छ । सबै कुरोको बन्दोबस्त भइहाल्यो तर थुनुवाकै एउटा समस्या रहिरह्यो ..।”

इन्द्र खितित्त हाँस्यो । भन्यो,“ आफ्नो लवजमा बोल्दा त साख्खै आफन्त जस्तो लाग्दछौ तिमी पनि ।”
“हँ ऽऽ , त्यसो भए त ..”

मदनलाई छुटाउनु त्यस्तो सजिलो थिएन । मोति बाबुसँग कुरै हुन सकेन । नवीन बाबुले भने, “मोतिको जमीनका कुरामा खिचलो गरेर समस्या निकालेका छौ अनि त्यो जँड्याहालाई छुटाउनचाहिँ हत्ते हालेर लागेका छौ ! के यस्तो कुरो जाति हो त ?”

निकै दौडधुप र भगीरथ प्रयत्न गरेर मदनलाई रिहा गराउने काम भयो । फलस्वरुप इन्द्रको इज्जत त्यो समाजमा निकै चुलियो । त्यसपछि ऊ मदन र पारीको विवाहमा पनि अल्झियो र त्यसैमा व्यस्त भयो ।

सोरेनले उसलाई चरसाका सन्थाल,डुम,काउराहरूसँग भेटघाट र चिनजान गरायो । तिनमा उसकाप्रति आदर र श्रद्धा बढेको भान भयो उसलाई । सोरेनले पहिले नै स्पष्ट शब्दमा भनिदिइसकेको थियो, “ गाउँ सानो छ । काम पनि सबै त्यस्तै नै हो । बाढी,अनिकालमा सबैको दुःख उस्तै खालको हुन्छ । जसरी पनि उनीहरू समदृश बनेर बसेका हुन्छन् । यसैले यसपालिको यिनीहरूको चाडपर्वमा पनि तिमी सामेल हुनसक भनी बन्दोबस्त मिलाएका छौँ । यिनको चाडपर्वमा हामी पनि सामेल हुन्छौँ । म आदिबासी हँु , ऊ डुम हो भनेर नि व्यवहार चल्छ र ?”

उसैको भनाइमा सहमति जनाएझैँ गरी मदनको बिहेभन्दा पहिले देखि नै ढोलक,धामसा,शिङ्गा बज्न थालेको छ । डुमहरू जङ्गलमा मङ्गलचण्डीको पूजा गर्न गएका छन् र सिङ्गो गाउँ तिनको पछि लागेको छ ।

“यो पूजा आवश्यक छ,”रतनले भन्यो, “मङ्गलचण्डी भन वा बागुली, बनको रक्षा तिनैले गर्दछिन् ।”
बैशाखको वर्षाले वायूमण्डलमा गर्मी घटेको थियो । हावा पनि मिठो मिठो थियो । चरसा नदी तरेर जङ्गलमा पस्नेबित्तिकै हावाले हल्लिइरहेका रुखबिरुवाले उनीहरूको स्वागत गरेको थियो । बरको पुरानो वृक्ष मानौँ उनीहरूको प्रतीक्षा गरिरहेको थियो । त्यसको फेद वरिपरि सरसफा गरेर लिपपोत गरियो । पूजा त्यहीँ गरिने भएको थियो । आफ्नो धोद्रो स्वरमा रतन मङ्गलचण्डीको जयगान गर्दै रचना गरिएको गीत गाउँदै थियो । अर्कोतिर खाना पकाउने तयारी भइरहेको थियो । आज यहीँ बनभोज हुन्छ । खेसारीको दालको खिचडी(दाल,चामल,नुन,बेसार आदि मिसाई बनाइएको सलल बग्ने गिलो जाउलोजस्तो खाना)र अमचुरको खटाइ (अमिलो पुरानो सुख्खा अचार )।

इन्द्र रमाइलो मानिरहेको थियो ।बिचित्रको शान्ति व्याप्त थियो व्योममा । सोरेन कुन सड्को त्यहाँबाट हिँडिसकेछ ,उसले पत्तै पाएनथ्यो । सोरेनलाई खोज्न भनी ऊ पनि उठ्यो । खोज्दाखोज्दै ऊ पनि चरसाको जङ्गलमा छि¥यो । चरसाका गाउँलेहरू र सोरेनको रहस्यको उद्घाटन अप्रत्याशित रूपले नै भयो । यसो नहुञ्जेलसम्म उसलाई लागेको थियो कि सोरेनउपर गाउँलेहरूको पूर्ण आस्था छ ।

जङ्गलले उसलाई आफूभित्र तानिरहेको थियो ।
कुनै समय यो जङ्गलका बारेमा उसले धेरै थोक सुनेको थियो । साल,पियासाल,केँद, खिरिलो,पलाँस – थरिथरिको वृक्षहरू छन् यहाँ । बर पिपल अनि इमली पनि । बिबिचमा बाँसका घारीहरू , आरक्षित वन भनी गाडिएको स्तम्भको अवशिष्ट रूप अझै पनि छँदैरहेछ –वनविभागद्वारा आरक्षित जङ्गल ।

धेरै वर्षअघिको कुरो हो । चरसा नदीले पटकपटक धार फेरिरहेको थियो ।त्यसैले पहिले जहाँजहाँ चरसा नदी बग्थ्यो त्यहाँ अहिले जङ्गल छ । वर्षाको बाढीमय चरसाको प्रवल धारले पनि यो वन्यभूमिलाई पर घचेड्न सकेन,सक्दो रहेनछ । यो सत्यबोध भएर होला ,वनविभागले पनि यो जङ्गल मासेन ,बरु रहोस भनेर आरक्षणको एउटा स्तम्भ बनाइदियो । हुन त यो साल वनको सृष्टि वन विभागले गरेको होइन । पटेर जङ्गलझाडी बनिसकेको छ ,त्यसले बाढीलाई पनि रोकिदिँदो रहेछ । यो दुर्गम वनले एक जमानामा यस इलाकाको रक्तरञ्जित इतिहास पनि देखेको छ –अपरेसन बसाई टुडु ।

इन्द्रलाई केही कुरा त थाहा थियो तर सबै कुरा थाहा थिएन । भित्रभित्र पस्दै गएपछि जङ्गलको सर्वव्यापी सत्तामा उसले आफूलाई विस्मृत गराइदियो । ग्वालकेण्डाका लहराहरू अनि अरु पनि थरिथरिका लहरा र पोथ्रापोथ्रीको सघन जालो यत्रतत्र झल्लरी काढेर झुलिरहेको थियो । लोखर्केहरूको दौडादौड र भागाभाग । ठूलाठूला वृक्षका धड र भुइँसमेत काइ–लेउ लागेर हरियो र चिप्लो भएका । कहिल्यै कोहीकोही यताबाट हिँडने गरेका थिए होलान् ,त्यसैले बाटो साबुत छ । तिनले यो बाटोलाई बिर्से पनि बाटोले तिनको पदचापलाई सुरक्षित नै राखेको छ । हिँडने बाटोमा काइ छैन । मन्त्रमुग्ध भएझैँ इन्द्र बाटोको त्यही डोब पछ्याउँदै अघि बढ्यो,बढिरह्यो ।र, यसरी बढदाबढदै ऊ जङ्गलमा निकै भित्र छिरिसकेको थियो ।
जङ्गल–झाडी छिमलेर तयार पारिएको जमीनमा हलोको डोब ।

“ सोरेन !” मग्नचित्तले भुइँमा हेरिरहेको सोरेनले मुन्टो उठाएर आवाज आएतिर हे¥यो । गम्भीर जिज्ञासु दृष्टि । धेरै बेरसम्म दुबैले एकअर्कालाई हेरिरहे । अनि सोरेनको अनुहारमा क्रमशः मुस्कान भरिँदै आयो । अर्कैखाले मुस्कान –कुटील हो कि हो कि जस्तो । मुस्कानमा हाँक त छैन ? इन्द्र त्यस्तो हाँक चाहँदैन । सोरेनसँग उसको कुनै वैरभाव छैन । वैरभाव मनमुटाउ आवश्यक पनि छैन । सोरेन जङ्गल काटेर जमीन प्राप्त गर्न सक्दछ तर ऊ एक्लै छ । उसको आडमा भने एउटा महान सङ्गठन छ ,राष्ट्र छ , प्रशासन छ । र, यही ‘ छ ’ भन्ने बोधले उसलाई सम्बल प्रदान गरिरहेको छ ,सहयोग मिलिरहेको छ । सबैखाले राजनीति गलत छ । सँझौतापरस्त बेवकुफी । इन्द्र जस्ता मानिस एक्लै भएर निर्मूल राजनीति गरिरहेछन् । यस्ता मानिसहरू नै उपयुक्त हुन्छन् ,अरु त सबै फाल्तु छन् ,निष्काम ।

हेर्दाहेर्दै इन्द्रको मुखबाट शब्दहरू वाणी बनेर निस्क्यो । सोध्यो, “घेरबेर किन गरेनौ ?”
“अहिले जमीन बाँझै छ । धान छरेर उम्रेपछि देखरेखका लागि मानिस खटाइहालिन्छ ..।”
“तिम्रो जमीन हो ?”

“हाम्रो हो ।”
“सन्थालहरूको ?”
“सबैको ।”
“तर यो त वनविभागको जमीन हो ।”
“वनपालेलाई थाहा छ । ती दुबैजना सन्थाल नै हुन ।”
“वनविभागको जमीन ?”

“हो ,वनविभागकै जमीन हो । सरकारी जमीन हो । सरकारले हामीसँग सबैथोक लिएको छ तर दिएको त केही पनि छैन । ज्यान जाओस तर भिक्षा माग्ने छैनौँ । यसैले हामी सबैले मिलेर यो जमीन तयार पा¥यौँ । हाँसिरहनु भएको छ..! यो जमीन देख्नु भयो ? कत्ति धान फल्छ यसमा ! यसैले त सास धानिदिइरहेको छ ।”
“यसैको चामलले नै फेरि ..”

“अँ ,इन्द्र ।”
“मलाई किन भनेनौ त ?”

“तिमी इमान्दार युवक हौ । तिमी आफ्नो तरिकाले काम गर्न चाहन्छौ तर इन्द्रले भनेभन्दा पनि अघि बढिसकेको छु म । तिमी थिएनौ र पनि म अगाडि बढिरहेकै छु । तर मनमा कहिल्यै कुनै भरोसा जागेन ।”

“जागेन ?”
“अहँ ,जागेन । कसैप्रति विश्वासै भएन ,न हुनेछ । काम र कुरोमा कुनै सङ्गति नै छैन । कुन कुरोमा भर गरौँ ? तिमी आफैँ देखिरहेका छौ नि ! बर्गा अभिलेखमा जमीनका मुसा–छुचुन्द्राजस्ता मालिकचाहिँ मरिरहेका छन् तर बाघ र सिंह जस्ता चाहिँ झनझन बाघ–सिंह बनिरहेका छन् । ऐलानी जमीन छ तर हामीलाई दिँदैनन् । तिनैको हकभोग चलिरहेको छ । त्यसैले म गाउँमै बसिरहेँ । अँ ,अब गाउँमै बस्छु । पुलिसमा पनि जान्न । पुलिसबाला बनेर आदिबासी र गाउँका मानिसहरूउपर बन्दुक उठाउँदिन । यिनीहरूको चालामाला देख्दा त मेरो त मुटु–कलेजो पोलिरहेको छ ।”

“तर यो त जङ्गलमा जबर्जस्ती कब्जा जमाएको जस्तो भयो नि ।”
“पहिले कहिल्यै देखेनौ ? मानिसलाई जमीन दिलाउनका लागि तिमीले पनि त सङ्घर्ष ग¥यौ ,होइन र ?”
“पहिले किन भनेनौ ?”