परिच्छेद २०
ताशको बोस्टन खेल खेल्ने तयारीका लागि टेबुल-कुर्सीहरू मिलाइयो । काउन्टका पाहुनाहरू आफआफै ठाउँ रोजेर बसे । कोही बैठक कोठामा बसे, कोही सानो बैठकमा बसे भने कोही पुस्तकालय कोठामा पनि बसे । पङ्खाझैँ ताशका पत्ती फैलाउँदै काउन्ट खानपिन गरेपछि एकछिन झपक्क हुने आफ्नो बानी मुस्किलसँग नियन्त्रण गरिरहेका थिए र हाँसी मात्र रहेका थिए । काउन्टेसले उक्साएपछि युवायुवतीहरू वीणा र क्लाभिकर्ड (पियानो) बाजाको वरिपरि झुम्मिए । सबैको आग्रहबमोजिम सबभन्दा पहिले जुलीले बजाई । उसले एकैछिन बजाएपछि सबै केटीहरू मिलेर नताशा र निकोलासलाई गाउन अनुरोध गर्न लागे । आफूलाई एउटी वयस्क महिलालाई जस्तो व्यवहार गरिएकोमा नताशालाई एक प्रकारको गर्व अनुभूति भइरहेको थियो । साथै लाज पनि लागिरहेको थियो ।
“कुन गीत गाउने हामीले ?” उसले सोधी ।
“दि ब्रुक, दुःखान्त,” निकोलासले जवाफ दियो ।
“ल, छिटो गरौँ त्यसो भए । बोरिस तिमी पनि यहाँ आऊ त” नताशाले भनी ।
“तर सोन्या खोइ नि?”
नताशाले यताउति हेरी तर आफ्नो साथीलाई कोठामा नदेखेपछि उसलाई खोज्न गई । सोन्यालाई उसको कोठामा पनि नदेखेपछि नताशा केटाकेटीहरूको कोठामा गई । सोन्या त्यहाँ पनि थिइन । नताशाले सोन्या मटानमा रहेको सन्दुकमा होली भन्ने निष्कर्ष निकाली । मटानमा राखिएको त्यो सन्दुक रोस्तोभ परिवारका छोरीवेटीहरू दु:ख परेका बेला रोइधोइ गर्ने र जीउ हल्का गर्ने ठाउँ थियो । नभन्दै सोन्या त्यही सन्दुकमाथि नोकर्नीको परेवाको प्वाँखको फोहोरो बिछ्यौनामा घोप्टो परेर आफ्ना सानासाना औँलाहरूले मुख छोपेर घुँक्कघुँक्क गर्दै रोइरहेकी थिई । उसले लगाएको गुलावी रङ्गको पातलो लुगा गुजमुजिएको थियो । रूँदा उसको सानो र नाङ्गो पीठ हल्लिएर तलमाथि गर्थ्यो । जन्मदिनको खुसीयालीमा दिनभरि प्रफुल्लित नताशाको अनुहार अचानक फेरियो । आँखा स्थिर भए । उसको चौडा गर्दनमा कम्पन छुट्यो र ओठ सुकेर लत्र्याकलुत्रुक भए ।
“सोन्या, के गरेको यस्तो ? के भयो तिमीलाई ? उँ…उँ…उँ…।”
“नताशाको लाम्चो मुख फाट्टियो, जसले गर्दा ऊ एकदम नराम्री देखिन लागी र सोन्या रोएको कारण केही नबुझिकन ऊ केटाकेटीजस्तै डाँको छोडेर आफै रुन लागी । सोन्याले टाउको उठाएर नताशालाई जवाफ दिने प्रयास गरी । तर उसले त्यसो गर्न सकिन । त्यसपछि उसले आफ्नो मुख झन् छोपी । नताशा नीलो धर्का भएको प्वाँखको बिछ्यौनामा बसेर साथीलाई अङ्गालो मार्दै रुन लागी । बल्लबल्ल सोन्या उठेर बसी आँखाका आँसु पुछ्दै परिभाषा लाउन थाली ।
“निकोलास एक सातापछि फौजमा हाजिर हुन जाँदैछ… त्यससम्बन्धी कागजपत्रहरू आइसकेका छन्.. । त्यो कुरा उसले मलाई आफ्नै मुखले भनेको हो…। तर म यसकारण रोएकी होइन,” सोन्याले आफ्नो हातमा लिएको एउटा कागज देखाई जसमा निकोलासले कविता लेखेको थियो । म त्यसकारण रोएकी होइन नै तर, तिमीले मात्र होइन, अरू कसैले पनि उसलाई बुझ्न सक्तैन …….। उसको आत्मा कति पवित्र छ ।”
“निकोलासको आत्मा अति पवित्र छ” भन्दै ऊ फेरि रुन थाली । “तिम्रो स्थिति त धेरै राम्रो छ, तिमी भाग्यमानी छौ…. । मैले तिम्रो डाहा गर्ने कुरो छैन… । म तिमीलाई धेरै माया गर्छु र बोरिसलाई पनि,” उसले अलि शान्त हुँदै भनी, “ऊ एकदम असल केटो छ- तिमीलाई कुनै किसिमको दु:ख हुने छैन । तर निकोलास मेरो मामाको छोरा हो ….. । महानगरप्रमुखले मात्र हाम्रो विवाह गराउन सक्छ ……। नत्र भने हुनै सक्तैन । तर वेराले आमासँग,” (सोन्याले काउन्टेसलाई आमा नै भन्थी र आमा नै मान्थी) “भन्ली कि मैले निकोलासको जिन्दगी बरबाद गरिरहिछु- मेरो हृदयमा दया माया नै छैन – म एउटी कृतध्न केटी हुँ, तर यथार्थ के हो भने…….। भगवान् साक्षी छन्” (उसले त्रसको चिनो बनाई)……. “म उसलाई र तिमीहरू सबैलाई यति धेरै माया गर्छु….. तर किन होला वेरा….. यस्ती भएकी ? मैले उसको के बिगारेकी छुर? म तिमीहरू सबैप्रति यति आभारी छु कि मैले तिमीहरूलाई खुसीसाथ सबथोक अर्पण गर्ने थिएँ…… तर मसँग केही पनि छैन ।”
सोन्या त्यसपछि बोल्न सकिन । र, फेरि आफ्ना हात र टाउको बिछ्यौनामा लुकाई । नताशाले उसलाई सान्त्वना दिन थाली तर उसको अनुहारको भावबाट यो स्पष्ट हुन्थ्यो कि उसले आफ्नो साथीको समस्याको गाम्भीर्यता बुझिसकेकी थिई।
“सोन्या,” ऊ एक्कासि चिच्याई मानौँ उसले साथीको दुःखको असली कारण थाहा पाइसकेकी होस्, मलाई पूरा विश्वास छ भोजपछि वेराले अवश्य पनि केही भनेर तिम्रो चित्त दुखाएकी होली – होइन त ?”
“हो, यी कविताका पंक्तिहरू निकोलासले आफै लेखेको हो र मैले त्यसका अरू केही पंक्तिहरू नक्कल गरेकी छु । उसले त्यो मेरो टेबुलमा फेला पारी र आमालाई देखाइदिन्छु भनी र यो पनि भनी, म किनकि एउटी कृतघ्न केटी भएकी हुँदा आमाले निकोलासलाई मसँग विवाह गर्ने अनुमति कहिल्यै दिनुहुने छैन – बरु उसले जुलीसँग बिवाह गर्नेछन । हुन पनि तिमीले देखिहाल्यौ निकोलास जुलीसँग कसरी दिनभरि बसिरिह्यो- नताशा तिमी भन यसमा मेरो के कसूर छ ?”
सोन्या पहिलेभन्दा पनि नमीठोसँग फेरि रुन थाली । नताशाले उसलाई उठाई, अङ्गालो मारी र रुन्चे हाँसो हाँस्दै फकाउन थाली ।
“सोन्या प्यारी, तिमीले वेराको कुरामा विश्वास नगर- गर्दै नगर । तिमीलाई सम्झ्ना छ हामीहरूले, (निकोलास, तिमी र म) खानपिन गरेपछि सानो बैठकमा बसेर के-कति कुरा गरेका थियौँ र कुन कुरा कसरी अगाडि बढाउने भनेर हामीहरू एउटा निष्कर्षमा पुगेकै हौँ । त्यो सबैथोक व्यवहारमा कसरी परिणत होला भनेर मैले त भन्नै- सक्तिनँ रे, तर सबैथोकको व्यवस्था राम्रोसँग हुनेछ भन्ने तिमीलाई पनि थाहा छैन ?- कति रमाइलो कुरा थियो ? शिनशिन काकाको भाइले पनि त आफ्नो साक्खै फुपूकी छोरीसँग बिवाह गरेका छन् । र हामीहरू त बरु दोस्रो पुस्ताका नाता पर्ने हौँ । बोरिसले पनि यो विवाह जति पनि सम्भव छ भन्छ । तिमी विश्वास गर, मैले यस विषयमा उसलाई सबथोक भनिसकेकी छु । ऊ एकदम असल छ र ऊ समझदार पनि छ, नताशा भन्दै गई … “मेरी प्यारी दिदी, प्रिय सोन्या, तिमी नरोऊ” उसले हाँस्दै उसको म्वाइँ खाई । वेरालाई अरूको मन दुखाउन खूब मज्जा लाग्छ । तिमीले उसका कुराको वास्तै नगर । सबै ठीक हुन्छ । र वेराले तिम्रो बारेमा आमासँग केही पनि भन्ने छैन । जे भन्नु छ निकोलासले आफै भन्नेछ र जुलीका बारेमा यस्ता कुरा उसले कल्पना पनि गरेको छैन होला ।”
नताशाले सोन्याको कपालको म्वाइँ खाई । सोन्या उठेर बसी । सानी बिरालीको अनुहार उज्यालो भयो । आँखा जगमगाए । र यस्तो लाग्थ्यो कि ऊ पुच्छर उचालेर र आफ्ना नरम पन्जाले भुइँमा टेकेर उफ्रदै सुतीको कपडाको डल्लोसँग खेल्ने सुर कस्दै छे ।
“तिमीलाई यस्तो लाग्छ ? साँच्चै हो ? किरिया खान सक्छ्यौ ?” आफ्नो घाँघर मिलाउँदै र कपाल तह लगाउँदै उसले सोधी ।
“साँच्चै हो। म जे कसम पनि खान सक्छु,” नताशाले आफ्नो साथीको केशपासबाट फुस्केर अल्झेको जुल्फी ठाउँमा घुसारिदिँदै उत्तर दिई ।
दुवै सङ्गिनी खित्खिताउँदै हाँसे ।
“ल, अब जाऔँ र द ब्रुक गीत गाऔँ ।”
“ल, हिँडी हालौँ ।”
“थाहा छ, मेरोअगोडि बस्ने त्यो मोटे पियेरे छ नि, बडो हाँसो उठ्ने खालको रमाइलो मान्छे छ,” एक्कासि ठाउँको ठाउँमै उभिएर नताशाले भनी । मलाई असाध्यै खुसी लागिरहेछ ।”
ऊ दगुर्दै मटानतिर लागी ।
सोन्या आफ्नो लुगामा लागेको भुत्ला टक्टक्याउँदै, हृदयभित्र गडेको कविता चोलीभित्र लुकाउँदै र हलुङ्गोसँग पाइला चाल्दै, खुसीले गर्दा धप्प बलेको अनुहार लिएर नताशाको पछिपछि मटानबाट छिरेर बैठकमा गई । पाहुनाहरूको फरमाइसअनुसार नताशा, सोन्या, बोरिस र निकोलासले चारको समूह गीत “द ब्रुक” गाए । गीत सबैलाई खूब मन पर्यो । त्यसपछि फेरि निकोलासले केही समयअगि सिकेको निम्न लिखित गीत गायो
पूर्णिमाको जूनले त्यो रात सुहाइरहेछ
सम्झेर उसैलाई यो मन रमाइरहेछ
आकाश मात्र होइन यो धरतीमा पनि हो
एउटी छ, उसकै त्यो याद आइरहेछ ।
जब उसका औँलाले वीणाका तार छुन्छन्
सङ्गीतको मीठो धून खुला चौरले सुन्छन्
समर्पित छ यो गीत हृदय छाम्छु उसकै
यी लहरले उसैलाई बोलाएका हुन्छन् ।
बितोस् दुइचार दिन म त स्वर्ग ताक्छु
हरे ! म त्यतिन्जेल कहाँ जिउन सक्छु
… … … … …
… … … … … … … … … …… … … … …।
निकोलासले गीतका अन्तिम पंक्तिहरू पनि गाउन नपाउँदै युवायुवतीहरू त्यो विशाल बैठकमा नाच्न सुरु गरे र एवम् रीतले कलाशालामा सङ्गीतकारहरूको यताउति आउने-जाने गरेको र खाकखुक गरेको आवाज पनि सुनिन थाल्यो ।
पियेरे बैठक कोठामा बसिरहेको थियो र शितशिनले भर्खरजसो विदेशबाट फर्केको मानिस भनेर उसँग राजनीतिक गफ निकाल्न लागेको थियो । र त्यो समूहमा अरू मानिसहरू पनि सहभागी हुन आएका थिए । तर पियेरेलाई असाध्यै झ्याउ लागिरहेको थियो । जब बाजाहरू बज्न थाले नताशा भित्र पसी र सोझै पियेरेसँग गएर हाँस्दै र लाज मान्दै भनी, “आमाले भन्नु भएको- तपाईं पनि हामीहरूसँग मिसिएर नाच्नुस् रे ।”
“नाचको ताल चुकाउँला कि भनेर मलाई त डर लाग्छ,” पियेरेले जवाफ दियो, “तर यदि तिमीले मलाई नाच्न सिकाउँछयौ भने ……।” उसले आफ्ना ठूल्ठूला हात फुच्ची, झिनी र पातली नताशातर्फ बढायो ।
नाचको अर्को जोडा तयार हुँदा र सङ्गीतकारहरूले आफ्ना बाजाको सुर मिलाउँदासम्म पियेरे आफ्नो यो फुच्ची नृत्यसङगिनसँग बसिरह्यो । नताशा एकदम, खुसी थिई । ऊ विदेशबाट फर्किएको यो वयस्क मानिससँग नाच्न लागेकी थिई । ऊ सबैको नजरमा परेकी थिई र पियेरेसँग उमेर पुगेकी महिलाझैँ गफ गर्दै थिई । उसको हातमा एउटा पङखा थियो, जो कुनै महिलाले एकछिनको लागि राख्न दिएकी थिई । माथिल्लो समाजकी “महिलाले जस्तै भाव-भङ्गीमा धारण गर्दै (भगवान् नै जानुन् यो उसले कहिले र कहाँ सिकेकी थिई) पङ्खाको आडमा मुस्कुराउँदै र पङखा हम्कदै आफ्नो नृत्यसाथीसँग गफ गरिरहेकी थिई ।
“ए हजूर, ए हजूर, उसलाई हेर्नुस् त,” नृत्यकक्षबाट बाटो काट्दा नताशातर्फ सङ्केत गर्दै काउन्टेस चिच्याइन् ।
नताशा लाजले मुख रातो पार्दै हाँसी । “हो, साँच्चै आमा, तपाईंले के भनेको यस्तो ? यसमा आश्चर्य मान्नु पर्ने कुरा के छ?”
तेस्रो इकोसास नृत्यको बीचको चरणमा बैठकमा, जहाँ काउन्ट र मार्या दमित्रीयेभ्ना तथा अधिकांश सम्मानित अतिथि र ठूलाबडाहरू तास खेलिरहेका थिए, कुर्सी-टेबुलहरू घन्द्रयाङघुन्द्रु गरेको आवाज उत्पन्न भयो । धेरैबेरसम्म बसिरहेपछि उनीहरू जीउ तन्काउँदै, आफ्ना ढुकुटी झोलीहरू थन्क्याउँदै नृत्यकक्षमा प्रवेश गरे । मार्या दमित्रीयेभ्ना र काउन्ट सबभन्दा अगाडि थिए र दुवैको अनुहार हँसिलो थियो । काउन्टले ठट्टायुक्त शिष्टता प्रदर्शन गर्दै व्याले नर्तकले जस्तै मोडेर आफ्ना हात मार्या दमित्रीयेभ्नातर्फ बढाए । उनी तनक्क तन्किए । उनको अनुहार कुनै खास किसिमको खुसी र रमाइलो मुस्कानका साथ धपक्क बलेर आयो । र जसै “इकोसास” नृत्यको अन्तिम चरण समाप्त भयो, काउन्टले जोडसँग ताली पिटेर बाजा बजाउनेहरूको ध्यान आफूतिर आकर्षित गरे र भ्वाइलेनवादकहरूको प्रमुखलाई सम्बोधन गर्दै भने :
“सेमेन, तिमीलाई डेनियल कुपर नाच आउँछ ?”
काउन्टलाई यो सबभन्दा मनपर्ने नाच थियो, जो आफ्नो युवावस्थामा आफै पनि नाच्ने गर्थे । (साँच्चै भन्ने हो भने डेनियल कुपर आङ्गलेज नाचकै एउटा रूप थियो)
“बुबालाई हेर्नुस् न,” नताशा सबैको ध्यान आकर्षित गर्दै कराई । (तर आफू पनि पियेरेसँग नाचिरहिछु भन्ने उसले बिर्सी ) उसले आफ्नो घुम्रिएका केश भएको शिर घुँडातिर झुकाई । हलभरि उसको जोडदार हाँसो गुन्जियो ।
वास्तवमा त्यस हलमा उपस्थित सबै मान्छेहरू खुसीले मुस्कुराउँदै ती रसिक काउन्ट बुढातिर हेरिरहेका थिए जो आफूभन्दा अग्ली, बलियो शरीर भएकी मार्या दमित्रीयेभ्नासँग नाच्दै सङ्गीतको तालमा हातले अनेक तरहका हाउभाउ प्रदर्शन गरिरहेका थिए । काँध ठाडो पारेका थिए, भुइँमा हल्काहल्का आघात दिँदै पैताला यताउति घुमाइफिराइ गरिरहेका थिए तथा आफ्नो गोलो अनुहारमा सकेसम्म मुस्कान भर्दै दर्शकहरूलाई अगाडिको दृश्य हेर्नका लागि तयार पारिरहेका थिए र जसै डेनियल कुपर नाचको उल्लासपूर्ण तथा उत्तेजक ध्वनि सुनिन थाल्यो (जो प्रमोदपूर्ण रसियाली लोकनृत्यसँग मिल्दोजुल्दो थियौ ) नृत्यकक्षको चारैतिरका ढोकाहरूमा अचानक एकातिर लोग्नेमान्छे र अर्कातिर आइमाईहरूको भीड जम्मा भयो । उज्यालो मुख लगाएका यिनीहरू, नोकर-नोकर्नीहरू थिए, जो आफ्नो मालिक नाचेको र रमाइलो गरिरहेको दृश्य हेर्न आएका थिए ।
“लौ हेर हाम्रो मालिकलाई,” उहाँ त एउटा सिकारी बाज हुनुहुन्छ,” एउटा ढोकामा उभिएकी एकजना नोकर्नीले ठूलो स्वरमा चिच्याउँदै भनी ।
काउन्ट खूब राम्रोसँग नाचे उनले नाच्न जानेका थिए । तर उनकी नृत्यसङ्गिनी भने उनको बराबरी नाच्न सकिन र उसले राम्रोसँग नाच्ने इच्छा पनि गरिन । उसको भीमकाय शरीरले ठाडो मात्र हुन जानेको थियो, उसका शक्तिशाली हातहरू तलतिर झुण्डिरहेका मात्र हुन्थे (उसले आफ्नो हातेझोला काउन्टेसलाई थमाएकी थिई) र भनौं उसको कठोर तर सुन्दर अनुहार मात्र नाच्नमा सरिक थियो । काउन्टको पूरै भकुल्ले शरीरले जे जति यथार्थ व्यक्त गरिरहेको थियो, त्यो सबैलाई मार्या दमित्रीयेभ्नाको झन्भन्दा झन् मुस्कुराइरहेको अनुहार र कम्पायमान नाकले मात्र अभिव्यक्ति दिइरहेको थियो । र, काउन्टले जतिजति जोसमा आएर दर्शकहरूलाई अप्रत्याशित निपुणता, हल्का र जीवन्त चपलताद्वारा मुग्ध गरिरहेका थिए, मार्या दमित्रीयेभ्नाले पनि कम्मर मर्काउँदै, पैतालाको चालमा ताल मिलाउँदै हातले किसिम किसिमका हाउभाउ प्रकट गर्दै उत्तिकै मात्रामा प्रभाव पारिरहेकी थिई । र, उसको भीमकाय शरीर र सदा कठोर देखिने अनुहारलाई ध्यानमा राख्दा हरेक दर्शकले उसको उच्च कोटीको मूल्याङ्कन गरिरहेका थिए । नाचको वातावरण झन्भन्दा झन् जीवन्त हुँदै गइरहेको थियो । अन्य जोडीले यो जोडीले जस्तो एकैछिनको लागि पनि आफूप्रति दर्शकको ध्यानाकर्षित गर्न सकेनन् र उनीहरूले वास्तवमा यस्तो गर्ने प्रयास पनि गरेनन् । सबैका आँखा काउन्ट र मार्या दमित्रीयेभ्नामाथि मात्र केन्द्रित थिए । नताशाले सबैको कुर्ता वा जे लुगा लगाएका छन् तानेर आफ्नो बुबाको नाचतिर ध्यान दिन अनुरोध गरिरहेकी थिई यद्यपि सबैले एकनाससित त्यो जोडीलाई मात्र हेरिरहेका थिए ।
नाचको मध्यान्तरहरूमा काउन्ट ठूलो सास फेर्दै सङ्गीतकारहरूलाई हात हल्लाउँदै छिटोछिटो बाजा बजाउन निर्देशन दिन्थे । छिटोछिटो, झन्भन्दा झन्छिटो र झन्भन्दा झन् फुर्तीसाथ नाच्दै काउन्ट घरी कुर्कुच्चाको अगिल्लो भाग र घरी कुर्कुच्चाको बलमा मार्या दमित्रीयेभ्नाको वरिपरि घुम्थे र अन्त्यमा उनले आफ्नी नृत्यसङगिनीलाई उसका ठाउँमा पुर्याए र-आफ्नो एउटा खुट्टा फुर्तीसाथ पछाडितिर उचालेर मुस्कुराउँदै पसिनाले लुछुप्प भिजेको शिर निहुराए र दाहिने हात घुमाउँदै नाचको अन्तिम चरण बिसाए । सबैले र खास गरेर नताशाले बेजोडसँग हाँस्दै जोडसँग ताली बजाए । काउन्ट र दभमित्रीयेभ्ना उभिइ उभिइ ठूलो सास फेर्दै आ-आफ्नो रुमाल निकालेर पसिना पुछ्न लागे ।
“हो, यसरी नाचिन्थ्यो हाम्रो जमानामा प्यारी,” काउन्टले फुर्ती लगाए ।
“सही कुरा हो, डानियल कुपर नाच भनेकै यही हो,” लामो सास फेर्दै, कुर्ताका बाहुला माथितिर,खुम्च्याउँदै मार्या दमित्रीयेभ्नाले पनि कुरामा कुरा मिलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।