गुरगाउँ जाने सडक साह्रै जाम रेछ | प्रत्येक पाँच मिनेट कुरेपछि गाडीहरू यसो हल्लिन्छन्‌ अनि एक फुट अघि सर्छन्‌ । आशा पलाउँछ, तर अगाडिको कारको रातो बत्ती उज्यालो हुन्छ अनि फेरि अड्किन्छ । प्रत्येकले हर्न बजाउँथे । घरिघरि अनेक थरी स्वरमा हर्न बज्दा सबै हर्नको आवाज मिसिँदा यस्तो लाग्थ्यो कि कसैले माउ छुटाएर गाईको बाच्छो कतै लाँदै छ । धुँवैधुवाँ । अगाडिको बत्तीले गाडीबाट निस्केको धुवाँ निलो देखिन्थ्यो । धुवाँ यति बाक्लो र मोटो हुने कि यो माथि उड्न र फुस्किनै नपाउने । त्यसैले जमिनभन्दा अलिमाथि चारैतिर फैलेर कुइरीमन्डल पार्ने । लगातार सलाइहरू कोरिन्थे । टेम्पु ड्राइभरले चुरोट उडाएर पेट्रोल प्रदूषणमा सुर्ती प्रदूषण मिसासँथे ।

मोबिलको रित्तो ड्रम १५ फुटभन्दा अग्लो गरी चाँगेर डोरीले बाँधेको राँगोले तान्ने गाडा हाम्रो अगाडि रोकिएको थियो | बिचरा राँगोको दशा ! यस्तो हावामा सास फेर्दै त्यत्रो बोझ तान्नुपर्ने ।

मेरो छेउको टेम्पु ड्राइभरले जोडले खोक्न थाल्यो । यसो छेउतिर फर्केर तीनपटक थुक्यो । अलिकति थुकको छिटा होन्डा सिटीमा पनि पर्यो । मैले ठूलाठूला आँखाले हेर्दै मुट्ठी उठाएँ । ऊ डरले लुत्रुक्क परेर माफी माग्दै मलाई ‘नमस्ते’ गर्यो ।

टेम्पु ड्राइभरलाई हेर्दै अशोकले भने, “हामी आज थुकाइको रमाइलो तमासा हेर्दै छौँ ”

मैले सोचेँ, “तपाईं पनि त्यही अम्लीय हावामा सास फेर्न परेको भए त्यस्तै थुक्नुहुन्थ्यो ।”

अगाडिका कारहरू अघि सरे र हामी ३ फिट अघि बढ्यौं । अनि रातो बत्ती चम्कियो, फेरि सबै ठप्प ।

“बेइजिङमा दर्जनौँ चक्रपथ छन्‌ । हाम्रो यहाँ एउटा मात्र छ | अनि जाम हुनमा केको आश्चर्य । कुनै कुरा योजनाबद्ध छैन । यस्तो पाराले हामीले चिनियाँहरूलाई कसरी भेट्टाउँछौं ?”

(ए साँच्चै, श्रीमान्‌ जियाबाओ, एक दर्जन चक्रपथ हैन त ? बाफ रे) सवारीहरूको दायाँबायाँ पेटीमा मधुरो सडकबत्ती बलिराखेको थियो । त्यहीँ सुन्तला रङको मधुरो प्रकाशमा सडकछेउमा हजारौँ दुब्ला, ससाना मलीन अनुहार लिएका मानिसहरू टुक्रुक्क बसेर कतै जान बस कुरिराखेका थिए । कतिलाई त जानु कहीँ पनि छैन, त्यसैले कतिखेर यो भिड हट्ला र सुकुल ओछ्द्याएर सुतौँला भनेर कुरिबसेका थिए । यी गरिब बजियाहरू पनि अन्धकारबाट उज्यालोको खोजीमा दिल्ली आएका थिए तर अझसम्म अन्धकारमै अल्मलिएका थिए सवारी साधनहरूको दायाँ र बाँयापट्टि हजारौँको सङ्ख्यामा त्यस्ता मानिसहरू तर उनीहरूलाई जामले केही फरक परेको थिएन । के जाम रहेछ भन्ने तिनीहरूलाई थाहा थियो त ? यसो हेर्दा दुई फरक सहरजस्तै लाग्ने- कालो अन्डाभित्र यौटा र बाहिर अर्को । मलाई थाहा थियो म ठीक सहरमा थिएँ, तर मेरो बुबा जीवितै भएको भए यति बेला यही सडक पेटीमा बसेर, खोले पकाएर बत्तीको मुनि सुत्ने जमर्को गर्नु हुन्थ्यो होला । यहाँ अहिले कुनै भिखारीको अनुहार देख्दा मैले मेरो बुबाको बारेमा नसोचिरहन सकिनँ | यसरी म कार चलाइरहेको भए पनि कसोकसो बाहिर निस्केँ ।

हामी एक घन्टापछि कसोकसो जामबाट फुत्केर हाम्रो घर, बकिङ्घम बी ब्लक पुग्यौँ, तर तनाव अझै सकिएको थिएन ।

कारबाट निस्कँदै गर्दा न्याउरीले यसो खल्ती छाम्यो, एकछिन अलमल्ल पर्यो र भन्यो, “मेरो त एक रूपियाँ हराएछ ।”

औलाको इसाराले मलाई बोलायो ।

“ए घुँडा टेकेर कारभित्र कतै खसेको छ कि खोज त ।”

मात्र त्यो एक रूपैयाँका लागि घुँडाले टेकेर कुकुरले जस्तै सुँघ्दै म्याटको बिच बिचमा खोजेँ तर त्यो भेटिएन |

“के भनेको तैँले ? छैन रे ? सहरमा छ भन्दैमा हाम्रो चोर्न पाउँछ भन्ने ठान्याछ ? जसरी भए पनि मलाई त्यो चाहियो |

“हामीले भर्खरै पाँच लाख रूपियाँ घुस ख्वाएर आएका छौँ, मुकेश । तँ जाबो एक रूपियाँका लागि त्यो बिचरालाई कति दुःख दिएको ? ल हिँड्‌ माथि गएर स्कच पिऔँ ।”

“तैँले नोकर बिगार्ने नै भइस्‌ । सुरू एक रूपियाँबाटै हुन्छ । तेरो अमेरिकन पारा यहाँ चल्दैन, बुझिस्‌ ?”

महामहिम, त्यो एक रूपियाँ कहाँ गयो भन्ने कुरा मेरा लागि आजसम्म रहस्यमय नै छ । अन्तिममा मैले खल्तीबाट एक रूपियाँ निकालेर, कारभित्र खसालेर, अनि टिपेर लगेर न्याउरीलाई दिएँ ।

“हजूर छ लिनुस् । यो भेटियो । ढिलो-भ्एकोमा क्षमा गर्नुहोला ।”

उनको कालो अनुहारमा बच्चाको जस्तै खुसी छायो । सिक्का हातमा राखेर “स्स्स्स्स” गरे मानौँ त्यो दिनको सबैभन्दा ठूलो उपलब्धि त्यही सिक्का नै थियो ।

म उनीहरूसँगै लिफटमा बसेर माथि गएँ । अपार्टमेन्टमा केही काम बाँकी छ कि भनेर हेर्नु थियो । पिङ्की मेडम सोफामा बसेर टिभी हेर्दै थिइन्‌ । हामी भित्र पस्ने बित्तिकै भनिन्‌, “मैले खाना खाइसके ।” यति भनेर टिभी बन्द गरेर अर्को कोठामा पसिन्‌ । न्याउरीले खाना नखाने भन्यो । त्यसैले डिनर टेबलमा अशोकजी आज एक्लै हुने भए । उनले मलाई फ्रिजबाट निकालेर केही सब्जी तताउन भने । अनि म भान्सामा पसेँ |

फ्रिज खोल्दै गर्दा यसो हेरेको त उनी रोलान्‌ रोलान्‌ जस्तो गरी बसेका थिए |
हजूर ड्राइभर हुन्जेल पूरै चलचित्र कहिल्यै हेर्न पाउनुहुन्न । मालिकहरू जब महत्त्वपूर्ण कुराकानी थाल्छन्‌ अनि फ्ल्यास, झलक्क र यसो कुराकानीको अंश मात्रै हो हामीले देख्ने र सुन्ने प्रायः यस्तै हुन्छ ।

कुनै सेतो जिपमा आएको मूर्खले गलत॑ दिशाबाट तपाईंलाई उछिन्न खोज्दा ठोक्ला कि भन्ने डर । तपाई छेउतिर लाग्नुहुन्छ, ठूल्ठूला आँखाले त्यसलाई हेर्नुहुन्छ, गाली गर्नुहुन्छ (मनमनै) । अनि जब तपाईं यसो कान थाप्नुहुन्छ, पछिल्लो सिटमा कुराकानी धेरै अघि बढिसकेको हुन्छ । अनि तपाईंले बुझ्नुहुन्न त्यो वाक्य कसरी अन्त्य भो।

मलाई थाहा थियो पक्कै केही गडबड छ, तर भोलिपल्ट बिहान अशोकले नभनेसम्म परिस्थिति यति बिग्रिसकेको थियो भन्ने थाहा थिएन । बिहान सबेरै अशोकजीले भने, “बलराम आज मुकेशलाई रेल स्टेसनसम्म पुर्याइदिनु पर्छ तिमीले ।”
अकमकाउँदै भनेँ, “हुन्छ हजूर ।” तर मलाई सोध्न मन थियो, “उनलाई मात्रै ?”
खै उनी राम्रै कामका लागि जान लागेका थिए कि ? वा पिङ्की चाहन्थिन्‌ कि ढोका बजारेर चर्को बोलेपछि उनीबाट मुक्ति पाइन्छ, त्यो रामजाने |

छ बजे बिहान कार लिएर गेटबाहिर कुरेर बसेँ । दुवै दाजुभाइलाई रेल स्टेसन पुर्याएँ । पिङ्की मेडम आउनुभएन ।

न्याउरीका झोलाहरू मैले रेलमा लगेर राखिदिएँ र छेउको ठेला पसलमा गएर उसका लागि एउटा डोसा किनेर कागजमा पोको पारेँ । रेलको लामो यात्रामा,उसलाई सबैभन्दा मन पर्ने कुरा त्यै थियो, तर मैले फेरि त्यो पोको पारेको कागज खोलेर डोसाको आलु निकालेर रेलको लिगमै फालिदिएँ किनभने आलुले उनलाई पाध आउँथ्यो जुन उनलाई मन पर्दैनथ्यो । नोकरले आफ्नो मालिकको पेटसम्बन्धी समस्या सबै जान्दछ- मुखदेखि पेटसम्म ।

न्याउरीले भन्यो, “पर्खी, तँलाई केही भन्नु छ ।”
म रेलका डब्बाको छेउमा टुक्रूक्क बसेँ । उनले भने, “बलराम तँ अब अन्धकारमा छैनस्‌ ।”

“हो हजूर ।”
“दिल्लीमा एउटा नियम छ, था छ ?”
“छ हजूर ।”
“तैँले त्यो जताततै चोकमा गान्धी र नेहरूको मूर्ति देख्या छ ? पुलिसले ती सबै मूर्तिको आँखामा कार हेर्नलाई क्यमारा जोड्या छ । तैले जे गरे पनि तिनीहरूले देख्छन्‌, तँलाई थाहा छ ?”
“छ हजूर ।”
अनि निधार खुम्च्याएर यसो हेर्यो अब के भन्ने । अनि भन्यो, “त आफ्नै सुरमा छस्‌ भने एसी नचलाउनू, बुझिस्‌ ?”
“बुझेँ हजूर ।”
“तँ आफ्नै सुरमा छस्‌ भने म्युजिक नबजाउनू, बुझिस्‌ ?”
“बुझेँ हजूर ।”
“प्रत्येक दिन साँझ तैँले कति किलोमिटर कार हिँड्यो भन्ने हिसाब दिनु पर्छ, ठीक छ ?”
“हुन्छ हजूर ।”

अशोकको नाडी समाउँदै न्याउरीले भन्यो, “यसको ख्याल गर्नू । अशोक भाइ । म गएपछि ड्राइभरको अलि ख्याल गर्नु ।”

तर अशोकजी मोबाइल खेलाउँदै थिए । मोबाइल टेबलमा राखेर भने, “ड्राइभर इमानदार छ । ऊ लक्ष्मणगढको मान्छे हो । मैले उसको परिवारलाई पनि त्यहाँ जाँदा देखेको छु । चिन्ता लिन पर्दैन |” अनि फेरि मोबाइल चलाउन थाले ।

“त्यस्तो कुरा नगर | मेरो हरेक कुरालाई तैँले हल्का लिन्छस्‌ त्यो राम्रो होइन ।” न्याउरीले अलि चर्केर जवाफ दियो ।

तर भाइले के भन्यो उनलाई केही वास्ता थिएन । उनी मोबाइलको बटन दबाउँदै थिए र भने, ‘एक मिनेट । म न्युयोर्कको एउटा साथीसँग कुरा गर्दै छु ।’

ड्राइभरहरू जान्दछन्‌ कुनै कुनै मानिस एक नम्बर गियर जस्ता हुन्छन्‌ । अशोकजी पूरै एक नम्बर गियर जस्ता थिए । उनी कुनै पनि काम सुरू गर्न चाहन्थे, तर सुरू गरेपछि उनको ध्यान लामो समय त्यसमै हुन्थेन ।

उनीलाई हेरेर मैले दुईवटा कुरा एकैचोटि थाहा पाएँ । दुवै कुराले मलाई आश्चर्यचकित पारे । पहिलो, मात्र बटन दबाएको भरमा न्युयोर्कको कसैसँग कुरा गर्न पाइने । आधुनिक विज्ञानको आविष्कार देखेर म सधैँ छक्क पर्छु ।

दोस्रो, मैले महसुस गरेँ कि यो अग्लो, चौडा छाती भएको, सुन्दर, विदेशमा पढेको मान्छे अब रेलको सिटी बजेर धनबादतिर लागेपछि मेरो एकमात्र मालिक हुने वाला छन्‌, बडो कमजोर, बेसहारा, अस्थिर मन भएको र असुरक्षित व्यक्ति रहेछन्‌ जुन जमिनदारको रगतमा पाइँदैन ।

मैले मनमनै भनेँ, ‘तिमी लक्ष्मणगढ फर्केर जाने भए हामी तिमीलाई भेडा भन्थ्यौ ।’

“तैँले के बाँदरले जस्तै दाँत देखाएको ?” न्याउरीले, झकिँदै भन्यो र म माफी माग्दै झन्डै खुट्टा समात्न पुगेको ।

त्यस साँझ आठ बजे अशोकजीले अर्को नोकरमार्फत्‌ मलाई “आधा घन्टाभित्र तयार हुनू बलराम । पिङ्की मेडम र म बाहिर जाने हो |” भन्ने खबर पठाए |

उनीहरू आधा वा पौने घन्टा ढिलो गरी तल आए ।

म कसम खाएर भन्दै छु कि न्याउरी गएपछि त उनको स्कर्ट अझ छोटो हुन थाल्यो ।