विन्टरबोर्नले आफू विवेकी हुँदै त्यो रङ्गशलामा मध्यरातमा उनको डेइजी र एउटा युवकसँग भएको जम्का भेटको बारेमा कसैसँग पनि कुरा खोलेनन्‌ तर दुई दिनपछि यो कुरा रोममा बसेका सबै अमेरिकीले थाहा पाई डेइजीको यस्तो क्रियाकलापलाई आ-आफ्नो तरिकाले आलोचना गरिरहेका थिए। विन्टरबोर्नलाई लाग्यो, तिनीहरूले पक्कै पनि डेइजी होटलमा फर्केपछि टाँगा चालक र टाँगाबाट सामान झार्ने भरियाबिच भएको ठट्टा सुनेर यो कुरा थाहा पाएको हुनुपर्दछ । युवासँग रमाइलो आनन्द लिन पल्केकी ती युवती छुच्चा कामदारका बिचमा चर्चाको पात्र बन्नु कुनै नौलो कुरा नभएको ठानी ती युवक गम्भीर रूपमा चित्त दुखाउन रोकिँदै तत्काल सचेत भएका थिए। एक वा दुई दिनपछि यी कामदारले ती आनन्द लिन पल्केकी युवती डरलाग्दो हुने गरी बिरामी भएकी छिन्‌ भन्ने दुःखद कुरा सुनाउँदै हिँडिरहेका थिए । विन्टरबोर्न यस्ता हल्ला सुन्नेबित्तिकै अरू बढी खबर बुझ्न डेइजी बसेको होटलमा गएका थिए । उनीभन्दा अगाडि नै होटलमा आइपुगेका दुई वा तीन उदार दिल भएका डेइजीका साथीसँग श्रीमती मिलरको कोठामा र्यान्डोल्फले रमाइलोसँग कुरा गरिरहेको थियो ।

‘यो सबै कुरा रातमा घुम्न गएकाले भएको हो। यसैले उहाँलाई बिरामी बनाएको हो। उहाँ सधैँ रातमा घुम्न गइरहनुहुन्छ। मैले कल्पनै गर्न नसक्ने गरी उहाँ प्लेग रोगको (मुसाहरूबाट फैलिने एकप्रकारको रोग, जसले ज्वरो आउने, शरीर सुन्निने र अन्त्यमा मृत्यु समेत हुने गर्दछ। ) प्रकोप भएको अँध्यारो ठाउँमा जानुहुन्छ । यी ठाउँमा रातमा चन्द्रमा बाहेक केही पनि देख्न सकिँदैन । अमेरिकामा पनि रातमा सधैँजसो चन्द्रमा देख्न सकिन्छ,’ ऱ्यान्डोल्फले भन्यो । श्रीमती मिलर यतिबेला यहाँ देखिएकी थिइनन्‌ । उनी केही समयपछि त्यहाँ देखा परिन्‌। उनले आफ्नी छोरीका साथीका सबै इच्छा पूरा गरिदिएर, छोरीलाई रोगको सिकार बनाइरहेकी थिइन्‌ । डेइजी नराम्रोसँग बिरामी हुनु यसको प्रमाण थियो।

विन्टरबोर्न प्रायजसो डेइजीको हालखबर बुझन गइरहन्थे। उनले भेटको क्रममा श्रीमती मिलरलाई डेइजीको अवस्थाबाट ज्यादै चिन्तित र डराएकी भए तापनि संयमित भए जस्ती देखिएर एउटा ज्यादै दक्ष तथा विवेकी नर्सको भूमिका निर्वाह गरिरहेकी देख्दा अचम्म मानिरहेका थिए। श्रीमती मिलरले विन्टरबोर्नसँग चिकित्सक ड्याभिस्‌को बारेमा धेरै कुराकानी गरेकी थिइन्‌ । विन्टरबोर्नले उनी अरूको भावनामा ठेस पुऱ्याउने मूर्ख महिला होइनन्‌ भन्ने महसुस गरेका थिए । ‘अघिल्लो दिन डेइजीले तपाईँका बारेमा कुरा गरेकी थिइन्‌ । उनी कुरा गर्दा आधाजसो समय त ज्वरोका कारणले बर्बराएकी हुन्छिन्‌ तर कुनैबेला त ठिकै कुरा पनि गर्दछिन्‌ जस्तो मलाई लाग्दछ। उनी कहिल्यै पनि ती सुन्दर इटालेलीसँग विवाह गर्नको लागि सहमत भएकी थिइनन्‌ रे ! उनले मलाई यो कुरा तपाईँलाई भनिदिनु होला भनेकी थिइन्‌। म ढुक्क छु, यस कुराले मलाई ज्यादै खुसी बनाइरहेको छ। गिओभानेलि डेइजी बिरामी भएदेखि भेट्न आएका छैनन्‌। मलाई लाग्थ्यो उनी असल मानिस हुन्‌ तर मैले उनलाई राम्रो व्यवहार भएको मानिस भन्न चाहन्न । उनले डेइजीलाई रातको समयमा घुमाउन लैजाँदा म रिसाएको कारणले उनले चित्त दुखाएका थिए भनी एक नारीले मलाई भनेकी थिइन्‌। अँ, म उनीसँग रिसाएकी थिएँ तर उनले म नारीमात्र नभएर डेइजीकी आमा पनि हुँ भन्ने कुरा बुझ्नु पर्दथ्यो नि ! मलाई उनीप्रति घृणा पलाएको छ । म उनलाई गाली गर्न चाहन्छु । जे होस्‌ डेइजीले भन्दाछिन्‌, उनी गिओभानेलिसँग विवाह गर्न सहमत छैनन्‌ । डेइजीले तपाईँलाई किन यो कुरा भन्न चाहिरहेकी थिइन्‌, त्यो त मलाई थाहा छैन, तर उनले तिनपटकसम्म यो कुरा मनमा लिएर तपाईंलाई भन्नुहोला भनी भनिरहेकी थिइन्‌। अनि तपाईंहरू स्विट्जरल्यान्डको महलमा घुम्दाको क्षण तपाईँले सम्झनु भएको छ कि छैन भनी सोध्नु पनि भनेकी थिइन्‌, तर मैले उनी गिओभानेलिसँग विवाह गर्न सहमत नभएको कुरा बाहेक अरू कुनै पनि कुरा तपाईंसँग गर्दिनँ भनेकी थिएँ। म ढुक्क भएँ, तपाईंलाई यी सबै कुरा भन्न पाउँदा म खुसी भइरहेको छु,’ श्रीमती मिलरले भनिन्‌ ।

तर श्रीमती मिलरका यी कुराको कुनै अर्थ थिएनन्‌। ती बिचरी युवतीको डरलाग्दोसँग औलोको आक्रमणले गर्दा एकहप्तापछि मृत्यु भएको थियो। उनको समाधि साइप्रसका (इटालिका चिहानघर वरिपरि वा समाधि भएका ठाउँमा परम्परागत रूपमा यी सदाबहार जातका रूख लगाइन्छन्‌। यी पाँच देखि चौबिस मिटरसम्म अग्ला हुन्छन्‌। यी गर्मी हावापानी भएको क्षेत्रमा राम्रोसँग सप्रन्छन्‌। यिनको काठबाट एक प्रकारको मीठो सुगन्ध पनि आइरहन्छ ।) र वसन्त ऋतुमा फूल्ने थुप्रै फूलका रूखमुनि प्रोस्टेस्टाइन धर्मसंस्कार अनुसारको चर्चभन्दा बाहिरको रोमन साम्राज्यले लगाएको विशाल पर्खालको एक कुनाको साना चिहानघरमा बनाइएको थियो । विन्टरबोर्न डेइजीको समाधि नजिकै शोक प्रकट गर्न आएका मानिसहरूसँग उभिइरहेका थिए। डेइजीको जीवनचर्यालाई अनैतिक ठानेर चित्त दुःखाउने मानिसको समूहभन्दा उनलाई शोक व्यक्त गर्न आउनेको समूह ठुलो थियो । गिओभानेलि विन्टरबोर्नले थाहा नपाउने गरी उनको नजिकै उभिइरहेका थिए। यतिबेला गिओभानेलि निकै पहेँला देखिइरहेका थिए। गिओभानेलि यस समारोहमा टिसर्टको टाँकघरमा फूलको थुँगा झुन्डाएका थिएनन्‌। उनी केही भन्न इच्छा राखे जस्ता देखिन्थे । अन्त्यमा उनले भने, ‘मैले अहिलेसम्म देखेका युवतीमध्ये तिनी सबैभन्दा राम्री र ज्यादै निर्दोष पनि थिइन्‌।’

विन्टरबोर्नले गिओभानेलिलाई हेरेर तत्कालै उनले भनेका शब्दहरू दोहोर्याए, ‘ज्यादै निर्दोष ?’

“ज्यादै निर्दोष !” गिओभानेलिले पुनः भने ।
विन्टरबोर्नले पीडा र रिसको अनुभव गर्दै भने, ‘किन दैव, तिमीले उनलाई मृत्युको मुखमा पुर्याएका थियौ ?’

सहरियापनमा विश्वास गर्ने गिओभानेलिले स्पष्टरूपमा दुःख नमानेको जस्तो देखिन्थ्यो । गिओभानेलिले एकछिन जमिनमा हेरेर भने, ‘मेरोतर्फबाट म डराउनु पर्ने कुनै कारण नै छैन किनभने उनी यस पृथ्वीबाट बिदा हुन चाहेकी थिइन्‌ ।’

‘यो त कुनै कारण थिएन नि !’ विन्टरबोर्नले भने ।
यी धुर्त रोमनले आँखाबाट आँसु झारेर भने, ‘यदि उनी बाँचेकी भए मैले केही पनि पाउँदिनथेँ । म ढुक्क थिएँ, उनले कहिल्यै पनि मसँग विवाह गर्दिनथिइन्‌ ।’

‘उनले कहिल्यै पनि तपाईँसँग विवाह गर्दिनथन्‌ त ?’ विन्टरबोर्नले भने।

‘केही समयसम्म त मलाई आशा थियो तर पछि टुटेर गएको थियो,’ गिओभानेलिले भने ।

विन्टरबोर्नले गिओभानेलिका कुरा सुनिरहेका थिए। चिहान घरको भर्खरै बनाइएको डेइजीको स्मारक ‘अप्रिल’ महिनामा फुल्ने डेइजी फूलले पुरिए तापनि त्यसको अलिकति भाग खाली थियो। त्यस भागलाई हेरेर विन्टरबोर्न उभिइरहेका थिए। जब विन्टरबोर्नले आँफू उभिएको ठाउँबाट गिओभानेलितर्फ हल्का पाइला बढाएका थिए, उनी त्यहाँबाट गइसकेका थिए।

विन्टरबोर्नले डेइजीलाई शोक प्रकट गरेपछि तत्कालै रोम छाडेका थिए । अर्को वर्षको गर्मी ऋतुमा उनले आफ्नी काकी, श्रीमती कोस्टलोलाई भेभेईमा भेटेका थिए। श्रीमती कोस्टलोलाई भेभेई एकदम मन पर्दथ्यो। विन्टरबोर्नले आफूलाई फुर्सद भएको समयमा प्रायः डेइजीको रहस्यमय बाँच्ने तरिकाको बारेमा सोचिरहन्थे । एक दिन उनले डेइजीको बारेमा काकीसँग कुरा गरिरहेका थिए। उनले आफ्नो अन्तरात्माले डेइजीलाई अन्याय गरेको थियो भनी काकीलाई भनेका थिए ।

‘म ढुक्क छु, मलाई त्यस्तो लाग्दैन। कसरी तिम्रो अन्यायले उनी प्रभावित थिइन्‌ त ?’ श्रीमती कोस्टलोले भनिन्‌ ।

‘मलाई उनले मृत्युभन्दा अगाडि एउटा चिठी पठाएकी थिइन्‌। मैले सुरूमा त यो चिठिको अर्थ बुझ्न सकिनँ, तर अहिले मात्र यसको अर्थ बुझेँ। उनको मप्रति सम्मान, श्रद्धा र राम्रो विचार रहेछ,’ विन्टरबोर्नले भने ।

‘डेइजीले तिम्रो मायाँ गर्ने भावलाई बुझेकी थिइन्‌ भन्नु के यो तिम्रो नम्रपन हो त ?’ श्रीमती कोस्टलोले भनिन्‌ ।

विन्टरबोर्नले यो प्रश्नको कुनै उत्तर दिएनन्‌, तर उनले तत्कालै भने, ‘तपाईँले गत गर्मी ऋतुमा उनको बारेमा भनेका कुरा ठिक थिए। ईश्वरले मलाई गल्ती गराउनको लागि त्यो भेभेइको होटलमा पठाएका रहेछन्‌। म धेरै लामो समयदेखि विदेशमा बस्दै आइरहेको छु।’

जे भए तापनि विन्टरबोर्न फर्केर जेनेभा नगरी मै बस्न गएका थिए। उनी जेनेभा नगरीमा के गर्दै बसिरहेका छन्‌ भन्ने कुरा कौतूहलको विषय बन्न पुगेको थियो । उनी त्यहाँ कडा परिश्रमपूर्वक अध्ययन गरिरहेका छन्‌ कि एउटी ज्यादै चलाख विदेशी युवतीसँग घनिष्ठ सम्बन्ध स्थापना गर्दै आफ्नो स्वार्थ पुरा गरिरहेका छन्‌ भन्ने यी दुई एक आपसमा ज्यादै विरोधी देखिने खालका उनका यी क्रियाकलाप जेनेभा नगरी बाहिर सुन्नमा आइरहन्थ्यो।