बुढोको देब्रे हात अझै खुम्चिन छाडेको थिएन तर उसले यसलाई बिस्तारै सोझ्याउने कोसिस गर्‍यो ।

उसले मनमनै भन्यो -“यो हात खुम्चिएको देख्दा औधी रिस उठ्छ मलाई । मेरो शरीरलाई धोखा दियो यसले | अरूका अगाडि पखाला चल्दा र वान्ता गर्दा जस्तो लाजमर्दो हुन्छ त्यस्तै भयो मलाई । उसले त्यस खुम्च्याइलाई सामान्य मांसपेसीको समस्याको रूपमा लियो । एक्लो छँदा आफूभित्रै अपमानित महसुस हुन्छ ।

साथमा यतिखेर केटो भैइदिएको भए पाखुरा माडिदिन्थ्यो र अलिक बिसेक हुन्थ्यो होला । केटोलाई सम्झ्यो उसले । यो अब आफैँ सिधा हुन्छ ।

त्यसपछि अकस्मात्‌ उसको दाहिने हातले डोरीमा केही हलचले आएको महसुस गर्‍यो । पानीमा केही हलचल थियो । डोरीमा अडेस लाग्यो बुढो । देब्रे हातले तिघ्रामा जोडले हिर्काउँदा डोरी मास्तिर सरेको देख्यो ।

“मास्तिर आउँदै छ माछो” तयार हो हात, तयार हो । बुढो चिच्च्यायो ।

डोरी बिस्तारै निरन्तर रूपमा माथितिर सर्न थाल्यो । डुङ्गा अगाडिको सागरपृष्ठ पनि अग्लो भयो र माछो पूरै बाहिर आयो । पानी उछिट्टिन थाल्यो । घाममा निकै चम्किलो देखिन्थ्यो माछो । त्यसको टाउको र ढाड गाढा कलेजी रङगको थियो भने साइडका कत्लाहरू चाहिँ हल्का गुलाबी रङ्गको देखिन्थ्यो । निकै राम्रो र ठूलो थियो माछो । माछाको तरबार बेसबलको ब्याट जत्तिकै लामो थियो भने पुच्छर हँसिया जतिकै धारिलो । पूरा शक्ति लगाएर बाहिर आयो माछो फेरि । गोताखोर जस्तै बिस्तारै पानीभित्र पस्यो । भटाभट डोरी सर्न थाल्यो ।

बुढोले भन्यो, “डुङ्गाभन्दा पनि दुई फिट लामो रहेछ माछो त । डोरी निकै छिटो सर्दै थियो । माछो पटक्कै डराएको थिएन । डोरीलाई आफ्नो नियन्त्रणमा राख्न बुढोले दुवै हातले डोरी तान्दै थियो । उसले बुझ्यो माछोलाई आफ्नो दबाबमा राख्न नसके डोरी पूरै तानेर चुँडाल्न बेर लाँउदैन ।

“माछो निकै ठूलो छ । बुढाले मनमनै सोच्यो । मैले त्यसलाई बाध्य बनाउनै पर्छ । उसको शक्तिको अनुमान गर्न दिनु हुँदैन न त दौडिन पाए उसले केसम्म गर्न सक्छ त्यो पनि थाहा दिनु हुँदैन उसलाई । मचाहिँ माछो भैइदिएको भए सबैथोक लैजान्थेँ र डोरी पनि चुडालिदिन्थेँ । धन्य भगवान्‌ उसलाई मार्ने- हामी जत्तिकै बुद्धिमान्‌ चाहिँ छैन है त्यो माछो तर वास्तवमा भन्ने हो भने माछो हामीभन्दा निकै महान्‌ र योग्य छ ।”

बुढोले थुप्रै ठूलाठूला माछा देखेको थियो । हजारौँ पाउण्ड तौल भएका माछा पनि नदेखेको होइन उसले । हजारौँ पाउण्डको माछा त उसले दुईपटक समातिसकेको थियो यस अघि नै । तर एक्लै होइन । अहिले एक्लो छ ऊ । जमिन कतै देखिँदैन ।

बुढोले आश गर्‍यो, तै हात खुम्चिन छाड्छ कि | अवश्य दाहिने हातलाई मद्दत गर्न पनि देब्रे हात खुम्चिन छाड्ला । मेरा भाइहरू भनेकै यिनै मेरा दुइटा हात र माछा तं हुन्‌ नि । ठिक हुनैपर्छ हात । कति खुम्चिबस्ला त यो कृतघ्न भएर ? माछाको गति फेरि सुस्त हुँदै गयो पहिलेजस्तै ।

बुढाले मनमनै भन्यो, “साँच्चि माछो किन उफ्रियो होला ? अचम्म लाग्छ मलाई । सायद आफू कति ठूलो छु भनेर मलाई देखाउनलार्इ उफ्रेको होला । बल्ल बुझेँ मैले । म पनि देखाइदिन्छु म कस्तो मान्छे हुँ भनेर । उसले खुम्चेको हातमा हेर्‍यो । आफ्नो बढाउँदै आफैँलाई भन्यो । “म कति बलियो मान्छे हुँ देखाइदिन्छु त्यसलाई । माछो भएर जन्मिन पाएको भए । अवश्य त्यतिबेला मेरो इच्छाशक्ति वा बुद्धि हुने थिएन ।

डुङ्गाको काठमा अडेस लागेर आरामसित बस्यो बुढो । सामान्य रूपमा लियो उसले आफ्नो पीडालाई । माछो निरन्तर पानीमा पौडिरह्यो । बिस्तारै अँध्यारोमा डुङ्गा पनि चल्न थाल्यो । पूर्वबाट आएको हावाले समुद्रमा एउटा सानोतिनो छाल उत्पन्न गर्‍यो । दिउँसोतिर उसको देब्रे हात पनि खुम्चिन छाड्यो । सिधा भयो ।

बुढोले भन्यो, “माछा तेरो लागि अशुभ सामाचार छ ।” उसले आफ्नो काँधमा राखेको डोरी बोरामाथि सार्‍यो । दुःख पीडालाई सहँदै बुढाले आरामकै महसुस गर्‍यो ।

बुढोले भन्यो, “म धार्मिक व्यक्ति त होइन तैपनि मार्लिनलाई समात्न सकेँ भने ‘Our Fathers र Hail Marys’ र पक्ष लाउड दशचोटि प्रार्थना गर्छु । त्यति मात्र होइन मार्लिन समात्न सके भने म भर्जिनमा तीर्थाटन पनि गर्नेछु । यो मेरो प्रतिज्ञा भो ।

बुढो छिटो छिटो र स्वतःस्फूर्त रूपमा प्रार्थना गर्न थाल्यो । कहिले प्रार्थना गर्दा गर्दै थाक्थ्यो त कहिले बिर्सिन्थ्यो । Hail Marys भन्दा Our Fathers को प्रार्थना गर्न गाह्रो छ । उसले सोच्यो । “स्वागतम्‌ मेरी, वरदानले पुरिएकी छिन्‌ अनि स्वयं प्रभु उनको साथमा छन्‌ । नारी जातिबिच उनी धन्य छिन्‌ अनि उनैका गर्भबाट जन्मेका येशु पनि आशीर्वादले धन्य छन्‌ । पवित्र मेरी ! प्रभुहरूकी माता ! हामी पापीहरूका लागि अहिले र हामी मर्ने बेलामा पनि प्रार्थना गरिदिनुस्‌ । आमेन !” त्यसपछि उसले फेरी भन्न थाल्यो, ‘आशीर्वाद धन्य मेरी ! त्यो माछाको मृत्युका लागि प्रार्थना गरिदेऊ । त्यो अद्भूत खालको भए पनि प्रार्थना गरिदेऊ ।’

प्रार्थना सँगसँगै बुढोलाई -अलि अलि आराम पनि भयो साथसाथै पीडा पनि । काठमा अडेस लागेर देब्रे हातको औँला मालिस गर्न थाल्यो उसले |

घाम चर्के पनि हावा लागिरहेकै थियो ।
‘”मैले डुङ्गापछाडि रहेको सानो डोरीमा फेरि चारो थप्दै राम्रो होलाजस्तो छ ।” बुढोले भन्यो । माछो अर्को रात पनि यसैगरी बस्यो भने त मलाई पनि खानेकुरा चाहियो । बोतलमा पानी पनि सकिएछ । अरू थोक केही नपाए पनि डल्फिन त पाइएला नि । ताजै खाए त बेफाइदा पनि नगर्ला डल्फिनले । कतैबाट राति उडुवा माछा आइदे पनि हुन्थ्यो ।

तर उसलाई आकर्षित गर्न उज्यालो पो छैन मसित | उडुवा माछा काँचै खादा झन् स्वादिलो हुन्छ । काट्नु पनि नपर्ने । अब शक्ति साँचेर राख्नुपर्छ मैले | हे भगवान्‌ ! त्यो यति ठूलो छ भन्ने मलाई थाहै थिएन ।

“जतिसुकै ठुलो किन नहोस्‌, त्यो माछो नमारी छोड्दिन त्यसलाई म । मनमनै भन्यो उसले तर त्यसरी मार्नुचाहिँ अनुचित नै हो | तर मान्छेले केसम्म गर्न सक्छ र कतिसम्म सहन सक्छ, माछोलाई देखाइछाड्छु म ।”

“केटोलाई मैले म आफू अनौठो खालको बुढो मान्छे हुँ भनेको थिएँ । त्यसलाई मैले प्रमाणित गरेर देखाउनु पर्ने बेला आएको छ ।” बुढोले भन्यो । यद्यपि अघि नै उसले हजारौँ पटक प्रमाणित गरेर देखाइसकेको हो तर त्यसको खास अर्थ रहेन । अब प्रमाणित गर्दै थियो ऊ । हरेक समय एउटा खास समय हुन्थ्यो । काम गर्दै जाँदा उसले विगततिर फर्केर हेर्दैनथ्यो ।

म चाहन्छु मार्लिन पनि सुतोस्‌ र म पनि सुतौँ र सिँहको सपना देखौँ । बुढाले मनमनै सोच्यो | मुख्य कुरो त सिंहको किन सपना देख्न छाड्ने -? छाड्दे बुढो, चिन्ता गर्न छाड्दे ।

अब काठमा अडेस लागेर अलिबेर आराम गर्‌ । केही पनि नसोच्‌ । ऊ पनि आफ्नो काम गर्दैछ | तँ पनि आफ्नो काम जारी राख्‌ ।

मध्य दिन हुँदैथ्यो । डुङ्गा अझै बिस्तारै निरन्तर गतिमा अघि बढ्दै थियो । पूर्वबाट चलेको मन्द हावाले गर्दा बुढो बिस्तारै अगाडि सर्दै थियो समुद्रमा । डोरीले उसको ढाडभरि घाउ बनाइदियो । तैपनि घाउको पीडा सह्यो बुढोले ।

अचानक दिउँसोतिर डोरी एकपटक मास्तिर सर्न थाल्यो तर माछोचाहिँ अलि कम गहिराइमा पौडिँदै थियो । बुढोको देब्रे पाखुरा, काँध र पिठ्युँमा सिधै घाम परेबाट उसले माछो पूर्वतिर फर्केछ भन्ने बुझ्यो ।

कुनैबेला र अँध्यारोमै पखेटा र ठाडो पुच्छरका सहायताले पानीमा पौडिँदै गरेको माछाको तस्बिर खिच्न सक्थ्यो । बुढोले मनमनै भन्यो, त्यति गहिराइमा पनि कसरी देख्दो हो माछाले अचम्म लाग्छ मलाई । उसका आँखा ठूलाठूला छन्‌ हुन त सानो आँखा भए पनि घोडाले अँध्यारोमा पनि देख्छ । कोही बेला त म पनि देख्थेँ अँध्यारोमा तर त्यति धेरै अँध्यारोमा चाहिँ होइन है । जति बिरालाको आँखाले देख्न सक्छ त्यति म पनि देख्थेँ ।

घामको किरण परेपछि उसका हातका औँलाहरू बिस्तारै हल्लाउँदै गर्दा खुम्चिन छाड्यो । उसले डोरी पिठ्युँमा हाल्यो । डोरीको दुखाइ कम गर्न बुढोले काँध बिस्तारै उचाल्यो ।

बुढaले चिच्च्याएर भन्यो, “यदि अझै थाकेको छैनस्‌ भने तँ साँच्चिकै अनौठो खालको माछो हुनुपर्छ ।”

निकै थाक्यो बुढो । उसलाई लाग्यो अब छिट्टै रात पर्दैछ । अरू कुरा सोच्न थाल्यो बुढो | ऊ ठूलाठूला लिग म्याचका बारेमा सोच्न थाल्यो । न्युयोर्कका याङ्की र डेट्रायट टाइगरबिचको ग्राम लिग म्याच सम्झ्यो उसले । आज दोस्रो दिनको खेल सुरु हुन लागिसक्यो । खेलको नतिजाका बारेमा केही थाहा छैन मलाई । तर मलाई डिमागियोप्रति पूरा विश्वास एवं गर्व छ | कुर्कुच्चाको हड्डीमा समस्या भए पनि उनले उच्च मनोबलकासाथ खेल्नेछन्‌ । आफैँलाई सोध्यो बुढोले, “आखिर के रहेछ यो झस्को पस्नु भनेको चाहिँ ? हामीलाई त्यस्तो समस्या छैन क्यारे | भाले जुधाइमा जे जस्तो पीडा हुन्छ त्यस्तै पो हो कि झस्को पस्नु भनेको । भाले जुधाइमा अक्सर आँखा गुमाउँछ भालेले । कहिले त दुइटै आँखा । म त्यो सहन सक्दिन । ठूलाठूला चराचुरूङ्गी र पशुका दाँजोमा मान्छे त केही पनि होइन | तर अझै म समुद्रको अँध्यारोमा त पशु नै हुन पाए राम्रो हुन्थ्यो भन्ठान्छु ।