हरेकपल्ट पर्चाको बन्डल सुम्पँदा त्यस पुलिस अफिसरका बलेका सलाईजस्तो पहेँलो अनुहार उनको दिमागमा चम्कन्थ्यो र बडो गर्वसाथ उनी मनमनै भन्थिन् –
“लै खा पाजी ! देखिस् ! लौ ले अरू !”
मजदुरहरू हातमा कप लिएर आउँदै थिए । कोही नजिक आइपुग्यो भने इभान गुसेन जोडले हाँस्न थाल्थ्यो, आमा चुपचाप पर्चा दिन बन्द गर्थिन् र आफ्नो सुपतिर ध्यान दिन थाल्थिन् ।
दुवै दाजुभाइले उनलाई जिस्क्याउँदै भने –
“पेलागेया निलोभ्ना त निकै चलाख ठहरी !”
“पेट पाल्न सबै गर्नुपर्दो रहेछ ।” – नजिकै उभिएको एक मजदुरले उदास स्वरमा भन्यो । “हरामीहरूले बिचरीको पेट पाल्ने छोरालाई जेल पुर्‍याए । लौ, मलाई तीन कोपेकको नुडल देऊ त ! धन्दा नलेऊ तिमी आमा, काम चलिहाल्छ ।”
“धन्यवाद तिमीहरूलाई ! तिमीहरूकै आशीर्वादको त अब मलाई सहारा छ ! आमाले मुस्कुराउँदै भनिन् ।
“सहानुभूतिको दुईचार शब्द बोल्न पनि मलाई के गाह्रो र ।” हिँड्दै ऊ भुतभुतायो ।
“तातो सुप ! नुडल ! दाल !” – आमा कराउन थालिन् ।
उनी सोच्दै थियन्, कसरी छोरालाई पर्चा बाँड्ने आफ्नो पहिलो अनुभवबारे बताउने छिन्, तर कता हो दिमागभित्र अझै पनि त्यस पुलिस अफिसरको क्रुद्ध अनुहार नाच्दै थियो । डरले व्याकुल उसको कालो जुँगा फड्कँदै थियो र उसको धनुषाकार ओठमुनिबाट उसका सेता दाँतहरू चम्किँदै थिए । आमाको हृदय उल्लासले थर्किँदै थियो । उनले बडो व्यङ्ग्यपूर्वक आफ्ना आँखी भौँ उठाइन् र आफ्ना सामानहरू बेच्दै मनमनै त्यस अफिसरलाई सम्बोधन गर्दै भनिन् –
“लौ खा पाजी ! देखिस्, लौ ले अरू पनि .. ।”

त्यस दिन साँझ चिया पिइरहेका बेला आमाले बाहिर हिलामा घोडाको टापको आवाज र त्यसपछि एक परिचित स्वर सुनिन् । उनी झस्किन् र जुरुक्क उभिइन् । त्यसपछि हतारहतार भान्साकोठा हुँदै ढोकातिर लागिन् । बरन्डामा कोही छिटोछिटो हिँडेको आवाज सुनियो । उनको आँखा धमिलिए, उनले खुट्टाले धक्का दिँदै ढोका खोलिन् र खापाको सहारा लिएर उभिइन् ।
“नमस्कार, आमा !” परिचित स्वर सुनियो र कसैले आफ्नो दुब्ला पातला लामा-लामा हातले उनलाई अङ्कमाल गर्‍यो ।
आन्द्रेइलाई देखेर सुरुमा त उनी निराश भइन्, तर उत्तिखेरै हर्षित पनि भइन् । यी दुवै भावना मिलेर एक महान् सर्वव्यापी भावना बन्यो र आमा त्यही स्नेहको प्रभावमा बग्दै गइन् । त्यस प्रवल प्रवाहको एक लहरले उनलाई धेरै माथि उचालिदियो । आमाले आफ्नो टाउको आन्द्रेइको काँधमा राखिन् । उसले आफ्ना काँपेका हातले आमालाई बेस्सरी अङ्कमाल गर्‍यो । आमाले केही भनिनन् तर उनी रुँदै थिइन्, आन्द्रेइ आमाको कपाल सुमसुम्याउँदै मीठो स्वरमा बोल्दै थियो र ती शब्दहरू आमाको कानमा सङ्गीतको धुनजस्तै प्रतिध्वनित हुँदै थिए –
“आमा नरुनोस्, आफ्नो मुटुलाई दुःख नदिनोस् ! मलाई विश्वास गर्नोस्, उसलाई पनि छिट्टै छाड्नेछन् । उसको विरुद्ध उनीहरूसँग कुनै प्रमाण छैन । सबै केटाहरू ढुङ्गाको मूर्तिजस्तै चुपचाप लागेर बसेका छन् .. ।”
ऊ आमालाई अँगालो मार्दै अर्को कोठाभित्र पस्यो । आमा ऊसँग टाँसिएर प्रत्येक शब्द यसरी सुन्दै थिइन्, मानौँ प्यासीले पानी भेट्टाएको छ । उनी लोखर्केको चालले छिटोछिटो आँसु पुछ्दै थिइन् ।
“पाभेलले तपाईँलाई आफ्नो अभिवादन पठाएको छ । एकदम तन्दुरुस्त छ, खुसी छ । निकै भीड छ त्यहाँ, सहरको र हाम्रो बस्तीको गरेर कम्तीमा सयजना मान्छे समातिएका छन् । हरेक कोठामा तीन-तीन, चार-चार जना मान्छे थुनिएका छन् । जेलका हाकिमहरू गतिलै छन्, थाकेका छन् र पुलिसवालाहरूले जुन काम उनीहरूमाथि लादेका छन्, त्यसैले उनीहरूलाई वाक्क पारिसकेको छ । जेलको हाकिम त्यति कडा मान्छे छैन । ऊ भन्ने गर्थ्यो महानुभाव हो, कुनै गडबडी नगर्नुहोला, नत्र हामी आपद्मा पर्नेछौँ !” सबै काम मजाले चल्दैछ । एक–दोस्रासँग मजाले कुराकानी गर्न सकिन्छ । उनीहरू आपसमा किताबहरू साटासाट गर्छन् र खाना पनि बाँडचुँड गरेर खान्छन् । राम्रो जेल छ ! हो पुरानो भैसकेको छ र फोहोर पनि छ, तर रमाइलै छ । फौजदारी मुद्दामा परेका कैदीहरू पनि गतिलै छन्, खुब मद्दत गर्थे हाम्रो । मलाई, बुकिनलाई र अरू चार जनालाई छाडिदिए । छिट्टै पाभेललाई पनि छाड्नेछन्, कुनै शङ्का छैन । भेसोभसिकोभ सबैभन्दा बढी बस्नेछ, खुब रिसाएका छन् ऊसँग । सबैलाई गाली गर्‍यागर्‍यै छ । पुलिसवालाहरू त उसको मुखसम्म पनि हेर्न मन पराउँदैनन् । उसमाथि मुद्दा चलाएनन् भने पनि कुनै दिन खुबसँग पिट्नेछन् । पाभेल सधैँ उसलाई सम्झाउने गर्छ, “निकोलाई छाड तिमी ! यसरी गाली गरेर के फाइदा र ? उनीहरू थोरै बदलिन्छन् र ?” तर ऊचाहिँ चिच्याउन थाल्छ – “म यिनीहरूलाई खटिराजस्तो निचोरिदिन्छु !” पाभेलको व्यवहार निकै राम्रो छ, ऊ दृढ र अटल छ । मलाई विश्वास छ, ऊ पनि छिट्टै छुट्नेछ .. ।”
“छिट्टै भन्छौ !” – शान्त हुँदै आमाले भनिन् र बडो कोमलतापूर्वक मुस्कुराइन् – “हो मलाई थाहा छ, ऊ छिट्टै छुट्छ !”
“त्यसो भए सबै ठिक छ ! लौ त, मलाई एक गिलास चिया दिनोस् । अनि भन्नोस्, तपाईँ कसरी आफ्नो जिन्दगी बिताउँदै हुनुहुन्छ ?”
उसले आमातिर हेर्‍यो, उसका नसा-नसा मुस्कुराउँदै थिए । आमालाई ऊ असाध्यै नजिकको र प्यारो लाग्दै थियो, उसका बाटुला आँखामा स्नेह र अलिकति उदासीको भावना चम्कँदै थियो ।
“आन्द्रेइ, मलाई असाध्यै माया लाग्छ तिम्रो !” – आमाले लामो सास फेर्दै भनिन् । उनी उसको दुब्लो पातलो, हास्यापद तरिकाले डल्ला-डल्ला परेको कपाल हेर्दै थिइन् ।
“आमा, मलाई तपाईँको अलिकति पनि मायाले सुखी बनाउन सक्छ । मलाई थाहा छ, तपाईँ मलाई माया गर्नुहुन्छ । तपाईँ सबैलाई माया गर्न सक्नुहुन्छ । तपाईँको हृदय विशाल छ !” – उसले मेचमा झुल्दै भन्यो ।
“होइन, मलाई तिम्रो असाध्यै माया लाग्छ !” – आमाले जोड दिँदै भनिन् – “यदि तिम्री आमा जीवित हुनुभएको भए तिमीजस्तो छोरा भएकोमा सबैले उहाँको ईर्ष्या गर्थे होलान् .. ।”
उक्राइनीले आफ्नो टाउको हल्लाउँदै जोडले दुवै हातले टाउको मोल्न थाल्यो ।
“कहीँ न कहीँ त मेरी आमा अवश्य हुनुपर्छ !” – उसले बिस्तारै भन्यो ।
“थाहा छ, आज मैले के गरेँ ?” – आमाले दङ्ग पर्दै भनिन् र बडो उत्साहसहित कसरी उनी पर्चाहरू लिएर फैक्ट्री गएकी थिइन् भन्ने कुरा बताउन थालिन् । उत्साहको आवेगमा उनी यो घटना अलि बढाइचढाइकन बयान गर्दै थिइन् ।
सुरुमा त आन्द्रेइका अनुहारमा आश्चर्यको भावना देखियो, तर एकछिनपछि ऊ बडो जोडले हाँस्न थाल्यो ।
“ओहो !” – उसले खुसीले चिच्याउँदै भन्यो – “यो कुनै सानोतिनो कुरा होइन ! यो हाम्रा लागि ठूलो सहायता हो ! पाभेल बडो खुसी हुनेछ । गजब गर्नुभो आमा तपाईँले ! पाभेलका लागि, सबैका लागि, यो गजबको काम भयो !”
उसको पूरा शरीर झुल्दै थियो । उसले चुट्की बजायो र सुसेली हाल्यो । उसको अनुहार हर्षले प्रफुल्लित थियो । आमा आफ्ना भावनाहरूमा त्यो हर्ष र उल्लासको पूर्ण प्रतिध्वनि पाउँदै थिइन् ।
“मेरो प्यारो आन्द्रेइ !” – आमाले भनिन् । उनको मुटुको ढोका एक्कासि खुलेजस्तो लाग्यो र शब्दहरूको एक प्रबलधारा, जसमा शान्त उल्लासको कलकल ध्वनि थियो, प्रवाहित भयो – “जब म आफ्नो जीवनबारे सोच्न थाल्छु .. लाग्छ हे ईश्वर ! के का लागि बाँचेकी रहेछु त म ? रातदिन काम गर्नु छ .. अनि पिटाइ खानु छ .. म आफ्नो लोग्नेलाई बाहेक अरू कसैलाई देख्दिनँ .. डरबाहेक जीवनमा मलाई अरू केही कुरा थाहा थिएन । मैले त यतिसम्म पनि चाल पाइनँ, कहिले पाभेल हुर्केछ । जबसम्म लोग्ने जिउँदो थियो, आफ्नो छोरालाई माया गर्थेँ कि गर्दिनथेँ भन्नेसम्म पनि मलाई थाहा थिएन । मेरा सबै विचार र चिन्ताहरू एउटै कुरामा केन्द्रित थिए – कसरी त्यस निर्दयी जनावरलाई कोची-कोची खुवाउने ? उसको जुनसुकै आज्ञा पनि झटपट पूरा गरिहाल्नुपर्थ्यो, ताकि नकुटिहालोस् । जिन्दगीमा एकपल्ट भए पनि दयामाया गरोस् । मलाई याद छैन, कहिल्यै उसले ममाथि दया गर्‍यो वा गरेन ? ऊ मलाई यसरी कुट्थ्यो, मानौँ ऊ आफ्नी स्वास्नीलाई होइन ती सबै मानिसहरूलाई कुट्दैछ, जोसँग ऊ रिसाएको छ । बीस वर्षसम्म मैले यसरी जीवन बिताएँ । मैले बिलकुल बिर्सिसकेकी थिएँ, बिहे गर्नुभन्दा अगाडि मेरो जीवन कस्तो थियो ? अहिले पनि जब म सोच्ने प्रयास गर्छु, एक शून्यबाहेक अरू केही देख्दिनँ । एगोर इभानोभचि यहाँ आएका थिए, हामी दुवै एउटै गाउँका बासिन्दा रहेछौँ । उनले हाम्रो गाउँबारे धेरै कुरा बताए । तर म त के भन्न सक्थेँ र ? मलाई आफ्नो घरको सम्झना छ, आफ्ना परिवारको सम्झना छ, तर उनीहरू कसरी बस्थे, के भन्थे र पछि गएर उनीहरूको भविष्य कस्तो भयो, केही याद छैन । मलाई ज्वालामात्र याद छ, दुई ज्वालाहरू । यस्तो लाग्छ, मलाई कोर्राले हिर्काउँदै मेरो शरीरको प्रत्येक कुरा निचोरिदिएका छन् र मेरो आत्मालाई अन्धो र बहिरो बनाएर थुनिदिएका छन् .. ।”
पानीबाट निकालिएको माछाजस्तो उनी सास फेर्न बारम्बार मुख खोल्थिन् ।
“जब मेरो लोग्ने मर्‍यो ।” – उनले अगाडि झुक्दै सानो स्वरमा भनिन् – “तब मैले आफ्नो छोरातिर ध्यान दिन थालेँ, तर त्यतिन्जेल ऊ यस काममा फसिसकेको थियो । मलाई बडो पिर पर्‍यो र उसबारे डर लाग्न थाल्यो । यदि उसलाई केही भयो भने मैले कसरी बाँच्ने हो ? कस्तो-कस्तो दुःखमात्र मैले भोगिनँ । जब म उसको भविष्यबारे सोच्न थाल्थेँ, तब मेरो मुटु फुट्लाजस्तो हुन्थ्यो ।”
उनी एकछिन थामिइन् र टाउको हल्लाउँदै बडो अर्थपूर्ण तरिकाले भनिन् –
“हामी आइमाईहरूको प्रेम पवित्र हुँदैन । हामी त्यही कुरासँग प्रेम गर्छौँ, जसको हामीलाई खाँचो छ तर जब म तिमीलाई हेर्न थाल्छु, तिमी आफ्नी आमाका लागि यति दुःखित छौ तर के काम उनी तिमीलाई ? अनि अरू ती सबै मानिसहरू, जो अर्काका लागि पिरमर्का सहँदैछन् .. जेल जान्छन्, साइबेरिया जान्छन् .. मर्छन् भर्खरकी केटीहरू त्यति राति, हिलो, हिउँ र पानीमा एक्लै हिँड्ने गर्छन् । सहरबाट हाम्रो घरसम्म डेढ–दुई कोसको बाटो राति पैदल आवतजावत गर्छन्, यो केका लागि ? उनीहरू सबै केका लागि गर्छन् यी सबै कुरा ? किनभने उनीहरूको हृदयमा एक महान् पवित्र प्रेम छ । अनि उनीहरूमा विश्वास छ – एक गहन आस्था छ, आन्द्रेइ । तर जहाँसम्म मेरो कुरा छ, म यसरी प्रेम गर्न जान्दिनँ । ममात्र त्यस कुराको प्रेम गर्छु, जुन मेरो आफ्नो छ, जुन मेरो हृदय नजिक छ ।”
“होइन आमा, तपाईँ सक्नुहुन्छ ।” – उक्राइनिले आफ्नो आदतअनुसार दुवै हातले टाउको, गाला र आँखा मोल्दै भन्यो – “प्रत्येक व्यक्तिलाई नजिकको कुरा प्यारो हुन्छ, तर विशाल हृदयका लागि टाढाको कुरा पनि नजिकको बन्न जान्छ । तपाईँ धेरै कुरा गर्न सक्नुहुन्छ । तपाईँको हृदयमा आमाको महान् प्रेम निहित छ .. ।”
“ईश्वरले मेरो सहायता गरून् !” – आमाले बिस्तारै भनिन् – “म आफैँ देख्दै छु, मान्छेले यसरी नै बाँच्नुपर्छ । हेर न, म तिमीलाई माया गर्छु, हुन सक्छ पाभेललाई भन्दा पनि बढी माया गर्छु । ऊ सधैँ आफैँभित्र गुम्सेर बसेको हुन्छ .. हेर न, ऊ सासासँग बिहे गर्न चाहन्छ तर म ‘आफ्नी आमा’सँग एक वचन पनि सोध्दैन .. ।”
“होइन, आमा त्यसो होइन ।” उक्राइनिले विरोध गर्दै भन्यो – “मलाई थाहा छ, कुरा त्यस्तो होइन । हो ठिक हो, ऊ उनीलाई प्रेम गर्छ र उनी पनि उसलाई प्रेम गर्छिन् । तर बिहेचाहिँ उनीहरूले गर्ने छैनन् । उनी त गर्न चाहन्छिन् तर पाभेल चाहँदैन .. ।”