”डरको कुरो कसले पो गरेको छ र ? म कसैसँग डराउँदिन । अँ ,बरु प्रभावशाली व्यक्तिहरूलाई सम्झाइबुझाइ गरेर दबाब दिएर …”
”हृदय परिवर्तन गर्ने भन्नुभएको होला । तिनीहरू डाँका र हामी सर्वोदय कार्यकर्ता (सर्वोदय आन्दोलन: गान्धीको अहिंसावादी नीतिमा आधारित समाज सुधारको आन्दोलन । खराब मनोवृतिको मानिसको हृदय परिवर्तन गरेर उसलाई सकारात्मक बनाउने आन्दोलन ।) हौँ र ? यथार्थमा टेकेर हेर्नुस् । जनताको बिचमा जसो भनेर गइएको छ ,त्यो कुरो कार्यान्वयन गरिएन भने जनताबाट अलग्गिने छौँ हामी, अलग्गिइ सकेका छौँ ।”
”तिम्रो कुरो ..”
“नक्सली कुरो होइन ,सामन्तदा । पार्टीको सच्चा कार्यकर्ताको गुनासो हो । तपाईँ मान्नुस् वा नमान्नुस् , पार्टीबाट जसले कहिल्यै केही फाइदा लिएका छैनन् त्यस्ता मानिसहरू पनि निकै छन् । काम गर्नुपर्यो, काम । काम गर्न दिनुस् अनि फेरि भोट माग्ने आवश्यकतै पर्दैन ।”
“ त्यो त निश्चितै हो र जित्ने पनि हामी नै हौँ । ”
“नकारात्मक भोटले ,किनकि पार्टीको विकल्प छैन । तर काम किन नगर्ने त ?”
“काम गर न तिमीहरू । काम गर्नबाट कसले छेकेको छ र तिमीहरूलाई ?”
“बाहिरी व्यवधानबाट डर छैन ।”
“पार्टीको सच्चा कार्यकर्ता जस्तोसुकै बाधा अडचनबाट पनि डराउँदैन । तिमीले जे सुनेका छौ त्यो कुरो साँचो होइन । मलाई थाहा छ तिमीले यी कुराहरू कुन श्रोतबाट सुनेका हौ । साहूको जमिनमा मोही दर्ता भयो । त्यसमा कतैबाट केही बाधा आयो त ?”
“जति जमिनमा बर्गा दर्ता भयो, त्यो पनि उल्लेखनीय छ । तर साहूहरू कति धेरै जमिनका मालिक छन् । तीनको त साराका सारा जमिन बाँकी नै छ । यो कुरो मेरो मनमा बिझिरहेको छ ।”
“बिस्तारै-बिस्तारै अघि बढ्नुपर्छ ।”
“खेतमजदुरका बारेमा के गरौँ त ?”
“सरकारी सहायता दिलाउने प्रयास गरौँला तर शान्तिपूर्ण तरिकाले । जग्गा केन्द्रित संसारलाई तिमी बुझ्दैनौ । एकदम जन्जाली ठाउँ हो यो । शत्रुहरू हामीलाई हेरिरहेका छन् । विरोधीहरूको षडयन्त्रको कुनै अन्त्य छैन । बल प्रयोग गर्दा आन्दोलन सुरु हुन्छ , कानून र अनुसन्धानको कुरो अघि आउँछ ।”
“सामन्तदा , पार्टी कार्यकर्ताको नाताले म यो बुझ्दछु कि तपाईँहरू आन्दोलनबाट किन यतिबिधि तर्सिनुभएको छ । जोतदार तल्सिङलाई जमिन आफ्नो अधीनमा राख्ने अधिकार छ तर के कार्यकर्ताको स्तरबाट संयुक्त आन्दोलन गरेर तेभाग(त्रिखण्डी) आन्दोलनले गर्न नसकेका लक्ष्यहरू पुरा गर्ने अधिकार छैन ? मिठागुलिया कुरा गरेर बिर्तावालहरूले कृषि मजदुरहरूलाई सरकारी दरअनुसारको ज्याला दिन्छन् ? यो दररेट त हामी आन्दोलनमार्फत मात्र जनतालाई दिलाउन सक्छौँ र जनताको विश्वास पाउन सक्छौँ । कानूनसम्मत आन्दोलनबाट किन यतिविधि डराउनु हुन्छ ? सहरमा पनि त्यही हालत, गाउँमा पनि त्यस्तै । यस्तै कुराहरूको लाग पाएर व्यापारीहरू ,कालाबजारियाहरू, दलालहरू र थोकव्यापारीहरूले मनखुसी मूल्यवृद्धि गरेका छन् र मुनाफा लुटिरहेका छन् । यो कुरा तपाईँलाई राम्रोसँग थाहा छ । तर वस्तुहरूको मूल्यवृद्धिको विरोधमा समेत आज आन्दोलन सम्भव छैन । जुन आन्दोलनले हामीलाई जनताको नजिक पुर्याउँछ ती सम्पूर्ण आज बन्द छन् । किन बन्द छन् ? कार्यकर्ताहरूलाई कसरी सिकाउने ? कुनै आन्दोलनमा जनताको सहभागिता नभईकन नयाँ कार्यकर्ता पार्टीमा आओस् कसरी ?”
“ आन्दोलनका बारेमा धारणा पनि त फेरिँदै छ नि ।”
“आन्दोलन नचलाएपछि कार्यकर्ताहरूको नैतिक पतन हुनेछ , इमान्दार कार्यकर्ताहरू निराश र हतास हुन्छन् भन्नेकुरा तपाईँहरूले नबुझेको देख्दा मलाई उदेक लागिरहेको छ । अर्कोतिर जो लुटपाट गरेर खाइरहेका छन् तीनको लुट जारी छ । यस्तो हुँदाहुँदै पनि फेरि जनताको भोट पाउने आशा गर्नुहुन्छ । भोट त पाइन्छ तर नकारात्मक भोट । त्यो पनि विकल्प नभएकाले गर्दा मात्रै हो । तर जनताले हामीलाई माया गरेर हामीउपर आस्थावान् भएर सकारात्मक भोट दिऊन् ,त्यस्तो स्थिति पनि त हामी बनाउन सक्छौँ परन्तु बनाइरहेका छैनौँ ।”
“तर शिक्षित मतदाताले त्यसो भनेका छैनन् ।”
“तीनका लागि हामीले तलबवृद्धि आदि गरेका छौँ नि ।”
“के तिमी फगत नकारात्मक पक्षहरूमात्रै देख्छौँ ?”
“पार्टी मेरो जीवन हो ,सामन्तदा । यसको सफलतालाई म परसम्म पुर्याउन चाहन्छु । तर के आफ्नो पिठ्युँमा आफैँले धाप मारेर त्यसो गर्न सम्भव छ र ? तपाईँ खुला हृदयले भन्नुस् त ।”
“यस्तै हुनसक्छ भने ठिक छ । तिमी काम गर । सोरेन र उद्धवलाई जति चाँडो सकिन्छ पार्टीमा ल्याऊ ।”
बाम्भोनीको डेरामा इन्द्र स्थिर भएर बसिरहँदैन । उसको हृदयमा आघात छ, डरलाग्दो अस्थिरता छ । जेठ आउँछ हुरी बतास बोकेर । जेठमा आमन धानको बिउ छरिन्छ । पानी परेपछि धानका बिरुवा बढ्नेछन् । असारसाउनसम्म धान रोपिनेछ । यो रोपाइँ गर्न कृषि मजदुरहरू खेतमा आउँछन् । तीनले सरकारी दररेटअनुसारको ज्याला पाउनुपर्छ ।
हारान र लवण माझीले यसै वर्षदेखि आफ्नो अधीनमा आएको जमिन खनजोत गर्नेछन् । लवण अस्पतालमा आयो र भन्यो, “ यसपालि मालिकहरूले धानको बिउ नदिने भएका छन् । भन्छन् कि तिमीहरूले कानूनको बलमा मोही कायम गरेका छौ भने बिउबिजन किन दिऊँ ?”
“यत्तिका दिन किन दिए त ?”
“कहाँ हुन्थ्यो ? बिउ ,ऋण सापटी दिन्थे ,पछि कट्टा गर्थे ।”
“हलो र गोरु नि ?”
“ गोरु त माग्थेँ ।”
“कोसँग ?”
“गाउँलेहरूसँग ।”
“बिउको ऋण के हिसाबले कटाउँथे त ?”
“तीन भाग उसको ,एक भाग मेरो ।”
“तिमीले केही पाउँथ्यौ त ?”
“कहाँ पाउनु ?”
“किन त ?”
“वर्षभरि खाएको नगदी जिन्सी कट्टी गर्दा त के बाँकी रहनु र ? कस्ताकस्ता शास्त्रका कुरा जान्ने तिमीहरू यति पनि बुझ्दैनौ ?”
“केही नपाउने भए किन खेती गर्यौ त ?”
“अनि जमिन बाँझै छोडनु त ?”
“यो साल के गर्छौ त ? हलगोरु बिउबिजन केही त छैन तिमीसँग । जमिन लिएर के गर्यौ त यसपालि ?”
लवण आशावादी छ । भन्न थाल्यो, “हारानले जसो भन्छ । मलाई त केही थाहा छैन । उही जान्दछ सबैथोक । आफ्नो बारीको फर्सी एक रुपियाँमा दिइदिऊँ भन्या त खोसेर लगेर तीन रुपियाँमा बेचिदिन्छ । उसैले सललाह दिन्छ । यस्तो कुरा उसलाई खुब थाहा छ ।”
“अस्पताल किन आयौ त ?”
“औषधि लिन ।”
दिनुले उसको हातको खाली सिसी देखेर सोध्यो,“ सबै औषधि पियौ कि क्या हो ? सिसी त रित्तै छ त ?”
“पिएँ ।”
“जाऊ ,गएर भन ।” भन्दै दिनुले इन्द्रसँग भन्यो,“ हेर्नुस् इन्द्रदा, पोलेको घाउमा लगाउनका लागि दिएको रातो झोल त सबै पिइदिएछ यसले ।”
लवण अर्थ्याउन थाल्यो,“ खुट्टामा घाउ भएको छ । औषधि खाइसकेँ । घरका फुल चल्ला सबैको बेथा निको भयो तर मेरो भने..” कुरो पुर्याउन नसकेर होला उसले बाठो मान्छेले झैँ फेरि कुराको सिलसिला फेर्यो , “बाबु, जमिन त दर्ता गराइदियौ तर हलोगोरु र बिउ त तिनीहरूबाटै लिइएको थियो ,त्यसैले तीन भाग उब्जा उनीहरूले नै लिए । धर्म र कानूनले पनि भन्छ –बिउ,हलगोरु मेरो भए तीन भाग मेरो र एक भाग उसलाई दिउँला । ”
कदमले भन्यो, “ कानूनले पनि यसै भन्छ तर मान्दैन । आधी माग्यो र लिइछाड्यो ।”
“यो कामचाहिँ गरिदेऊ ।”
लवण हाँस्यो , आस्थापूर्ण हाँसो । इन्द्रले बिस्तारै भन्यो, “ फसल तयार होस् न । त्यही बेलामा हेरौँला । कानून त छ तर चलनमा जे चलेको छ त्यही नियम बनिदिन्छ ।”
“यो कामचाहिँ गराउनुपर्यो ।”
“बाली पाकोस् ।”
“ऋण देखाएर धेरै कटाउने हो कि ?”
“होइन, होइन । त्यति ऋण त कहाँ छ र ?”
यो बोध गराइदिएपछि निश्चिन्त भएर लवण औषधि लिन गयो तर तुरुन्तै फर्केर आयो । केही बिर्सेझैँको अभिनय गर्दै कपाल कन्याउँदै अघिल्तिर उभियो । गम्छामा बाँधेको अलिकति चिउरा अगाडि राख्दै भन्यो,“तपाईँ ..होइन ,होइन । तिम्रा लागि जहानले पठाइदिएकी । जग्गा दिलाइदियौ नि ।”
लवण गयो ।
इन्द्रले भन्यो,“अझै पनि यस्तो सोझो छ ।”
रजतले भन्यो, “गजबका मान्छे छन् । धान, चामल,मुसुरो किन्न जाँदा यिनलाई तौलमा ठगिन्छ । हाटमा एक रुपियाँ दिएर ठुलाबडाले यिनको झुपडी किनिदिन्छन् । हुन त अड्सठ्ठी उनानसत्तरी सालपछि त्यस्तोचाहिँ भएको छैन ।(सन् १९६७ र ’६९मा संयुक्त मोर्चाको वाम सरकारले पश्चिम बङ्गालमा सत्ता सम्हालेको थियो र त्यसपछि सन् १९७७ देखि २०११ सम्म निरन्तर भाकपा(मा)को सरकार सत्तामा रह्यो ।)”
दिनुले भन्यो,“त्यसबेलामा सबै ठुलाबडा थर्कमान भएका थिए ।”
असहिष्णु हुँदै इन्द्रले भन्यो, “फेरि थर्कमान हुनु पर्नेछ । साँच्चै यो भन त उसले फ्याट्ट यो किन भन्यो कि कानूनमा तीन र एक भागबण्डा तोकिएको छ ?”
“सोरेनले भनेको होला । सबैजना उसलाई निकै मान्दछन् ।”
“सोरेनले हामीसँग भन्नुपर्थ्यो नि ।”
“भनेर के हुन्छ ? कसैले पनि बर्गादारलाई तीनखण्ड दिँदैनन ।”
“हेरौँला ।”
“यस पटक के गरौँ ? बसौँ ?”
“अहँ , बस्दिन ।”
काम माग्दै थिए दिनु,रजत,कदम र गौर । कदमकुवाँ क्षेत्रको चरण,मोहन र भुपाल पनि आउन खोजिरहेका थिए । कार्यकर्ताहरू काम गर्न चाहिरहेका छन् । काम गरेर जनताको हृदयमा पस्न चाहन्छन् ।यसै भएर इन्द्रको आत्मविश्वास बढेको हो त ? नत्रभने सदरमुकाम गाउँमा मोतीबाबुको जमिन हेर्न र बर्गादारहरूसँग कुराकानी गर्न किन गयो त ?
सदर गाउँ र ब्लकको तस्बिर बेग्लै खालको छ । त्यहाँ पुलिस चौकी, ब्लक अफिस,ग्रामीण बैङ्कको शाखा,कुखुरापालन,प्रशिक्षण केन्द्र,मिसनरीहरूको आवतजावत,तुलसी स्वामीमार्गीको भजनकिर्तनद्वारा आत्मउन्नयन,लाइसेन्स प्राप्त रक्सीभट्ठी तथा जनता, बजार आदि सबैथोक छ । बसाई टुडुको पाँचौँ पटकको मृत्यु यही सदर गाउँको नजिकैको चरसाको जङ्गलमा भएको थियो । त्यसपछि नै यो सदर गाउँ यति चम्केको हो । नन्दिता बराटले यहाँ समाजसेवा केन्द्र खोलेर अनाथ शिशुहरू पाल्न इच्छा गरेकी थिइन् तर यथेष्ट सङ्ख्यामा अनाथ शिशुहरू उपलब्ध नभएकाले उनको शुभेच्छा कार्यान्वयन हुन सकेन । सदर गाउँमा केही होर्डिङ बोर्डहरू पनि प्रदर्शनीमा थिए जसमा लेखिएको थियो–
हिंसाबाट जोगिनुहोस्। उब्जनी बढाउनका लागि ब्लक कार्यालयलाई सहयोग गर्नुहोस् ।
हिंसाबाट जोगिनुहोस् । सञ्चयमा मन लगाउनुहोस् । ग्रामीण बैङ्कमा पाल्नुहोस् ।
हिंसाको बाटोबाट कुखुरापालन सम्भव छैन । व्यवहारिक प्रशिक्षणका लागि यस केन्द्रमा पाल्नुहोस् ।
हिंसा होइन, प्रभु इशुबाट नै तपाईँको समस्याको समाधान हुन सक्छ ।
हिंसा गरेर कहाँ जान्छौ, भाइ ? तुलसी मार्गीहरूको कीर्तनद्वारा नै शान्ति मिल्दछ ।
हिंसाको कुरो बिर्सेर सहकारिता बजारमा पाल्नुहोस् । यहाँ कोदालोदेखि प्रेसरकुकरसम्म सबै सामग्री उपलब्ध छ ।
बनीबनाउ होर्डिङबोर्ड यति मात्र होइन ,सदर गाउँका बारेमा अरू पनि थुप्रै सरकारी प्रचारहरू प्रचलित थिए । प्रशासनको आतङ्कको श्रोत बसाइ टुडु यही गाउँ नजिक मारिएका हुनाले र कुरौनी बिक्री केन्द्र नै सदर गाउँको हिंसाको जन्मथलो हो भन्ने सोचका कारणले नै निकै विचार गरेर यी होर्डिङहरू यस क्षेत्रमा राखिएका थिए । यो गाउँका तेह्र जना साक्षर व्यक्तिहरू गाउँबाहिर जागिर खान्थे । त्यसैले यी होर्डिङहरू गाउँका कसैले पढन सक्दैनन् । होर्डिङका मालिकहरू यस कुरालाई त्यति महत्त्व दिँदैनथे । शिक्षाको विस्तारका लागि यस ठाउँलाई खतराजनक ठानिएको थियो । त्यसैले यहाँ प्राथमिक विद्यालय समेत खोलिएको थिएन ।
यस गाउँमा राजनीतिक सभाहरू पनि प्रायः भइरहन्थ्यो । गाउँका आदिवासीहरू गाउँको यो विकासबाट निकै प्रसन्न थिए किनकि धेरैजसो भवनहरूको निर्माण गर्नका लागि धेरैजसो मानिसहरूले आफ्नो जमिन बेचेका थिए । कुरौनी नबेच्दाका बखतमा तिनीहरू सभाहरूमा भाषण सुन्ने गर्दछन् । हातमा पैसा पर्नासाथ रक्सीभट्टीतिर झुम्मिनुको साटो परस्पर देवानी मुद्दाहरू हाल्ने गर्दछन् । यस्तो किन भइरहेको छ? कुनचाहिँ मानसिकताको कारणले उनीहरू यसो गर्न प्रेरित भएका हुन ? यसको अध्ययन एउटा विशेषज्ञ दलले गरिसकेको छ । रक्सीको तुलनामा मुद्दामामिलाप्रति किन यिनीहरूको झुकाव बढ्यो? यसको कारण हो – गोठको लामखुट्टे । यी लामखुट्टेले टोकेपछि सोझा गाउँलेको मनमा ईर्ष्याभाव जागृत हुने गर्दछ र ती रक्सीतिर नलहसिएर मुद्दामामिलातिर अग्रसर हुन्छन् । विशेषज्ञहरूले पनि लामखुट्टेलाई नै मूल कारण ठहर्याएका थिए ।
साँझमा एउटा मौलिक प्यारोडी सुनियो –
यसपालि मरेर वकिल भएँभने
मुण्डमालासहित हे माता
तिमीलाई कठघरामा उभ्याउने छु
मोतीबाबुका साधक काका हरकाली साहित्यभारती बि. यल.द्वारा रचित यो गीत गाउँमा निकै लोकप्रिय भइसकेको छ । देशवासीको प्रतीक्षा नगरी उनी आफूले आफैँलाई साहित्य भारतीको उपमाले विभूषित गरेका थिए । वकालतको परिभाषामा प्यारोडी गीत रचेर उनले हालैमात्र हरकाली साधनोचित धामको प्रमाणपत्र प्राप्त गरेका थिए । यो गीत सुनेपछि शोधार्थीहरू आत्तिएर आफ्नो मौलिक शोधपत्र काखी चेप्दै गाउँबाट लुसुक्क निस्केका थिए ।
यस्तो गाउँमा इन्द्र उपस्थित भयो । तुषार पात्र पहिलेदेखि नै त्यहीँ थियो । उसले पटकपटक भनेको थियो,“ मलाई नफसाउनु होला । जग्गा दर्ता गराउन, वर्ग कायम गराउन मलाई त्यहाँ निकै सहयोग मिलेको थियो । यो जमिनलाई लिएर किन मेरो खेदो गर्नुहुन्छ ?”
“दर्ता गर्नलायक जग्गा कति छ ?”
“सत्ताइस अठ्ठाइस बिघा होला ।”
“यत्ति ?”
“कतिपय मान्छेहरू त कति धेरै जमिन हुँदाहुँदै पनि छुटेका छन् ,महासय । तपाईँ जग्गामा अवश्य जानुहुन्छ । मलाई त्यस्तै लागिरहेको छ । गोरा बाबु तपाईँहरूको समितिको पुरानो मान्छे हुनुहुन्छ । उहाँले धेरै सहयोग गर्नुभएको छ तर हुनुहुन्छ सैनिक मिजाजको मान्छे ।”
“म जग्गा हेर्न जानेछु । ”
तर इन्द्रले मोतीबाबुको जग्गा हेर्न पाएन । गोराले भनेको थियो, “यहाँ तिमीहरू आउनुपर्ने कुनै आवश्यकता छैन । इन्द्र प्रामाणिक,आफूलाई बडो सज्जन मान्छे भन्ठान्या छौ ,होइन ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।