परिच्छेद १९

लोग्नेमान्छेहरू बसेको टेबुलमा चलिरहेको कुराकानी अत्यधिक पारोमा सजीव हुँदै गइरहेको थियो । कर्नेलले सुनायो- युद्ध घोषणा भएको खबर पिटर्सबर्गमा प्रकाशित भइसकेको छ र त्यसको एक प्रति, जो उसले आफ्नै आँखाले देखेको थियो, सन्देशवाहकका हातमा आजै प्रधान सेनापतिकहाँ पठाइसकिएको थियो ।

“हामीलाई के दशा लागेको छ र बोनापार्टसँग लडाइँ गर्न जाने ?” सिनसिनले तर्क गर्‍यो । उसले अस्ट्रियाको सेखी झारिसकेको छ र मलाई त डर लागिरहेछ कतै अब हाम्रो पालो पनि आउने त होइन ?”

कर्नेल एउटा बलिष्ठ, अग्लो र कट्टर जर्मन सैनिक-अफिसर थियो तापनि ऊ रसियाली सैनिक सेवामा तनमनले समर्पित थियो । उसलाई सिनसिनका कुरा मन परेनन्‌ ।

“यसकारण”, उसले जर्मन शैलीमा रसियाली शब्दहरूको गलत उच्चारण गर्दै जवाफ दियो, “यसकारण कि सम्राट्लाई थाहा छ ।” “उनले घोषणापत्रमा यो भनेका छन् कि उनी रसियामाथि मडारिइरहेको खतरा, साम्राज्यको सुरक्षा, त्यसको गरिमा र सैनिक सन्धिहरूको पवित्र मामलामा कसैले दखल गर्‍यो भने उनी उदासीन भएर रहन सक्तैनन्‌,” कर्नेलले सैनिक सन्धिमा कुनै कारण विशेष जोड दिदै अन्तिम शब्द बोल्यो- मानौँ यसमा नै सम्पूर्ण विषयको सार निहित थियो ।

……र यस पछाडि सरकारी कागजपत्रहरूका सम्बन्धमा आफ्नो स्वभावगत स्मरणशक्तिको बलमा उसले घोषणापत्रको प्रस्तावनामा लेखिएका यी शब्दहरू दोहोर्‍यायो : “युरोपमा शान्तिको स्थायी- जग बसाल्ने इच्छाले- जो सम्राट्को एक मात्र र अपरिहार्य लक्ष्य हो, केही सेनालाई यही इच्छापूर्तिका लागि एउटा नयाँ प्रयास गर्ने विचारले विदेश पठाउने निर्णय गरिएको छ ।”

“त्यसैकारण प्रिय महासय,” गर्वका साथ गिलासको रक्सी सिध्याउँदै र समर्थनका लागि काउन्टरतिर हेर्दै उसले आफ्नो कुरा टुङ्ग्यायो ।

“यो उखान सुनेका छौ के ? ऐनामा आफ्नो अनुहार हेर, आफ्नो हैसियत र यथार्थ थाहा पाऊ,” आँखी भौँ खुम्च्याउँदै र मुस्कुराउँदै सिनसिनले जवाफ दियो । यो उखान हामीहरूमाथि व्याक्कै लागू हुन्छ । अरूको त के कूरा सुवोरोभ जस्ताले पनि घुँडा टेक्नु परेको इतिहास आलै छ । आज सुवोरोभहरूजस्ता बहादुर सेनापति कहाँ खोज्न जाने ? तिमीसँग यो मेरो प्रश्न हो,” ऊ रसियालीबाट भाका फेर्दै फ्रान्सेली भाषामा लगातार बोल्दै गयो ।

“हामीहरू शरीरमा एक थोपा रगत रहेसम्म लड्नुपर्छ,” कर्नेलले टेबुलमाथि मुक्का बजार्दै भन्यो । हामीले सम्राट्का लागि ज्यान पनि दिनुपर्छ अनि सबै ठीक हुन्छ र जहाँसम्म सम्भव हुन्छ, हामीले (सम्भव शब्दलाई लामोसँग तान्दै) नकारात्मक सोचाइ राख्नु हुँदैन । उसले फेरि काउन्टतिर हेर्दै आफ्नो तर्क समाप्त गर्‍यो । हामी बुढा हुस्सारहरूको विचारमा यस्तो लाग्छ- तिमी तन्नेरी हुस्सारलाई कस्तो लाग्छ ? उसले निकोलासलाई सम्बोधन गर्दै सोध्यो, जसले लडाइँको चर्चा सुन्नेबित्तिकै जुली कारागिनासँग कुरा गर्न छोडेर कर्नेलतर्फ ध्यान केन्द्रित गरेको थियो ।

“म तपाईँसँग शतप्रतिशत सहमत छु,” निकोलासले अनुहार एकदम रातो गराउँदै प्लेट यताउति घुमाउँदै र रक्सीको गिलासलाई निर्णय र निराशापूर्ण स्थितिमा छचल्क्याउँदै भन्यो मानौँ ऊमाथि यसै क्षण कुनै ठूलो खतरा आइलागेको होस्‌ । मलाई यस कुरामा रत्तिभर शङ्का छैन? रसियालीहरूले कि जित्नुपर्छ कि मर्नुपर्छ, उसले भन्यो र यति भनेको एकछिनपछि अरूले जस्तै उसले पनि यो महसुस गर्‍यो कि उसले यसबेला जरुरतभन्दा धेरै बढी जोस पोख्दै र जोड दिँदै यो कुरा गरेको थियो र यसकारण उसलाई गाह्रो अनुभव भइरहेको थियो ।

“एकदम ठिक कुरा गर्‍यौ,” सँगै बसेकी साथी जुलीले भनी । निकोलास बोलिरहेका बेला सोन्या शिरदेखि पाउसम्म कामिरहेकी थिई ।

उसको कान, कान पछाडिका लोती, गर्धन तथा काँधसम्म एक प्रकारको लाली चढेर आयो । पियेरैले पनि कर्नेलका कुरा सुनेर सहमति जनाउँदै शिर हल्लायो । “एकदम सही कुरा,” उसले भन्यो ।

“नव युवक, तिमी एउटा सक्कली हुस्सार रहेछौ,” कर्नेल फेरि एकपटक टेबुलमाथि मुक्का बजार्दै चिच्याएर उफ्रयो ।

“तिमीहरू किन हल्ला गरिरहेछौ ?” अचानक टेबुलको पल्लो छेउबाट मार्या दभित्रीयेभ्ताको ठूलो स्वर सुनियो । किन टेबुल बजारेको ? उसले हुस्सारलाई प्रश्न गरी । “किन त्यत्तिकै जोसिन्छौ ? के तिमी यहाँ फ्रान्सेलीहरू छन्‌ भन्ने ठान्छौ ?”
“मत सही कुरा गरिरहेछु,” हुस्सारले मुस्कुराउँदै जवाफ दियो ।
“यहाँ युद्ध सम्बन्धमा छलफल भइरहेछ,” टेबुलको अर्को छेउबाट काउन्ट पनि कुर्ले । “तिमीलाई थाहा छ, मार्या दमित्रीयेभ्ना, मेरो छोरो पनि युद्ध मोर्चामा भिड्न गइरहेछ ।”

मेरो पनि चारै भाइ छोराहरू सेनामै छन्, तैपनि म पिर मान्दिनँ । सबै कुरा भगवान्को हातमा छ । मान्छे सुतेको सुत्यै आफ्नै बिछ्याउनामा पनि मर्न सक्छ युद्धबाट बाँचेर फर्कन पनि सक्छ,” मार्या दभित्रीयेभ्नाले गह्रुङ्गो आवाजमा उत्तर दिई । “सही कुरा हो । एकदम सही कुरा” उसको बोली कोठाभरि फैलिएर सबैको कानमा ठोक्किन पुग्यो ।

एकपटक फेरि टेबुलको एकातिर महिला र अर्कोतिर पुरुषहरूको गफ सुरु भयो ।
“तिमी सोध्दिनौ ?” नताशाको सानोभाइले भन्दै थियो, “मलाई थाहा छ तिमीले सोध्दिनौ ।”
“सोध्छु,” नताशाले जवाफ दिई ।

नताशाको अनुहार अचानक आवेग र प्रफुल्लताले तमतमाएर आयो । ऊ आधा शरीर उठी । उसले आफूसामुन्ने बसिरहेको पियेरेलाई हेर्दै आफ्नो कुरा ध्यानपूर्वक सुत्न आग्रह गरी र आफ्नी आमालाई भनी “आमा,” उसको सङ्गीतमय आवाज टेबुलको एक छेउबाट अर्को छेउसम्म गुन्जियो
“के भयो र छोरी ?” काउन्टेसले आत्तिँदै सोधिन्‌ । तर छोरी त्यत्तिकै जिस्किरहेझैँ लागेर रिसाउँदै उनले दाहिने हातको चोर औँला ठड्याइन्‌ र टाउकाको इशाराले हप्काइन्‌ र उसलाई बोल्न निषेध गरिन्‌ ।
वातावरण शून्य भयो ।
“आमा, आज हामीले कुन मिठाइ खाने हो ?” कुनै किसिमको झिँझो नमानीकन नताशाले सोधी । उसको आवाज पहिलेको भन्दा पनि माथिल्लो मानमा गुन्जियो ।

काउन्टेसले छोरीलाई झोँक देखाउने प्रयास गरेकी थिइन्‌, तर सकिनन्‌ । तर मार्या दमित्रीयेभ्नाले आफ्नो मोटा औँला देखाउँदै नताशालाई तर्साई ।
“कोजाक,” उसले नताशालाई धम्काउँदै भनी ।
“धेरैजसो पाहुनाहरूले नताशाले मच्चाएको यो उपद्रोलाई कुन रूपमा लिने भन्ने निर्क्यौल गर्न नसकेर उसका बाबुआमाका मुखतिर हेर्न लागे ।

“होस गर्‌, पछि मैले तँलाई के गर्ने, रहिछु,” काउन्टेसले भनिन्‌ ।

“आमा,” आज हामीले कुन मिठाइ खाने हो ?” आफूले गरेको यो असामयिक ठट्टालाई नराम्रो मानिने छैन भन्ने विश्वास गर्दै नताशा चञ्चलतामिश्रित प्रसन्नताले कराउँदै उठी ।

सोन्या र सानो मोटो पेत्या हाँसो थाम्न नसकेर मुख छोपेर बसे ।
“देखिस्‌ त, मैले सोधिहालेँ नि,” नताशाले फेरि पियेरेतर्फ हेर्दै आफ्नो सानो भाइलाई सान्त्वना दिँदै भनी ।

“आइसपुलाउ, तर तिमीहरूले सुघ्न पनि पाउँदैनौ,” मार्या दमित्रीयेभ्ताले भनी ।
नताशालाई यसमा डराउनुपर्ने कुरा केही होलाजस्तो लागेन र ऊ मार्या दमित्रीयेभ्नासँग पनि डराइन् ।

“मार्या दमित्रीयेभ्ना, कस्तो किसिमको आइसपुलाउ हो ? मलाई आइसक्रिम मन पर्दैन भने….।”

“आइसगाजर ।”
“होइन, मार्या दमित्रीयेभ्ना, कस्तो आइसगाजर ? कस्तो आइसपुलाउ ? म जान्न चाहन्छु,” नताशाले रुन्चे स्वरमा भनी ।

मार्या दमित्रीयेभ्ना र काउन्टेस मरी मरी हाँसे र सँगसँगै पाहुनाहरू पनि उस्तै किसिमले हाँसे । उपस्थित पाहुनाहरू पनि सबै हाँसे तर उनीहरू मार्या दमित्रीयेभ्नाले नताशालाई दिएको जवाफ सुनेर हाँसेका होइनन्‌-। उनीहरू त्यस फुच्चीको साहसपूर्ण र चतुरचापल्यताबाट प्रभावित भएर हाँसे- नताशा, मार्या दमित्रीयेभ्नाजस्ती मै हुँ भन्ने आइमाईलाई पनि ठाउँमा ल्याउन सफल भएकी थिई ।

नताशाले, भुइँ कटहरको आइसक्रिम हो भनेर आफूलाई आश्वासन दिएपछि मात्र शान्तिको सास फेरी या भनौँ उसकी आमा र मार्या दमित्रीयेभ्नाबाट ऊ तनावमुक्त भई । आइसक्रिसभन्दा पहिले स्याम्पेनको चक्कर चलाइयो । बाजाहरू फेरि बज्न थाले । काउन्ट काउन्टेसले आपसमा म्वाइँ साटासाट गरे । पाहुनाहरूले आ-आफ्नो ठाउँबाट उठेर काउन्टेसलाई बधाई दिए । र उनीहरू काउन्ट, केटाकेटीहरू र आफूहरूसमेत मिलेर एकआपसमा गिलास जुधाउन टेबुलमा ओइरिए । फेरि एकपटक नोकरहरूको दौडादौड सुरु भयो । कुर्सी र टेबुलहरू लतार्दा पहिलेको जस्तै आवाज आउन थाल्यो र पाहुनाहरू पनि आफूहरू प्रवेश गरेकै क्रममा तर राता-राता अनुहार लिएर एकएक गर्दै बैठक र काउन्टको कोठामा फर्के ।