‘ए, होइन तपाईंले विश्वास गर्नुहुन्न । अँ, त्यसपछि म पनि विश्वास गर्दिनँ,’ डेइजीले भनिन्‌ ।

ती युवती र उनको पर्यटक मार्गदर्शक दरबार परिसरको मूलद्वारको पर्खालतिर गइरहेका थिए । विन्टरबोर्न त्यहाँ केही समय अगाडि मात्र आएका भएपनि छिटै नै उनीहरूसँग बिदा भएर त्यहाँबाट हिँडेका थिए । विन्टरबोर्न एक सातापछि सिलियन पर्वतमा अवस्थित एक सुन्दर गाउँमा रात्रिभोजनको लागि गएका थिए। उनले रात्रि रमाइलो भएकाले फकँदा भाडाको टाँगामा आउन अस्वीकार गर्दै पैदल यात्राको आनन्द लिने निर्णय गरेका थिए। उनी आर्क अफ कन्स्ट्यानटाइन भित्रको एकतमासको उज्यालोमा स्मारकहरूको सभास्थल हुँदै पैदल फर्किरहेका थिए। चन्द्रमा बादलको पातलो घुम्टामा लुकिरहेकी थिइन्‌ र यो फैलिँदै गएर उनलाई पुरै ढाक्न खोजेजस्तो देखिन्थ्यो । उनको प्रकाश चहकिलो थिएन । उनले मलिन प्रकाश छाडिरहेकी थिइन्‌ । विन्टरबोर्न त्यहाँ आउँदा रातको एघार बाजसकेको थियो। उनी अचानक गोलाकार कोलोसियम रङ्गशालामा( इसाको पहिलो शताब्दी (इ.स. ७२ देखि ८१) मा निर्माण गरिएको ठुलो रङ्गशाला जहाँ त्रिस्चियन संस्कृति अनुसार हात हतियार सहितका तालिम प्राप्त योद्वाहरूको लडाइँको आयोजना सार्वजनिक रूपमा गरिन्थ्यो र पहिलाका धेरै त्रिस्चियनलाई दण्ड दिने क्रममा यस रङ्गशालामा जङ्गली पशुहरू राखी फालिएको पनि थियो। यसको निर्माण सम्राट भेस्पासियनले गरेका थिए । यसको लम्बाइ १८९ मिटर, चौडाइ १५६ मिटर र उचाइ ४५.७ मिटर थियो । यसमा ५०,००० मानिसका लागि आसन बनाइएका थिए ।) पुगे । उनी प्राचीन भवन र ठाउँको भ्रमण गर्न मन पराउने मानिस थिए। उनलाई लाग्यो, रङ्गशालाको भित्रीभागमा पहेँलो चन्द्रमाको प्रकाशमुनि हेर्नको लागि निकै योग्य ठाउँ हुनुपर्दछ । उनी पछाडि फर्कि त्यहाँ भएका धेरै खालीमध्येको एउटा गुम्बजमा पसे। उनले त्यो गुम्बजको नजिकै रोमन सडकमा हिड्नेमध्येको खुला सिट भएको एउटा टाँगा रोकिइरहेको देखे। त्यसपछि उनी त्यो विशाल रङ्गशालाका ठुला गुफाका जस्ता देखिने अँध्यारा भागहरू पारगर्दै जाँदा बिचको भागमा पुगेका थिए । त्यो विशाल ठाउँ, सफा र शान्त थियो । त्यो ठाउँ उनका लागि यसभन्दा अगाडि कहिल्यै पनि यति आकर्षक देखिएको थिएन। यसको आधाभागलाई कालो छायाँले ढाकेको थियो भने आधा भाग मधुरो प्रकाशको अँध्यारामा टल्किइरहेको थियो। उनी त्यहाँ उभिएर बाइरनको ‘म्यानफ्रेड’ नाटक भित्रका प्रसिद्ध कवितात्मक अंशहरू ( बाइरनको प्रसिद्ध नाटक म्यानफ्रेडको अङ्क तिनको तेस्रो दृश्यमा यस रङ्गखशालालाई चन्द्रमाको प्रकाशमुनि यसरी वर्णन गरिएको छ।

रङ्गशाला माथि लडिबुडी खेलेर हिँड्ने चन्द्रमा तँ चम्किइरहेको थिइनस्‌
नचम्किइरहे पनि त तैले फराकिलो सुकुमार प्रकाश त दिइरहेको थिइस्‌।
तेरो यो प्रकाशले बुढो र कठोर रङ्गशाला नरम भइरहेको थियो
भत्केर थोत्रो भएको निर्जन उजाड रङ्गशालामा तैले प्रकाश भरिरहेको थिइस्‌।
तेरो प्रकाशले यसको शताब्दीयौँ देखिको पुरानोपनलाई मेटी नयाँपन ल्याइरहेको थियो
तेरो प्रकाशले गर्दा यो सुन्दर भइरहेको थियो, जुन अहिलेसम्म पनि सुन्दर नै भइरहेको छ।
त्यसबेलासम्म नभएका कुरा जुन तैँले यसमा भरिरहेको थिइस्‌, जुन अहिले पनि छ
यो नै हाम्रो धार्मिक आस्था भएको छ र यसमा हाम्रो हृदय खुसीले उफ्रिरहेको छ ।
प्राचीनताको यो महानतालाई हामीले मौनरूपमा पूजा गरिरहेका छौँ
देशका शासकहरू, जसले अहिले पनि शासन गरिरहेका छन्‌ ।
तिनीहरूले दण्डको उपहार स्वरूप कतिलाई मृत्युको मुखमा यस रङ्गशालामा घचेटिरहेका थिए,
यी मरेका मानिसका कति आत्माहरू चिहानबाट अहिले पनि कराइरहेका छन । )

गुनगुनाउन सुरू गरेका थिए तर बिच्चैमा उनले त्यस विशाल रङ्गशालामा कविहरूद्वारा रात्रिध्यानको लागि सुझाउ दिने तर यसलाई चिकित्सकहरूले ( रातमा निर्जन ठाउँको भ्रमण गर्दा वा रात्रिध्यान गर्दा रोमन औलोले आक्रमण गर्न सक्ने सम्भावना हुन्छ भनी चिकित्सकहरूद्वारा महसुस गरिन्थ्यो ।) अस्वीकार गर्ने गरेको कुरा सम्झे। त्यो रङ्गशालामा निश्चय पनि पुरानो हावाको वायुमण्डल थियो। यसलाई वैज्ञानिक रूपले फोहोर र खराब गन्ध आउने वायुमण्डलभन्दा पनि नराम्रो ठानिन्थ्यो। उनी रङ्गशालाको अरू बढी कुरा हेर्न भनी बिचभागको मध्यबिन्दुतर्फ डराउँदै छिटोछिटो गइरहेका थिए। उनले त्यहाँ क्रिस्चियन सहिदहरूको सम्झनामा बनाइएको क्रिस्चियन धर्मको चिहन आकारको स्मारकलाई अँध्याराले ढाकिरहेको पाए । उनले यसलाई एकदमै नजिकै जाँदा मात्र अलिअलि देख्न सकिरहेका थिए। उनले उक्त स्मारकको तल्लो सिँढीमा दुई जना मानिसलाई अस्पष्ट देखे। तीमध्ये एक जना युवती थिइन्‌। उनी बसेकी थिइन्‌ भने उनले ती युवतीको अगाडि एक जना युवक उभिइरहेको देखे।

रातको तातो हावा चलिरहेको बेला विन्टरबोर्न भएतर्फ एक नारीको आवाज आइरहेको थियो । उनले यो आवाज सुनिरहेका थिए। ‘अँ बुढामध्येको एक सिंह वा बाघले क्रिस्चियन सहिदलाई हेरेजस्तै गरी उनले हामीलाई हेरिरहेका छन्‌।’ यी शब्द उनले सुनेका थिए। यी शब्दमा डेइजीको लवज थियो।

‘उनी ज्यादै भोकाएको आशा नगरौँ । उनले मलाई पहिला खानुपर्नेछ। उनले तपाईंलाई भोजनको अन्तमा खाने फलफूलको रूपमा ग्रहण गर्नेछन्‌,’ चतुर गिओभानेलिले डेइजीलाई उत्तर दिए।

विन्टरबोर्न डराउँदै रोकिइरहेका थिए अनि नराम्रो घटना घट्दैन भनी खुसी पनि भइरहेका थिए। उनमा अचानक डेइजीको दोधारे व्यवहारको झझल्को पनि आइरहेको थियो। उनलाई यो घटनाले डेइजीको रहस्यमय व्यवहारलाई बुझ्न सजिलो पनि बनाइरहेको थियो। डेइजी त्यस्ती युवती थिइनन्‌ जसबाट एउटा युवकले आफूलाई दुःख परेको बेला सहयोगको आशा राख्न सक्दैनथ्यो। उनी त्यहाँ गिओभानेलि र डेइजीलाई हेर्दै उभिइरहेका थिए। उनले उनीहरूलाई स्पष्टरूपमा देखिरहेका थिएनन्‌ तर तिनीहरूले तिनलाई स्पष्टरूपमा देखिरहेकै हुनुपर्दथ्यो । विन्टरबोर्नले डेइजीलाई राम्रो सम्मान दिन सकिरहेका थिएनन्‌ तर नराम्रो व्यवहार गरेर सताइरहेका थिए। यस कुरामा विन्टरबोर्न आफूसँग नै रिसाउन लागिरहेका थिए। उनी त्यहाँबाट जानै लागिरहेका थिए तर रोकिए । उनी उनले डेइजीलाई अन्याय गरिरहेका छन्‌ भन्ने डरले रोकिइरहेका थिएनन्‌। उनी होसियारीपूर्वक गरिएको आलोचनाबाट देखा परेको डरले आफूलाई अनुपयुक्त खुसी बनाउन खोजिरहेको आशङ्काको भावले रोकिइरहेका थिए। उनी रङ्गशालाको प्रवेशद्वारतर्फ फर्किरहेका थिए तर उनले पुनः डेइजी बोलेको आवाज सुने। ‘उनी यहाँ किन आएका छन्‌ ? उनी त विन्टरबोर्न हुन्‌। उनले मलाई देखिसकेका छन्‌। उनले मलाई मन पराउँदैनन्‌ ।’

डेइजी ज्यादै चलाख तर नैतिकता नभएकी युवती थिइन्‌ । उनले एकदम चतुर्याँइपूर्वक विन्टरबोर्नलाई दुःखी बनाउने निर्दोषताको भाव व्यक्त गरिरहेकी थिइन्‌ तर विन्टरबोर्नले भने उनलाई मन नपराएका थिएनन्‌ विन्टरबोर्न अगाडि बढिरहेका थिए । उनी क्रिश्चियन धर्मको चिन्ह आकार स्मारकको नजिकै आइरहेका थिए | विन्टरबोर्नलाई देखेर डेइजी उठिन्‌। गिओभानेलिले आफ्नो टोप झिके । विन्टरबोर्नले ती युवतीको मूर्खतामाथि सहजपूर्ण तरिकाले सोचे, स्वास्थ्यको दृष्टिकोणले रातको समयमा एउटी सुकुमार युवती यस्तो औलोको खानीमा रमाइलो मानी टहलिइरहनु ठिक छ त ? एउटी चलाख तर नैतिकता नभएकी युवतीले गर्ने योभन्दा अर्को काम के हुन्थ्यो र ? अब उनी औले लागेर गर्नुभन्दा अर्को विकल्प छैन । ‘तपाईं यहाँ कति समयदेखि टहलिइरहनु भएको छ ?’ रिसाएर बेखुसी हुँदै विन्टरबोर्नले सोधे ।

डेइजी चन्द्रमाको प्रकाशमा प्रशंसा गर्न लाएक ज्यादै राम्री देखिइरहेकी थिइन्‌ । उनले एकछिन विन्टरबोर्नलाई हेरिन्‌ अनि भनिन्‌, साँझैदेखि… मैले कहिल्यै पनि यति धेरै राम्रो ठाउँ देखेकी थिइन ।’

‘तपाईँले रोमन औलोको बारेमा राम्रोसँग नसोचेकोमा म दुःखी छु। यस्तै तरिकाले मानिसलाई औलोले आक्रमण गर्दछ,’ विन्टरबोर्नले अचम्म मान्दै डेइजीलाई भने । ‘तपाईं रोमन भएर पनि यस्तो डरलाग्दो बेहोसी कुरालाई स्वीकार गरिरहनुहुन्छ ?’ गिओभानेलितर्फ फर्कँदै विन्टरबोर्नले सोधे ।

‘ए। म मेरो लागि त दुःखी छैन,’ ती सुन्दर रोमनले भने ।

‘न त म नै तपाईँको लागि दुःखी छु । मैले ती युवतीको लागि भनिरहेको छु,’ विन्टरबोर्नले भने ।

गिओभानेलिले चिटिक्क परेका आँखीभौँ उचाल्दै चहकिला दाँत देखाएर हाँसे। उनले विन्टरबोर्नको अस्वीकारलाई सजिलै नियन्त्रण गर्ने तरिकाले भने, ‘मैले उहाँलाई यो अविवेकी काम हो भनेर भनिरहेको थिएँ तर खै उहाँ होसियार भएको ?’

‘म कहिल्यै पनि बिरामी भएकी छैन र मेरो बिरामी हुने चाहना पनि छैन। म स्वस्थ मानिसजस्तो नदेखिए पनि स्वस्थ नै छु ! मैले चन्द्रमाको प्रकाशमा यो रङ्गशाला हेर्ने निश्चय गरिसकेकी थिएँ। मैले यसो नगरी अमेरिका जाने चाहना राख्नु हुन्थेन । हामीसँग यतिबेला ज्यादै सुन्दर र रमाइलो समय छ, होइन र गिओभानेलि ! यदि म बिरामी भएँ भने, युजिनले मलाई केही औषधिका चक्की दिनेछ । उसँग औषधिका राम्रा चक्की ( क्विनिन भन्ने औषधिका चक्कीलाई भन्न खोजिएको । पहिला पहिला एक प्रकारको दक्षिण अमेरिकी बृक्षबाट यस्तो चक्की बनाउने गरिन्थ्यो, यी चक्कीलाई औलोको पचारको लागि प्रयोग गर्ने गरिन्थ्यो ।) छन्‌,’ ती युवतीले भनिन्‌ ।

“मैले तपाईँलाई जति सक्यो छिटो आवासगृहमा गएर एउटा चक्की खाने सल्लाह दिन्छु !’ विन्टरबोर्नले भने ।

‘तपाईंले दिनुभएको सल्लाह ज्यादै विवेकी छ। मैले टाँगा लिएर आउने छु,’ गिओभानेलिले भने अनि उनी हतारिँदै अगाडि बढेका थिए ।

डेइजी विन्टरबोर्नसँग अगाडि बढिन्‌। विन्टरबोर्नले डेइजीलाई बारम्बार हेरिरहेका थिए। उनी कत्ति पनि अप्ठ्यारो नमानेकी जस्ती देखिन्थिइन्‌। विन्टरबोर्न मौन थिए । डेइजीले त्यो ठाउँको सुन्दरताको बारेमा कुरा गरिरहेकी थिइन्‌। ‘अँ, मैले रङ्गशाला चन्द्रमाको प्रकाशमा हेरेँ। यो राम्रो कुरा हो,’ डेइजीले आश्चर्य हुँदै भनिन्‌। विन्टरबोर्न मौन भएको देखेर डेइजीले विन्टरबोर्न नबोल्नुको कारण सोधिन्‌। उनले कुनै उत्तर नदिई हाँस्न सुरू गरे । तिनीहरू रङ्गशालाको अँध्यारामध्येको एउटा गुम्बज पार गर्दै बाहिर आइरहेका थिए । तिनीहरूले गिओभानेलिलाई टाँगा अगाडि उभिइरहेको देखे। डेइजी केही बेर अमेरिकी युवकलाई हेर्दै रोकिइरहिन्‌ । ‘मैले तपाईँलाई अघिल्लो दिन म गिओभानेलिसँग विवाह गर्न सहमत भएँ भनेकी थिएँ नि ! तपाईंले विश्वास गर्नु भएको थियो ?’ डेइजीले सोधिन्‌ ।

‘मैले अघिल्लो दिन जेसुकैमा विश्वास गरे पनि अब यसको कुनै अर्थ हुँदैन,’ विन्टरबोर्नले भने। उनी अझैसम्म पनि हाँसीरहेका थिए।

‘त्यसोभए तपाईंले अहिले के कुरामा विश्वास गर्नुहुन्छ त ?’ डेइजीले भनिन्‌।

‘मैले आफूलाई तपाईं गिओभानेलिसँग विवाह गर्न सहमत हुनुले वा नहुनुले कुनै असर नपार्ने विश्वास गर्दछु,’ विन्टरबोर्नले भने ।

गुम्बजको प्रवेशद्वारमा अन्धकार भए तापनि विन्टरबोर्नले ती युवतीका राम्रा आँखा आफूमा टाँसिएको अनुभव गरिरहेका थिए। उनले विन्टरबोर्नलाई स्पष्ट जवाफ दिन खोजिरहेकी थिइन तर गिओभानेलि डेइजीलार्इ त्यहाँबाट छिटो हिँडाल्न हतारिइरहेका थिए। ‘छिटो गर्नुहोस्‌ न ! यदि हामी मध्यरातसम्ममा आवासगृहमा पुग्यौँ भने एबदम सुरक्षित हुनेछौँ’ गिओभानेलिले भने ।
डेइजी टाँगाकाे आसनमा बसिन् । ती भाग्यमानी इटालेली डेइजीको नजीक बसे । ‘युजिनसँग भएको चक्की खान नबिर्सनुहोस् है !’ आफ्नो टोप झिक्दै विन्टरबोर्नले भने ‘मलाई रोमन औलेले आक्रमण गरेपनि नगरेपनि मैले कुनै चिन्ता गर्नेछैन,’ डेइजीले अचम्मको स्वर निकाल्दै भनिन्‌ । यसपछि टाँगा चालकले घोडालाई कोर्रा हान्यो अनि तिनीहरू पुराना ढुङ्गा छापेको कच्ची बाटो हुँदै प्रस्थान गरेका थिए ।