“कति वर्ष भइस्‌ तँ ? पहिलो यात्रा हो तेरो यो ?” बूढोले चरोलाई सोध्यो ।
यसरी बोल्दै गर्दा बूढोको मुखमा हेर्यो चरोले । थकाइले गर्दा होला डोरी कस्तो छ हेर्दा पनि हेरेन चरोले । उसका खुट्टाको नङ्ग्राले च्याप्प समातेको थियो डोरी तैपनि ढलपल गर्दै थियो चरो ।

बूढोले भन्यो, “हल्लिँदैन डोरी हल्लिँदैन, स्थिर छ, डराउनुपर्दैन ।” हावा चलेको छैन क्यारे, किन आत्तिन्छस्‌ ? आखिर किन आउँछन्‌ चराहरू यतातिर ?

बूढोले विचार गर्यो । जमिनतिर उड्दा बाजको सामना गर्नु पर्नेछ यसले । चरोले उसको भाषा नबुझ्ने भएकाले भन्न चाहिँ केही पनि भनेन उसलाई । आफैले थाहापाई हाल्ला नि भन्ठान्यो बूढोले ।
उसले भन्यो, “फुच्चे चरो !” आराम गर राम्ररी । अन्य माछा, मानिस वा चराले जस्तै अवसरको फाइदा उठा भित्र गएर ।

रातिदेखि बूढोको ढाड दुखेको थियो । अहिले झनै दुख्न थाल्यो । चरोसित बात मार्न निकै उत्साहित थियो बूढो ।

उसले भन्यो, “यदि तँलाई मन लाग्छ भने मेरो घरमा बस्‌ ।”

तर माफ गर हैं मलाई साथी (मार्लिन) नभइदिएको भएँ म तँलाई डुङ्गामा हालेर लैजान्थेँ | पाल फहराउन नसकेकोमा म दुःखी छु । हावा लागेको भए तँलाई पालभित्र राख्ने थिएँ ।

त्यतिखेरै बल्छीमा परेको माछो अचानक लड्खडाउन थालेकोले बूढो हुत्तिएर डुङ्गाको अघिल्लो भागमा पुग्यो । बेलैमा आफूलाई सम्हाल्न नसकेको भए र डोरी नछाडेको भए बूढो डुङ्गाबाट पानीमा खस्थ्यो ।

डोरी हल्लिएकाले चरो त्यहाँबाट उडेर गयो । बूढोले थाहै पाएन । दाहिने हातले डोरी समात्न खोज्दा त हातमा रगत बहिरहेको थियो ।

“पक्कैपनि माछालाई चोट लागेको हुनुपर्छ ।” बूढोले चिच्च्याएर भन्यो | बूढाले माछा फर्काउन सकिन्छ कि भन्ठानेर डोरी आफूतिर तान्यो । तर डोरीको हालत राम्रो नभएकाले चुँडिन लागेको ठाउँमा जतनले समातेर डोरीको पहिलेको अवस्थामा राख्यो ।

“अहिले डोरीले तानेको अनुभव गर्दै होलास्‌ नि हैन माछा । उसले भन्यो । ईश्वर जान्दछ म के गर्दैछु ।”

चरोको-साथ उसलाई निकै मनपरेको हुँदो हो । वरिपरि हेर्दा चरो थिएन । कतिखेर उड्यो कतिखेर ।”

बूढोले मनमनै भन्यो, “धेरैबेर बसिनस्‌ हगि तँ चरो मसित । तर हेर्‌ चरो तँ जता गएपनि समुद्र तटमा नपुगुन्जेल तँलाई निकै गाह्रो पर्छ । सचेत हुनै पर्छ तैँले । चरालाई हेर्ने भएर हो कि आफैं मूर्ख भएर हो मेरो हातै काटिदियो माछाले । अब मैले आफनो काममा लाग्नुपर्छ अनि बल नघटोस्‌ भनेर टुना पनि खानैपर्छ ।” ।

“साथमा केटो भइदिएको भए अनि अलिकति नून पनि पाउन पाए ।” चर्को स्वरले बोल्यो बूढो ।

डोरीको भारीलाई उसले देब्रे काँधमा हाल्यो अनि बिस्तारै घुँडा टेकेर समुद्रको पानीले हात धोयो । अलिबेर राख्यो हातलाई पानीमा । एक मिनेट डुबाएपछि पानीभित्र रगत बगेको देख्यो । डुङ्गा चल्दै गर्दा हातको सहायताले पानीको निरन्तर गति पनि नियाल्यो । साथै हातको विपरित दिशाबाट डुङ्गा जान थाल्यो । “त्यो माछो बिस्तारै जाँदैछ ।” बूढोले भन्यो ।

बूढोले नूनिलो पानीमा अलिबेर हात डुबाइराख्यो । उसलाई माछो फेरि चलमलाउला भन्ने डर थियो | त्यसैले ऊ उभियो अनि आफूलाई सम्हाल्दै आफ्नो हातलाई घामतिर फकार्यो । माछाले अचानक डोरी तान्दा हातको अलिकति मासु काटिएको थियो । त्यो पनि दायाँ हातमा । काम नसकुन्जेल त हात नकाटिएको भए पनि हुन्थ्यो भन्ठान्यो उसले । हात सुकिसकेपछि बूढोले भन्यो, “अब मैले स-साना टुना खानैपर्छ । काँटे बल्छीले तानेर भएपनि आरामसित खानुपर्ला ।” डुङ्गाको पछिल्लो भागमा निहुरिएर हेर्दा बूढोले टुना फेला पारेपछि काँटे बल्छीले आफूतिर तान्यो । अरू डोरी नछोइकन देब्रे काँधमा डोरी झुण्ड्याउँदै देब्रे हात र पाखुराको सहायताले काँटे बल्छीबाट निकालेपछि काँटे बल्छीलाई यथास्थानमा राखिदियो । माछालाई एउटा घुँडाले थिचेर उसले टाउको पछाडिबाट पुच्छरसम्म ठाडो पारेर चिर्दा माछाको राता मासु देखियो । माछाको टुक्रा किला आकारका थियो । त्यसलाई मेरूदण्डबाट पेटसम्म फेरि चिर्यो । ६ वटा टुक्रा मासुलाई उसले डुङ्गाको काठमाथि फिँजायो । उसले चक्कु लुगामा पुछ्यो । त्यसपछि मरेको टुना माछाको अस्थिरपन्जरलाई पुछारमा समातेर पानीमा फूयाँकिदियो ।

“सिँगै माछो खाइसक्छु जस्तो लाग्दैन मलाई ।” यति भन्दै उसले माछालाई मसिनो टुक्रा बनाउन थाल्यो । माछाले फेरि जोडले डोरी तान्यो । त्यसैले उसको देब्रे हात खुम्चिन थाल्यो । मोटो डोरी समातेको थियो देब्रे हातले । वेस्करी तान्यो उसले आफ्नो हात । विरक्त लाग्यो उसलाई आफ्नो हात देख्दा ।

“कस्तो खालको हात रहेछ यो त ।” मनमनै भन्यो उसले । खुम्चिबस्‌ त्यसो भए | “बरू नङ्ग्रामा परिणत हो । यसले तँलाई केही फाइदा गर्दैन ।”

“अगाडि बढ्‌ अब । यस्तो सोच्दै पानीमा नियालेर हेर्यो । टुना खा अब | हात बलियो पार्नु पनि त छ । हातलाई के दोष दिन्छस्‌ तँ आफै माछासित घण्टौं बसेको होइनस्‌ ? सँधै माछासित बस्नु पर्ने पनि हुन सक्छ । टुना खाइहाल्‌ अब ।” बूढाले मनमनै भन्यो । एक टुक्रा माछा मुखमा हालेर बिस्तारै चपायो । त्यति नमिठो त थिएन माछा ।

उसले मनमनै भन्यो, “राम्रोसित चपा रस आउने गरी । सानो कागती र अलिकति नून भैइदिएको भए कति मिठो हुँदो हो अझ ।”

“कस्तो छ हात तँलाई ।” खुम्चिएर अचल भएको हातलाई सोध्यो उसले जुन लाश जस्तै थियो । “तेरै लागि भएपनि अलि बढी खानै पर्यो ।”

अर्को टुक्रा माछो पनि खायो बूढोले । बिस्तारै चपाएपछि छाला चाहिँ थुक्यो उसले ।

“कस्तो छ त हात तँलाई अहिले ?” “चाल पाउँदैनस कि क्या हो ?”

अर्को ठूलो टुक्रो माछो चपायो बूढोले । उसले ठान्यो, “निकै रसिलो माछा रहेछ यो त । डल्फिन भन्दा त यही मीठो । भाग्यमानी नै ठान्छु म आफूलाई । डल्फिन पनि कम मिठो त कहाँ थियो र ? त्यति धेरै मीठो नभएपनि तागत चाहिँ छ है यसमा ।

उसले सोच्यो “व्यवहारिक बन्नैपर्छ ।” “अलिकति नून पाउन पाए बाँकी बस्यो भने कि घामले सुक्छ कि कुहिन्छ त्यसैले बरू भोकै नलागे पनि सबै खाइसक्नु नै राम्रो होला । माछो पनि चुप लागेर बसिराछ ।सबै खान्छु र ठीक हुन्छु ।”

‘धैर्य गर्‌ हात धैर्य गर्‌ ।’ उसले भन्यो, “तेरै लागि त गर्दै छु सबै थोक ।”

‘मार्लिनलाई खुवाउन पाए कस्तो हुँदो हो ।’ सोच्छ ऊ । ‘भाइ हो त्यो मेरो । तर के गर्नु उसलाई मार्ने पर्छ मैले | बलियो पनि हुनैपर्याछ त्यसका लागि ।’

बूढोले बडो होसियारीपूर्वक बिस्तारै ‘किला’ आकारमा काटेको मासुको सबै टुक्रा खायो ।

हात लुगामा पुछ्दै बूढो ठिङ्ग उभियो । उसले भन्यो, “हेर हात अब तैंले डोरीलाई सर्न दिनुपर्छ । म दाहिने हातले डोरी समाउँछु र माछालाई तह लगाउँछु । तैले वाहियात काम गर्न नछाडुन्जेल ।” देब्रे हातले समातेको मोटो डोरीलाई देब्रे खुट्टाले च्याप्यो उसले | पछाडि ढल्केर अडेस लाग्यो | अनि डोरीलाई बेस्सरी तान्न थाल्यो ।

“हे ईश्वर ! मेरो हात खुम्चिन छाडे पनि हुन्थ्यो अब त ।” मनमनै भगवानलाई पुकार्यो उसले । ‘साँच्चि माछा के गर्दै होला यतिखेर ? थाहै पाउन सकिएन ।’ बूढोले मनमनै सोच्यो । चुपचाप लागेर बसेको छ । सायद कुनै गोप्य योजना बनाउँदै होला त्यो । योजना पो के होला त्यसको कुन्नि | अनि मेरो योजना नि ? माछो ठूलै छ । तत्काल योजना नबनाई भएन मैले । उफ्रेर मास्तिर आयो भने त म त्यसलाई मारिहाल्छु । तर के गर्नु सँधै तल बसिरहन्छ । सायद मैले पनि ऊसितै तलै बस्नुपर्ला जस्तो छ सँधै ।”

खुम्चेको हात बूढोले लुगामा पुछ्यो अनि औंला चलाउन थाल्यो बिस्तारै । हात चलेन । सोच्यो घाम लागेपछि हात चल्ला । पोषिलो टुना पचेपछि पक्कै चल्ला हात । आफैं चलेन भने पनि जर्वजस्ती गर्नुपर्ला । तर मलाई जर्वजस्ती चलाउन चाहिँ मन लाग्या छैन । बिस्तारै आफैं चलेर पहिलेकै अवस्थामा आउन दिनुपर्ने । राति मैले निकै दुरूपयोग गरेँ यसको थुप्रै डोरी बाँध्ने र गाँठो फुकाउने क्रममा ।

समुद्रमा वरिपरि हेर्दा बूढोले आफूलाई एक्लो महसुस गर्यो । तर उसले गहिरो पानीमा इन्द्रेणी देख्यो साथै डोरी अगाडि फैलिँदै गएको र शान्तिको अनौठो तरङ्ग अनुभव गर्यो । आकाशमा बादल स्वाभाविक रूपमा मडारिरहेको थियो । पानीमाथि जंगली हाँसको बथान उडेको देखेपछि उसले बुझ्यो कि समुद्रमा कोही पनि एक्लो हुँदोरहेनछ । समुद्र र आकाशबीच ओहोर दोहोर गरिरहेका थिए ती हाँसहरू ।

सानो डुङ्गामा बस्दा र जमिनको टुक्रो कतै नदेख्दा मानिसहरू किन आत्तिँदा रहेछन्‌ भन्ने कुरो आज बुढोले प्रत्यक्ष भोग्ने अवसर पायो | उसले अकस्मात्‌ मौसम खराब हुँदा मानिसहरू डराउनु स्वाभाविकै रहेछ भन्ने पनि बुझ्यो । तर त्यतिबेला हावाहुरी चल्ने महिना थियो र हावाहुरी नआएको बेला महिना वर्षकै उत्कृष्ट मानिन्थ्यो ।

यदि ठूलै तुफान आउन लाग्या हो भने पनि धेरै अघि आकासमा लक्षण देखिनु पर्ने हो । यदि कोही समुद्रमा छ भने समुद्रको किनारमा बस्ने कसैले देख्दैन, जान्दैनन्‌ यसलाई किनभने के के निरीक्षण गर्नुपर्ने थाहै हुँदैन कसैलाई । उसले सोच्यो । बादलको आकृतिलाई जमिनले पनि केही फरक पार्दोरहेछ पक्कै । तर यतिखेर त तुफान आएको छैन ।

आकाशतिर हेर्दा बूढोले आइसक्रीमको थुप्रो जस्तै सेता सेता क्युमुलस नामको बादल देख्यो | सेप्टेम्बर महिनमा सिरस नाम गरेको बादलको रेखा पनि देख्यो उसले । “हल्का हावा” बूढोले भन्यो- “हेर्‌ माछा यो मौसम तेरो लागि भन्दा मेरा लागि अनुकूल छ बुझिस्‌ ?”