परिच्छेद १८

काउन्टेस रोस्तोभा आफ्ना छोरीहरू र थुप्रै पाहुनाहरूसँग बैठकमा बसिसकेकी थिइन्‌ । काउन्टले पुरुष पाहुनाहरूलाई आफ्नो कोठामा लिएर गए र तुर्की सुल्फीहरूको सङ्ग्रह देखाउन थाले । उनी पटकपटक बाहिर आएर सोध्ने गर्थे- “उनी अझै आइपुगेकी छैनन्‌ ?” उनीहरू मार्या दमित्रियेभ्ना आखरोशीमोभालाई पर्खिरहेका थिए । समाजमा यिनलाई “खतरनाक घोडचढी” भनेर चितिन्थ्यो । यिनले पद वा पैसाको कारणले होइन, आफ्नो सुझबुझ र बोलीवचनमा सरलता र स्पष्टता भएका कारण समाजमा नाम कमाएकी थिइन्‌ । मार्या दसित्रियेभ्ना शाही परिवारदेखि लिएर मस्को र पिटर्सबर्गसम्मका जनतामाझ सुपरिचित थिइन्‌ । दुवै सहरका मान्छेहरू यिनलाई देखेर छक्क पर्थे । उनीहरू उसलाई अभद्र आइमाई भनेर लुकीछिपी खिसीट्युरी पनि गर्थे र उसको बारेमा भए नभएका प्रसङ्ग जोडेर कुरा पनि काट्थे । यति भए तापनि कुनै अपवादबिना उसलाई । सबैले आदर गर्थे र उसँग सबै डराउँथे पनि ।

तमाखुको धूवाँले भरिएको काउन्टको कोठामा एउटा ज्ञापनपत्रमा घोषित युद्ध र सैनिक भर्ती विषयमा बहस चलिरहेको थियो । उक्त ज्ञापनपत्र कसैले देखेका थिएनन्‌ तर यो प्रकाशित भइसकेको छ भन्ने सबैलाई थाहा थियो । काउन्ट सुल्फी तान्दै गफमा व्यस्त दुईजना पाहुनाबीचको सोफामा बसेका थिए । काउन्ट आफूले सुल्फी पिएका पनि थिएनन्‌ र कुरा गरेका पनि थिएनन्‌ तर सुल्फी पिउनेहरूलाई घरी एकातिरबाट घरी अर्कोतिरबाट टाउको निहुराउँदै हेरेर मजा लिइरहेका थिए । र, उनले एकआपसमा भिडाइदिएका दुईजना पाहुनाहरूको गफ सुनिरहेका थिए ।

दुईमध्ये एकजना गैरसैनिक व्यक्ति थियो । उसको सफाचट, दुब्लो र रुग्ण पहँलो र चाउरी परेको अनुहार हेर्दा उसलाई बुढेसकालले छोपिसकेजस्तो लाग्थ्यो यद्यपि उसले कुनै पट्ठो तन्नेरी केटाले जस्तो झिल्के लुगा लगाएको थियो । ऊ आफ्नो घरमा जस्तै सोफामा पलेँटी मारेर बसेको थियो । उसले आँखा नचाउँदै एउटा पहेँलो रङको सुल्फी मुखभित्रैसम्म घुसारेर भित्रको सासले तान्दै धूवाँ निलिरहेको थियो । ऊ काउन्टेसको काकाको छोरा पुरानो बालव्रह्चारी शिनशिन थियो, जसलाई मस्कोमा सबैले दुर्मुखा भनेर चिन्थे । ऊ अन्य मित्रहरूका सामु आफूलाई खूब ठूलो मान्छे ठानिरहेको थियो । अर्को गुलावी गाला भएको गार्डसेनाको नवप्रवेशी अफिसर थियो । ऊ अत्यन्त सफासुग्घर, नयाँ पोशाकमा चिटिक्क छाँट्टिएको र सलक्क कपाल कोरेको व्यक्ति थियो । उसले सुल्फीको मध्यभाग जति मुखमा घुसारेको थियो र राताराता ओठले तान्दै सुन्दर मुखबाट चक्र धूवाँको मुश्लो निष्कासन गर्दै थियो । ऊ सेमिनोभ रेजिमेन्टको अफिसर लेफ्टिनेन्ट थियो, जोसँग बोरिस फौजमा हाजिर हुन जानेवाला थियो र, जसको नामसँग जोडेर तताशाले आफ्नी दिदी वेरालाई उसको “हुनेवाला लोग्ने” भनेर व्यङ्ग्य हान्थी । काउन्ट उनीहरू दुईजनाबीचमा गएर बसे र ध्यानपूर्वक उनीहरूका कुरा सुन्न थाले । आफूलाई असाध्यै मनपर्ने तासको वोस्टन खेल नखेलेको बेलामा अरूको कुरा, छलफल र वादविवाद सुन्न मन पराउने उनको दोस्रो खच थियो । खास गरेर आफूले ताल मिलाइदिएका गफाडीहरू छन्‌ भने उनलाई झन्‌ बढी मजा लागेर आउँथ्यो ।

“ठीकै छ, हेर्नुस्‌ आदरणीय अल्फोन्स कार्लोभिच,” शिनशिन व्यङ्ग्यात्मक हाँसो हाँस्दै र अत्यन्त सामान्य रसियाली लोककथनहरूलाई बडो सुन्दर ढङ्गमा फ्रान्सेली वाक्शैलीसँग सम्मिश्रण गर्दै भन्दै थियो (उसको कुरा गर्ने शैलीको विशेषता पनि यही थियो) “तपाईं सरकारसँग पनि पैसा असुल गर्न खोज्नु हुन्छ र आफ्नो कम्पनीसँग पनि असुल गर्न खोज्नु हुन्छ, होइन ?”

“होइन, पिटर निकोलायभिच, म पैदल सेनामाभन्दा अश्वारोही सेनामा सुविधाहरू धेरै कम छन्‌ भन्ने मात्र प्रस्ट पार्न चाहन्छु । नपत्याए मेरो आफ्नो अवस्था जाँच गरेर हेर्नुस्‌ न ।”

बेर्ग जहिले पनि स्पष्टता, शिष्टता र आत्मविश्वासका साथ कुरा गर्थ्यो । ऊआफूलाई नै छलफलको विषय बनाउँथ्यो र आफूसँग असस्बन्धित विषयमा कुरा चलेको छ भने शान्त मुद्रामा चुपचाप लागेर बस्थ्यो । ऊ घन्टौँस्‌म्म पनि यसरी बसिरहन सक्थ्यो र यसरी बसिरहँदा न उसले आफूलाई पट्यार लागेको देखाउँथ्यो न अरूलाई असजिलो पार्थ्यो । तर, जब आफ्नो व्यक्तिगत विषयमा सानोभन्दा सानो सन्दर्भ उक्किन्थ्यो, ऊ विस्तारपूर्वक र प्रसन्न भएर कुरा सुरु गर्न थाल्थ्यो ।

“मेरो अवस्था हेर्नुस्‌, पिटर निकोलायभिच । लेफ्टिनेन्टजस्तो माथिल्लो दर्जाको अफिसर भए पनि अश्वारोही सेनामा भएको भए मैले चार महिनाको तलब दुई सय रुबलभन्दा एक कौडी पनि बढी पाउँदिन थिएँ । तर हेर्नुस्‌ म अहिले दुई सय तीस रुबल पाइरहेछु ।” उसले मधुर मुस्कान छोड्दै र, शिनशिन तथा काउन्टतिर नजर लगाउँदै प्रसन्न भएर भन्यो मानौँ उसलाई यो स्पष्ट थियो कि उसको सफलता नै अन्य सबै मान्छेहरूको एक मात्र अभिष्ट हुनुपर्छ ।

“त्यतिमात्र होइन, पिटर निकोलायभिच, गार्डसेनामा आएपछि मेरो मानप्रतिष्ठा झन्‌ वृद्धि हुनेछ,” बेर्गले आफ्नो बखान छाँट्दै गयो । “र पैदल गार्डसेनामा खाली पदहरू पनि धेरैजसो निक्लिरहेको हुन्छ । यसबाहेक तपाईंले यो पनि/ध्यानमा राख्नुस्‌ कि दुई सय तीस रुबलमा के के गर्न सकिँदो रहेछ ! म केही रकम बचाएर पनि मेरो बुबालाई समेत केही रकम पठाउन सकिरहेछु,” मुखबाट चक्र धूवाँ फाल्दै उसले भन्दै गयो ।

“सही कुरा हो, उखानै छ नि, जर्मनेलीले त ढुङ्गाको पनि छाला काढ्न जानेको हुन्छ रे,” सुल्फी मुखको अर्को छेउतिर च्याँपेर काउन्टतर्फ आँखा झिम्क्याउँदै शिनशिनले भन्यो ।
काउन्ट मूर्छा परून्जेल हाँसे । अरू पाहुनाहरू पनि शिनशिनका कुरा सुन्न आए । बेर्ग, अरूको व्यङ्ग्य र उपेक्षाको वास्तै नगरेर गार्डसेनामा सरुवा गराएपछि ऊ आफ्नो समकक्षी साथीहरूभन्दा कसरी एक तह माथि पुग्यो लडाइँमा कम्पनी कमान्डर कसरी मारिन सक्छ र कम्पनीमा आफ्नो वरिष्ठताका कारण ऊ सजिलैसित कसरी कप्तान बन्न सक्छ- आफ्नो कम्पनीमा ऊ कति लोकप्रिय थियो- र उसको बुबा उसँग कति खुसी थिए- परिभाषा लगाउँदै गयो. । यी सब विवरणहरू बताइरहँदा बेर्गलाई सम्भवत मजा आइरहेको थियो तर अरू मान्छेहरूको पनि आफ्नै आफ्नै रुचि हुन्छ भन्ने कुरा उसको दिमागमा आएन । तैपनि उसले जे कुरा बताइरहेको थियो, सौम्य र गम्भीर थियो । उसमा त्यस उमेरको तन्नेरी अफिसरमा हुनुपर्ने अहम्‌ शून्य थियो । अत: उसले आफ्ना सम्पूर्ण श्रोताहरूको मन जितेर छोड्यो ।

“मेरो भाइ, चाहे तिमी पैदल सेनामा जाक, चाहे तिमी आश्वारोही सेनामा जाउ, तिम्रो उत्तरोत्तर प्रगति हुनेछ, म ठोकुवा गरेर भन्छु,” शिनशिनले उसको काँध थप्यपाउँदै र सोफाबाट खुट्टा तल भार्दै भन्यो ।

बेर्ग पनि खुसी हुँदै हाँस्यो । काउन्ट र उनका पछिपछि पाहुनाहरू बैठक कोठातिर लागे ।

यो भव्य भोज सुरु हुनुभन्दा केहीछिन अगिको कुरा हो । पाहुनाहरू आफूहरूलाई कूनै पनि बेला खान जाने अनुरोध गरिन सक्छ भन्ने आशयले लामो कुरा वा बहस सुरु गर्दैनन्‌ तर उनीहरू खान हत्तारिएका रहेछन्‌ भन्ने पनि नपरोस्‌ भन्ने हेतुले यताउति चलफिर गर्न अथवा सानोतिनो विषय झिकेर कुराकानी गर्न आवश्यक ठान्छन्‌ । घरपति र उसकी श्रीमती घरीघरी मूलढोकातिर हेर्ने गर्छन्‌ र घरीघरी आपसमा आँखा जुधाउँछन्‌ । पाहुनाहरू- उनीहरू कसलाई अथवा के कुरालाई पर्खिरहेछन्‌- कूनै महत्त्वपूर्ण पाहुनालाई हो वा भोजन सामग्री कुनै चीज पाकेर तयार नभएर हो भनेर बुझ्ने प्रयास गर्छन्‌ ।

पियेरे भोज सुरु हुनै लागेको बेला आइपुग्यो । ऊ बैठक कोठाको बीचको सबभन्दा अगाडिको कुर्सीमा आफ्नै तालमा गएर ठम्म बस्यो । ऊ यसरी बस्दा ओहोरदोहोर गर्ने पाहुनाहरूलाई अप्ठ्यारो पनि पर्यो होला । काउन्टेस पियेरे पनि गफगाफमा सरिक होस्‌ भन्ने चाहन्थिन्‌ । तर उसले कसैलाई खोजे जस्तो गरेर चश्माभित्रबाट आफ्नो वरिपरि एकोहोरो किसिमले आँखा नचाइरह्यो । र, काउन्टेसको प्रश्नको एकाक्षरमा नै जवाफ दियो । उसको कारणले गर्दा अरू पाहुनाहरूलाई असजिलो लागिरहेको थियो तर यो कुरा उसले पटक्कै बुझेको थिएन । पियेरेको भालु वाला कथा सुनेका अधिकांश पाहुनाहरूले यो चौडा र तगडा जीउडाल भएको, मोटो र शान्त व्यक्तिको अनुहारमा बडो उत्सुकताका साथ हेरिरहेका थिए । र, उनीहरू यस्तो बोधो र विनम्र व्यक्तिले एउटा प्रहरीको अफिसरजस्तो मान्छेलाई त्यस्तो उट्पट्याङ काम कसरी गर्न सक्यो होला भनेर मनमनै छक्क परिरहेका थिए ।

“तपाईं त भर्खरै आइपुग्नु भो ?,” काउन्टेसले उसलाई सोधिन्‌ ।
“हो म्याडम,” उसले यताउति हेर्दै फ्रान्सेली भाषामा उत्तर दियो ।
“मेरो श्रीमान्जीसँग भेट भयो ?”
“छैन, म्याडम,” ऊ बिनाकारण हाँस्यो ।
“केही दिन पहिलेसम्म तपाईं पेरिसमा हुनुहुन्थ्यो होइन ? त्यहाँ त निकै रमाइलो थियो होला क्यारे ।”
“थियो नै भन्नुपर्छ, म्याडम ।”

काउन्टेसले अन्नामिखायलोभ्नासँग आँखा जुधाइन्‌ । यो नौजवानलाई अतिथिको रूपमा यथोचित आदर गरियोस्‌ भन्ने काउन्टेसको धारणा रहेको उसले बुझी । उससँग गएर बसी र, उसको बुबाका विषयमा कुरा गर्न लागी । तर पियेरेले काउन्टेसलाईजस्तै उसलाई पनि “हो र होइन” एकाक्षरमा मात्र उत्तर दिइरह्यो । अन्य पाहुनाहरू भने एकआपसमा गफ गर्न व्यस्त थिए ।

“रजुमोभ्स्की परिवार…साह्रै मजा भयो… तपाईंकै कृपा हो …काउन्टेस अप्राकसिना…।” चारैतिरबाट यस्तै शब्दहरू सुनिदैथिए । काउन्ट रोस्तोभा उठिन्‌ र नाचघरतिर लागिन्‌ ।
“मार्या, दमित्रीयेभ्ना ?” नाचघरबाट उसको आवाज आयो ।
“हो, म बोल्दैछु,” जवाफमा कुर्नै महिलाको एउटा रुखो स्वर सुनियो । र, तुरुन्तै मार्या दमित्रियेभ्ना कोठाभित्र छिरी ।

धेरै बुढी आइमाईहरूबाहेक अविवाहित तरुनी र विवाहित महिलासमेत सबै उठे । मार्या दमित्रीयेभ्ना ढोकामा टक्क अडिई । यो पचास वर्ष अल्की र ठूलो जीउडाल भएकी महिला आफ्नो टाउकाको घुँघुरा परेका र फुलेका रौँ तान्दै पाहुनाहरूतिर हेरेर उभिई । र, कुर्थाको बाहुला फर्काएर राम्रोसँग मिलाई । मार्या दमित्रीयेभ्ना जहिले पनि फ्रान्सेली भाषामा बोल्थी ।

“आज जसको जन्म दिन हो, उसको र उसका छोराछोरीहरूको सुखशान्तिको कामना गर्दै मेरो र अरु सबैका तर्फबाट बधाई दिन्छु,” उसले अरू सबैका आवाजलाई दबाउँदै आफ्नो मोटो र ठूलो स्वरमा घोषणा गरी । “भन, पुराना पापी,” उसले आफ्नै हात चुमिरहेका, काउन्टलाई सम्बोधन गर्दै भनी, “सायद तिमीलाई मस्क्रोमा बस्न मन लागेको छैन होला, होइन ? कुकुरहरू लिएर सिकार खेल्न जाने ठाउँ छैन क्यारे ? तर के गर्ने, बुढो भएपछि उता छोरीहरूको उमेर बढ्दै जान्छ,” उसले काउन्टका छोरीतिर सङ्केत गर्दै भनी, चाहे पनि नचाहे पनि जसरी पनि यिनीहरूका लागि योग्य केटा त खोजिदिनै पर्छ ।” “फूलका कोपिलाहरू फक्रनै लागिसके ।”

“ल ठिकै छ,” मेरी कोजाकलाई कस्तो छ ? (मार्या दमित्रीयेभ्ना नताशालाई जहिले पनि कोजाक नै भन्ने गर्थी) उसले सोधी । अनि उसले आफूलाई चुम्बन गर्न नडराई रखुसी हुँदै आइरहेकी नताशाको हात समातेर झदकारी । “मलाई थाहा छ यो बदमास केटी हो तर पनि मलाई यस बजिनीको असाध्यै माया लाग्छ ।”

उसले आफ्नो थैलीबाट नास्पाती आकारको रुवीको इयरिङ निकाली र जन्मदिनको खुसीयालीमा रमाइरहेकी नताशालाई दिई । र, उत्तिखेरै नताशाबाट अर्कोतिर फर्कदै
एक्कासि पियेरेलाई सम्बोधन गरी ।

“ए भद्र पुरुष, यता आउ त !” उसले आवाज सानो गराउँदै फेरि थपी, आऊ न भाइ । उसले कूर्थाको बाहुला सुर्केर अरू माथि पुर्याई ।

पियेरे पनि केटाकेटीलेझैँ चश्माबाट उसलाई हेर्दै उसको सामु आयो ।
“अरू नजिक आऊ भद्र पुरुष, अरू नजिक ! तिम्रो बुबाको जगजगी भएको बेलामा पनि उनलाई सही कुरा भन्न आँट गर्ने म मात्र एक्ली थिएँ । तिम्रो त झन्‌ कुरै भएन- यो त मेरो एक प्रकारको कर्तव्य नै हो भन्ने ठान्छु ।”

मार्या दमित्रीयेभ्ना चुप लागी । अब के हुने हो भन्ने विचार गर्दै अरूहरू पनि सबै चुप लागे । यो त सानो भूमिका मात्र हो भन्ने उनीहरू सबैलाई लागेको थियो ।

“तिमी साह्रै असल केटा रहेछौ, यो त मैले मान्नै पर्छ ! तिम्रो बुबा मृत्युशैयामा पल्टेका छन्‌ तर तिमी भने यहाँ बसेर मजा लुटिरहेका छौँ । पुलिस अफिसरलाई भालुमाथि बसालेर खुसी मनाउने तिमी नै होइनौ ? धिक्कार हो, महाशय ! तिमीजस्ता छोरा हुनुभन्दा त… । बरु बन्दुक भिरेर रणभूमिमा गएको भए हुन्थ्यो नि ।”

यति भनेर ऊ मोडिई र काउन्टतिर हात बढाई, जो मुखबाट निस्कन लागेको हाँसो मुस्किलले रोकिरहेका थिए ।

“ल, अब भोजको टेबुलतिर लाग्ने बेला पनि भयो होला, होइन ?,” उसले भनी ।
मार्या दमित्रीयेभ्नासँगै सबभन्दा पहिले काउन्ट भित्र पसे । पछिपछि सेनाको कर्णेलको हात समाउँदै काउन्टेस पनि भोजनालयतिर बढिन्‌ । यो कर्णेललाई धेरै महत्त्व दिइएको थियो किनभने निकोलास उसैको साथ लागेर रेजिमेन्टमा हाजिर हुन जानेवाला थियो । अन्नमिखायलोभ्ना शिनशिनसँग थिई र बेर्गले बेराका हात समातेको थियो । मुस्कुराइरहेकी जुली कारागिना निकोलाससँग थिई । यिनीहरूको पछिपछि अन्य जोडीहरूको शृङ्खला पूरा भोजनालयमा विस्तारित भयो । र, सबभन्दा पछि केटाकेटी र गुरु-गुरुमाहरू भोजनालयमा प्रवेश गरे । नोकरहरू यताउता दौडधुप गर्न लागे । कुर्सीहरू ठोक्किएको र हल्लिएको आवाज आउन थाल्यो । नाचघरमा बाजाहरू बज्न लागे र पाहुनाहरू सबै आ-आफ्ना ठाउँमा आसीन भए । काउन्टको घरेलु बाजाहरूको ठाउँमा काँटाचम्चा, पाहुनाहरूको गफ र नोकरहरूको पदचापका आवाज सुनिन लाग्यो । टेबुलको एउटा छेउमा काउन्टेस्‌ बसेकी थिइन्‌ । उनको बायाँतिर मार्या दभित्रीयेभ्ना, अन्ना मिखायलोभ्ना र अरू महिला पाहुनाहरू बसेका थिए । टेबुलको अर्को छेउमा काउन्ट विराजमान थिए । उनको दाहिनेतिर हुस्सार सेनाको कर्णेल, शिनशिन तथा अन्य पुरुष पाहुनाहरू बसेका थिए । लामो टेबुलको एकातिर युवायुवतीहरू थिए । बेर्गको बगलमा वेरा थिई र पियेरेसँग बोरिस बसेको थियो । टेबुलको अर्कोतिर केटाकेटी र गुरु-गुरुमाहरू बसेका थिए । फट्टिकका बोतल र फलदानहरूका पछाडिबाट काउन्ट आकाशे रङको फित्ताले सजिएको फुर्के टोपी लगाएकी आफ्नी श्रीमतीतर्फ दङ्ग परेर हेर्दै र बडो उत्साहपूर्वक आफ्नो नजिक बसेका पाहुनाहरू र आफ्नो पनि प्याला रक्सीले भर्दै थिए । उस्तै प्रकारले काउन्टेसले पनि घरपत्नीका हैसियतले आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गर्दै भुइँ कटहरका गमलाहरूको पछाडिबाट खुइलिएको तालु वरिपरि काँसजस्ता सेता कपालका कारण झन्‌ चम्किएको आफ्नो श्रीमान्‌को अनुहार अर्थपूर्ण दृष्टिले हेर्थिन्‌ । महिलाहरू बसेको टेबुलतिर मन्द मन्द र लयबद्ध गतिमा कुराकानी चलिरहेको थियो । खास गरेर हुस्सार सेनाको कर्णेलको ठूल्ठूलो स्वर सुनिन्थ्यो र यो स्वर पुरुष पाहुनाहरू बसेको टेबुलतिरबाट आइरहेको थियो । कर्णेलले यति रक्सी धोकेको थियो कि उसको अनुहार चाहिनेभन्दा बढी रातो हुँदै गइरहेको थियो । त्यस अर्थमा काउन्टले उसलाई अरू पाहुनाहरूका अगाडि एउटा उदाहरणका रूपमा प्रस्तुत गर्न लागेका थिए । “एकातिर कर्णेल बेर्ग वेरालाई भन्दै थियो,” “प्रिये ! प्रेम सांसारिक हुँदैन, त्यो त स्वर्गीय हुन्छ ।” अर्कोतिर बोरिस, पियेरेलाई पाहुनाहरूसँग परिचय गराउँदै नताशासँग आँखा लडाउने ताकमा थियो । संजोगले नभनौँ तर नताशा बोरिसको ठयाक्कै अगाडि उपस्थित थिई । बिचरा पियेरे एक शब्द बोलेन तर ती नयाँ अनुहारहरूलाई उसले नियालेर हेर्यो र खानपिन पनि मज्जाले गर्यो । उसलाई विभिन्न प्रकारका सुपमध्ये कछुवाको सुप मन पर्यो । कचौडी र समोसादेखि लिएर बट्टाई चराको मासु खान मात्र होइन, जुनसुकै किसिमको रक्सी पिउन पनि उसले अस्वीकार गरेन । नोकरहरूले यो ड्राइ मडेरा, यो हङ्गेरीयाली रक्सी र यो चाहिँ ‘राइन वाइन’ भन्दै न्यापकिनमा लुकाउँदै पछाडिपट्टिबाट थप्दै जान्थे । पियेरे पनि उनीहरूले काउन्ट र काउन्टका कुलका नाममा बनिएका सबै किसिमका रक्सी जति मात्रामा पेश गरिन्थे उति मजाले पाहुनाहरूसमक्ष रमाइलो गर्दै एकै घुट्कोमा निल्दै जान्थ्यो । अब नताशाका कुरा गरौँ ।

पियेरेको सम्मुख बसेकी नताशा बोरिसतर्फ आँखा गाड्दै थिई । भर्खर चौध वर्षको उमेरकी नव यौवना प्रेममा फँसेर प्रथम पटक प्रेमीसँग चुम्बन गर्दा जस्तो अवस्था हुने गर्छ त्यस्तै अवस्थामा उसले बोरिसलाई हेर्दै थिई । घरीघरी त्यस सजीव केटीले पियेरेलाई पनि त्यही दृष्टिले हेर्थी तर पियेरेलाई हाँसो उठ्थ्यो । त्यसरी हाँस्नु परेको कारण भने पियेरे आफैलाई थाहा हुँदैनथ्यो ।

निकोलास सोन्याभन्दा अलि टाढा जुली कारागिनाका छेउमा बसेको थियो र पहिलेजस्तै नजानीदो किसीमले मुस्कुराउँदै उसलार्इ केही भनिरहेको थियो । सोन्या पनि शिष्टतापूर्वक मुस्कुराइरहेकी थिई । तर मनमनमा ऊ इर्ष्याको आगोमा जलीरहेकी थिर्इ । घरी उसको अनुहारको रङ्ग फुङ्ग उडेर जान्थ्यो । घरी उसको अनुहारमा एक प्रकारको लालीमा दगुर्थ्यो । अनि ऊ निकोलास र जुलीका बीच के कुरा चलिरहेको रहेछ भनेर कान थापेर सुन्ने प्रयास गर्थी । एउटी गुरुआमा यसरी यताउति हेर्थी मानौँ ऊ आफ्नो रक्षा गर्न तयार भएर बसिरहेकी होस्‌ । जर्मनेली गुरुवा त्यस भोजमा प्रस्तुत माछा, मासु र मिठाईजस्ता हरेक किसिमका भोजन सामग्री र रक्सीहरूको नाम कण्ठ गर्ने, प्रयास गरिरहेको थियो ।

घरमा चिठी पठाउँदा यो सबै विषयमा सविस्तार वर्णन गर्न सकियोस्‌ भन्ने उसको मनसाय थियो । नोकरले न्यापकिनमा लपेटेको रक्सीको बोतल लिएर आफूलाई अपहेलना गर्दै आफ्नै अगाडिबाट हिँड्दा उसलाई असाध्यै खल्लो लागेर आउँथ्यो । उसको चित्त दुखाइको कारण रक्सी पिउने लोभ होइन तर ज्ञानप्राप्तिका लागि ऊ रक्सीप्रती आकर्षित र अभिप्रेरित भइरहेछ भनेर कसैले पनि बुझने प्रयास गरेनन् ।