साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हेनरी जेम्सको चर्चित उपन्यास ‘डेइजी मिलर’ शृंखला १३

Chovar Blues Mobile Size

श्रीमती मिलरले भनिन्‌ ।
‘अनि डेइजीले के भनिन्‌ त ?’ विन्टरबोर्नले भने
‘ए ! डेइजीले आफू गिओभानेलिसँग विवाहको लागि सहमत नभएको भन्दछिन्‌ तर तिनी गिओभानेलिसँग विवाहको लागि सहमत हुन पनि सक्दछिन्‌। तिनले विवाह गर्न मानिरहेकी छैनिन्‌। मैले गिओभानेलिलाई डेइजीले उनीसँग विवाह गर्न मानिन्‌ भने मलाई भन्नको लागि वचनबद्व बनाएकी छु। यसबारेमा मैले श्रीमान्‌ मिलरलाई चिठी लेख्नुपर्छ होला, हुँदैन र ? ती निष्पक्ष आमाले भनिन्‌ ।

विन्टरबोर्नले चिठी लेख्नुपर्ने कुरामा जोड दिएका थिए। आफ्ना सन्तानप्रति सावधानी हुनुपर्ने आमाको यस्तो किसिमको अनपेक्षित व्यवहारले विन्टरबोर्नको हृदयमा चोट पुर्याइरहेको थियो । उनको जीवनको घटनाक्रमको इतिहासमा यस्तो किसिमको घटना घटेको उनले थाहा पाएका थिएनन्‌। उनले श्रीमती मिलरकी छोरीलाई सम्भावित खतराबाट जोगाउनको लागि भनी यस्ता बेसुरका कुरा गर्ने डेइजीकी आमा रहेको होटल खोज्दै उनलाई भेट्न नआउने निर्णय मनमनै गरी त्यहाँबाट हिँडेका थिए।

त्यस दिनदेखि डेइजी कहिल्यै पनि रोमको आफ्नो आवासगृहमा थिइनन्‌ । विन्टरबोर्न डेइजीले चिनेका मानिसका आवासगृहमा पनि गएका थिएनन्‌ किनभने उनले बुझेका थिए, डेइजी रोम छाडी टाढा जाँदै छिन्‌ भनी यी चलाख मानिस निश्चित भैसकेका थिए। तिनीहरूले डेइजीलाई आफ्ना आवासगृहमा निमन्त्रणा गर्न पनि छाडिसकेका थिए। तिनीहरूले आफ्ना संस्कारको निकै ख्याल राख्ने युरोपवासीलाई डेइजी अमेरिकी युवती भए तापनि उनको व्यवहार उनका देसवासीको प्रतिनिधित्व गर्ने खालको नभएको एउटा महान्‌ सत्य व्यक्त गर्ने इच्छा गरिरहेका थिए। उनीहरूले उनको व्यवहार असामान्य भएको महसुस गरिरहेका थिए। विन्टरबोर्नले तिनलाई यस्ता खालका अमैत्रीपूर्ण व्यवहार गरिँदा तिनले कस्तो महसुस गरिहोलिन्‌ भनी अचम्म मानिरहेका थिए । कुनै बेला त, विन्टरबोर्नले रिसाउँदै डेइजीलाई यस्ता व्यवहारले कुनै पनि असर नपार्ने विश्वास गरिरहेका थिए । डेइजी एकदमै सजिलै खुसी पार्न सकिने खालकी तथा केटाकेटी स्वभावकी, ज्यादै असभ्य तथा तर्क गर्न नसक्ने खालकी अनि ज्यादै सङ्कुचित विचारले गर्दा समाजमा बहिष्कार भएकी वा सबैबाट सचेत बनेकी युवती हुन्‌ भनी विन्टरबोर्नले मनमनै भनेका थिए | उनले केही समयपछि विश्वास गरे, तिनी आफ्नो अनुरागमा जिद्दी गर्दै आफ्नो रूपले समाजमा पारेको प्रभावमा मात्र पूर्ण चनाखो हुने अनुत्तरदायी युवती हुन्‌ । उनले आफैलाई सोधे डेइजीको जिद्दि गर्ने स्वभाव निर्दोषताको उपज हो वा करकरे जवानीको निश्चिन्तताको ? डेइजीमाथि विन्टरबोर्नको ‘निर्दोषताको’ विश्वास उनीमा रहेको प्रगाढ स्त्रीप्रिय सोचाइको उपज हो भनी स्वीकार गर्नैपर्ने हुन्छ । विन्टरबोर्नका यी कुरा भन्ने अवसर मलाई अगाडि नै हुँदा उनी ती युवतीको बचाउको बारेमा तर्क गर्न नसकेर रिसाइरहेका थिए । उनले डेइजीको यस्तो प्रकारको सिङ्गो स्वभावभित्र निश्चित प्रकारको जन्मजात स्वभाव, डेइजीकै उमेरका युवतीमा तथा सबै अमेरिकीमा पाइने अव्यवहारिकपन र डेइजीकै निजीपनको सम्मिश्रण कति कति होला भनी जान्नका लागि चिन्तित भइरहेका थिए। यही कुरा थाहा नपाउनाले नै उनले एक अर्थमा डेइजीलाई गुमाइसकेका थिए । अब उनले डेइजीलाई प्राप्त गर्न ज्यादै ढिलो भैसकेको थियो । डेइजीलाई गिओभानेलिले लठयाएर मायाजालमा फसाइसकेकेको थियो ।

डेइजीकी आमासँग छोटो कुराकानी भएको केही दिनपछि विन्टरबोर्नको डेइजीसँग फूलले साजएको सिजरको निर्जन दरबारमा जम्काभेट भएको थियो । यो रोमको वसन्त ऋतुको पूर्वार्धमा दरबारको बगैँचाका फूलले ताजा र सुगन्धित हावा छाडिरहेका थिए अनि सामन्त राजाको दरबारको खस्रो आँगनलाई सुकुमार हरियालीको ताजापनले ढाकेको थियो । डेइजी कुँदेर राम्रा अक्षर लेखिएका लेउ लागिसकेका सिङ्गमरमरले छोपिएका दरबार परिसरका धेरैमध्येको एउटा ठुलो भग्नावशेषको माथि बिस्तारै हिँडीरहेकी थिइन । विन्टरबोर्नलाई लाग्यो रोम यसभन्दा थगाडि कहिल्यै पनि याति राम्रो देखिएको थिएन । वसन्तको ताजा हावा र चढ्दो लालीको मनोरम संयोगले रोम सहरलाई टाढैबाट घेरिरहेको थियो। दरबारको पुष्पबगानबाट बिस्तारै आइरहेको आनन्ददायी ओसिलो बासना र त्यस ठाउँको प्राचीनताले गरिरहेको रमाइलो व्याख्याको रहस्यमय सम्मिश्रणमा वसन्त ऋतुको ताजापनको अनुभव गर्दै विन्टरबोर्नले उभिएरै त्यस ठाउँको दृश्य हेरिरहेका थिए । उनलाई लाग्यो, डेइजी पनि यत्तिकी राम्री कहिल्यै देखिएकी थिइनन्‌ तर जब विन्टरबोर्नले डेइजीलाई भेट्दछन्‌, डेइजी उनको लागि यस्तै देखिन्छिन्‌ । डेइजीको साथमा रहेका गिओभानेलिको सुन्दर अनुहार पनि अस्वाभाविकरूपमा उज्यालो
देखिइरहेको थियो ।

‘अँ, मलाई लाग्दछ, तपाईं यहाँ एक्लै हुनुहुन्छ !’ डेइजीले भनिन्‌ ।
‘एक्लै ?’ विन्टरबोर्नले भने ।

sagarmani mobile size

‘तपाईं सधैँ एक्लै घुम्न हिँडिरहनुहुन्छ ? तपाईंले कोही साथी पाउनुहुन्न र ?’ डेइजीले भनिन्‌ ।
‘कहाँ म तपाईँको साथी गिओभानेलि जस्तो भाग्यमानी छु र ?’ विन्टरबोर्नले भने ।

गिओभानेलिले सुरूका दिनबाटै विन्टरबोर्नलाई ज्यादै सम्मानपूर्ण व्यवहार गर्दै आइरहेका थिए। विन्टरबोर्नले उनका भनाइमा भिन्न प्रकारको ध्वनिराग सुनेका थिए। गिओभानेलिले सतर्क भएर हाँस्दै विनम्र तरिकाले आफ्ना कुरा भनिरहेका थिए । उनी विन्टरबोर्न असल युवक हुन्‌ भनी विश्वस्त हुन खोजेजस्ता देखिन्थे। गिओभानेलि युवतीलाई फकाएर मायाप्रीतिको जालमा पारी विवाह गर्ने इर्ष्यालु कार्यमा लाग्ने मानिस थिएनन्‌ । मैले अनुमान गरिसकेको थिएँ, गिओभानेलिले ज्यादै चतुर्याइँपूर्वक कुरा गर्दछन्‌ भनी पाठक धेरै अगाडि देखिनै सहमत हुनुहुन्छ। गिओभानेलि थोरै भएपनि नम्र छन्‌ भन्ने तपाईँको अनुमान उनका लागि अस्वीकार्य हुनेछैन । गिओभानेलिले विन्टरबोर्नलाई माया देखाउँदै बुद्धिमान्‌ मानिसको जस्तो व्यवहार गर्नुपर्थ्यो अनि उनले डेइजीजस्ती असमान्य खालकी युवतीसँगको धनसम्पत्ति प्राप्त गर्ने ज्यादै अवास्तविक सोच राखेर उनको प्रशंसा गरी ती युवतीसँग विवाह गर्न गइरहेका छैनन्‌ भनी विन्टरबोर्नलाई विश्वस्त पार्न सक्नुपर्दथ्यो। यी कुरामा गिओभानेलिले उनीसँग व्यत्तिगत समझदारी गर्न सकेमा गिओभानेलिको एक प्रकारको मानसिक चिन्ता कम हुने आभास विन्टरबोर्नले धेरै पटक पाएजस्तो देखिन्थ्यो। यतिबेला गिओभानेलि आफ्नो टिसर्टको टाँकघरमा होसियारपूर्वक सिउरेर अडयाइएको पात सहितको बदामको फूलको सानो हाँगा मिलाउनको लागि उनको साथी डेइजीलाई छाडी बिस्तारै हिँड्दै थोरै टाढा गइरहेका थिए ।

‘तपाईंले त्यस्तो कुरा गर्नुको कारण मलाई थाहा छ । म गिओभानेलिसँग धेरैजसो घुम्न गइरहन्छु भन्ने ठानेर तपाईंले यस्तो कुरा गर्नुभयो होला, हैन त ?’ गिओभानेलिलाई हेरेर टाउको हल्लाउँदै डेइजीले विन्टरबार्नलाई भनिन्‌।

‘यदि तपाईँ जान्न उत्सुक हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्‌, हरेकले तपाईंको बारेमा यस्तो सोच्दछन्‌,’ विन्टरबोर्नले भने ।

‘म साँच्ची नै जान्न उत्सुक छु तर मैले यस्ता कुरामा विश्वास गर्दिनँ। तिनीहरूले केवल बूझ पचाउँदै मलाई आघात पारिरहेका छन्‌। तिनीहरूले साँच्ची नै म के गर्दछु भनी आफूहरूलाई महत्त्व नराख्ने कुरामा ध्यान दिँदैनन्‌ होला । तिनीहरूको कुरा नै सुन्न पर्दैन, म धेरै घुम्न नै जाने गर्दिनँ,’ गम्भीर भएर आश्चर्य प्रकट गर्दै डेइजीले भनिन्‌ ।

‘मलाई लाग्दछ, तिनीहरूले ध्यान दिइरहेको तपाईँले थाहा पाउनुहुनेछ । तिनीहरूले तपाईँको यस कुरालाई भविष्यमा नरमाइलो दुःखद अन्त्यको रूपमा देखाइदिने छन्‌,’ विन्टरबोर्नले भने ।

डेइजीले विन्टरबोर्नलाई एकछिन ठाडै हेरिन्‌ र भनिन्‌, ‘कसरी दुःखद अन्त्य ?’

‘तपाईंले यसबारेमा केही ध्यान दिनु भएको छैन ?’ विन्टरबोर्नले भने ।

‘मैले तपाईँलाई ध्यान दिएकी छु तर मैले तपाईँलाई पहिलोपटक भेट्दा जति अव्यवहारिक हुनुहुन्थ्यो अहिले पनि त्यस्तै हुनुहुन्छ भनी ध्यान दिएकी छु,’ डेइजीले भनिन्‌ ।

‘तपाईँले मलाई अरूजस्तो त्यति धेरै अव्यवहारिक भएको पाउनुहुने छैन,’ विन्टरबोर्नले हाँस्दै भने ।

‘यस्तो कुरा मैले कसरी पत्ता लगाउन सक्नेछु त ?’ डेइजीले भनिन्‌।

‘अरूलाई भेट्न गएर,’ विन्टरबोर्नले भने ।

‘उनीहरूले मसँग कस्तो व्यवहार गर्लान्‌ त ?’ डेइजीले प्रश्न गरिन्‌ ।

तिनीहरूले तपाईँलाई अमैत्रीपूर्ण व्यवहार गर्नेछन्‌। यसो गर्नुको कारण के हुनेछ ? तपाईँलाई थाहा छ ?’ विन्टरबोर्नले भने ।

डेइजीले विन्टरबोर्नलाई ज्यादै उत्साहपूर्वक हेरिरहेकी थिइन्‌ । उनको अनुहार रातो भइरहेको थियो । ‘तपाईँको मतलब मलाई श्रीमती वाकरले गतराति देखाएको व्यवहार जस्तै ?’ डेइजीले भनिन्‌ ।
…विन्टरबोर्नले भने ।

डेइजीले उनीदेखि टाढा रहेर आफूलाई बदामको फूलले सजाइरहेको गिओभानेलिलाई हेरिन्‌ र त्यसपछि विन्टरबोर्नलाई हेर्दै भनिन्‌, ‘तपाईंले मानिसहरूलाई मसँग यति धेरै अमैत्रीपूर्ण व्यवहार गर्ने अनुरोध गर्नुहुन्छ होला जस्तो त लाग्दैन ।’

‘यसलाई मैले कसरी सहयोग गर्न सक्छु त ?’ विन्टरबोर्नले सोधे ।
‘मलाई लाग्दछ, तपाईंले केही कुरा भन्नैपर्दछ,’ डेइजीले भनिन्‌।
विन्टरबोर्नले एकछिन रोकिएर भने ‘मैले केही कुरा भन्दछु नै। तपाईंकी आमाले मलाई तपाईं गिओभानेलिसँग विवाह गर्नको लागि सहमत हुनुहुन्छ भन्ने कुरामा आफू विश्वस्त भएको कुरा भन्नुभएको थियो ।’

‘अं, उहाँले विश्वास गर्नुहुन्छ,’ डेइजीले ज्यादै सरल तरिकाले भनिन्‌।
विन्टरबोर्न हाँस्न थाले । उनले हाँस्दै सोधे, ‘र्यान्डोल्फले पनि विश्वास गर्ला त ?’

‘मलाई लाग्दछ, ‘र्यान्डोल्फले कुनै कुरा पनि विश्वास गर्दैन,’ डेइजीले भनिन्‌। र्यान्डोल्फको विश्वास नगर्ने प्रवत्ति सुनेर विन्टरबोर्न अझ बढी हाँसिरहेका थिए । विन्टरबोर्नको साथै डेइजीले पनि गिओभानेलि उनीहरूतर्फ आइरहेको देखे । डेइजीले भनिन्‌, ‘म तपाईंकी देशवासी हुँ। तपाईंले कुरा उठाइहाल्नु भयो। म गिओभानेलिसँग विवाह गर्न सहमत भएकी छु।… तपाईंले विश्वास गर्नुहुन्न र !’ विन्टरबोर्नले डेइजीलाई हेरे । उनको हाँसो रोकिसकिएको थियो ।

विन्टरबोर्न एकछिन मौन रहेर भने, ‘हो, मैले तपाईँको कुरा विश्वास गर्दछु !’

‘ए, होइन तपाईंले विश्वास गर्नुहुन्न । अँ, त्यसपाछि म पनि विश्वास गर्दिनँ,’ डेइजीले भनिन्‌ ।

प्रतिक्रिया
Loading...