मूर्ख नबन्‌ ।’ फाल्तू कुरा नसोच्‌ । बूढोले मनमनै भन्यो ।
त्यसपछि बूढो चिच्च्यायो “नकेटो भैइदिएको भए सबै देख्थ्यो होला । मलाई मद्दत पनि गर्थ्यो होला ।” मनमनै सोच्यो बूढोले । त कसैले एक्लो हुनु नपरोस्‌ तर के गर्नु ? कसैले टार्न सक्दो रहेनछ । माछाले गडबड गर्नु अघि नै मैले टुना नखाई हुँदैन । धेरै खाए पनि थोरै खाए पनि विहानै नखाई हुँदैन । खान बिसर्नु हुँदैन । आखिर तन्दुरूस्त हुनैपर्यो ।” मनमनै भन्यो बूढोले । राति दुईवटा पपस आएर डुङ्गालाई घेरे । बूढोले तिनीहरूको स्वाँस्वा आवाज सुन्यो साथै उफ्रेको आवाज पनि । ऊ सजिलै भाले र पोथीको आवाज छुट्टयाउन सक्थ्यो ।

“राम्रा छन्‌ यिनीहरू उसले भन्यो । तिनीहरू एकापसमा खेल्छन्‌, ख्याल ठट्टा गर्छन्‌ साथै माया पनि गर्छन्‌ एकअर्कालाई । तिनीहरू पनि उडुवा माछा जस्तै दाजुभाई हुन हाम्रा ।”

आफूले बल्छीमा पारेको माछोप्रति उसलाई निकै दया लागेर आयो । उसले मनमनै सोच्यो, “यो अनौठो खालको माछो कति वर्ष भयो कसलाई के थाहा ? यस्तो अनौठो खालको अनि शक्तिशाली माछो त मैले अहिलेसम्म भेट्न त परै जाओस्‌ देखेको पनि थिइन । सायद यो माछो निकै राम्रोसित उफ्रिन पनि सक्छ । बर्वाद पार्छ क्यारे यसले मलाई । आक्रमण गर्न पनि बेर छैन । सायद यस अघिनै यो धेरै चोटि बल्छीमा परेको हुनुपर्छ र त कसरी संघर्ष गर्ने भन्ने थाहा छ यसलाई | यो बूढो उसको शत्रु हो भन्ने सायद यसलाई थाहा छैन होला । साँच्चै ठूलो बजारमा माछा बेच्न सके राम्रो कमाइ हुन्छ । मासु पनि मिठो छ होला यसको त । भालेले जस्तै डोरी तान्छ, चारो पनि त्यसैगरी खान्छ, डर पनि लाग्दैन कि क्या हो यसलाई ? म सोच्छु कतै योसित कुनै योजना त छैन अर्थात्‌ म जस्तै निडर वा उन्मत्त भएको छैन कतै ?

यस अघिनै एकजोडि मार्लिन बल्छीमा परेको समय सम्झयो उसले । भाले माछोले प्रायशः पोथी माछोलाई पहिला बल्छीको चारो खान दिन्थ्यो । पोथी उच्छुङ्खल खालकी, भयभित र अक्सर निराशाजनक लडाइँ लडेर थकित हुन्थी । हरबखत भालेपोथीसितै बस्थ्यो । पोथीको वरिपरि चक्कर लगाउँथ्यो भाले माछो । भाले डोरीको निकट बस्थ्यो । त्यसैले बूढो हँसिया जत्रै ठूलो र धारिलो पुच्छरले कतै डोरी नै काट्ने हो कि भनेर डराउँथ्यो । जतिबेला बूढोले पोथी माछालाई बल्छीमा पार्यो, मुङग्रोले हिर्कायो, तीखो थुतुनो समात्दै गर्दा र टाउकोमा दाग लगाउँदै गर्दा माछाको रङ्ग पछाडिको भागको जस्तो रङ्गमा परिणत भयो । त्यसपछि बूढोले माछालाई केटाको सहयोगमा उचालेर बाहिर ल्यायो । विचरो भाले माछो त्यतिखेरसम्म डुङ्गाको छेउमै बसेर हेरिरहेको थियो ।

बूढोले डोरी मिलाउँदै गर्दा र भाला ठीक पार्दै गर्दा पोथी कता गई भनेर हेर्न खोजे जस्तो गरेर निकै माथि ऊफ्रिन्थ्यो । त्यसपछि फेरि पानीभित्रै पस्यो । उसका बैजनी रङका परखेँटाहरू निकै फिँजिएको देखिन्थ्यो भने बैजनी रङ्गकै कत्लाहरू प्रष्ट देखिन्थ्यो । बूढोले सम्झयो भाले माछो निकै सुन्दर थियो ।

बूढोले सोच्यो, “मैले माछाको बारेमा देखेको अति दुःखदायी घटना नै त्यही थियो ।” केटो पनि कम दुःखी थिएन । पोथी माछासित माफी भाग्दै हामीले त्यसलाई तत्कालै मार्यौँ ।

“केटो साथमै भैइदिएको भए” डुङ्गाको गोलो गोलो फल्याकमा अडेस लाग्दै भन्यो बूढोले । काँधमा बोकेको डोरीमा उसले निकै ठूलो माछाको बल परेको महसुस गर्यो । आफूलाई मन लागेको दिशातिर माछो निरन्तर अगाडि बढिरहयो । मेरै दुर्बलताका कारण माछाले यसरी डुङ्गा तानिरहेको छ । बूढोले सोच्यो ।

मेरो प्रलोभन, जालसाजी र यातनाबाट बच्न विकल्प छान्न बाध्य थियो माछो । त्यसैले समुद्रको नीलो पानीमुनि बस्ने इच्छा थियो होला सायद त्यसको । कसैले पत्तो नपाउने गरी त्यसलाई समात्ने मेरो इच्छा थियो । अब त हामी दिउँसो देखि सँगसँगै छौं । हामीलाई मद्दत गर्ने खासै कोही छँदा पनि छैन ।

“कहिलेकाहीँ त म सोच्छु म माझी नबनेको भए राम्रो हुन्थ्यो होला ।” उसले मनमनै भन्यो । ‘तर के गर्नु ? म जन्मेकै माझी बन्न । उज्यालो हुनासाथ मैले नबिर्सिकन टुना खानैपर्छ ।”

उज्यालो हुनु केहीबेर अघि मात्रै बूढोको पछाडिपट्टि एउटा चारो केहीले खाएको जस्तो लाग्यो । लठ्ठी भाँच्चिएको थाहा पायो बूढोले । डुङ्गाको कोल्टे परेको माथिल्लो किनाराबाट डोरी पनि छिटो छिटो फुत्किन थाल्यो । अँध्यारोमै उसले चक्कु झिक्यो अनि माछाको तनाइलाई देब्रे काँधमा लियो । पछाडि फर्केर बूढोले डुङ्गाको काठमाथि राखेर चक्कुले डोरी काट्यो । त्यसपछि उसले आफ्नो नजिकैको अरू डोरी पनि त्यसैगरी काट्यो । अँध्यारोमै बूढोले जगेडा डोरीको गुजुल्टोको टुप्पोलाई खुकुलो पार्यो । उसले यो काम एकै हातले बडो कुशलतापूर्वक सम्पन्न गर्यो । डोरीको गुजुल्टोमाथि खुट्टा राखेर उसले गाँठो बेस्सरी कस्यो । अब उ सित जगेडा डोरीको गुजुल्टै छ वटा थियो । प्रत्येक चारोबाट चुँडालेको दुईवटा र माछाले खाएकोचारोबाट निकालेको दुईवटा गरी जम्मा चारवटा डोरीलाई गाँठो पार्यो उसले ।

राति सान्टियागोले अरू डोरीमा अर्को पनि माछा समात्यो तर कुन माछा समातेको पत्तो नपाई डोरी काटिदियो । पानीमा भएको मूल डोरी समेत काटिदियो बूढोले । मार्लिनको पछि लागेको बूढोले सबै डोरी उपयोग गर्ने विचार गर्यो । अरू माछा, बल्छी, डोरी आदि सबै चीज त्यागेर बूढो मार्लिनको पछि लाग्यो ।

बूढो चिच्च्यायो, “साथमा केटो भइदिएको भए” ।

उसले सोच्यो, “हेर केटो साथमा छैन एक्लै छस्‌ तँ यतिबेला | अब काममा फर्किनु नै वेस हुन्छ तैँले । राति होस्‌ या दिउँसो डोरी काटेर दुईवटा जगेडा गुजुल्टोमा बल्छी लगाइहाल्नु जाति होला ।”

बूढोले त्यसै गर्यो । अँध्यारोमा निकै गाह्रो भयो उसलाई । माछो उफ्रेर पानीमा तरङ्ग पैदा गर्नाले बूढो डुङ्गामा घोप्टिदाँ आँखानेर काट्यो | गालामा रगत ‘चुहियो । च्यापुमा खस्नु अघि नै रगत जम्यो र सुक्यो । डुङ्गाको किनारमा भएको काठको फल्याकमा अडेस लाग्यो बूढो ।

डोरी र बोरालाई काँधमा झुण्ड्यायो बूढोले । माछाले डोरी तानेको थाहा भयो उसलाई | बूढोले पानीमा डुङ्गा चल्दै गरेको महसुस गर्यो । बूढोले पानीमा हात डुङ्गाको गति
अड्कल गर्यो । माछोले किन डुङ्गा हल्लायो मलाई अचम्म लाग्छ । उसको पिठयुँमा पक्कै डोरी चिप्लिएको हुनुपर्छ । अनि माछाको ढाड त मेरो जस्तो दुखेको नहुनुपर्ने हो । तर उसले यो डुङ्गा सँधै यसरी तान्न सक्ने होइन । चाहे जतिसुकै ठूलो किन नहोस्‌ त्यो माछो । मैले सम्भव भएसम्मको पूरै तयारी गरिसकेको छु । मसित जगेडा डोरी पनि प्रशस्तै छ । एउटा मान्छेले यो भन्दा बढी के नै गर्न सक्छ र ?

‘हेर्‌ माछा ! उसले नरम भाषामा भन्यो, “म नमरून्जेल यहीँ बसिरहन्छु तँसितै ।”

“मलाई लाग्छ, त्यो पनि मसितै बस्छ ।” यस्तो सोच्दै बूढो उज्यालोको प्रतिक्षा गर्न थाल्यो । जाडोको मौसम भएकोले उज्यालो हुनुअघि चिसो थियो । न्यानोका लागि बूढोले आफ्नो शरीरलाई डुङ्गाको काठमा दराल्न थाल्यो । जतिबेलासम्म जाडो हुन्छ त्यतिबेलासम्म दरालिरहन्छु । मनमनै भन्यो बूढोले । उज्यालो हुनासाथ डोरी फुकाएर पानीमा डुबायो । डुङ्गा बिस्तारै चल्न थाल्यो । घाम पनि झुल्क्यो । घामको पहिलो किरण बूढाको काँधमा पर्यो । “मार्लिन उत्तरतिर लागे जस्तो छ अब ।” समुद्री धारले हामीलाई पूर्वतिर लैजाला जस्तो छ । माछो धारसितै फर्के हुन्थ्यो । त्यसो भयो भने मार्लिन थाकेछ भन्ठान्नु पर्ला ।

घाम निकै माथि आएपछि बूढोले थाहा पायो, माछो त थाकेकै रहेनछ । एउटा शुभ संकेत चाहिँ के थियो भने माछो त्यति धेरै गहिराइमा नभइ अलि माथि नै पौडिँदै थियो । यसको अर्थ यो होइन कि ऊ उफ्रिहाल्छ तर उफ्रिँदैन भन्न पनि सकिन्न ।

“ईश्वरले उसलाई उफ्रिने बुद्धि देओस्‌”, बूढोले भन्यो । “मसित प्रशस्तै डोरी छँदैछ यसलाई तह लगाउन ।”

“मैले अलिकति दबाब बढाउने हो भने उसलाई चोट पुग्नेछ र उफ्रिनेछ ।” बूढोले सोच्यो । अब त उज्यालो भैहाल्यो जति उफ्रे पनि उफ्रयोस्‌ । यसको पछाडि भागमा रहेको हावाको थैली भरिएपछि धेरै गहिराइमा जान सक्दैन र मरिहाल्छ ।

कस्सिएको डोरी तानेर दबाब बढाउन खोज्यो बूढोले । डोरी नै चुँडला जस्तो गरी तन्क्यो । बल्छीमा माछो परेदेखि उसले दबाब महसुस गर्यो । पछाडि फर्केर डोरी तान्यो र धेरै दबाब दिन नसक्ने देख्यो-बूढोले । “मैले झट्का दिनु हुँदैन अब । झट्का दिँदा डोरी बलछीले काट्न सक्छ र माछाले बल्छी नै फाल्न बेर पनि लाउँदैन । किनभने प्रत्येक तनाइमा बल्छीले माछाको मुखमा पारेको घाउ ठूलो पार्न पनि सक्छ | जे भए पनि घाम लागेपछि मैले त्यति धेरै चिन्ता लिइरहनु पनि नपर्ला किनभने मैले डोरी हेरिरहनु पर्दैन ।”

डोरी तान्दा त्यससित टाँसिएको पहेँलो खालको गल्फ झार देखेपछि बुढो औधि खुसी भयो किनभने त्यही पहेलो झारले राति जूनकिरीको उज्यालो दिएको थियो उसलाई कोही बेला । त्यही समुद्री झारले डोरीको वजन बढाएको थियो । ती उपसागरीय झार फस्फरस चम्के झै चम्किन्छन्‌ ।

“माछा !” बूढोले भन्यो, “हेर्‌ तँलाई माया पनि गर्छु साथै सम्मान पनि तर घाम डुब्नु अघि नै नमारी छोड्दिन्‌ तँलाई ।”

“हामीले यस्तै आश गर्नुपर्छ ।” मनमनै भन्यो बूढोले ।

उत्तरतिरबाट एउटा बाबलर नाम गरेको सानो चरो डुङ्गा भएतिर आयो । गाइने चरो थियो त्यो जुन पानी भन्दा थोरै माथिबाट उड्दै थियो । बूढोले चरो देख्ने बित्तिकै थाहा पायो, चरो त निकै थाकेको रहेछ । त्यो चरो बूढोको टाउको वरिपरि एक फन्को लगाएपछि आराम गर्न डोरीमा बस्यो ।