तुषार पात्र निकै बुद्धिमान र अक्किलदार केटो हो भन्ने कुरो बुझ्न इन्द्रलाई गाह्रो परेन । आफूचाहिँ केही भन्दैन,सबै कुरो अरुबाट नै ओकल्याउन चाहन्छ ।कस्तो बाठो ! अँ ,यस्तै अक्किल बुद्धिको मान्छे मनपर्छ उसलाई ।
“तपाईँ एउटा काम गर्नुस । काम बाकुलीबाट शुरु होस । बाकुलीमा कति जना होलान् त ?”
“छन् ,थु्रपै छन् ।”
“बर्गादार ? सबै कृषि मजदुर छन् ।हारान माझी र लबन माझमात्र मोही हुन । सूर्य साऊको छोरो महावीर साऊ । तर ऊ त रोतोनीको बिर्तामा छ । ऊ शायद यतै होला । जाऊँ ।”
“तपाईँ त चरसा जाने होइन ?”
“ म त चरसाबाट फर्केर आउँदै छु । ”
चरसातिर जाँदैगर्दा दीनु,रजत,गौर र कदमले भनेका थिए, “यो काम एकदम राम्रो हो ,इन्द्रदा । थरिथरिका अप्ठ्याराहरूले गर्दा हामी पनि झन्झटमा फसेको छौँ । यो काम फत्ते भयोभने सबै कुरो ठीक हुन्छ । ”
“अवश्य हुन्छ । बर्गा अभियान पार्टीको सिद्धान्त हो ,पार्टीको कार्यक्रम हो । हामी यो कार्यक्रमलाई सफल बनाएरै छाडछौँ ।”
“उद्धव र सोरेनले त अहिलेसम्म केही अप्ठ्यारो पारेका छैनन,इन्द्रदा । तिनलाई तानियो भने त ती हामीसँग मिल्न सक्छन् । यस बारेमा तपाईँको के बिचार छ ? हुन त तिनको बारेमा तपाईँको धारणा कस्तो छ कुन्नि ?”
“यस कुरामा अवश्य प्रयास गरौँला । पहिले त यो कुरो थाहा हुनुप¥यो कि ती अझै पनि पहिलाको झैँ राजनीति गर्दैछन् वा छैनन् ?”
“मनको कुरो त कसले भन्न सक्छ र ? तर प्रकट रूपमा तिनीहरू केही पनि गर्दैनन् । बरु हाम्रो सबै कामहरूमा सोरेनले रतनकालाई अघि सार्ने गरेका छन् । रतनकाको मान्छेसँग तिनैले हाम्रो सम्झौता गराइरहेका छन् । ”
“थाहा छ । रतन डुम, उद्धव काउरा र दिलीप सोरेन । चरसामा खुट्टो टेकिरहनका लागि यिनीहरूलाई साथ लिनै पर्दछ । यिनीहरू चरसाका रैथाने हुन । हामी त बाहिरिया भयौँ नि ।”
चरसामा उनीहरूले सँगसँगै पाइलो टेकेका मात्र के थिए दिलीप सोरेनले उनीहरूलाई खेदिहाल्यो । घटना एकदम नाटकीय जस्तो थियो ।
साँच्चै भन्ने हो भने इन्द्र यस्तो नाटकीय प्रस्थानका लागि तयार थिएन । चरसा नदी,पारिपट्टि बलौटे बगर अनि ढुङ्गे बगर , त्यसपछि चरसाको जङ्गल । नदीको किनारका फाँटहरूमा हरिया खेतहरू अनि चरसाको बस्ती देखेर इन्द्र मन्त्रमुग्ध नै भएको थियो ,मानौँ ऊ कुनै कलाकारले आफ्नो कुचीले कोरेको सुन्दर कलाकृति हेरिरहेको होस् ।यही नदीबाट नहर निकालिने छ ।त्यस नहरबाट फेरि अरु कतिपय सानातिना कुलाकुलेसाहरू निकालिनेछन् र यस नदीलाई बाम्भोनी नदीसँग जोडिनेछ । पानी, सिचाइ, माटोको उर्बरापन । चरसा नदीमा पुल हालिने छ । त्यसपछि राजमार्ग बन्नेछ ।जङ्गलहरू मासिनेछ । सामन्तको ठहर छ कि आवागमनको असुविधा भएकोले पनि यी ठाउँहरूमा बेलाबखत आन्दोलन उठिरहेको हो । जहाँ पुग्न सकिँदैन त्यहाँ ठूलो सङ्ख्यामा घुसपैठ गर ।बस् ,आन्दोलन बन्द । अचेल सबैजना सिद्धान्त उकेलिरहेका छन् ,सिद्धान्त । यस्तै तर्कनाहरूमा रुमल्लिँदै इन्द्रले चरसामा पाइलो टेकेको थियो । धेरै बेरसम्म हिँडिरह्यो । ऊ रतनको घर खोजिरहेको थियो । त्यसैबेला आलापविलाप सुनियो । चनाखो हुँदै यताउति हे¥यो – आम्मै..सोनाकी आमा !
खटियामा सुताएर कसैलाई ल्याइँदै थियो । खटियाको छेऊछेऊ रुँदै हिँडिरहेको थियो – एकजना प्रौढ । रतनचाहिँ गम्छा हम्कँदै त्यो प्रौढलाई हपसीदपसी गर्दै थियो । हलुका निलो रङ्गको गन्जी र धोति लगाएको एकजना सन्थाल युवक उनीहरूलाई देखेर अघिल्तिर आयो र इन्द्रसँग भन्यो,“इन्द्र बाबु, म सोरेन हँु,दिलीप सोरेन । दीनुहरूसँगै आउनुभएकोले चिन्न सजिलो भयो मलाई । जाऊँ ,चाँडै जाऊँ । ”
“कहाँ ?”
“मातङ्ग डुमकी जहान भारी जिऊकी थिई । लडिछ अनि बेहोश भई । चरसाक्षेत्रको अस्पताल त अलि परै छ –बाम्भोनी गाउँमा । तपाईँ सँगै हुनुभयोभने उसलाई अस्पतालमा भर्ना गराउन सजिलो हुन्छ । डाक्टरसँग मेरो त्यति तालमेल छैन ।”
इन्द्रले भन्यो,“ हुन्छ , जाऊँ । दीनु, कदम ! तिमीहरू पनि हिँड । बिरामीको गर्दन हल्लिरहेको छ । खटिया बोकेर दौड्नु पर्ने हुन्छ । रजत, तिमी अगाडि आऊ ।”
सोरेनले उद्धवलाई डाक्यो अनि भन्यो, “तपाईँ आफ्नो झोलासोला यसलाई दिनुस् । यो उद्धव काउरा हो । राम्ररी समात । ल है, भाइहरू । दुई जनाले दुईतिरबाट समाऊ र सोनाकी आमालाई थिचेर राख । छटपटाउँदा खस्लिन फेरि । हामी दौडँदै हिँडछौँ । ल ,कुद । ”
उनीहरू झण्डैझण्डै दौडेकै जस्तोगरी छिटछिटो अगाडि लागे । खटियामा गुन्द्री । गुन्द्रीमाथि थाङ्ना ओछ्याइएको थियो । बेहोस महिलाको शरीर दौडाइको चालसँगै हल्लिन्थ्यो । माछाको जस्तो गन्ध फिँजिएको थियो । सो्रेनले भन्यो, “ रगत बगिरहेको छ । थामिएला जस्तो छैन..कुद ..छिटछिटो कुद..।”
चरसाको अस्पतालमा छ वटा शैय्या छ । एघार जना रोगी छन् । डाक्टर नर्स आए दौडादौड गर्दै । डाक्टरले भन्यो,“ जागुला लैजानुस् । यहाँ यो बिरामीको उपचार..”
इन्द्रले भन्यो, “ आज सम्भव छैन । अहिले जे गर्न सकिन्छ,गर्नुस् । पछि देखाजाला ।”
दीनुले भन्यो, “ उहाँ हाम्रै कामरेड हुनुहुन्छ ।”
बिरामीलाई टेबिलमा सुताइयो । सोरेनले भन्यो, “औषधि सुईहरू त अस्ति भर्खर आएको त हो नि । ल ,झिक्नुस् ।”
इन्द्रले पनि भन्यो,“ अँ , जे छ झिक्नुस ् । अहिले अँध्यारो बढछ । स्टोभ कता छ ?”
रतनले भन्यो , “ डाक्टरको कोठामा ..अन्त कहाँ हुनु ?”
स्टोभ बाहिर ल्याइयो ।
दीनुले स्टोभ सल्कायो । सोरेन,कदम र उद्धवले पानी तताए । सुईलगायतका उपकरणहरू तातो पानीमा पकाइयो । नर्सले डाक्टरलाई सघाइन् ।
एकदमै अनौठो परिस्थितिमा जटील शल्य क्रिया गर्दागर्दै रात निकै घर्किसकेको थियो । दश बजेतिर पसिनामा भिजेका डाक्टर बाहिर निस्के र भने, “निकै मुस्किलले शल्य क्रिया गरियो । आगे उसको भाग्य । ”
झिसमिसे उज्यालो हुनेबेलामा बल्ल बिरामीको होश आयो । सबै आश्वस्त भए – मातङ्ग डुमकी जहान यसपालि बाँची अब । मातङ्ग र अर्को एक जनालाई त्यहाँ राखेर इन्द्रहरू चरसा फर्के । सोरेनले भन्यो,“ मकहाँ जाऊँ । चिया ख्वाउँछु ।”
गाढा रङ्गको नुनिलो चिया । दिलीपको घर सानो थियो , तर थियो दुई तले । दिलीपले भन्यो, “ सुत्ने भए यहीँ सुत्नुस् । हिँडनुस् त ,माथि जाऊँ ।” माटाको भ¥याङ उक्लिएर इन्द्र माथिल्लो तलाको कोठामा गयो । खरको छानो । दुबैतिर भित्तामा गोलो झ्याल । भुइँमा चिप्लो खाले गुन्द्री ओछ्याइएको छ । भ¥याङकै खुडकिलोको खण्डमा किताबहरू पनि राखिएको छ । घरेलु उपचार,जडीबुटीहरूबाट हुने फाइदा,घर पालुवा जनावरहरूको चिकित्सा, बाल वर्णमाला आदि पुस्तकहरू धेरै पटक प्रयोगमा ल्याइएकोले कुनाहरू दोब्रिएर थोत्रिएको जस्तो भएको थियो । सफा कोठा । इन्द्र त्यहीँ सुत्यो ।
निद्रा खुलेपछि ऊ तल ओल्र्यो । समय धेरै घर्केछ कि क्या हो ? सोच्दै घडी हे¥यो –सवा दश बजेको रहेछ । दीनुले सोध्यो, “जाऊँ ,नुहाउनु होला नि ?”
“सोरेन खोई त ?”
“अस्पताल गएको छ । आउँदै होला । आएपछि भात पकाउला । रतनले पनि त्यसै भनेको छ । ऊ चाहिँ तरकारीको लागि कुभिन्डो लिन गएको छ ।”
“सोरेनको यो घर कति राम्रो छ ,है !”
“माथिल्लो तला त ऊ आफैँले बनाएको हो ।”
यो घर सन्थालहरूको बस्तीमा थियो ।त्यसैबेला एउटी सन्थाल महिला चामल लिएर आई र आँगनमा राखेर फर्की । रतनले ठीक्कको एउटा फर्सी लिएर आयो र भन्यो,“यो भित्र राख । अनि भातको लागि पानी बसाइदेऊ । त्यसपछि नुहाउनू ।”
इन्द्रले सोध्यो,“चामल र फर्सी गरेर कतिको ल्यायौ, रतनदा ?”
”किन ?”
”यसको पैसा लिएनौ भने खाँदैनौँ हामी ।”
“त्यसो भए दिइदिनु नि त ।”
सोरेनले बेसार,खोर्सानी र एउटा सानो शिशिमा तेल ल्यायो । पैसाको कुरा सुनेर सेता दन्तलहर देखाउँदै खिस्स हाँस्दै भन्न लाग्यो, “ अवश्य दिनुहोला । ल जाऊँ अब, नुहाउन ।”
“नुहाउनका लागि केको हतार ?”
“घाम उकालो चढदै गएपछि कुवाँ सुक्छ ।”
“हँ ? चैत नलाग्दै ?”
“अँ , चैतभन्दा पहिले नै ।”
चरसाको छाती खनेर ढुङ्गा छापेर कुवाँ बनाइएको छ । शिशाझैँ कन्चन पानी । उसले त्यहीँ नुहायो । फर्केर आएपछि सोरेनले भात बसाल्यो । फर्सी काट्यो । उद्धवसँग भन्यो,“नुन हालेपछि फर्सी चाँडै पाक्छ ।” त्यसपछि इन्द्रतिर फर्केर भन्न थाल्यो, “अब यो उद्धवले गर्छ । तिमी आराम गर । ‘तिमी’ भन्दैछु ,नरिसाऊ नि । गफ गर्दा ‘तपाईँ’ भन्नै आउँदैन । थेगै भइसक्यो ।”
“अप्ठ्यारो नमानीकन ‘तिमी’ भन्दा हुन्छ ।”
“जाऊँ माथि बसौँ ।”
ती दुई माथि उक्ले ।सोरेनले खुब जतनसाथ आफ्नो कपाल को¥यो अनि पुछपाछ गरेर काइँयो राख्यो । त्यसपछि सोध्यो, “ सोरेन र उद्धव अर्थात् हाम्रो बारेमा के जान्न खोजेका हौ ?”
“तिमी को हौ ?”
“दिलीप सोरेन ।”
“लेखपढ कहाँ भयो ? बोल्दाखेरि त पटक्कै अडकँदैनौ । शायद आफ्नो समाजमा बस्याछैनौ कि क्या हो ?”
“ पढाइलेखाइ जागुलामा भयो । छात्राबासमै बस्थेँ । स्कूलको नाम ठेगाना दिऊँ ? सोधखोज गर्छौ ?”
“जागुलामा ?”
बिचमै कुराकाट्दै सोरेनले भन्यो, “ अँ , इन्द्र बाबु । सामन्त बाबु मलाई राम्रोसँग चिन्दछन् । मेरी आमालाई पनि चिन्दछन् । धान कुटेर आमाले मलाई पाल्नु भएको थियो । त्यसैले बिड्डी बाबुले मलाई लिएर गएर स्कूलमा भर्ना गरिदिए । आमा बित्नुभयो ,त्यसैले अचेल यहाँ आएर बसिरहेको छु । केही तलबितल पो भयो कि ?”
“मैले तिम्रो अपमान गर्ने उद्देश्यले होइन, जिज्ञासावश यी कुराहरू सोधेको हँु । यदि मेरो सोधाइले गर्दा त्यस्तो भान भएको भए क्षमा चाहन्छु ।”
“अब त थाहा पाउनु भयो ?”
“जागिर त पाउँथ्यौ नि तिमीले ?”
“भनेको हँु । पुलिसको जागिर खा भन्थे ।”
“पुलिसदेखि धेरै घृणा छ तिमीलाई ,होइन ?”
“तिमी घृणा गर्दैनौ ?”
“गर्छु । ”
“सन्थाल भएर यदि कुनै दिन सन्थालहरूउपर नै गोली चलाउनु परेको भए ? डरलाग्थ्यो ,एकदम डर लाग्थ्यो ।”
“अरु काम पनि त हुन्थ्यो होला नि ।”
“हुन्थ्यो होला । धेरैले काम पाएका पनि छन् ,गर्दै पनि छन । मैले चाहिँ काम पाइनँ । तर चरसामा आवतजावत छँदैछ । अलिकति जमीन भए पनि काम चल्थ्यो । यही सोचिरहेको छु ।”
“जमीन पायौ भने ..?”
“जमीन पाएँभने ? आमा भन्नुहुन्थ्यो –कुनै बेला हाम्रो पनि जमीन थियो । नदी सर्दै आयो र हाम्रो जमीन हरायो । कहिलेदेखि हरायो भन्ने कुरो आमाले पनि भन्न सकिनन् । आमा जन्मनुभन्दा धेरै पहिले शायद यो सबै भइसकेको थियो । आमा भन्थिन् – अलिकति मात्रै पनि जमीन हामीसँग हँुदो हो त ..!”
“आमा अब छैनन् ?”
“अहँ, छैनन् । यस्तो कुरो सुनेर साथीहरू भन्छन्– त्यसैले तिमी सन्थाल हौ । अरु के भनौँ ? म सन्थाल हँु –त्यो त पटकपटक भन्छु म । कुनै मुद्दामा केटाहरूले कुनै बेला हडताल गरेका थिएभने म पनि त्यसमा सम्मिलित भएको छु । तर पनि भन्छन् कि म सन्थाल हँु । सरकारले मेरो लागि कति थोक गरिरहेको छ तर ती सबै कुरा बिर्सेर म केके जाति गरिरहेको छु । एउटा साथीको बहिनीको बिहेभोजमा गएको थिएँ । सबैको आँखा मेरै अनुहारमा खनिएको पाएँ । साथीकी आमाले सोधिन्,‘तिमीलाई खानपिनमा केही असुविधा त भएन ?’”
“किन त्यसो भनिन् त ?”
“किनकि म सन्थाल हँु । यसैले मेरो निकै हेरबिचार गरियो । तर मलाई राम्रो लागेन ।”
“रामो नलाग्नु स्वभाविकै हो ।”
“ सन्थाल हुनुको नाताले जागिर पाइन्छ । त्यो मलाई पनि थाहा थियो । त्यस बेला कमिज र पैन्ट किनेको थिएँ मैले,छात्रवृत्तिको पैसाले । एकमुष्ट छात्रवृत्ति दिइएको थियो । चरसा आवतजावत गरिरहन्छु । बस्नचाहिँ भुषणकहाँ बस्छु । उनलाई काका भन्छु । उनकी आमा मेरो हजुरामा पर्नुहुन्छ । कमिज पैन्ट लगाएर म खुसीले दङ्ग परेको थिएँ । शानले गाउँ डुलँुला । सबैले देख्नेछन् भन्ने थियो ।”
“यो कहिलेको कुरो हो ?”
“धेरै भएको छैन । चरसाको माझिपाडामा मेरो खुब इज्जत गर्छन् । अँ , हाम्रै जातको काली मेझेनको छोराले पढेको छ । चरसामा ऊबाहेक पढेका सन्थाल कोही पनि छैनन् । हुन त उसले अर्को समाजको नाम राख्यो तर पनि ..। म के बन्छु ? सबैको जिज्ञासा त्यतातिर छ । शिक्षक बन्छु कि ? न न्यायाधीश पो बन्छु कि ? न डाक्टर पो हुन्छु कि ? केही बनेँभने मैले यो गाउँले समाज छोडने पो हँु कि भन्ने आशङ्का छ उनीहरूमा ।”
“यो सबै उनीहरूले भनेका हुन् ? ”
“अँ , उनीहरूले ।”
“त्यसपछि ?”
“सर्ट, पैन्ट र जुत्ता लगाएर घर गएँ । हजुरामा जसलाई हामी गड्म आयु भन्छौँ मलाई देख्नासाथ हक्क न बक्क भइन् र टाउकोबाट दाउराको भारी बिसाउँदै रुन पो थालिन् । विलौना गर्दै भनिन् – तँ पुलिस भइस् ? पुलिस ? पुलिसको काम गर्ने तँ ?”
“उहाँलाई ठूलो आघात पुगेको रहेछ ।”
“अँ ,निकै नै । र ,उहाँको कुरा सुनेर तत्क्षणै मेरो मनले भन्यो,‘अहँ , म पुलिस बन्दिनँ ।’ मैले उहाँलाई सम्झाएँ ,‘होइन , म पुलिस बनेको हुइनँ । किन बनुँला पुलिस ?’ अनि उहाँले के भन्नुभयो ,थाहा छ ?”
“के ?”
“भन्नुभयो ,‘तँलाई के थाहा ,बाबु ?तेरो उमेरै के भएको छ र ? तेरी आमा मभन्दा कति सानी थिई । मैले धेरैथोक देखेकी छु, सँधै देख्दै आइरहेकी छु…सँधै म देखिरहेकी छु कि पुलिस जहिले पनि सन्थालहरूतिर बन्दुक सोझ्याएर बसिरहेको छ । ”
“यस्तो भन्नुभयो ?”
“अँ । त्यसैबेला मैले अठोट गरेँ कि म पुलिसको जागिर खानेछुइनँ । र , त्यो थाहा हँुदाहँुदै पनि मलाई पुलिस बन्न कर गरिँदैछ ।”
“त्यसोभए पुलिसको जागिर गरेनौ?”
“अहँ , गर्न सकिँन । सामन्त बाबु निकै चिढिए र अरुहरू पनि छि ः छि ः गर्न लागे ।”
“त्यसपछि यहाँ आयौ ?”
“ होइन । मुङ्फलीदेखि जुत्ताको फित्तासम्म बेच्ने कोसिस गरेँ । आखिरीमा कपालको किलिपपनि बेच्ने काम गरेँ । धर्मराजको मेला अझ पनि फेसनियाँहरूको घुमफिर गर्ने थलोको रूपमा चिनिएकै छ ।र , धर्मराजको मेला भरेर जारुलियाको वन बिभागको बङ्गलामा जान सकिन्छ ,बस्न सकिन्छ । त्यहाँ हरिण,मयुर,तित्राहरू बडेमानको जालीघरभित्र पालिएका छन् ।शहरका मान्छेहरूले किलिप किने । यसपालिको मेलामा ताडको पातको थुप्रै छत्तरी बनाएर लैजान्छु । पैसा बोकेरै चरसा आएको छु । ”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।