साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसार प्रख्यात उपन्यासः युद्ध र शान्तिःः लियो टोल्सटोयः शृंखला १७

परिच्छेद १७

अन्ना मिखायलोभ्ना छोरालाई लिएर काउन्ट सिरिल व्लादिमिरोभिच बेजुकोभलाई भेट्न गएपछि काउन्टेस रोस्तोभा धेरै बेरसम्म हातको रुमालले आँखाका आँसु पुछ्दै धुमधुम्ती एक्लै बसिरहिन्‌ र अन्त्यमा उनले घन्टी बजाइन्‌ ।

“तपाईंलाई के भयो मेरी प्यारी ?” उनले झिँजिदै नोकर्तीलाई भनिन्‌, जसले उसलाई केही मिनेटसम्म पर्खाएर राखी । “के तपाईंलाई मेरो काम गर्ने इच्छा छैन ? त्यसो हो भने म तपाईंलाई अर्को काम खोजिदिन्छु ।”

काउन्टेस आफ्नी साथीको दु:ख र अपमानजनक दरिद्रता देखेर दिक्क भएकी थिइन्‌ । त्यसकारण उनको मनोदशा पनि ठीक अवस्थामा थिएन । यस्तो अवस्थामा उनले अरू बेलामा पनि हुने गरेजस्तो नोकर्नीलाई “मेरी प्यारी” र “तपाईं” जस्तो सम्मानजनक शब्दले सम्बोधन गर्ने गर्थिन्‌ ।

“क्षमा पाऊँ मालिक्नी,” नोकर्नीले भनी ।

“काउन्टलाई मसँग पठाइदिनुस्‌ ।”

काउन्ट हल्लिदै र सदाझैँ दोषी मान्छेको जस्तो अनुहार लगाउँदै श्रीमतीसँग आए ।
“साह्रै मजा आयो, मेरी प्यारी काउन्टेस,” तेलमा तारेको चराको स्वादिलो मासु “रक्सीसँग खाइने भो आज । प्रिय, मैले अलिकति चाखिसकेँ । मैले तुरासलाई एक हजार रुबल दिएर केही गल्ती गरेको रहेनछु । उसलाई त्यति त दिनै पर्थ्यो ।”

उनी एकदम तन्नेरीझैँ घुँडामा कुहिनो अड्याएर, हातले पाकेका कपालका रौँ सुमसुम्याउँदै श्रीमतीसँग आएर बसे ।

“तिमी के हुकुम दिन्छौ, मेरी रानी ?”
“थाहा छ? हजूरलाई,” लुगामा यो केको दाग हो ? काउन्टेसले उसको वेस्टकोटतिर सङ्केत गर्दै भनिन्‌ । “मैले बुझेँ, पक्कै पनि त्यही तारेको मासुको दाग हो,” उनले मुस्कुराउँदै थपिन्‌ । “ठीकै छ काउन्ट, मलाई केही रकमको सख्त जरुरी छ- आज नभई हुँदैन ।”

काउन्टेसको अनुहार मलिनो भएर आयो ।

“ओहो, प्यारी काउन्टेस,” काउन्ट तम्सिदै खल्तीवाट पैसा निकाल्न लागे ।
“मलाई अलि धेरै नै कमसेकम पाँच सय रुबल चाहिन्छ काउन्ट,” आफ्नो सेतो कपासको रूमाल निकालेर उनले श्रीमान्‌को वेस्टकोट सफा गर्न लागिन्‌ ।

“हुन्छ, भइहाल्छ, अहिले नै दिन्छु,” ए, त्यहाँ को छ हँ । उनी यसरी गर्जे कि त्यसरी गर्जिदा उनले बोलाएको मान्छे जोसुकै भए पनि त्यहाँ उपस्थित हुनै पर्थ्यो ।” “दमित्रीलाई तुरुन्त यहाँ बोलाऊ ।”

काउन्टकै परिवारको पालनपोषणमा हुर्केको र उनको सम्पूर्ण व्यवस्थापन जिम्मा लिएको दमित्री विस्तारै काउन्टेसामु उपस्थित भयो । “मलार्इ तिमीजस्तै मान्छे चाहिन्छ, ।”

सुन, काउन्टले उसलाई निर्देशन दिए, “मलार्इ तुरून्तै सात सय रूबल चाहियो । त्यसको व्यवस्था गर । तर अस्तिजस्तो पुराना नोट होइन नि र एकदमै नयाँ र ताजा ।” “र त्यो रकम काउन्टेसलाई लगेर देऊ ।”

“बुझ्यौ होइन, दमित्री,” नोटहरू नयाँ-नयाँ ल्याउनू है, लामो सास फेर्दै काउन्टले भने ।”

“रकमको व्यवस्था कति बेलासम्म गर्नु पर्यो, हजूर ?” दमित्रीले सोध्यो । “मैले जानकारी मात्र पाउनु पर्यो हजूर, हजूरले यसमा चिन्ता लिनु पर्दैन,” उसले थप्यो । काउन्टको सास फुल्दै थियो र यसको अर्थ उनलाई यस्तो अवस्थामा रिस उठेको हुन्छ भन्ने दमित्रीले बुझेको थियो ।

“मैले सोध्नै बिसेँ हजूर, रकमको व्यवस्था तुरुन्तै गर्नु पर्ने हो कि ?”
“ठीक भन्यौ, तुरुन्तै ल्याऊ र काउन्टेसलाई लगेर दिइहाल ।”

“खजान्ची त दमित्रीजस्तो पो खजान्ची,” उक्त तन्नेरी आज्ञा शिरोपर गर्दै त्यहाँबाट हिँडेपछि काउन्टले मुस्कुराउँदै थपे ।

“उसले मेरो आज्ञा कहिल्यै टार्दैन । “हुँदैन त भन्दै भन्दैन ।”

“तर त्यही कुरा हो, जो मलाई मन पर्दैन । उसले जे भन्छ त्यो सम्भव नहुन पनि त सक्छ नि ।”

“पैसा, ए राजा ! यो पैसाले संसारलाई कति दु:ख दिएको छ,” काउन्टेसले भनिन्‌ । “तर थाहा हुँदाहुँदै पनि मलाई अहिले त्यही पैसाको आवश्यकता परेको छ ।”

“मलाई थाहा छ प्यारी काउन्टेस, मनपरी पैसा खर्च गर्ने तिम्रो असाध्यै नराम्रो बानी छ । ऋण पाए तिमी हात्ती पनि चढ्छयौ र घिउ मात्र पनि पिउँछ्यौ,” काउन्ट प्रियतमाको हात चुम्दै आफ्नो शयनकक्षतिर लागे ।

अन्ना मिखायलोभ्ना काउन्ट बेजुकोभकहाँबाट फर्केर आउँदा काउन्टेसको सानो टेबुलमुन्तिर रुमालमा बाँधिएको नयाँ नयाँ नोटको एउटा बिटो तयार पारेर राखिएको थियो । “अन्ना मिखायलोभ्नालाई काउन्टेस कुनै कारणले दु:खी भएकी छिनजस्तो लाग्यो ।”

“मेरी प्यारी सँगिनी, बिरामीको हालखबर कस्तो छ,” काउन्टेसले सोधिन्‌ ।
“ओहो, त्यो कुरै नगरौँ सँगिनी,” काउन्टको अवस्था ज्यादै नाजुक छ । उनी अचेत अवस्थामा छन्‌ । उनले मान्छे पनि चिन्न सक्तैनन्‌ । म त त्यहाँ केही छिन्‌ मात्र बसेँ र मुखबाट दुई शब्द पनि बोल्ने धृष्टता गरिनँ ।”

“अन्ने, भगवानका लागि नाइँ नभन्नू,” काउन्टेसले टेबुलमुनि रुमालमा राखेको पैसाको पोको हातमा लिइन्‌ र लाजमानेजस्तो अनुहार लगाउँदै भनिन्‌ । उनको बुढ्यौली उमेरको दुब्लो तर गर्विलो अनुहार कस्तो कस्तो अर्कै किसिमको लागिरहेथ्यो ।

अन्ना मिखायलोभ्नाले काउन्टेसको आशय बुझिहालिन्‌ । र, उचित अवसर पाउनासाथ उनीसँग अङ्कमाल गर्ने सुरले झुकिन्‌ ।

“यो मेरोतर्फबाट बोरिसको बर्दी आदि खर्च टार्नको लागि ।”

अन्ना मिखायलोभ्नाले काउन्टेसलाई अङ्कमाल गरिरहेकी थिई र ऊ रोइरहेकी थिई । काउन्टेस पनि रुँदै थिइन्‌ । उनीहरू दुवैजना रोए किनभने उनीहरू साथीसाथी थिए र कमलो हृदयका पनि थिए । किनभने बाल्यावस्थादेखिका यी साथीहरू दुवैलाई अहिले आएर पैसाजस्तो तुच्छ तत्त्वको ठूलो अभाव थियो, खाँचो परिरहेको थियो । र, उनीहरू रोए किनभने उनीहरूको यौवनावस्था पनि घर्किसकेको थियो ।
तर उनीहरूको आँसु उनीहरूका लागि सुखकर थियो ।

प्रतिक्रिया
Loading...