चौथो रात

यो झालरबत्तीको बारेमा म अलिकति थप्छु । किन नथप्नु ? मेरा परिवार, यहाँ छैनन्‌ । मसँग भएका झालरबत्तीहरू मात्रै हुन्‌ ।

एउटा झालरबत्ती यहाँ अफिसमा मेरो शिरमाथि नै छ भने राजमहल बिलास फेज- २, बस्तीमा भएको मेरो अपार्टमेन्टमा २ वटा छ । एउटा बैठक कोठामा छ भने अर्को मेरो स्नानघरमा । सायद झालरबत्ती भएको चर्पी बैङ्गलोरमा मेरो मात्रै होला !

मैले यी सबै बत्तीहरू एकदिन लालबाघ बगैंचामा बरको रूखमा झुन्ड्याएर राखेर एउटा गाउँले केटाले बेचिराखेको बेला देखेको हुँ । मैले सबै बत्तीहरू एकैपटक त्यहीँ किनेँ । एउटा मान्छेलाई पैसा दिएर गोरू गाडामा राखेर घर ल्याएँ । चारवटा बत्ती राखेर एकजना मान्छे र म बैङ्लोर सहरमा गाडा चढ्यौं । लिमोजिन गाडी गोरूले तानेको । क्या अचम्म !

म झालरबत्ती देख्दा खुसी हुन्छु । नहुनुपर्ने कारण के छ ? म एक स्वतन्त्र मानिस हुँ । मन परेजति ,बत्ति किन्नु मेरो आफ्नो कुरा हो । एउटा फाइदा के छ भने झालरबत्तीले गर्दा छेपारो कोठामा आउँदैन । श्रीमान्‌ यो सत्य हो । छेपारोलाई बत्ती मन पर्दैन ।

झालरबत्ती देख्नेबित्तिकै यिनीहरू भाग्छन्‌ ।

मानिसहरू झालरबत्ती किनेर, जताततै किन राख्दैनन्‌, मैले बुझेको छैन । समस्या के छ भने स्वतन्त्र मानिसले स्वतन्त्रताको अर्थ बुझेकै छैनन्‌ ।

कहिलेकाहीँ म मेरो कोठाका दुवै झालरबत्ती बालेर उज्यालोमा लम्पसार परेर हाँस्छु । लुकेर बसेको मान्छे, झालरबत्तीको उज्यालोमा । कस्तो अचम्म, होइन त ?

अब म कसरी भाग्न सफल भएँ भन्ने रहस्य खोल्दै छु । .

पुलिसले मलाई अन्धकारमा खोजिरह्यो तर म उज्यालोमै लुक । अन्त हो र ? बैंङ्लोरमा । अचम्म !

झालरबत्तिका धेरैवटा उपयोगिता मध्ये मानिसहरूले थाहा नापएको पाएर पनि मन नपर्ने यौटा विशेषता के छ भने जब तपाईं कुनै कुरा बिर्सनुहुन्छ, छततिर फर्केर यसका टल्कने सिसाका टुक्राहरू एक छिन हेरिरहनुस्‌, पाँच मिनेटभित्र तपाईँले त्यो सम्झनुहुन्छ ।

हेर्नुस्‌ न, मैले हाम्रो कथा हिजो राति कहाँ पुगेको थियो बिर्सेछु । तपाईंलाई कुराइ राखेर एकछिन झालरबत्ती हेरेपछि अहिले याद आयो हामी कहाँ थियौँ ।

दिल्ली । हिजो राति मैले कथाको अन्त्य गर्दा हामी दिल्ली पुगेका थियौँ ।

हाम्रो सुन्दर देशको राजधानी । संसद्‌, राष्ट्रपति, हाम्रा मन्त्रीहरू र प्रधानमन्त्री हुने ठाउँ । हाम्रो राष्ट्रिय योजनाको गौरव । गणतन्त्रको रूप (औचित्य) । सबैले त्यही भन्छन्‌ ।

अब सत्य के हो ड्राइभरकै मुखबाट सुन्नुस्‌ । सत्य के हो भने दिल्ली एउटा बौलाहा सहर हो ।

हेर्नुस्‌ त, यहाँ धनी मान्छेहरू ठूला ठूला डिफेन्स कोलोनी वा ग्रेटर कैलाश वा वसन्तकुञ्ज जस्ता प्रतिष्ठित ठाउँमा बस्छन्‌ । ती घरहरूको नम्बर हुन्छ, तर जे आधारमा ती नम्बरहरू राखिएको हो त्यो तर्कसम्मत छैन । उदाहरणका लागि, सबैले जानेको र म जस्तो मूर्खले पनि बुझ्ने कुरा के हो भने अङ्ग्रेजी वर्णमालामा A पछि B आउँछ । तर ती कोलोनीहरूमा A २३१ नं घरको छेउमा F ३८७ नं घर छ । एकपटक पिङ्की मेडमले मलाई ग्रेटर कैलाशको E२३१ नम्बरमा लैजान भन्नुभो । मैले E२०० नम्बरको घरसम्म लगेँ । अब आइपुग्यो भनेको त, E ब्लक नै सकियो । छेउको घर S या यस्तै के थियो ।

पिङ्की मेडम बौलाइन्‌, “मैले तिमीलाई यो गाउँले गँवालाई नलैजाउैँ भनेको होइन ? अहिले हेर त !”

अर्को कुरा के भने दिल्लीमा हरेक सडकको नाम छ, जस्तै औरङ्गजेब रोड वा हुमायु रोड वा आर्कबिसप रोड वा मकारिओस रोड र मालिक नोकर कसैले कुन सडक के नामको हो चिन्दैनन्‌ । अनि तपाईले सोध्नुपर्छ, “निकोलाइ कोपर्निकस मार्ग कतापट्टि पर्छ ?” जीवनभरि त्यही ठाउँमा बसेको मान्छे जिल्ल पर्छ र भन्छ, “के रे ?”
अथवा थाहै नभए पनि उसले तपाईंलाई भन्न सक्छ, “सीधै अघि गएर देब्रे घुम्नुस्‌ ।”

दिल्लीका सबै सडकहरू उस्तै देखिन्छन्‌ । सबै सडकहरू गोलाकार घाँसे क्ृतहरूको छेउ भएर जान्छन्‌, जहाँ मानिसहरू कि तास खेलिराख्छन्‌, कि त सुतिराख्छन्‌ कि भने खाइराखेका हुन्छन्‌ । त्यहीँ फेरि अर्को चौबाटो भेटिन्छ । अघि बढ्नुस्‌ फेरि त्यस्तै भेटिन्छ जहाँ मानिसहरू अघि भनेजस्तै गरिराखेका हुन्छन्‌ । अनि फेरि त्यहाँ अरू चारवटा नयाँ बाटा भेटिन्छन्‌ ! यसैगरी तपाई दिल्लीमा हराएको हरायै हुन सक्नुहुन्छ ।

दिल्लीमा सडक पेटीमा हजारौँ मानिसहरू बस्छन्‌ । ठूला पुल र आकासे पुलमुनि पशुजस्तै नारकीय शैलीमा, मैलो अनुहार, दुब्लो शरीर, आगोको छेउमा जुम्रा मार्दै, कोही लुगा घुँदै बसेका मानिसहरू देख्नेबित्तिकै तपाईं बुझिहाल्नुहुन्छ कि यी सबै अन्धकारबाटै आएका हुन्‌ । यी बेघरबार मानिस नै ड्राइभरलाई मुख्य समस्या हुन्‌ । बाटो काट्न मनलागे फुत्त गैहाल्छन्‌ । रातो बत्तीको के मतलब । प्रत्येक पटक तिनैलाई जोगाउन ब्रेक हान्यो भने पछिको सिटमा बसेकाले हकारिहाल्छन्‌ ।

म तपाईंलाई सोध्छु, यस्तो बौलाहा पाराले यो दिल्ली कसले बनाएको होला ?
एफ ब्लक पछि ए ब्लक, घर नम्बर ६९ पछि घर नम्बर १२ आउने गरी बनाउने योजना कुन बुद्धिमानीको काम होला ? सायद पार्टीमा जाँडपानी खाने, पेमोरानियन कुकुर डुलाउने र स्याम्पुले नुहाइदिने काममा व्यस्त भएर हो कि तिनीहरूले सडकको राम्रो नाम सोच्न भ्याएनन्‌ र कसैले नबुझ्ने नाम राखेका ?

“बाटो बिराइस्‌ के हो ड्राइभर ?”

“तिमी फेरि उसकै पछि नलाग त ।”

“अशोक, तिमी सधैँ यो ड्राइभरलाई किन काँध थाप्छौ ?”

“के अरू गतिलो कुरै छैन ? खाली त्यही ड्राइभरकै कुरा ?”

“ठीक छ ल । त्यसो भए अरू कुरा गरौँ । पहिला तेरी श्रीमतीको तातो रिसको कुरा गरौँ ।”

“के यो कारभन्दा पनि महत्त्वपूर्ण कुरा हो ? म हामी के गर्दै छौँ भनेर सोधिरहन्छु, तिमी चाहिँ कुरा फिसल्छौ । कस्तो पागलपन ? भन न उनीहरू कति मागिराछन्‌ पैसा ?”

“मैले भनिसकँ कि यो राजनीतिसँग सम्बन्धित कुरा हो । बुबा त्यो समाजवादीबाट परपर हुन खोजिरहनुभाछ, त्यसैले उनीहरूले हामीलाई सताइराछन्‌ ।”

“त्यो बदमासको सङ्गत वहाँले किन गरेको होला ? म त क्यै बुझ्दिनँ ।”

“वहाँ बाध्य भएर राजनीतिमा लाग्नुभएको हो, अशोक । अन्धकारमा बाँच्नलाई यो भन्दा अर्का उपाय नै छैन्‌ । आयकरको कुरा हामी जसरी पनि सल्टाउँला । तँ डराउन पर्दैन । यो भारत हो, अमेरिका होइन । यहाँ हरेक समस्याको उपाय निस्कन्छ । मैले भनिसके, हाम्रो काम गर्ने एउटा रामनाथन नाम गरेको मान्छे छ ।
ऊ सौदाबाजीमा निपुण छ ।”

“रामनाथन एउटा बेइमान, चिप्लो, तर धूर्त मान्छे हो । मुकेश, अब हामीलाई नयाँ कर परामर्शदाता वकिल चाहिन्छ । यी राजनीतिज्ञहरूद्वारा हामीलाई बर्बाद गरिँदै छ भनेर पत्रिकामा पनि दिनुपर्छ ।”

“यता सुन्‌ ।” न्याउरीले झर्किदै भन्यो, “तँ भर्खरै अमेरिकाबाट आएको हो । अहिले तैँलेभन्दा बढी भारतको बारेमा त यो हाम्रो ड्राइभरले जान्दछ । हामीलाई यौटा
मध्यस्तकर्ता चाहिन्छ ।.हामीलाई चाहिने मन्त्रीसँग उसले भेट गराइदिन्छ । दिल्लीमा
यस्तै चल्छ ।”

न्याउरीले अगाडि ढल्केर मेरो कुममाथि हात राख्दै भन्यो, “फेरि हराइस्‌ ? के तँ यसपालि दर्जनौँ पटक बाटो नबिराई हामीलाई घर पुर्याउन सक्छस्‌ ?”

उ लामो सुस्केरा हाल्दै सिटमा अडेस लाग्यो र भन्यो, “यसलाई यहाँ ल्याउनै नहुने । यस्तो कामै नलाग्ने रै छ यो । रामबहादुरले यसलाई चिनेकै रैनछ हैन त अशोक ?”

” हो र ?”

“एक छिन फोन छोड्दे न । हाम्रो काम हुने भए अलि ढिलो हुन सक्छ भनेर पिङ्कीलाई खबर गर्या छ ?”
“अँ, गर्या छ ।”

“अनि रानीसाहेबले के भनी त ?”

“त्यस्तो भन्ने हो । ऊ तेरी बुहारी हो, मुकेश । बुझिस्‌ । गुरगाउँमा उनलाई पक्कै रमाइलो लाग्छ, किनकि त्यहाँको जीवनशैली अमेरिकाको जस्तै छ ।”

अशोकको सोचाइ गजबको थियो । मानिसहरू भन्छन्‌ कि १० वर्ष अघिसम्म गुरगाउँमा भैँसी र मोटा पञ्जाबी किसानहरूभन्दा केही थिएन । आज यो दिल्लीको सबैभन्दा आधुनिक काँठ भएको छ । अमेरिकन एक्सप्रेस; माइक्रोसफ्ट लगायत सबै ठूला कम्पनीहरूको अफिस यहीँ छ । मुख्य सडकछेउ भित्रै सिनेमा हल भएका विशाल बजारहरू छन्‌. ।’ त्यसैले पिङ्की मेडमलाई न्यास्रो लागेमा त्यहीँ लिएर गए हुन्छ ।

“यो मूर्ख ! हेर त यसले फेरि बाटो बिरायो ।” न्याउरीले झकिँदै भन्यो ।

हात, तन्काएर टाउकोमा पड्काउँदै भन्यो, “मूर्ख गधा । त्यो पानीको फोंहराबाट देब्रे लाग्‌ । यहाँबाट घरतिर जाने कुन बाटो हो थाहा छैन ?”

म माफी माग्दै थिएँ, तर पछाडिबाट आवाज, आयो, “ठीक छ, बलराम केही फरक पर्दैन । मात्र घरसम्म पुर्याऊ ।”
“ल हेर यसले फेरि उसैको काँध थाप्छ ।”

“मुकेश तँ उसको ठाउँबाट सोच त । दिल्ली उसका लागि कति अल्मल्याउने खालको छ, तैँ कल्पना गर त । म पहिलो पटक न्युयोर्क जाँदा जस्तो भएको थियो, उसलाई दिल्ली त्यस्तै भा छ ।”

न्याउरी अङ्ग्रेजीमा बोल्न थाल्यो । मैले बुझिनँ, तर अशोकजीले हिन्दीमै जवाफ दिए, “पिङ्कीले पनि त्यही सौच्छिन्‌ ।” “मुकेश, तिम्रो र पिङ्कीको कुरा मिल्ने त्यसैमा हो, तर म सहमत छैन । दिल्लीमा को के हो, हामी चिन्दैनौँ । हामीले यो मान्छेलाई विश्वास गर्न सक्छौं, किनकि यो हाम्रो घरको हो ।”

मैले पछि हेर्ने ऐनामा हेरेँ । अंशोकजीले मलाई हेरिरहेका थिए । मालिकका ती दुवै आँखामा अनौठो भाव झल्कन्थ्यो । दया ।