साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृंखला १०

कुरो सुन्दासुन्दै इन्द्रले मनमनै धेरै थोक सोच्यो र भन्यो, “ तिमी अब आराम गर ,रतनदा । म पनि पल्टिन्छु ।”
“केही बुझ्दैछौ , कुरो बुझ्दैछौ नि ?”
“अँ ,बुझ्दैछु । बिस्तारै बिस्तारै धेरै कुरो छ्याङ्ग हुँदै जाँदैछ । ”
“यो कानूनची खुब कराउँछ तर मान्छेचाहिँ इमान्दार छ ।”रतनले भन्यो ,“ दीनुले पनि तपाईँसँग भनेको थियो कि सबै जानकारीहरू कानूनचीसँग हुन्छ । तर केही अप्रिय घटनाहरू पछि कानूनविदजस्ता अधिकृत पनि आत्तिए । उनीहरू काम गर्छन् तर तीउपर सङ्कट आउँदाको स्थितिमा तिनलाई सहयोग गर्ने कोही हँुदैनन् ।”
“कानूनी रूपले त जिल्ला न्यायाधीशले सहयोग गर्नुपर्ने हो ,तर खोइ किन हो कुन्न ,यस्तो हुन सकिरहेको छैन ।”
नयाँ कानूनविद तुषार पात्रले भन्यो, “निकै गाह्रो काम हो यो, थाहा छ ? सबै काम गर्नसक्छु तर कतै शिशाको पर्खाल छ भने त्यसलाई फोड्न सक्दिन । यसैले लाग्छ कि..”
“के ?”
“अपरेसन बर्गा अर्थात् मोहियानी अभियान सफल होस भन्ने चाहना के कसैले राखेको छ ? यदि त्यस्तो चाहना हँुदो हो त बाधा अडचनहरू हटाउन ती किन लागि पर्दैनन् त ?”
तुषार पात्रले भन्यो, “पहिले सुन्नुस् अनि फेरि बुझ्ने प्रयास गर्नुस् । सुन्दै हुनुहुन्छ..यस्तो अवस्थामा अब सम्झनुस् कि ..सुन्दै हुनुहुन्छ..के ?”
“अँ , एउटा कुरा ..मोहियानी अभियान केही हँुदैन भन्ने थाहा पाएर यदि काम गर्न थालियोभने त्यो काम कस्तो होला त ?”
“सरकारी अर्ति उपदेश दोहो¥याउँदै जाने त हो नि । अरु त के ?”
“कुन चाहिँ अर्ति उपदेश हुन ती ?”
“छ नि त्यही ..मनमा आदर्शवाद,सत्य निष्ठा,अजेय साहस हुनुपर्छ । कानूनविद अरण्यदेव त हैनन नि , फलानाले सरकारी जमीन हडपेर सन्थालहरूका नाममा मोही लेखाइरहेको छ । कानून अधिकृतले ती सन्थालहरूको नाममा मोही दर्ता नभए पनि तिनलाई जमीनको मालिक बनाइदिने प्रयास गरे तर पार्टीको आदेश बाधक भइदिन्छ । अनि सबै काम गडबड ।”
“त्यो त नराम्रोसँग फस्यो होला त ।”
“पार्टीकाहरूले पनि थाहा पाए । त्यसपछि जमीन हस्तान्तरण गर्ने बेलामा पार्टीको कार्यकताृहरूले त्यै फलाना बाबुको मान्छेहरूसँगै लागेर कानून अधिकृतलाई पिटे । कथा भन्ठानौला नि ,होइन । सरकारी कर्मचारी भएर पनि कानून अधिकारीले पुलिसबाट कुनै सहयोग पाएन । ती अधिकारीले कारवाही गरिपाऊँ भनेर निवेदन दिएका थिए । उसको निवेदन नै लुकाइदिएछन् । कुरो बुझ्दैछौ नि ? कथा भन्ठानौला नि ,तर कथा होइन यो ।”
“ अँ ,कहाँ के भयो ? भन्दै जानुस ।”
“बिस्तारै इन्द्र बाबु , बिस्तारै । जङ्गल,फाँट,नदी किनार सबैतिर यस कामको सिलसिलामा चक्कर लगाऊँ र सरकारी जागिर खाँदाखाँदै ज्यादा बकबक गरेर आफूलाई अप्ठ्यारोमा पारौँ ? जागिर गयोभने नि ?बचाउन सक्नुहुन्छ ?”
“सारा अनुभव यस्तै छ ।”
“त्यसो किन ? साना,मझौला र कमजोर पार्टी छन् भने मोही दर्ता भइरहेको छ तर साना जमीनमा धेरै मोही खडा गरेर न त मोहीलाई फाइदा छ न त तल्सिङलाई । त्यसो त मोही कृषि मजदुर बन्न बाध्य भइरहेका छन् । ”
“कुरो निकै गुजुल्टिएको छ ।”
“जग्गाबालाले जमीन पनि कब्जा गरे अनि मुआब्जा पनि लिए । नक्कली मोही पनि दर्ता गराए र यसरी जग्गाबालाले जमीन लुकाए र रकम लिएर मोही अर्थात् वास्तविक मोहीहरूलाई पनि वञ्चित गरियो । कस्तो लागिरहेको छ यो कुरो ?”
“एकदम राम्रो ।”
“फलाना बाबुले ठीकसँग गोटी चाले ,त्यसैले उनको बेनामी जमीनमा कसैले केही गर्न सकेन,मोही पनि दर्ता भएन । तर ठाउँमा पहँुच नपुगेकोले चाहिँ ढिस्कानाको जमीन जफत गरियो र मोहीलाई बाँडियो ।”
उसले यस्तो प्रकृतिको कतिपय घटनाहरू सुनायो ।
“तल्सिङहरूको आतङ्क यति त्रासद छ कि कानून अधिकारीहरूलाई थाहा छ–फलानासँग यति ऐलानी जमीन छ तर पनि पूनर्वास अधिकारी तिनीहरूलाई चलाउँदैनन् , मोही लेखाइदिँदैनन् । तरै पनि तल्सिङहरूको डरधम्कीले सबैजना मोहीहरू बेपत्ता छन् । अनि मोही लेखिदिन गएको कानून अधिकारी हिस्सिएर बेबकुफ बनेर फर्कनु प¥यो । अनि फेरि तपाईँ यो दृश्य कल्पना गर्नुस्– कानून अधिकारी मोहीको घरदैलोमा पैदल हिँडेर जाँदैछ, तल्सिङ उसलाई धूलोको कुइरीमण्डलले छोप्दै र उछिन्दै मोटरमा घुइँय्य गुडेर गयो । कानून अधिकारी त्यहाँ पुग्दा त मोहीले टाप कसिसकेछ । ”
“यो डर त हटाउनै पर्छ ।”
“कसले हटाउने डर ? मैले ?मेरो पाखुरीमा बल देख्या छौ ?सिन्काजस्तो छ हात । कसरी डर हटाउन सक्छु म ? म आफैँ डरपोक छु । भुतको डर ,जहानको डर ,क्यान्सरको डर ,इन्सेफ्लाइटिसको डर ..नहाँस्नुस् न । एउटा कानून अधिकृतका लागि यतिका डरत्रासको सीमा नाघेर मोहीको मनबाट तल्सिङको डर हटाउन सम्भव नै छैन । ”
“भन्दै जानुस् ।”
“मानौँ तपाईँले प्रयास गर्नुभयो । अरूहरूले पनि मोहीको मनबाट जग्गाबालको आतङ्क हटाउने कोसिस गर्नुभयो । दिलोज्यानले कोसिस गर्नुभयो । तर पनि कतिपयलाई निशङ्क बनाउन सक्नुभएन । कति प्रयास गर्दा पनि तिनको मनबाट डर हटाउन सकिएन । तिनलाई विश्वासै दिलाउन सकिएन । किन त ?”
“अँ ,सुनिरहेको छु..।”
“खास कुरो के हो भने बिर्तावालहरू यति शक्तिशाली छन् कि उनीहरू जे पनि गर्न सक्दछन् । सरकारी अधिकृतहरूले त एकछिन सम्झाइबुझाइ गर्छन् ,हिँडिहाल्छन् । ती गइसकेपछि बिर्ताबालाको कोपबाट मोहीहरूलाई कसले सुरक्षा दिने ? यही आतङ्कले गर्दा मोहीहरू आश्वस्त हुन सक्दैनन् ।”
“ अरू कारण पनि छ कि ?”
“छ ,छ । अरू पनि धेरै कारणहरू छन् । कति भनौँ ? सबै नभने पनि के भयो र ? आखिरीमा अनेक मोहीहरूको कुरा सम्झिरहेको छु । एकदम बिचित्रको मामिला छ । रिपोर्टमा यस कुराको उल्लेख हुनुपर्छजस्तो लाग्छ । तर थाहा छैन,उल्लेख गरिएला वा नगरिएला ?”
“ के ?”
“कतिपय क्षेत्रहरूमा मोहीहरू पनि प्रभावशाली छन् अर्थात् तिनको आफ्नो पनि जग्गाजमीन छ ,बन्दव्यापार छ, सुटेडबुटेड भएर हिँडछन् तर पनि खोई कसरी हो तिनले थुप्रै जमीनमा मोही दर्ता गराएका छन् । एउटै मान्छेले दशौँ जनाको जग्गामा मोही भएर काम गर्न त सक्ने हैन । खेताला राखेर खेति गराउँछन् । ”
“ यस्तो कसरी हुन सक्छ ?”
“यही त गाँठी कुरो छ ।”
“कसरी यसलाई निर्मूल पार्ने होला ?”
“मेरो बिचारमा जब यो कार्यक्रम चलाउने बिचार गरियो होला,त्यस बेलामा यी सबै कुराहरूउपर पनि बिचारविमर्श भएको होला । तर हाम्रो मुलुकमा भूमि व्यवस्थामा मोहियानी दर्ता गराउनुको परिणाम पछि के होला, यसै भन्न सकिन्न ।”
“तुषार बाबु, यतिञ्जेलसम्म तपाईँले धेरै कुरा प्रष्टाप्रष्टी भन्नुभयो तर अहिले चाहिँ किन जिब्रो चपाएर ..”
“होइन, किन जिब्रो चपाउनु ?”
“अनि त किन डराउनु भएको ?”
“डर ? तपाईँसँग ? किन डराउनु तपाईँसँग ? तपाईँ त हाम्रो ससुराली खलकको मान्छे । आफ्नो परिवारको । थाहा छैन– हाम्रो साइनो पर्छ पर्दैन । तर पनि पार्टीको साइनो त छ ।”
दीनुले भन्यो, “ नगेनको भाइकी छोरी उहाँकोे श्रीमती हो नि , इन्द्रदा ।”
“थाहा पाएँ ।”
तुषार भन्दै थियो, “हाम्रो मुलुकमा अहिलेसम्म नानाथरिका भूमिसुधार कानूनहरू बने । तर जग्गाबाल तल्सिङहरूकैहितको रक्षा गरे तिनले । यदि साँच्चै नै सबै ऐलानी जग्गाहरू पत्ता लगाउन सकियो भने अपरेसन बर्गा फलदायी हुनसक्छ । गैरकानूनी रूपले बिर्ताबालहरूद्वारा दखल गरिएका जमीनहरू तीबाट खोसेर न्यायपूर्ण किसिमले भूमिहीनहरूमा बितरण गर्न सकियो भने बर्गा अभियान सफल नहुने कुरै छैन । हरेक जिल्लामा यस्तो काम गरियो भने मानिसहरूका मनमा सरकारप्रति आस्था जाग्दछ । तिनले सरकारलाई सहयोग गर्नेछन् । धेरै होइन ,मात्र दश जना ठूलाबडाका जग्गामा मात्रै पनि यस्तो कारवाही गरियो भने पनि ठूलो काम हुन्छ । विद्यमान ढाँचालाई कायमै राखेर पनि यस्तो गर्न सकिन्छ । बुझ्नुभयो ?”
“किन नबुझ्नु ?”
“अपरेसन बर्गा यसैगरी चलिरहे पनि बिर्ताबालहरूको हितलाई केही नोक्सान पुग्दैन । अँ ,फाइदा भने केही कम होला । भूमिहीन मोहीहरूले जग्गामा स्वामित्वको अधिकार पाउँछन् भन्ने कुरो मानिसहरूले थाहा पाउनासाथ जग्गाबालाहरूले जग्गा छोडन थाल्नेछन् । जमीनको हेरचाह गरेर बस्नुभन्दा उनीहरू मट्टितेलको डिपो र पेट्रोल पम्प चलाएर बस्नु लाभदायक ठान्नेछन् ।र ,थाहा छ तपाईँलाई ? जोसँग पहिलेदेखि जमीन थियो तीसँग त आज पनि जमीन छ । तिनैले ऐलानी जमीन पनि ओगटेका छन् । आज पनि ऐलानी जमीन तिनीहरूले नै भोगिरहेका छन् । तिनीहरूको हितमा कहिल्यै पनि दखल हँुदैन । अनि फेरि अपरेसन बर्गाको जति हल्लीखल्ली भएको छ ,खासमा कामचाहिँ त्यसअनुसार भएको छ अथवा छैन ? यही कुरो घरिघरि मेरा मनमा उठिरहन्छ । त्यस घडि लाग्छ कि हामी भ्रष्ट कर्मचारी नै सत्ताका बदनाम सदस्य हौँ । सबैखाले सत्तासँग जोगिएर बस्नु नै हाम्रो काम हो । किन ,थाहा छ तपाईँलाई ? किन , भन्नुस त ?”
“ओहो , मत श्रोता पो हँु त ।”
“तर तपाईँको गतिविधिहरू देख्दा तहामीलाई पनि लाग्दछ कि कानून बनाइएको छ र हामीलाई कानूनअनुसार काम गर्न भनिएको छ तर यसो गर्ने इच्छा कसैमा पनि जागृत भइरहेको छैन ।”
“कोही पनि यसो गर्न चाहँदैनन ?”
“होइन, हजुर । सन् पचासमा कानूनअनुसार काम गरेको हुनाले नै पि डब्लु डी इन्स्पेक्टर सुमोहन पात्रले जागिर गुमाउनु प¥यो र अहिले पनि मेरो एक जना नातेदार भाइ अजय मजुमदारले कानूनअनुसार काम गर्दा नै पनि चक्रव्युहमा परेर सरुवा हुनुप¥यो ।”
“यसको अर्थ के हो त ,तुषार बाबु ?”
“समग्रमा ?”े
“अँ ,समग्रमा ।”
“ठूला बिर्ताबाल,ठूला किसान कसलाई कति नोक्सान पु¥याएको छ भन्ने कुरो यो बर्गा अभियानबाट थाहा पाइनेछ । कसको नाम दर्ता हुन्छ ,कसकोमा हँुदैन ? देवीदेउता, मृत बाजेबराज्यू,गाई ,बाखा,कुकुर, बिरालो आदिका नाममा समेत दर्ता गरेर हदबन्दीभन्दा बढी जमीन राख्ने प्रक्रिया कहिलेसम्म चल्ने हो ?”
“मोहियानी कायम गरिसकेपछि त्यसलाई थेग्न अरू के व्यवस्था हँुदैछ त ?”
“बैङ्कले ऋण दिने,कृषि संस्थानबाट बिउ,मलखाद दिने कामहरू हुनेछन् । हाम्रो राष्ट्रिय चरित्र नै यस्तो छ कि हामी सबैतिर गुड–गोबर सरोबरी पारिदिन सक्छौँ । ऋण लिन्छौँ तर तिर्ने जमर्को गर्दैनौँ । ऋणका मामिलामा उपरीमा थुपरी पार्छौँ तर नहुनेलाई छैन । र , मल तथा बिउबिजनका हकमा शुरूमा चाहिनेभन्दा पनि थोरे दिने अनि फेरि घुस खाएर नगदमा सस्तो मोलमा बिउखाद बेच्ने । हे देशबासीहरू ! यो नबिर्स कि चोरी,जालसाजी,ठगी अनि निर्धानिमुखाहरूलाई ठग्नु,निचोर्नु तिम्रो महान परम्परा बनेको छ । ल, चिया ल्याएछन् , खाऊँ । गीत सुन्नुहुन्छ ,गीत ? मसँग ब्याटरीबाट चल्ने क्यासेट प्लेयर छ ?”
“गीत सुन्नु र ?”
“किन गीत सुन्नु अपराध हो र ?हिन्दी फिल्महरूको गीत र जासुसी उपन्यास म कहिल्यै पनि टुटाउँदिन । बङ्गालीमा अनुवाद गरिएको जासुसी कथा–उपन्यास पढनुभन्दा मूल अङ्ग्रेजीमा पढनु राम्रो । अनि हिन्दी फिल्मी गीतहरू त लोकगीत हुन । किन नाकमुख खुम्च्याउनु हुन्छ ? अपसंस्कृतिको गन्ध आयो कि कसो ?ल,चनाको चुरमुर खानुस ।”
“यो चाहिँ अपसंस्कृति होइन ?”
“ होइन ,होइन । यो पनि तपाईँको बुझाइको अन्तर हो । म पनि यस्तै ठान्दथेँ । तपाईँहरूको युवा नेता सात्यकी मिश्रलाई म कुनै समय खुब इज्जत गर्दथेँ । अपसंस्कृतिका बारेमा उनले धेरै कुरा भनेका थिए । त्यसपछि एक दिन थाहा पाएँ कि शोले फिलिमका उनी अब्बल प्रशंसक छन । प्रायशः त्यही फिलिम हेरिरहन्छन् । त्यसका बारेमा सोध्दा उनी अमजद खानझैँ हाँसे । म फर्केर आएँ । एक्काइस पटक शोले हेरेर उनी अपसंस्कृतिका बिरुद्ध बोल्न सक्छन् भने म किन फिल्मी गीत नसुनुँ ?हिँडन लाग्नु भयो कि क्या हो ?”
“तपाईँ यति प्याप्र्यार गर्नुहुन्छ कि टाउको दुख्न थाल्छ ।”
तुषारलाई लाज मर्नु भयो र खिस्रिक्क प¥यो अनि स्पष्टीकरण दिँदै भन्यो , “बोलाइमा सन्तुलन मिलाउनै सक्दिन ,त्यसैले धेरै बोल्छु ।यता हुञ्जेल यस्तै कच्याककुचुक खाएर पेट भ¥यो अनि घर जाँदा तिनै दिनमा एक महिनाको खानेकुरा ग्वामग्वाम खाइदिन्छु । अनि फेरि बिरामी पर्छु । कुरो गर्ने कोही हँुदैनन् त्यसैले पनि कोही भेटियो कि बोल्याबोल्यै हुन्छु । नराम्रो नमान्नुस् है ।”
“होइन , नराम्रो मानेको छुइनँ ।”
“अनि ?”

प्रतिक्रिया
Loading...