साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

संसार प्रख्यात उपन्यासः युद्ध र शान्तिःः लियो टोल्सटोयः शृंखला १६

परिच्छेद-१६

पियेरेले पिटर्सबर्गमा बसेर आफ्नो जीवनचर्याका लागि कुनै खास बाटो समाउन सकेको थिएन र वास्तवमा उसलाई दादागिरी र हुलदङ्गा गरेवापत त्यहाँबाट निकाला गरेर मस्को पठाइएको थियो । काउन्ट रोस्तोभकहाँ उसका बारेमा सुनिएको कथा बास्तवमा साँचो थियो । एक जना प्रहरीको पीठमा भालुलाई बाँधेर नदीमा मिल्काउनुमा उसको प्रमुख हात थियो । ऊ मस्को आइपुगेको केही दिन भएको थियो र ऊ यथावत आफ्नो बाबुको घरमा बसेको थियो । हुनत पिटर्सबर्गमा छँदा आफूले गरेको उपद्रो यहाँ मस्कोमा पनि सबैलाई थाहा भइसकेको छ भन्ने उसलाई राम्ररी थाहा थियो र उसको बाबुलाई सेवा सुसार गर्ने तर उसलाई भने सधैँभरि शत्रुवत व्यवहार गर्ने महिलाहरूले कोउन्टसमक्ष आफूविरुद्ध भड्काउन नानातरहका चुक्ली लगाइदिएका होलान्‌ भन्ने पनि उसलाई थाहा थियो । जे भए तापनि मस्को पुगेकै दिन पियेरै आफ्नो बाबुलाई भेट् घर गयो । राजकुमारीहरूले धेरैजसो समय बिताउने बैठक कोठामा प्रवेश गरेपछि उसले उनीहरूलाई अभिवादन गर्यो । तीन बहिनीमध्ये दुइटी जरी भर्ने फ्रेममा काम गर्दै बसेका थिए । एउटी चिच्याइचिच्याइ किताब पढ्दै थिई । पढ्ने चाहिँ सबभन्दा जेठी थिई । अन्ना मिखायलोभ्नासँग भेट हुने उही थिई । जरी भरेर बस्ने दुइटी उसैका बहिनीहरू थिए । यी दुवै अत्यन्त गुलाबी र सुन्दरी थिए । एउटीको ओँठमा सानो कोठी थियो र ऊ यसले गर्दा झन्‌ हिस्सी परेकी र राम्री देखिन्थी । यी दुई बहिनीमा केही फरक थियो भने त्यही ओठको कोठी थियो । पियेरेलाई एउटा मुर्दा अथवा कोढी मानिसको रूपमा स्वागत गरियो । जेठी राजकुमारीले पढ्न बन्द गरी र चुपचाप लागेर डराइडराई उसलाई हेर्न लागी । ओँठमा कोठी नहुने दोस्री राजकुमारीले पनि दिदीले जस्तै व्यवहार गरी । ओठमा कोठी हुने सबभन्दा कान्छी राजकुमारी, जो हंसमुख र खूब मिजासिली थिई, ओँठको मुस्कान लुकाउन जरी भरेको फ्रेममा घोप्टो परी । सायद ऊ एकछिनपछि हुने त्यो रमाइलो दृश्यको पूर्वानुमान लगाएर मुस्कुराइरहेकी हुँदी हो । उसले फ्रेमबाट उन तल तानी र बल्लबल्ल हाँसो रोकेर ध्यानपूर्वक बान्की तथा बुट्टा निरीक्षण गरेजस्तो स्वाङ पार्दै घोप्टो परी ।

“सन्चै छौ बहिनीहरू, मलाई चिनेनौ कि कसो?” पियेरेले भन्यो ।
“म तपाईंलाई राम्रोसँग चिन्छु, राम्रैसँग ।”
“म काउन्टलाई कस्तो छ ?” “म उहाँलाई भेट्न सक्छु ?” पियेरेले पहिले पहिले जस्तै बेढङ्गी तर निर्लज्ज तालमा सोध्यो ।

“काउन्ट शारीरिक र मानसिक पीडाले अतिग्रस्त हुनुहुन्छ तर यस्तो लाग्छ तपाईंले उहाँको मानसिक पीडा झन्‌ बढाइदिन खोज्दै हुनुहुन्छ ।”

“मलाई थाहा छैन, मैले उहाँलाई भेट् सक्छु कि सक्दिनँ ?,” पियेरेले फेरि सोध्यो ।

“हुम… यदि तपाईं उहाँलाई मार्न नै चाहनुहुन्छ भने भेट्न सक्नु हुन्छ ।”

“ओल्गा, गएर हेर त, काकाश्रीको खाजा तयार भयो कि भएन । ख्वाउने बेला भइसकेको छ,” उसले थपी । उनीहरू उसको बाबु, काउन्टको सेवासुशुसा गर्न कति व्यस्त हुँदा रहेछन्‌ भन्ने कुरा पियेरेले पनि राम्ररी बुझोस्‌ भन्ने देखाउन चाहन्थे । तर पियेरे भने उनलाई झन्‌ पीर थप्न- झन्‌ पीडा थप्न व्यस्त देखिन्थ्यो ।

ओल्गा बाहिर गई । केही छिन उभिएपछि, ती दिदी बहिनीहरूतिर हेर्दै पियेरेले शिर झुकाएर भन्यो- “ठीक छ त्यसो भए म आफ्नो कोठामा जान्छु- भेट गर्न सकिने अवस्था भयो भने मलाई जानकारी दिनू ।”

पियेरे कोठाबाट निस्कियो । सबभन्दा कान्छी- ओठमा कोठी भएकी बहिनीको मुखबाट मसिनो तर प्रतिध्वनित हाँसो सुनिँदै थियो ।

अर्को दिन राजकुमार भासिली मस्को आएर काउन्टको घरमा बसे । उनले पियेरेलाई बोलाउन पठाए र उसलाई भने “हेर भाइ, यदि यहाँ पनि पिटर्सबर्गमा जस्तो उपद्रयाँइ गर्ने हो भने त्यसको परिणाम अत्यन्त नराम्रो हुने छ । म योभन्दा बढी अरू केही भन्न चाहन्नँ । उता काउन्ट सिकिस्त हुनु हुन्छ । र, यस्तो अवस्थामा तिमीले उहाँलाई भेट् हुँदैहुँदैन ।”

त्यस दिनदेखि पियेरेलाई कसैले केही भनेन र कसैले केही गरेन पनि । ऊ माथिल्लो तलाको आफ्नो कोठामा नै बसीबसी दिन बिताउन थाल्यो ।

बोरिस उसको ढोकामा पुग्दा पियेरे आफ्नो कोठाबाट तलमाथि गर्दै थियो । र, घरिघरि एउटा कुनामा उभिएर भित्तातिर यति डरलाग्दो किसिमले हेर्यो मानौँ ऊ कुनै अदृश्य शत्रुको छातीमा तरबार घुसारी रहेछ । त्यसपछि कठोरतापूर्वक चश्माको सिसामाथि हेर्थ्यो । केही नबुझिने शब्दहरू भुतभुताउँथ्यो, काँध जुर्क्याउँथ्यो र हात हल्लाउँदै फेरि यताउती-तलमाथि गर्न थाल्थ्यो ।

“इङ्गलैन्डको खेल खतम भयो,” आँखीभौँ खुम्च्याउँदै र कुनै अदृश्य व्यक्तिप्रति औँला ठड्याउँदै उसले भन्यो । “देशद्रोही र जनताको अधिकारप्रति विश्वासघात गर्ने मि.विलियम पिटलाई यो दण्ड दिइयो… ।” ऊ यस समय आफूलाई नेपोलियन ठान्थ्यो र उसले ब्रिचिस च्यानल पार गरेर लन्डनमाथि कब्जा जमाइसकेको कल्पना गर्थ्यो । उसले पिटलाई दण्ड दिने घोषणा मात्र गर्न लागेको थियो- कि उसले एक जना सुगठित शरीर र सुन्दर अनुहारको धनी एक जना सैनिक अफिसर आफ्नो कोठाभित्र प्रवेश गर्न लागेको देख्यो । पियेरे रोकियो । बोरिस चौध वर्षको हुँदा उसले मस्को छोडेको थियो र त्यसपछि उसलाई बिर्सिसकेको थियो । तर पनि सधैँको जस्तो आफ्नो आवेगशील र सहृदयी स्वभावबस उसले एउटा मीठो र मैत्रीपूर्ण मुस्कानका साथ बोरिसको हात समात्यो ।

“मलाई चिन्नु हुन्छ ?,” मधुर मुस्कानका साथ बोरिसले विनम्र भएर सोध्यो ।
“म मेरो आमासँग काउन्टलाई भेट् आएको थिएँ तर उहाँ धेरै बिरामी हुनुहुँदो रहेछ ।”

“हो, उहाँ बिरामी भएकै जस्तो छ,” तैपनि मान्छेहरू आएर उहाँलाई दु:ख दिइरहन्छन्‌” । यो तन्नेरी मान्छे को होला भनेर सम्झने प्रयास गर्दै पियेरेले जावाफ दियो ।

पियेरेले आफूलाई चिन्न सकेन भन्ने कुरो बुझे तापनि बोरिसले आफ्नो परिचय दिन आवश्यक ठानेन । कुनै किसिमको सङ्कोच नमानेर उसले पियरेको मुख मात्र हेरिरह्यो ।

“आज तपाईंलाई काउन्ट रोस्तोभकोमा रात्रिभोजको निम्तो छ,” केही छिनको मौनतापछि बोरिसले भन्यो, जुन कुरा सुनेपछि पियेरेलाई कताकता अप्ठ्यारो लागेर आयो ।

“ओहो, काउन्ट रोस्तोभ रे,” पियेरेले खुसी हुँदै भन्यो । “त्यसो भए तपाईं उहाँको छोरा इल्या हुनुहुन्छ ?” हत्तेरिका, मैले पहिले त तपाईंलाई चिन्नै सकिनँ । हामीहरू, धेरै पहिलेको कुरा, म्याडम जाकोतसँग स्प्यारो हिलतिर जाने गर्थ्यौ, तपाईंलाई याद छ?” त्यो पनि एउटा जमाना थियो… ।”

“होइन, तपाईंलाई भ्रम भयो,” साहसपूर्वक र उपहासजनक मुस्कानका साथ बोरिसले जानीजानी जवाफ दियो । “म त राजकुमारी अन्ना मिखायलोभना द्रुबेत्स्कायाको छोरा, बोरिस हुँ । इल्या त बाबुचाहिँ अर्थात्‌ काउन्ट रोस्तोभको नाम हो र उनको छोरा निकोलास हो । म कुनै म्याडम जाकोतलाई पनि चिन्दिनँ ।”

पियेरेले टाउको र हात एकै पटक यसरी हल्लायो मानौं उसलाई मौरी वा लामखुट्टेका हुलले नराम्रोसँग टोकिरहेछन्‌_ |

“ओहो, मैले के सोचेँ होला ? सबथोक गड्बड्‌ गरेँछु । मस्कोमा नातेदाहरू त थुप्रै छन्‌ । तपाईं बोरिस हुनुहुँदो रहेछ होइन ? कुरो बुझियो अब । हामी ठीक ठाउँमा आयौँ । ठीक छ, बुलोन अभियानका बारेमा तपाईंको विचार के छ कुन्नि ? नेपोलियनले नहर पार गरेर आयो भने, बुझ्नु भो, अङ्ग्रेजहरूले ठूलो आपत भोग्नु पर्नेछ । र, मलाई लाग्छ, अभियान एकदमै सम्भाव्य छ । त्यत्ति हो, एड्मिरल विल्लनेभले कुनै गड्बडी गर्नु हुँदैन ।”

बोरिसलाई बुलोन अभियानको विषयमा केही थाहा थिएन । उसले समाचारपत्रहरू पढ्दैनथ्यो र उसले विल्लनेभको नाम सुनेको यो नै पहिलो पटक थियो ।

“हामी मस्कोबासीहरू राजनीतिभन्दा भोजभतेर र अर्काको निन्दाचर्चा गर्नुमा नै धेरै समय खर्च गछौँ,” बोरिसले शान्त र व्यङ्ग्यात्मक ध्वनिमा भन्यो । “मलाई यस विषयमा केही थाहा छैन र केही सोच्दिनँ पनि । “मस्कोलाई फाल्तु गफ र निन्दा चर्चा गर्न नै फुर्सत हुँदैन,” उसले भन्दै गयो । “अहिले त तपाईं र तपाईंको बुबा काउन्टको विषयमा मात्र सर्वत्र चर्चा भइरहन्छ ।”
पियेरेले आफ्नो स्वाभाविक र मधुर मुस्कान छोड्यो । उसलाई आफ्ना सहचारीहरूलाई केही भनी विराउँला र पछि आफूले पछूतो मान्नु पर्ला भन्ने पीर लागेको थियो । तर बोरिस भने पियेरेसँग आँखा जुधाउँदै दृढता, स्पष्टता र शुष्कतासाथ आफूलाई मनमा लागेका कुरा निर्धक्कसँग भन्दै गयो । “चुक्लीचाक्ली र निन्दाचर्चा गर्नु बाहेक मास्कोबासीहरूको अरू कुनै काम छैन,” बोरिसले भन्दै गयो । “काउन्टले त्यो अपार सम्पत्ति कसको नाममा छोडेर जाने हुन्‌ भन्ने नै अहिले मस्कोमा चर्चाको मुख्य विषय भएको छ । सम्पूर्ण मास्कोबासीलाई यस विषयमा मात्र चासो छ । यद्यपि हामीहरू सबै उहाँभन्दा पहिले नै मर्न सक्छौँ र साँचे भनौ भने मेरो त इच्छा पनि यही छ ।”

“ओहो ! यो त साह्रै डरलाग्दो कुरा गर्यौ,” पियेरेले हस्तक्षेप गर्यो । “ओहो ! यो त साह्रै डरलाग्दो ।” पियेरेलाई यस अफिसर जवानले आफूलाई मन नपर्ने केही उटपट्याङ कुराहरू पनि त्यतिकै मुखबाट निकाली दिने हो कि भनेर डर लागिरहेको थियो ।

“तपाईंलाई त त्यस्तो लाग्नै पर्छ,” अलिअलि लाज मानेजस्तो गर्दै बोरिसले भन्यो, तर उसको लवज वा उसको सोचाइको प्रवृत्तिमा केही फरक आएको थिएन्, “तपाईंलाई यस्तो लाग्नै पर्छ, सबै मान्छेहरू यी धनी काउन्टेसँगबाट केही न केही सम्पत्ति उम्काउने आशाले पछि लागि रहेका छन्‌ ।”

“त्यो त सही कुरा हो,” पियेरेले सोच्यो ।

“तर म तपाईंलाई भ्रम नपरोस्‌ भनेर स्पष्ट रूपमा भन्न चाहन्छु कि म र मेरी आमालाई यस्ता लोभीपापी मानिसहरूको सूचीमा राख्नु भयो भने तपाईंले ठूलो भूल गर्नु हुनेछ । हामीहरू धेरै गरिब छौं । तर सकेसम्म आफ्नो तर्फबाट यति भन्न सक्छुकि तपाईंको बुबा धनी हुनुहुन्छ भनेर म आफूलाई उहाँको नाता पर्ने मान्छे भन्दिनँ । मैले र मेरी आमाले उहाँसँग न केही माग्ने छौँ न त दिए पनि केही लिने नै छौँ ।”

पियेरेले धेरैबेरसम्म केही पनि बुझ्न सकेन तर, जब उसले केही बुझ्यो ऊ, सोफाबाट बुरुक्क उफ्रदै आएर आफ्नो स्वभावअनुरूप छिटोछिटो र होर्ल्याङे चालले बोरिसका पाखुरा आफ्नो कुहिनामुनि चपक्क च्याँप्यो । र, बोरिसले भन्दा बढी रातो अनुहार लाउँदै लज्जा र सन्तापमिश्रित भावमा बोल्न सुरु गर्यो ।

“यो कुरो आफैमा बडो रहस्यमय छ र जे हुनु छ भइहाल्छ नै । म अरूले सोचेजस्तो त्यति अबुझ मान्छे पनि होइन । मैले कुराको चुरो बुझेको छु ।” तर यहाँनिर बोरिसले फेरि पियेरेको कुरा काट्यो । “म पनि त्यस्तै छु ।”

“मैले त कुनै पाप नराखिकन मनमा लागेको कुरा जस्ताको तस्तै पोखे । मलाई सन्तोष छ । बरु मैले बोलेका कुरा तपाईंलाई चित्त बुझेन कि कसो ! त्यसो हो भने तपाईंले मलाई क्षमा दिनै पर्छ । पियेरे बोरिसलाई सान्त्वना दिनु पर्ने ठाउँमा बोरिसले पियेरेलाई नै सान्त्वना दिँदै भन्यो, “मैले केही बिराएँझैँ लागेको त छैन । मनले देखेको सही कुरा बोल्ने मेरो बानी नै खराब छ । तपाईं मलाई के जवाफ दिन चाहनु हुन्छ ? लप्पनछप्पत नगरिकन अथवा भनौँ नढाँटिकन मलाई भन्नुहोस्‌, तपाईं रोस्तोभहरूको निम्तो मान्न आउनु हुन्छ कि आउनु हुन्न ?”

त्यसपछि बोरिसले आफूले जिम्मेवारी लिएको कर्तव्य पालना गरेर अथवा भनौँ यो कठिन परिस्थितिबाट मुक्त भएर अनि अर्को कुनै व्यक्तिलाई यस्तै अवस्थामा अल्झाएर सुखको सास फेर्यो ।

“तर मेरो कुरा पनि सुन्नु पर्यो,” शान्त हुँदै पियेरेले भन्यो । “तपाईं एउटा अद्भूत प्रकृतिको मानिस हुनुहुँदो रहेछ । तपाईंले गरेका यावत कुरा आफ्नो ठाउँमा ठीक छन्‌ । हो, तपाईंले मलाई यथार्थ रूपमा चिन्नु भएको छैन । हामीहरूको यति लामो समयसम्म अर्थात्‌ वचपनदेखि नै भेट भएको पनि छैन ।”

“तपाईंले सोच्नु होला कि म… ,.. … । म बुझ्न सक्छु… … … राम्ररी बुझ्न सक्छु । तर म आफैंले यस्तो गर्न सक्दिनँ । गजबको कुरा त के छ भने ममा त्यस्तो गर्ने आँट पनि छैन । जे होस्‌, कुरो धेरै. राम्रो भयो । यस अर्थमा राम्रो भयो कि हाम्रो परिचय भयो । र, यो परिचय हुनु नै अनौठो भयो,” एकछिन चुप लागेर उसले थप्यो, “मेरो बारेमा तपाईंका मनमा कस्तो धारणा रहेको होला,” ऊ हाँस्न थाल्यो ।

“यो त के भयो र ? हामीहरू अरू गहिरिएर नयाँ क्षितिजबाट परिचय स्थापित गर्न सक्छौँ,” उसले बोरिसको हात बेसरी थिच्यो । “तपाईंलाई थाहा छ, म अहिलेसम्म एक पटक पनि काउन्टलाई भेट्न गएको छैन । उहाँले पनि मलाई बोलाउनु भएको छैन… । मानवताको नाताले मेरो उहाँप्रति दया लागेर आउँछ… … … तर आफूले गर्नु नै के सकिन्छ र ?”

“त्यसो भए तपाईंको विचारमा नेपोलियन नहर पार गरेर आउन सक्छ त ?”
बोरिसले मुस्कुराउँदै सोध्यो । पियेरेको मनमा बोरिसले कुराको प्रसङ्ग बदल्न लागे जस्तो लाग्यो र दुवैको समान विचारधारा भएको हुँदा उसले बोलोन अभियानबाट हुने लाभहानिको व्याख्या गर्न लाग्यो ।

एकजना नोकर बोरिसेलाई बोलाउन आयो… … राजकुमारी अर्थात्‌ बोरिसकी आमा त्यहाँबाट घर जानलागेकी थिई । बोरिससँग अरू गहिरो सम्बन्ध स्थापित गर्न सकियोस्‌ भन्ने हेतुले मात्र पियेरेले रोस्तोभहरूको निम्तो स्वीकार गर्यो । उसले आफ्नो चश्माभित्रबाट स्नेहपूर्वक हेर्दै मायालु भावमा बोरिसको हात अँठ्यायो ।

बोरिस हिँडेपछि पियेरे फेरि धेरै बेरसम्म कोठाबाट तलमाथि गर्न लाग्यो । र, पहिलेजस्तो कुनै अदृश्य शत्रुको, छातीमा तरबार रोप्ने कल्पना नगरेर, ऊ यो मायालु, समझदार र दृढ तन्नेरीलाई सम्झी सम्झी मुस्कुराउन लाग्यो ।

जस्तो कि युवावस्थामा धेरैजसो हुने गर्छ, खास गरी, जो एक्लो जीवन बिताइरहेको हुन्छ, पियेरेलाई उक्त जवान युवकप्रति अनायास माया पलाएर आयो र झसँग गहिरो मित्रता कायम गर्ने अठोट गर्यो ।
राजकुमार भासिली राजकुमारी अन्ना मिखायलोभ्नालाई बाटोसम्म पुर्याउन गयो । राजकुमारी एउटा रुमालले आँखाका आँसु पुछुदै थिई ।

“यो त साह्रै नै डरलाग्दो कुरो भयो, साह्रै नै डरलाग्दो” उसले भन्दै गई, मलाई जे जस्तो पर्ला, म आफ्नो कर्तव्य पालन गरेरै छोड्छु । म फर्केर आउँछु र रातभरि काउन्टलाई कुरेर बस्छु । उहाँलाई यस्तो अवस्थामा यसरी एक्लै छोड्न कुनै हालतमा हुँदैन । यो अवस्थामा एकएक मिनेटको समय पनि धेरै मूल्यवान हुन्छ । काउन्टका भतिजीहरूले किन ढिलो गरेका होलान्‌, मैले बुझ्न सकिनँ । काउन्टलाई तयार गर्ने उपाय पत्ता लगाउन भगवान्ले मलाई अवश्य शक्ति दिनेछन्‌ । लौ त राजकुमार, अहिलेलाई बिदा भएँ । भगवान्ले तपाईंलाई सहायता गर्नु हुनेछ … … … … ।”

“बिदा, मेरी प्यारी,” राजकुमारले घर फर्कदै जवाफ फर्कायो ।
“ओहो । छोरा बोरिस, काउन्टको अवस्था त भयावह रहेछ,” बग्गीमा चढ्दा आमाले छोरालाई भनी । “उनले त मान्छे चिन्न पनि छोडेछन्‌ ।”
“आमा, पियेरेप्रति काउन्टको दृष्टिकोण कस्तो रहेको छ ? मैले बुझ्न सक्ने त कुरै भएन,” छोराले सोध्यो ।

“त्यो कुरा त उसको इच्छापत्रले नै जनाउला छोरा, यति बुझ कि हाम्रो भाग्य पनि त्यसैमा आधारित छ ।”

“तर उनले हामीलाई पनि केही दिएर छोड्लान्‌ भन्ने आशा किन गर्नु हुन्छ, तपाईं ?”

“ओहो, कस्तो कुरा गर्छस्‌ मेरो प्यारो छोरा, उनी त्यति विध्न धनी छन् र हामी उत्ति नै गरिब छौँ ।”

“तर हामी गरिब हुनुको अर्थ उनले हामीलाई पनि सम्पत्ति दिनु पर्छ भन्ने त हुन सक्दैन नि आमा … … ।”

“हे भगवान्‌, उनको प्राण कुनै बेला पनि जान सक्छ” आमाले दुःख प्रकट गरी ।

प्रतिक्रिया
Loading...