रन्किँदै म उठेँ ।
अझै अँध्यारै थियो ।
रामप्रसाद उठिसकेको थियो । ऊ बिस्तरामै बसेर काठको अचानोमा प्याज काटिरहेको थियो । मैले अचानोमा चक्कुको ट्याक ट्याक ट्याक आवाज सुनेँ ।

“यो बजियाले यति सबेरै प्याज किन काटेको होला ?” आश्चर्य मान्दै कोल्टे फर्केर आँखा चिम्लेँ । म निदाउँन खोजेँ, तर त्यो ट्याक ट्याकको रहस्य के हो त ? मलाई छटपटी भो |

“पक्कै पनि यहाँ केही रहस्य छ ।”

उसले प्याज काटिरह्यो, म उठेर बसेँ । रहस्य के हो त मैले जान्ने कोसिस गरेँ ।

विगत केही दिनदेखि उसमा मैले के के परिवर्तन देखेको थिएँ, मैले सम्झने कोसिस गरेँ ।

उसको सास नराम्रोसँग गन्हाउन थालेको थियो | पिङ्की मेडमले पनि भन्थिन्‌ । उसले अचानक हामीसँग घरभित्र पनि बाहिर पनि सँगै खान छोडेको थियो । आइतबारको दिन कुखुराको मासु हुन्थ्यो तर ऊ या त खान्न भन्थ्यो यात भोक छैन भन्थ्यो या – – – ।

प्याज काट्ने काम चलिरह्यो र म अँध्यारोमा बसेर गमिरहेँ । मैले दिनभरि उसको चियो गरेँ | साँझपख मैले सोचेजस्तै ऊ गेटतिर तेर्सियो ।

भान्सेसँगको कुराकानीमा मैले ऊ प्रत्येक साँझ ठीक एउटै समयमा बाहिर निस्कन्छ भन्ने सुनिसकेको थिएँ । म अलि परसम्म पछिपछि लागेँ । केही गल्लीहरू छिचोल्दै ऊ मैले कहिल्यै नदेखेको ठाउँमा पुग्यो । एकपटक उसले कसैले पछ्याएका छन्‌ कि भनेर पछि फर्केर हेर्यो र मिलिक्क गायब भो |

ऊ दुईतले घरको अगाडि रोकियो । पर्खालमा ग्रिलले घेरेर छुट्याइएका थुप्रै पानीका धाराहरू थिए । उसले निहुरिएर धारा खोल्यो, मुख धोयो, कुल्ला गरेर थुक्यो । अनि चप्पल खोल्यो । चप्पल जुत्ताहरू कचाककुचुक पारेर त्यही ग्रिलमा सिउरिइन्थ्यो । उसले पनि त्यही गर्यो । त्यो भवनभित्र छिरेपछि ढोका बन्द गर्यो ।

मैले आफ्नो निधारमा प्याट्ट हानेँ ।

“छ्या, म पनि कस्तो मूर्ख ! रमजानको महिना । मुसलमानहरू दिनमा केही खाँदैनन्‌ र पिउँदैनन्‌ ।”

म दौडेर घर पुग र नेपालीलाई भेटेँ । र गेटको छेउमा उनिएर निमको ठूटोले दाँत माँझ्दै थियो । महामहिम, हाम्रो देशका सबै गरिबले दाँत माझ्ने यसै गरी हो । मैले उसलाई भनेँ- “भर्खरै मैले एउटा चलचित्र हेरे हजूर ।”
“चुप लाग्‌ ।”
“साह्रै राम्रो चलचित्र तपाईं । धेरै नाचहरू भएको । हिरो एउटा मुसलमान थियो जसको नाम मोहम्मद, मोहम्मद थियो ।”

“मेरो समय खेर नफाल्‌ । काम केही छैन भने गएर कार सफा गर्‌ ।”
“यो मोहम्मद साह्रै मेहनती, गरिब, तर इमानदार मान्छे रै छ, तर उसले एउटा बदमास, दुराशयी जमिनदारको घरमा जागिर खान चाहन्थ्यो । त्यो जमिनदार मुसलमान भनेपछि फुटेको आँखाले पनि देख्न नसक्ने । त्यसैले परिवारको मुखमा माड लगाउन जागिर खानलाई हिन्दु हुँ भनेर ढाँट्यो र आफ्नो नाम रामप्रसाद बतायो !”
नेपालीको मुखबाट निमको ठूटो फुत्त झर्यो ।

“तपाईंलाई थाहा छ उसले यो चलाखी कसरी गरिराख्याथ्यो ? यो नेपाली पाले जसलाई मालिकले रामप्रसादको पूरा निगरानी गर्नलाई विश्वास गरेका थिए ऊ त पैसा कमाउने बेमानी खेलमा पो लागेको रैछ ।”

भाग्नै लाग्याथ्यो, तर मैले उसको कठालो समातेँ । तपाईंले यो बुझ्न जरुरी छ कि प्राविधिक रूपले कसरी यो नोकरमाथि नोकरै जाइलाग्दा मैले जितेँ । तर तपाईंले यस्तै पारा त्यहाँ झिक्ने हो भने रीत पुर्याएर गर्नुहोला । बुझ्नु भो ? मैले उसलाई थप्पड लगाएँ ।

यसरी म यो घरको एक नम्बर नोकर भएँ ।

म दौडेर मस्जिद गएँ । नमाज पक्कै सकिइसक्याथ्यो । साँच्चै त्यो रामप्रसाद वा मोहम्मद वा अरू कुनै नाम भन्नोस्‌, बाहिर आयो, चप्पल झिकेर भुइँमा फ्याट्ट फाल्यो, खुट्टा घुसार्यो र बाहिर निस्क्यो । उसले मलाई देख्यो । मैले आँखा झिम्क्याएँ । उसले बुझ्यो कि अब खेल सुरू भो, पोल सबै खुल्यो ।

आवश्यक जति मैले थोरै शब्दमा भनें ।

अनि म घर पुगेँ । नेपालीले मलाई फलामको कालो बार हेरिराख्याथ्यो । मैले उसको साँचोको झुप्पा लिएर बगलीमा राखेँ | “मेरा लागि चिया र बिस्कुट लिएर आइज ।” उसको कमिज तान्दै मैले भनेँ । “तेरो पोसाक पनि मलार्इ छोडदे । मेरो अलि पुरानो भइसक्यो ।”
त्यस रात म बिस्तारामै सुतेँ ।
बिहान कोही कोठामा आयो । त्यो भू पू १ नं. ड्राइभर मसँग एक शब्द नबोली झिटीझाम्टो पोको पार्न थाल्यो । उसका सबै चिजहरू सानो झोलामा अटायो ।

मैले सोचेँ, “हरे ! उसको कति दुःखी जीवन ! नाम ढाँट्नुपर्ने, धर्म लुकाउनुपर्ने, मात्र जाबो यौटा ड्राइभरको जागिर खानलाई । त्यसमाथि ऊ एउटा राम्रो ड्राइभर हो । यसमा कुनै शङ्का छैन । उसको ठाउँमा म कहिल्यै पनि पुग्दिनँ होला ।”

मलाई कताकता उठेर गएर ऊ सँग माफी मागौँ र भनौँ कि जस्तो लाग्यो कि “दिल्ली तपाईं नै जानोस्‌ । तपाईंले मलाई कहिल्यै चोट पुर्याउनु भएको छैन । मलाई क्षमा दिनोस्‌, दाइ ।”

मैले कोल्टे फर्केर पाधेँ र फेरि निदाएँ ।

म उठ्दा ऊ हिँडिसकेछ । सबै भगवान्‌का फोटोहरू छोडेर गएछ | मैले सबै एउटा झोलामा कोचिदिएँ । कैले काम लाग्ने हो मलाई थाहा भएन ।

साँझ ङिच्च हाँस्दै नेपाली मलाई भेट्न आयो । उही नक्कली हाँसो हो जुन उसले दिनभरि भुँडीफोरलाई देखाउँथ्यो । उसले भन्यो कि रामप्रसाद एक शब्द नभनी गएकाले अब अशोक र पिङ्कीलाई लिएर दिल्ली म नै जाने रे । उसले आफैँ व्यक्तिगत रूपमा बाध्यतापूर्वक भुँडीफोरलाई मेरो नाम सिफारिस गरेछ ।

म खाटमा फर्के । अब सबै मेरो मात्रै । लम्पसार परेर नेपालीलाई भनेँ, “ठीक छ । त्यो माकुराको जालो सफा गर्‌ त ।”

केही नबोली खाउँलाजस्तो हेर्दै ऊ कुचो लिन गयो | मैले चिच्च्याएँ, “ए हजूर !
त्यसपछि प्रत्येक बिहान चिनियाँ माटोको प्लेटमा गुलियो बिस्कुट र तात्तातो नेपाली चिया आउन थाल्यो ।

त्यो आइतबार किसन मलाई भेट्न गेटमा आयो र सबै कुरा मैले सुनाएँ । घरबाट किन तँ झोक्किएर हिँडेको भन्दै मलाई झपार्ने भो भन्ने ठानेको त खुसीले उसका आँखाहरू छल्किए | अन्धकारमा जन्मेको उसको परिवारको कुनै सदस्य अब नयाँ दिल्ली जाने भो । यो भन्दा बढी खुसी के हुनसक्छ !

“आमाले भनेजस्तो भो । वहाँलाई थाहा थियो तँ केही गर्छस्‌ भन्ने ।”
दुई दिनपछि मैले होन्डा सिटीमा राखेर अशोक, पिङ्की मेडम र न्याउरीलाई दिल्ली लिएर गएँ । बसहरूको पछिपछि लागेपछि बाटो थाहा पाउन त्यति गाह्रो भएन । बाटोभरि छतमा र भित्र कोचाकोच गरी नअटाएर डन्डीमा समेत झुन्डिएका यात्रीहरू लिएर बस र जिपहरू कुदिरहेका थिए । तिनीहरू सबै अन्धकारबाट दिल्ली जाँदै थिए | यस्तो देखिन्थ्यौ कि सारा संसारै बसाइँ सर्दै छ ।

प्रत्येक बसलाई उछिन्दा म ङिच्च हाँस्नुपर्थ्यो । झ्यालको सिसा तल झारेर भनूँ भनूँ लाग्थ्यो कि “ए देख्यौ, म वातानुकूलित कार चढेर दिल्ली जाँदै छु !”

मलाई लाग्छ मेरो हेराइबाटै तिनीहरूले बुझे म के भन्दै थिएँ ।
दिउँसोतिर अशोकले मेरो काँध थपथपाए।
श्रीमान्‌ मैले सुरूमै बुझिसकेको थिएँ उनी के भन्न खोज्दै छन्‌, किनकि कुकुरले आफ्नो मालिकको इसारा बुझ्छ । गाडी रोकेर म यसो देब्रे लागेँ । उनी दाहिने लागे । सिट साटासाट गर्दा उनको खस्रो दाहरीले: मेरो गालामा कोतर्यो ! उनको शरीरबाट हरर अत्तर बास्ना आयो भने म नोकरको पसिना उनको गालामा लतपतियो र उनी ड्राइभर बने, म यात्री ।
उनले कारको इन्जिन स्टार्ट गरे ।
पछि बसेर पत्रिका पढिरहेको न्याउरीले बल्ल थाहा पायो के भएको रहेछ । “ए अशोक तिमी नचलाऊ गाडी” उसले भन्यो । न्याउरी एउटा पुरानो शिक्षक थियो । उसले सबै कुरा उल्टो बुझ्थ्यो ।
“ठीक भन्नु भो । मलाई पनि अप्ठ्यारो लागिराखेको छ ।” अशोकले भने ।
कार रोकियो । सिट साटासाट गर्दा अत्तर पसिनाको गन्ध फेरि मिसियो ।म फेरि उही ड्राइभर र नोकर भएँ उनी मालिक र यात्री ।

हामी दिल्ली राति अबेर पुग्यौँ।
३ बजेको त छैन । मलाई अझ अरू केही भन्न मन थियो, तर म यसलाई यही रोकेर तपाईलाई एउटा नयाँ कथा सुनाउन चाहन्छु ।

महामहिम, यौटा केटोले पहिलो पटक कारको बोनट खोलेर भित्रका आन्द्रा भुँडी हेर्दा कस्तो होला, यसो सम्झनुस्‌ त ? इन्जिनको एक छेउबाट अर्को छेउसम्म बटारिएर जोडिएका रङ्गीब्रिङ्गी तारका गुजुल्टा, पहेँला बिर्कोहरू भएको कालो बाकस, सुसाउँदै कुनैबाट बाफ, कुनैबाट ग्रिज र तैल फ्यालिरहेका जटिल पाइपहरू, कस्तो रहस्य र जादुमय होइन त ? जब म दिल्लीमा घटेका घटनाहरू र मेरो कथाका अंश नियालेर हेर्छु, मलाई त्यो कारको भित्री भाग जस्तै अचम्म लाग्छ । यदि तपाईं मलाई कसरी एउटा घटना अर्कोसँग जोडियो वा एउटा उद्देश्य अर्कोसँग बाझियो वा सहयोगी बन्यो वा मैले मेरो मालिकको बारेमा कसरी ‘यो वा त्यो सोचेँ भनेर सोध्नुभयो भने म भन्छु कि यो सबै कसरी भो म आफैँलाई थाहा
छैन । म आफैँ भन्न सक्दिन कि यो कथा भन्न लायक छ वा छैन । म आफैँलाई थाहा छैन अशोकजी किन गरे । अहिलेलाई यो कथा यहीँ अन्त्य गर्दा बेस होला ।
राति फेरि हाम्रो भेट हुँदा मलाई त्यो झालरबत्ती अलि माथि उठाउन सम्झाउनुहोला । अबको बाँकी कथा अलि रहस्यमय (अँध्यारो) छ ।