उसले उडुवा माछा लखेट्ने उद्देश्यले चरो समुद्रतिर बत्तिएर आइरहेको देख्यो । बूढोले पानीको सतह हल्का उठेको देख्यो । विशाल डल्फिनले भाग्दै गरेको उडुवा माछा लखेट्ने क्रममा त्यस्तो भएको थियो । त्यति नै बेला बूढोले पानीमुनि डल्फिनको ठूलै समूह हतारहतारमा चलमल गरेको देख्यो । तीब्र गतिमा तल माथि गर्दै थियो डल्फिनको समूह । उसले सोच्यो, “डल्फिनहरू निकै परपरसम्म फैलिएका छन् । उडुवा माछा बच्न सके सम्भावना कमै छ । चरोको त भाग्ने सम्भावना झनै छैन । उडुवा माछाहरू चरोभन्दा निकै ठूला पनि छन् र छिटो उड्न पनि सक्छन् ।” पटक पटक उडुवा माछा बाहिर भित्र गरेको दृश्य देख्यो बूढोले । साथै चरोको असफल गतिविधि पनि । उसले सोच्यो -“डल्फिनको त्यो समूह मबाट निकै टाढा भागिसकेको छ । छिटो छिटो गतिमा निकै टाढा जाँदै छन् तिनीहरू । सायद आज म सही ठाउँमा आइपुगेको छु । मैले समात्न खोजेको त्यो ठूलो माछा यतै कतै हुनुपर्छ ।”
भूइँमाथिका बादलहरू पहाड माथि उठ्दै थिए भने समुद्री किनार हरियो फाँट जस्तै देखिन्थ्यो जसको पछाडि खैरो रङ्गका पहाडहरू उभिएका देखिन्थे । पानी निकै गाढा नीलो रङ्गको देखिन्थ्यो । यति गाढा निलो कि लगभग बैजनी रङ्गको । तलतिर हेर्दा पानीमा उसले केही सूक्ष्मजीव चलमल गरेको र घामको नौलो किरण देख्यो । पानीभित्र डोरी सिधा गयो कि गएन भनेर अवलोकन गर्दा बूढोले सूक्ष्मजीवको समूह देख्दा औधि खुसी भयो किनभने उसलाई त्यहाँ माछाहरू हुन सक्छन् भन्ने थाहा थियो । पानी माथि परेको घामको किरण र बादलको आकृति देख्दा उसलाई मौसम राम्रै होला भन्ने लाग्यो । साथै धर्ती माथिको बादलका आकूतिले पनि त्यस्तै संकेत गर्थ्यो ।
चरो अलप भयो । अनि जल पृष्ठमा घामको किरणले पिल्सिएर पहेँलो भएको सार्गासो झारको केही टुक्रा अनि वैजनी रङको वर्णबहुल र पोर्तुगीज मेन अफ वारको लसदार जीव डुङ्गाको छेउमा आयो । एकफन्को घुमेर डुङ्गाको छेउमा आयो । त्यो एउटा लामो बैजनी रङ्गको पुच्छर सहित आफू भान्दा पछिपछि एक गज टाढासम्म पानीमा एक प्रकारको विषालु पदार्थको फीँज छाड्दै डुङ्गाको छेउमा गइरहेको थियो ।
“अगुवामाला !” बूढोले भन्यो, ‘तँलाई वेश्या ।’
बूढोले बिस्तारै बहानामा ढल्केर पानीमुनि हेर्दा स-साना माछाहरू फीँजका बीचमा घुम्दै गरेको देख्यो । तिनीहरू त्यो विषबाट बँचेका छन् तर मान्छे बँच्न सक्दैन । त्यसैले बूढोले पानीबाट माछा तान्दा कुनै बेला त्यो विष हातमा लाग्दा ओक र इभीको विषले हात र पाखुरामा डामेर घाउ पारेको जस्तो देखिन्थ्यो । तर त्यो विष त्यो वेश्याबाट छिट्टै निस्कन्छ र कोर्राले हिर्काए जस्तो लाग्छ ।
त्यो रङ्गीचङ्गी फीँज राम्रो थियो देख्नमा । तर फीँज समुद्रमा भएको साह्रै नै नक्कली चीज हो । ठूलाठूला समुद्री कछुवाले यसलाई देख्ने वित्तिकै आँखा चिम्लेर खान्थे । कछुवाले यसलाई खाइरहेको दृश्य बूढोलाई राम्रो लाग्थ्यो । तिनीहरूको सौन्दर्य, शीघ्र चाल र मूल्यवान् मासुले गर्दा हरियो कछुवा र हक्सबील साह्रै मनपर्छ उसलाई । अनि पोर्तुगीज मेन अफ वारलार्इ समातेर खाने राजकछुवालाई पनि बूढो घृणाको दृष्टिले हेर्थ्यो ।
कछुवा सम्बन्धी बूढोसित केही गुप्तविद्या थिएन । यद्यपि ऊ धिरैचोटि कछुवा मार्ने डुङ्गामा गएको किन नहोस् । कछुवालाई देखेर दुःखी थियो ऊ । डुङ्गा जत्रै लामो र एक क्विन्टलसम्मका थिए कछुवाहरू । अधिकांश मानिसहरू कछुवाप्रति निर्दयी नै हुन्छन् किनभने कछुवालाई काटिसकेपछि पनि कछुवाको मुटु घण्टौंसम्म चल्न सक्छ । तर बूढोले सोच्यो, “मेरो पनि त कछुवाको जस्तै हातखुट्टा र मुटु छन् ।” तागतका लागि उसले सेता अण्डाहरू खान्थ्यो । सेप्टेम्बर र अक्टोबरमा ठूलाठूला माछा समात्न बढी नै शक्ति चाहिएला भनेर उसले मे महीनाभरि अण्डा खायो ।
झुप्रोमा राखिएको ठूलो ड्रमबाट झिकेर बूढो हरेक दिन शार्कको कलेजोको तेल एक गिलास पिउँथ्यो । बूढोको झुप्रोमा अरू थुप्रै माझीहरूले सामान थुपार्ने गर्थे साथै तेल पनि लैजान्थे । अधिकांश माझीहरूले कलेजोको तेलको स्वाद मन पराएनन् । स्वास्थ्यको लागि विहान सबेरै उठ्नु त्यति खराब पनि त थिएन । पेट दुखेको बेलामा र सर्दी लागेको बेलामा खुब काम दिन्थ्यो तेलले ।
आकाशतिर फर्केर हेर्दा बूढोले चरो फेरि चक्राकारले घुम्दै गरेको देख्यो ।
“माछा फेला पारे जस्तो त्यसले ।” बूढोले जोडले करायो । पानीको सतहमा हलचल ल्याउने कुनै उडुवा माछा पनि थिएन त्यहाँ न त वरिपरि चारो माछा नै देखिन्थ्यो । उसले सानो टुना माछा मास्तिर उफ्रेको र फेरि पानीतिर डुब्दै गरेको देख्यो । त्यो टुना माछा घाममा चाँदी टल्केजस्तो टल्केको देखिन्थ्यो । एकपछि अर्को गर्दै टुनामाछा उफ्रने र सबैतिर छचल्किने क्रम केहीबेर जारी रह्यो । ती माछाहरू चारोको खोजीमा सल्बलाएको देखिन्थ्यो । ”
बूढोले सोच्यो, “यदि तिनीहरू छिटो त्यहाँबाट गएनन् भने म समातिहाल्छु ।” त्यो हुलले पानी सेतो पारेको र त्यो चरोले पानी मुनि गएर माछाबीच आतङ्क फैलाएको हेर्न थाल्यो बूढो ।
“चरोले निकै काम दियो ।’ बूढोले भन्यो -‘त्यहीबेला खुट्टामुनि बेरेको कडा डोरी तन्केको महसुस गर्यो बूढोले जहाँ उसले डोरीको गाँठो राखेको थियो । उसले बहाना डुबायो । सानो टुना माछाले डोरीको चारो खान थालेको थाहा पायो । उसले निकै दह्रोसित डोरी समातेर तान्न थाल्यो । जति जति डोरी तान्यो उति उति टुना माछाको कम्पन बढ्दै गयो । झुण्ड्याएर निकाल्नु अघि नै उसले माछाको सुनौले रङ्गको पिठ्युँ, सुनौलो रङ्गको खुरा देख्यो । डुङ्गाको पछिल्लो भागमा ल्याएर घाममा माछोलाई । गोलो आकारमा च्याप्प टाँसिएको थियो । ठूलाठूला र निर्दोषी आँखाहरू एकटकले हेरिरहेका थिए । डुङ्गाको फल्याकमा निकै जोडले फटफटाउँदै थियो माछा । फल्याकमा पुच्छरले पनि जोडले प्रहार गर्दै थियो ।
बूढोले माछाको टाउकोमा लौरो र लात्ताले हान्दा माछाको शरीर डुङ्गाको पछिल्लो भागमुनि छायाँमा बेसरी काँपिरहेको थियो । माछो देखेर निकै खुसी भयो बूढो । “अल्बाकोर” जोडले चिच्च्यायो बूढो । “राम्रै चारो बन्ने भो अब । दश फाउण्ड चाहिँ अबश्य छ होला यसको तौल ।”
बूढोलाई एक्लै गुनगुनाउने बानी कहिलेदेखि शुरू भयो सम्झना छैन । पहिला पहिला डुङ्गामा एक्लै कछुवा मार्न जाँदा गीत गुनगुनाएको चाहिँ याद छ उसलाई । सायद केटोले छाडेपछि उसले एक्लै गुनगुनाउन थालेको हुनुपर्छ । तर ठ्याक्कै सम्झना भने छैन | केटो साथमा छँदा अक्सर उनीहरू काम पर्दा मात्रै बोल्थे एकापसमा । खासगरी मौसम खराब हुँदा वा राति एकापसमा कुरा गर्थे । समुद्रमा हुँदा अनावश्यक कुरा गर्नु मर्यादाभित्र नपर्ने भएकाले बूढोले त्यस मर्यादालाई यथासम्भव पालन गरेको थियो । तर आजभोलि बूढोलाई कसैले वाधा नपुर्याउने भएकोले जोडले कराउने बानी बसिसकेको थियो ।
“यदि एक्लै चर्को स्वरले कुरा गर्दै हिँडेको कसैले सुन्यो भने वा देख्यो भने सायद मलाई बौलाहा भन्ठान्छन् होला ।” जोडले बोल्यो बूढो । तर म पागलै चाहिँ नभएकाले मलाई त्यसको केही पर्वाह छैन । धनी माझीहरूको पो रेडियो छ र कुरा गर्ने साथी पाएका छन् र बेसबलको समाचार सुन्छन् ।’
उसले सोच्यो -“अहिले त बेसबलको बारेमा सोच्ने फुर्सद नै कहाँ छ र ।” खालि एउटै कुरा सोच्नु परेको छ अब त । आफू के का लागि जन्मेको हूँ त्यसैका बारेमा मात्र ।
उसले सोच्यो, “त्यो समूहमा अर्को पनि ठूलै माछो हुनुपर्छ । समूहबाट छुट्टिएको एक्लो अल्बाकोर मात्रै समातेको न हुँ मैले । तर तिनीहरू निकै छिटो छिटो हिँड्छन् । पानीको सतहमा देखिने हरेक चीज आज उत्तरपूर्वी दिशातिर तीव्रगतिमा हिँड्दै गरेको देख्छु म । बेला नै यस्तो हो कि क्या हो ? कि मैले थाहै नपाइकन मौसम परिवर्तन भयो ?”
अझै समुद्री किनारको हरियाली देखेन उसले । खालि निला पहाडको टुप्पो मात्रै जुन सेताम्य देखिन्थे । मानौं ती पहाडहरू हिमाच्छदित थिए अनि बादलहरू हिउँले ढाकिएका अग्लाअग्ला पहाड जस्ता देखिन्थे | समुद्र निकै गाढा निलो देखिन्थ्यो भने घामको किरणले पानीमा इन्द्रेणीको सृष्टि गरेको थियो । चर्को घामले सूक्ष्मजीवले बनाएका असङ्ख्य दागहरू मेटाइ दिएको थियो । निलो समुद्रमा देखिने एउटै चीज भनेको इन्द्रेणी मात्रै थियो । एक माइल जति गहिराइमा बल्छीको डोरी डुबाउँदै गर्दा बूढोले देखेको दृश्य हो यो ।
बेग्लै नामले चिनिने माछालाई माझीहरू टुना भन्थे । चारोको लागि किनबेच गर्थे टुना माछाहरू । ती टुना फेरि तल गए । डुङ्गा खियाउँदै गर्दा घाम चर्किदै गएकाले बूढो असिनपसिन भयो ।
बूढो सोच्न थाल्यो, “मैले खालि डुङ्गा खियाएँ अनि सुतेँ र आफूलाई बूँझाउन खुट्टाको बूढीऔंलामा डोरी बाँधेर राख्छु । आज पचासी दिन भो माछा मार्न हिँडेको आज त जसरी पनि ठूलो माछा नमारी हुन्न ।”
त्यति नै खेर डोरी अवलोकन गर्दा पानीभित्र बल्छी हुत्याउने हरियो लठ्ठी पानीमा डुब्दै गरेको देख्यो बूढोले ।
‘आइज’ बूढोले भन्यो- “यता आइज’ डुङ्गा नहल्लाइकनै उसले बहाना जडान गर्यो डुङ्गामा । दाहिने हातको बूढीऔला र चोर औंलाको सहायताले डोरी समात्यो । उसले डोरी तन्केको महसुस गरेन न त कुनै बोझ नै । डोरी च्याप्प समातेर बिस्तारै तान्यो उसले । फेरि आयो त्यो । यस पटक एकछिन मात्रै तानेको देखियो त्यो पनि डोरी विस्तारै हल्का पाराले । जोडले होइन । उसले बुझ्यो कुन चीजले डोरी तानेको भनेर । ६०० फीटको गहिराइमा एउटा मार्लिनले बल्छीमा उनेको सार्डिन खाँदै गरेको अनुमान लगायो बूढोले । तीखो बल्छीले टुना माछाको टाउको छेडेको थियो ।
बूढोले देब्रे हातले डोरी बिस्तारै हलका पाराले समातेर त्यो हरियो लठ्ठीबाट डोरीलाई बिस्तारै छाड्दै गयो । औंलाको बीचबाट डोरी छाड्न र घुसार्न सक्ने भयो । डोरी तन्केको माछालाई थाहै दिएन । त्यो माछो पानीमुनि निकै गहिराइमा छ । यो महिनामा निकै ठूलो भैसकेको हुनुपर्छ ।
“खा माछा खा, यो चारो खा ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।