साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाश्वेता देवीकोः “अक्लान्त कौरव” शृंखला ९

दिलीप सोरेनले भन्यो, “ अन्यथा नठान ,भाइ । रोतोनीको किलोमा कति बल छ भन्ने कुरो थाहा पाएर अघि बढेको भए राम्रो हुन्थ्यो ।”
“किलोमा बल ? कहाँ ?”
“इलाकाको प्रशासनमा ।”
“ केही छैन । वाहियात कुरा नगर,सोरेन । यो कुन सरकार हो ,थाहा छैन ? यो सरकारले जग्गाधनीको पक्ष लिँदैन, मोहीको पक्ष लिन्छ ।”
“हेरौला ।”
“अँ..अँ..। हेरौँला र हेराउँला पनि ।”
रजत र उसका साथीहरू पहिले अजयकहाँ गए । पूनर्बास कार्यालयमा अजयले जे भन्यो त्यस कुराले उनीहरूको छाती दश हात फराकिलो भयो । अजय त्यसबेला एउटा अद्भुत खोजको आगोमा सल्किरहेको थियो । उत्साहित हँुदै उसले भन्यो, “ मोही दर्ता ? यो नक्सा हेर्नुस । राम्रोसँग कार्यान्वयन गर्ने हो भने यी तमाम ठाउँहरूमा यिनीहरूलाई जग्गाधनी बनाउन सकिन्छ । घटीमा पनि चौध–पन्द्र परिवारहरूलाई जमीन उपलब्ध गराउन सकिन्छ ।”
“ के भन्दै हुनुहुन्छ ?”
नक्सामा देखाउँदै उसले भन्यो, “यो सम्पूर्ण भूखण्डमा सरकारको स्वामित्व छ । पुरानो नक्सा हेर्दा यो तथ्य थाहा पाइएको हो ।वास्तवमा यो जग्गा कसैको पनि होइन । चरसा नदीले बाटो फेरेकोले यो जग्गा निस्केको हो । नदी वा समुद्रले बाटो फेरेको वा ठाउँ छोडेको कारणले प्राप्त हुने जग्गा ऐलानी (खास) जग्गा भनिन्छ र त्यसको स्वामित्व पनि स्वतः सरकारमा जान्छ । ऐलानी जमीन गैरकानूनी तरिकाले कसैले अधीनमा राख्नु कानूनी अपराध हो । तर यस्तोखाले जमीन जनतालाई वितरण गर्न सकिन्छ । ती चार जनाको जमीनपनि यसै अन्तर्गत पर्दोरहेछ ।”
“अनि..?”
“पहिले जग्गाको नापजाँच हुनुपर्छ ।”
रतनले सोध्यो, “उसले नाप्न दियो त ?”
”होइन, नापजाँचमा त कुनै बाधाव्यवधान आएन । रोतोनी साऊले कुनै अर्कै तरिका अख्तियार ग¥यो । ऊ ठूलो–मोटो तल्सिङ हो । शहरका तिन जना वकिलसँग उसको मैत्रीपूर्ण हिमचिम छ ।कलकत्ताको वकिलले उच्च न्यायालयमा मुद्दा दायर गरिदिए । छट्टु रोतोनी मुद्दा चलुञ्जेल छरछिमेक कतै पनि गएन ।”
मनमा गहिरो दुःख पीडा बोकेर रोतोनी मोति बाबुकहाँ गयो । सामन्त थिएनन्, नवीन बाबु र मोति बाबु मात्रै थिए । बल्लतल्ल रुवाइ रोक्दै सुँक्कसुँक्क गर्दै आफ्नो दुःखेसो पोख्यो । धर्मराज्यको पक्षपाति बनेरधर्म–नीतिको कुरा गर्यो । बाढीको बेलामा पार्टीको कोषमा मन फुकाएर चन्दा पनि दियो । बाढी पीडितहरूको उद्धार गर्न बसहरू पनि उपलब्ध गराएको थियो । यो सब त उसले निःस्वार्थ भावले गरेको गरेको हो । धर्मराज्यमा बसेर यति पनि नगरोस् त ?
तर यसो गरेबापत उसले के पायो वा के पाउन सक्छ ? दाजुको मृत्युको पीडा विगत पाँच वर्षदेखि ऊ बिर्सन सकिरहेको छैन । यसैले जायजेथाका मामिलाहरू उसलाई त्यति राम्रो जानकारी छैन । हुन त त्यसै पनि ऊ यस्ता कुराहरू त्यति बुझ्दैन । तर यतिचाहिँ उसलाई थाहा छ कि चरसामा उसको कोही पनि मोही छैनन् । जग्गाको साँधसीमाना ?त्यो त अभिलेखमा उसैको नाम छ । पार्टीका केटाहरू किन उसको खेदो गरिरहेका छन् ,ऊ बुझ्न सकिरहेको छैन ।
होइन, पार्टीका केटाहरू एकदम असल छन् । तर नक्सलाइट दिलीप सोरेन, उद्धव काउरा र रतन डुमहरूले तिनीहरूलाई उरालेर रोतोनीको जग्गामा नक्कली मोही कायम गराइरहेका छन् । त्यसैले पो । रोतोनीसँग अलिकति जमीन बढी त छ । त्यो पनि चाँडै नै आफ्नो नाममा दर्ता गराएर बरु मोही लगाइदिए हुन्थ्यो । भन्यो,‘अलि अलि ।’ तर जमीन थोरै छैन । घटीमा सय बिघा होला । त्यो जमीन बाकुलीमा छ ।
अजयले यो योजनाको घोषणा गरिदिनासाथ रोतोनीको दौडधुप शुरु भयो । अनि रजत र उसका साथीहरू पनि जग्गाधनीहरूको नामको सूचि तयार पार्न लागे । त्यसैबेला सामन्तले एउटा उल्लेखनीय काम गर्यो । शहरका वरिष्ठ वकिलहरू समावेश गरेर उसले एउटा समिति बनायो र त्यो समितिले अपरेसन बर्गा अर्थात् मोहियानी हक अभियानसँग सम्बन्धित छानबिनका कामहरू गर्ने भयो । सुुकुल साँतराले भन्यो,“ तपाईँ समितिको अध्यक्ष हुनुहुन्छ । तपाईँ भएपछि गरिब मोहीहरूले न्याय पाउँछन् ।”
अजयको नापजाँच र परीक्षणबाट नक्साअनुसार चरसामा पचहत्तर बिघा तेह्र कठ्ठा तिन घुमाऊँ,तिन कनाल र सत्र हात जमीन बढी देखियो । यी सारा जमीनमा रजत र उसका साथीहरूले पार्टीको झण्डा गाडिदिए र सन्थालपाडाबाट त्यो दृश्य हेर्न आउनेहरूको ओइरो लाग्यो । मानिसहरू प्रसन्न चित्तले दङ्गदास भएर यो दृश्य हेरिरहेका थिए । रजत, दीनु,गौर र कदमको अनुहारको प्रफुल्लता हेर्न लायकको थियो । रतनले भन्यो, “ यी सारा जमीनहरू तिमीहरूलाई नै बाँडिनेछ ।”
ठीक यसैबेला रोतोनीको अनुरोधमा गाउँमा पुलिसको टोली आइपुग्यो । हुन त पुलिसले जग्गामा गाडिएको पार्टीको झण्डा हटाउने वा यताउति गर्ने त गरेन तर थानामा बुझ्दा थाहा भयो कि अहिले त्यो जमीनका बारेमा कुनै कारवाही अघि बढन सक्दैन ।
”किन ?”
आवारा अनुहारको दरोगा()ले उपेक्षापूर्ण नजरले सन्थालहरूका पसिनाले च्याटच्याट भएको कालाकाला अनुहारमा हेर्दै अन्तर्वार्तामा दिइने पारामा जवाफ दिएझैँ गरी तिखो स्वरमा उपेक्षापूर्ण बोलीमै भन्यो,“ त्यो जमीनमा झमेला छ । तिमीहरू आआफ्नो घर जाओ ।”
कदमले दरोगालाई धम्क्यायो तर पनि दरोगाले पहिलेकै जस्तो उपेक्षापूर्ण बोलीमा भन्यो, “ममाथि किन रिसाउनु ? म त आफ्नो ड्युटी गर्दैछु ,बस् त्यति हो । ”
घटनाको जाहेरी पार्टीस्तरमा मोतिबाबुसँग गरिँदा उनीहरूले थाहा पाए कि सुचिबाट रामेश्वर भुइँया र रोतोनी साऊको नाम त हटिसकेको छ ।
“यसको आशय के हो ,मोतिदा ?”
”केको ?”
“क्षेत्रमा सबभन्दा बढी जमीन जोसँग छ तिनैको नाम किन यो सुचिबाट हटाइयो ? मोहियानी दर्ता नगराउने ?”
“गराउने । किन नगराउनु ?”
“पुलिस किन पठाइयो त गाउँमा ?”
“जमीनमा झण्डा किन गाड्यौ त ?”
“कानूनअनुसार त जमीन हाम्रो हो ।”
“त्यो त अदालतले निर्णय गर्छ ।”
“तपाईँहरू नेतृत्वपङ्क्तिबाट किन यस्तो गर्दै हुनुहुन्छ ? किन यस्ता तत्वहरूलाई काँध थापेर हिँडनुभएको छ ?”
“काँध थापेको रे ?”
“यसको अर्थ त त्यही भयो । ”
“कदम, बिचार गरेर बोल । अब नक्सली युग गयो । कानूनसँग बलजफ्ती गर्नु ठीक होइन ।”
“गतिलो काम गरौँ भन्दा नक्सली हठधर्मिता गरेको भन्नुहुन्छ । अहँ, यो नक्सली हठधर्मिता हुँदै होइन । पार्टीको कार्यकर्ताको नाताले जनताप्रति हाम्रो कुनै दायित्व छैन र ? त्यो दायित्व हामीले गरेको कामबाट नै देखिने होइन र ?”
“जाऊ , रोतोनीकहाँ जाऊ । कुरा गरिहेर ।”
“ऊ आओस् न हामीनिर । हामी किन उसकोमा जाने ?”
“ऊ के भन्दैछ ,थाहा छ ? ‘मोहीले अदालतमा प्रमाणित गरोस् कि ऊ मोही हो । म पनि अदालतमा प्रमाणित गर्नेछु कि त्यो जमीनमा मेरो भोगचलनको अधिकार छ’ ।”
कानून कार्यान्वयन कार्यालयको कुनै पनि आदेश रोतोनीले पालना गरेन । अनि उनीहरू सुकुल साँतराकहाँ गए । कानूनी सहायता समितिको काम सुकुल बाबुले निकै जोडतोडका साथ शुरु गरेका थिए । उनले ध्यान दिएर मन लगाएर सबै विवरणहरू सुने अनि भने, “ यो मुद्दालाई सिलसिलेवार गरेर राम्रोसँग तयार गर्नुपर्दछ । जो मानिसहरू साँच्चैका मोही हु्न् ,तिनका पक्षमा साक्षीप्रमाण जुटाउनु पर्दछ । रसिद त नक्कली छ । बेनामी जमीन त जग्गाधनीहरूले जबर्जस्ती दाखिल गरेका छन् ।यस्तो जगगा अधिकरण गर्दा सरकारले जग्गाधनीहरूलाई नै किन मुआबजा दिनु प¥यो? चोरी पनि तिनैले गर्ने,मुआबजा पनि पाउने ?”
“यस्तो खाले जमीनका लागि अलग मुद्दा चलाउनु पर्छ ।”
“ जितिन्छ त ? यो त इज्जतको लडाइ हो ।”
“अवश्य जितिन्छ ।”
मुद्दा हाल्ने तयारी हुन थाल्यो । तर केही दिनपछि थाहा भयो कि सुकुल बाबुले त सामन्त र मोति बाबुसँग भनाभन चलेर त्यो समिति नै छाडिदिएछन ।
रोतोनी साऊले आफ्नो कब्जामा भएको जग्गाहरू आफ्नो नाममा दर्ता गराएछन् र चार लाख रुपियाँ मुआब्जा पनि असुल गरिछाडेछन् अनि आफ्नो घरका नोकरचाकरका नाममा मोहियानी पनि गराएछन् । सुनेर शहरका सबैजना चकित भए । जमीन पनि कतै गएन किनकि मोही नै नक्कली थिए र मोहियानी हक पनि कायम भयो । के गर्ने , सबै उसैका आशामुखी छन् अनि मुआब्जाको रकम पनि पाइयो ।
मोति बाबु र उनका समर्थकहरूले यस घटनालाई मोहियानी हक लागु गर्ने कार्यको थालनीको दिशामा एउटा महत्वपूर्ण कदम भनी प्रशंसा गरे ।
अजयको पनि सरुवा भयो । सरकारी जमीन अर्थात् ऐलानी जमीन रोतोनीकै अधिनमा रहिरह्यो । भुषण,चेकु,ब्रज र उत्सवलाई मोहीबाट बेदखल गरियो र तिनीहरू कृषि मजदुर बन्न बाध्य भए ।
रजत र उसको साथीहरूले रतनसँग माफी मागे । पार्टीका लागि आफ्नो प्राण होम्न तयार हुन्छन् तर पार्टीका नेताहरूले अपनाएको दोधारे दुईजिबे्र नीतिका विरुद्ध लडन सक्दैनन् ।
रतनले पनि भुषण र साथीहरूसँग माफी माग्यो ।
शशी बेटाले भन्यो, “ पार्टी नेतृत्वको यस्तै गद्दारी र बेइमानीले गर्दा पार्टी खतम हुन्छ । कार्यकर्ताहरूको मनोबल गिर्छ ।”
“इन्द्र बाबु, रतनले सबै कुरा तिमीलाई भनिदिइ सकेको छ । अब भन त , यस्तो अवस्थामा तिमी कसरी काम गर्छौ ? तिमीलाई कसैले काम गर्नै दिँदैनन् । मोहियानी अभियानमा शायद केही मानिसहरूको नाम दर्ता त भएको छ तर रोतोनी र रामेश्वर जस्ता पार्टीका सहयोगीहरूको नाम त्यहाँबाट नदारद छ । उनीहरूको जग्गामा मोहियानी नलाग्ने भएको छ ।”
“यी तमाम कामकुरोको व्यवस्था कसले गरिरहेको छ ?”

 

प्रतिक्रिया
Loading...