परिच्छेद- १५

आफूहरू बसेको काउन्टेस रोस्तोभको बग्गी भुसले ढाकिएको सडक काटेर काउन्ट सिरिल व्लादिमिरोभिच बेजुकोभको घरको विशाल पटांङ्गिनीमा पुग्दा अन्ना मिखायलोभ्नाले भनी, “प्यारो छोरा बोरिस्‌ ।”

आफूले लगाएको पुरानो लवेदामुनिबाट हात झिकेर डराई डराई तथा माया गर्दै आफ्नो छोराको हात समाएर आमाले भनी, “उनको अगाडि अत्यन्त मायालु र अत्यन्त शिष्ट हुनू । काउन्ट सिरिल जे भए पनि तेरो धर्मपिता हुन्‌ र तेरो भविष्य पनि उनकै हातमा छ । हेर है छोरा, उनका अगाडि एकदम असल केटाको रूपमा प्रस्तुत हुन्‌, हुन त तँलाई नै थाहा छ यसमा मैले सम्झाउनु पर्ने केही छैन ।”

“आमा, यसबाट हामी अपमानित मात्र हुने हौँ वा केही फाइदा पनि हुने हो मलाई थाहा छैन तर मैले तपाईंका लागि भए पनि तपाइसँग प्रतिज्ञा गरेबमोजिम व्यवहार गर्नेछु,” छोरा बोरिसले रुखो अनुहार लाउँदै जवाफ दियो ।

द्वारपालले ढोकै छेउ आमाछोराको बग्गी खडा भएको देखेको थियो । उसले उनीहरूलाई नियालेर हेर्यो । उनीहरू आफूहरू आएको जानकारी नदिकन खोपाहरूमा लहरै राखिएका मूर्तिहरूबीचबाट सोझै ऐना भएको ड्योढीमा गए । उसले फेरि अन्ना मिखायलोभ्नाले लगाएको पुरानो लवेदा अर्थपूर्ण दृष्टिले हेर्यो र काउन्टलाई भेट्न चाहनु हुन्छ कि राजकुमारीहरूलाई ? भनेर सोध्यो । अनि काउन्टलाई भेट्न आएको भन्ने बुझेपछि उहाँलाई आज धेरै चाँपेको, छ, अत: कसैलाई पनि भेट्नु हुन्न भन्ने जवाफ दियो ।

बोरिस “फकौँ भो आमा” भन्दै फ्रान्सेली भाषामा बोल्यो ।
“होइन छोरा,” आमाले अनुरोधपूर्ण आवाजमा भनी र छोरालाई फेरि सुम्सुम्याई । यसो गर्दा मानौँ उसको मनमा शान्ति मिल्थ्यो र उसको हिम्मत पनि बढ्थ्यो।

बोरिस चुप लाग्यो र ओभरकोट पनि नखोलेर प्रश्नसूचक दृष्टिले आमालाई हेर्यो ।

“हेर भाइ,” अन्ना मिखायलोभ्नाले द्वारपालेलाई मधुर आवाजमा सम्बोधन गर्दै भनी,” काउन्ट सिरिल व्लादिमिरोभिच धेरै बिरामी हुनुहुन्छ भन्ने मलाई थाहा छ र त्यसकारण नै म उहाँलाई हेर्न आएकी हुँ । उहाँ मेरो आफन्त पनि पर्नु हुन्छ… । म उहाँलाई कुनै किसिमको दुःख दिन्नँ । मात्र एक पटक राजकुमार भासिली सार्गियेभिचलाई भेट्न चाहन्छु- उहाँ यहीँ हुनुहुन्छ, होइन ? जसरी भए पनि उहाँलाई यति खबर पुर्याइदेऊ ।”

द्वारपालले अँध्यारो मुख लगाउँदै माथि बज्ने घन्टीको डोरी तान्यो र त्यहाँबाट अर्कोतिर लाग्यो ।

“राजकुमार द्रुबेत्स्काया राजकुमार भासिली सार्गियेभिचलाई भेट्न आएकी छिन्‌,” द्वारपालले घुँडासम्म आउने ब्रिचिस, जुत्ता र फ्रककोट लगाएको एक जना नोकरलाई बोलाएर भन्यो । ऊ हतार हतार सिँढीबाट ओर्लदै तलतिर हेर्दै थियो ।

आमाले भित्तामा टाँगेको भेनिसवाला ऐनामा हेर्दै दोस्रो पटक रङ्ग चढाएको रेशमी पोशाक मिलाई र ऊ तलुवा खिएको जुत्ता लगाएर विस्तारै माथिल्लो तला जाने कार्पेट बिछ्याइएको सिढी चढी ।

“मेरो छोरा, तैले मसँग वाचा गरेको छस्‌ ” आफ्नो हातको स्पर्शले उसको हिम्मत बढाउँदै उसले छोरालाई एक पटक फेरि सम्झाई ।

छोराले पनि शिर निहराउँदै चुपचाप आमाको पछिपछि लाग्यो । उनीहरू एउटा हलमा पुगे, जहाँका ढोकाहरूमध्ये एउटा ढोका राजकुमार भासिली बस्ने कोठातिर जान्थ्यो ।

उक्त हलको मध्य भागमा पुगेर भित्र पस्ने बित्तिकै आमा छोराले त्यहाँ उपस्थित एक जना बुढो नोकरसँग बाटो सोध्न मात्र लागेका थिए, एउटा ढोकाको काँसको हैन्डिल घुम्यो र राजकुमार भासिली छातीमा एक तारा भएको घरमा बस्दा लगाउने मखमलको कोट लगाएर एक जना कालो कपाल भएको सुन्दर व्यक्तिसँग बाहिर निस्के । उक्त व्यक्ति पिटर्सबर्गको नाम चलेको डाक्टर लोरेन थियो ।

“त्यसो भए यो कुरा पक्का हो ?,” राजकुमारले सोधे ।
“राजकुमार मानिसबाट गल्ती त भइहाल्छ,” डाक्टरले ल्याटिन शब्दहरूलाई फ्रान्सेली लवजमा उच्चारण गर्दै जवाफ दियो । तर… ।
“हो, यो त ठीकै छ,” राजकुमारले भने ।
“अन्ना मिखायलोभ्ना र उसको छोरालाई देखेपछि राजकुमार भासिलीले शिर झुकाएर डाक्टरसँग बिदा लिए र केही कुरा सोध्न खोजेभझैँ उनीहरूको नजिक आए । छोराले आमाको अनुहारलाई एउटा गहिरो दु:खको बादलले ढाकेजस्तो देख्यो । तर ऊ – आफू भने विस्तारै मुस्कुरायो ।

ओहो, राजकुमार हामीहरू यहाँ कस्तो दुःखद परिस्थितिमा भेट हुँदै छौँ, हगि ?
बिरामीको अवस्था कस्तो छ हँ ? राजकुमारको आफूप्रति जमेको भावहीन र तिरस्कारपूर्ण दृष्टि थाहा नै नपाएभझैँ गरेर उसले भनी ।

राजकुमार भासिलीले उसलाई घोरिएर हेरे र उसको छोरा बोरिसलाई पनि अप्ठ्यारो मान्दै प्रश्नसूचक दृष्टिले हेरे । बोरिसले शिष्टतापूर्वक शिर निहुरायो । तर राजकुमार भासिली बोरिसको अभिवादनको वास्तै नगरेर उसकी आमा अन्ना मिखायलोभ्नातर्फ फर्के । उनको टाउको र ओँठको चालले बिरामीको अवस्था चिन्ताजनक रहेको जनाउँथ्यो ।

“साँच्चै हो र ?” अन्ना मिखायलोभ्ना अलि ठूलो स्वरमा बोली । यो त ज्यादै नराम्रो भयो । म त यस्तो कुराको कल्पना पनि गर्न सक्दिनँ ।” “यो मेरो छोरो” बोरिसलाई देखाउँदै, ऊ तपाईंलाई व्यक्तिगत रूपमा धन्यवाद टक्रयाउन चाहन्छ,” उसले थपी ।

बोरिसले फेरि एक पटक शिष्टतापूर्वक शिर निहुरायो ।
“राजकुमार, तपाईंले उसप्रति जुन कल्याण गर्नु भयो त्यो कुनै पनि छोराको आमाले बिर्सन सक्ने कुरा होइन ।”
“म तपाईंलाई यति सेवा गर्न पाएकोमा धेरै खुसी छु,” राजकुमार भासिलीले आफ्नो गाउनको झल्लर मिलाउँदै अन्ना मिखायलोभ्नालाई जवाफ दियो र पिटर्सबर्गमा भएको अन्ना शेरेरको भोजमा भन्दा यहाँ मस्कोमा आफूप्रति बढी कृतज्ञ भएकी अन्ना मिखायलोभ्नासामु गर्विलो आवाजमा बोल्दै प्रस्तुत भयो ।

“सेनामा कुशलतापूर्वक आफ्नो कर्तव्य पालन गर्नू र, सधैँ आफूलाई अरूभन्दा योग्य प्रमाणित गर्ने प्रयास गर्नू” बोरिसलाई कडा आदेशात्मक सम्बोधन गर्दै उसले थप्यो । “म खुसी छु । तिमी यहाँ छुट्टिमा आएका हौ कि कसो ?” ऊ आफ्नो सधैँको जस्तो निरपेक्ष भावमा बोल्दै गयो ।

“हजूर, म मेरो नयाँ रेजिमेन्टमा हाजिर हुन जाने आदेश पर्खेर बसेको छु” बोरिसले राजकुमारका रुखा शब्दहरू सुनेपछि झिँझो नमानिकन र अरू कुरा गर्ने इच्छा पनि प्रकट नगरिकन यति शान्त र शिष्टतापूर्वक जवाफ दियो कि राजकुमार उसलाई हेरेको हेर्यै भयो ।

“तिमी आफ्नी आमासँगै बसेका छौ ?”,
“म काउन्टेस रोस्तोभाकोमा बसेको छु,” फेरि “हजूर” शब्द प्रयोग गर्दै बोरिसले उत्तर दियो ।
“नताली सिनासिनासँग बिहा गर्ने इल्या रोस्तोभकोमा_बसेको छ,” अन्ना मिखायलोभ्नाले स्पष्टिकरण दिई ।

“बुझेँ, मलाई थाहा छ,” राजकुमारले उराठिलो आवाजमा जवाफ दिए । “नतालीले त्यस्तो बेसोमती भालुसँग किन विवाह गरिन्‌ होलिन्‌ मैले बुझेको छैन । ऊ एउटा विशुद्ध मूर्ख र हास्यप्रद मान्छे हो। मत सुन्छु- ऊ एक नम्बरको जुवाडे पनि छ रे ।”

“तर त्यो मानिस एकदम दयालु छ, राजकुमार,” अन्ना मिखायलोभ्ना यस्तो मर्मस्पर्शी मुस्कानका साथ बोली मानौँ काउन्ट रोस्तोभप्रति गरिएको टिप्पणी एकदम सटिक छ र, उसलाई पनि सबै कुरा थाहा छ तैपनि उसले उक्त बुढा मानिसप्रति यति साह्रै कडा नहुन राजकुमारसँग अनुरोध गर्दैछे । “डाक्टरहरू के भन्छन्‌ ?,” एकछिन चुप लागेपछि गहभरि आँसु लिएर अत्यन्त भावुक मुद्रामा उसले फेरि सोधी ।
“बाँच्ने आशा छैन भने पनि हुन्छ,” राजकुमारले जवाफ दियो ।
“मामाजीले मलाई र मेरो छोरालाई गर्नु भएको सम्पूर्ण उपकारका लागि म उहाँलाई पुनः एक पदक धन्यवाद दिन चाहन्छु ।” “बोरिस उहाँको धर्मपुत्र हो,” यो कुरा सुनेपछि भासिली प्रसन्न हुनेछन्‌ भन्ने लख काद्दै उसले थपी ।
राजकुमार भासिली गम्भीर भयो । उसको मुखमण्डल चलायमान भयो । अन्ना मिखायलोभ्नाले यिनीहरू काउन्ट बेजुकोभको अपार सम्पत्तिमा दखल गर्न आएका रहेछन्‌ भनेर उनी आत्तिएका हुन्‌ भन्ने अर्थ लगाई र राजकुमारलाई उसले यस विषयमा कुनै शङ्का गर्नु पर्दैन भनेर विश्वास दिलाउने सतत: प्रयास गरी ।

“मामाजीप्रति मेरो माया र अटल श्रद्धा नभएको भए,” उसले मन खोलेर भनी, “मलाई उहाँको स्वभाव थाहा छ- उहाँ अत्यन्त विशाल हृदयी र निष्कपट व्यक्तित्व हुनु हुन्छ, तर दुर्भाग्य, उहाँका साथमा राजकुमारीहरू मात्र छन्‌- र राजकुमारीहरू आलाकाँचा उमेरका छन्‌ ।” यति भन्दै उसले राजकुमारका कानमा केही शब्द फुस्फुसाउँदै शिर निहुराएर सोधी, “काउन्टले आफ्नो अन्तिम कर्तव्य पूरा गर्नु भयो वा गर्नु भएन मलाई थाहा छैन तर राजकुमार, तपाईंलाई थाहा छ वा छैन कुनै पनि मानिसको अन्तिम क्षण ज्यादै नै महत्त्वपूर्ण हुने गर्छ । यो महत्त्वपूर्ण क्षण उसको मृत्यु पर्खिरहेको अवस्थाभन्दा ठूलो कदापि हुन सक्दैन र उहाँको अवस्था यति खराब छ भने हामीहरूले पनि उहाँलाई सकेसम्म सम्झाइ-बुझाइ गर्नु पर्छ नै । “राजकुमार ! हामी महिला जातिले जाने बुझेको यत्ति नै हो,” यस्ता कुरा उहाँलाई कसरी सम्झाउने भन्दै ऊ मधुर ढङ्गमा मुस्कुराई । तर मैले जसरी भए पनि एक पटक उहाँलाई भेट्नै पर्छ । हो, मलाई उहाँसँग भेट्दा निकै नै कष्ट हुनेछ तर म यस प्रकारका कष्टहरू भोग्न अभ्यस्त भइसकेकी छु।”

राजकुमार भासिलीले पिटर्सबर्गमा अन्ना शेरेरको भोजमा भएजस्तै यहाँ पनि अन्ना मिखायलोभ्नासँग पिण्ड छुटाउन गाह्रो छ भन्ने कुरा सम्भवतः बुझ्यो होला ।

“प्रिय अन्नामिखायलोभ्ना ! यस्तो अवस्थामा भेट्दा काउन्टलाई गाह्रो हुँदैन र ?,” राजकुमारले सोध्यो । “साँझसम्म पखौं, डाक्टरहरूको भनाइअनुसार त्यतिन्जेलसम्ममा केही प्रगति हुन्छ कि !”

“हुँदैन राजकुमार यस्तो अन्तिम घडीमा केही र कसैलाई पर्खेर समय खेरा फाल्नु हुँदै हुँदैन । उहाँलाई बचाउने भन्दा उहाँको आत्मालाई बचाउने प्रश्न अहम्‌ छ र, यो भयावह घडी हो । यसबेला क्रिश्चियन धर्मावलम्वीले स्वधर्मानुसार आफ्नो कर्तव्य पालन गर्नै पर्छ… ।”

भित्रपट्टिका कोठाहरूमध्ये एउटाको ढोका खुल्यो । काउन्टको एउटी भतिजी राजकुमारी उदास र कठोर अनुहार लगाउँदै बाहिर निस्की । उसको शरीरको लम्बाइका अनुपातमा उसका गोडाहरू होचा थिए ।

“राजकुमार भासिलीले उसलाई सोधे, “काउन्टको अवस्था यतिखेर कस्तो छ हँ ?”
“खै, उस्तै छ, तर यो होहल्लामा तपाईंले के नै गर्न सक्नु हुन्छ र ?” राजकुमारीले कुनै एक अपरिचित पाहुनालाई जस्तै अन्ना मिखायलोभ्नातर्फ हेर्दै भनी ।

“ओहो, मेरी प्यारी, मैले त तिमीलाई झन्डै नचिनेकी,” हल्का गतिले राजकुमारीको भतिजीसँग गएर प्रसन्न मुद्रामा मुस्कुराउँदै अन्ना मिखायलोभनाले भनी । “म मामाजीको सेवा सुश्रुषामा तिमीहरूलाई सहयोग गर्न आएकी हुँ । तिमीहरूलाई कृति दुःख भएको होला भन्ने कुरा म सहजै अनुमान गर्न सक्छु,” उसले सहानुभूति दर्शाउँदै आँखाले माथितिर हेरी । राजकुमारीले कुनै जवाफ दिइन र मुस्कुराउँदा पनि मुस्कुराईन र तत्काल त्यहाँबाट गई । अन्ना मिखायलोभ्नाले आफ्ना पन्जा फुकाली, विजेताको रूपमा आराम कुर्सीमा बसी र राजकुमार भासिलीलाई पनि आफ्नो बगलमा, आएर बस्न अनुरोध गरी ।

“बोरिस,” उसले मुस्कुराउँदै छोरालाई बोलाएर भनी, “म मेरो मामाजी काउन्टलाई भेट्न जान्छु । त्यतिन्जेल तँ बरु पियेरेलाई भेटेर आइज । अँ, पियेरेलाई रोस्तोभहरूको निम्तो दिन नबिर्सेस्‌ । उनीहरूले उसलाई रात्रिभोजमा डाकेका छन्‌ । तर मलाई लाग्छ ऊ जाँदैन होला । जाला र ?” राजकुमारतर्फ फर्कदै उसले सोधी ।

“यसका विपरीत,” प्रष्ट रूपमा देखिने गरी खिन्न भएका राजकुमारले जवाफ दिए, “तपाईंले मलाई यो मान्छेबाट पिण्ड छोडाइदिनुभए म आभारी हुने थिएँ । ऊ जतिबेला पनि यहीँ हुन्छ । तर काउन्टले एक पटक पनि उसको नाम उच्चारण गरेका छैनन्‌? ।”

उनले कुम जुर्क्याए । नोकरले बोरिसलाई पहिले तलतिर र फेरि अर्को भर्याङबाट माथितिर लिएर पियेरेको कोठामा पुर्यायो ।