धनबादमा पनि चुनाव छिट्टै हुनेवाला, थियो तर भुँडीफोरको हवेलीको अग्लो पर्खालभित्र कुनै परिवर्तन भएको थिएन । जीवन पहिलाजस्तै सहज रूपमा चलिरहेको थियो । तातोपानीमा गोडा डुबाउँदा र मालिस गरिदिँदा भुँडीफोरले लामो सास फेर्थ्यो । उसको
वरिपरि क्रिकेट र ब्याडमिन्टन खेल चलिराख्थ्यो । दुईवटा पोमेरानियन कुकुरलाई नुहाएर सफा पार्ने मेरो काम चलिराख्याथ्यो ।

एक दिन एउटा परिचित अनुहार गेटमा देखियो । ऊ लक्ष्मणगढको बसको कन्डक्टर विजय थियो । मेरो बचपनको नायक आज नयाँ पोसाकमा थियो । सेतो पहिरनमा नेहरू टोपी लगाएको र आठैवटा औंलामा सुनको औंठी लगाएको । आश्चर्य !
जनताको सेवा उसलाई फापेछ ।

गेटको छेवैमा उभिएर मैले उसलाई हेरिरहँ । भुँडीफोर विजयलाई भेट्न आफैँ आयो र उसको अघि शिर झुकायो । जमिन्दारले डोमको छोराको अघि शिर झुकाउँदै छ । कस्तो आश्चर्य ! प्रजातन्त्रको जादु यही त हो ! काहाँको मान्छेलाई एकैछिनमा कहाँ पुर्याउँछ !

दुई दिनपछि समाजवादी नेता भुँडीफोरको घरमा आए । उनको भ्रमणले घरमा ठूलै खैलाबैला मच्चियो । चमेली फूलको माला लिएर अशोकजी उनको स्वागतार्थ गेटमै उभिए । उनका भाइहरू र बुबा छेउमै उभिए । एउटा कार सरर आयो र अनि गेटमा रोकियो । ढोका खुल्नासाथ मैले हजारौँ चुनावी पोस्टरमा बचपनदेखि देखेको पुक्क गाला, ठाडोठाडो सेतो कपाल, कानमा मोटो सुनको मुन्द्रा लगाएको परिचित अनुहार बाहिर निस्क्यो ।

बिजयले आज टाउकोमा रातो रिबन: बाँधेर ‘तोडिएका हत्कडी’ अङकित ठूलो झन्ड्रा समातेर नारा लगायो :

“महान्‌ समाजवादी – जिन्दावाद ।”

महान्‌ नेताले दुवै हात जोडेर चारैतिर फर्केर अभिवादन फर्काए । उनको अनुहार हेर्दा उस्तै लाग्ने सबै ठूला भारतीय नेताहरूको जस्तै थियो । आज यो अनुहार शान्त थियो र शान्ति चाहने भए तिमीले उनकै पदचिन्हमा टेकेर हिँड्नुपर्छ भन्ने सन्देश दिइरहेजस्तो लाग्थ्यो । त्यही अनुहार अलिकति खुम्च्यायो भने शान्तिको उल्टो बन्न सक्थ्यो र चाहेमा यसले अरूको जस्तो हालत हाम्रो पनि बनाउन सक्थ्यो ।

अशोकजीले, उसको साँढेको जस्तो मोटो गर्धनमा माला पहिराइदिए । भुँडीफोरले उनको परिचय दिँदै भन्यो, “ऊ मेरो छोरो हो । भर्खरै अमेरिकाबाट फर्केको हो ।”

समाजवादी नेताले अशोकको गाला चिमोट्दै भने, “राम्रो ! भारतलाई महाशक्ति बनाउन हामीलाई युवाहरूको खाँचो छ ! हाम्रा युवाहरू सबै फर्केर यहाँ केही गर्नुपर्छ ।”

उनीहरू भित्र गए र सबै झ्यालढोकाहरू पनि बन्द भए । एकछिनपछि महान्‌ समाजवादीलाई पछ्याउँदै बूढो अशोकजी र न्याउरी पनि बाहिर आँगनमा आए ।

आँगन बढारेको जस्तो गर्दै उनीहरूको नजिक हुँदै मैले कान थापिरहेको थिएँ । म बढार्दै उनीहरूको निकै नजिक पुगेको थिएँ । समाजवादीले ढाडमा थपथपाएर सोधे, “ए बाबु, तिम्रो नाम के हो ?” अनि थपे, “तिम्रा जागिरदाताले मलाई ठग्न खोज्दै छन्‌
बलराम तिमीलाई केही भन्नु छ ?”
अशोकजी छक्क परे । भुँडीफोर झसङ्ग भयो ।
“पन्ध्र लाख भनेको धेरै हो हजूर । तपाईंसँग सम्झौता गर्न पाउँदा हामीलाई खुसी छ ।”
महान्‌ समाजवादीले उनीहरूको अनुरोधलाई हातको इसाराले ‘हुन्न’ भने ।
“नचाहिने कुरा । सरकारी खानीबाट सित्तैमा कोइला बेचेर तिमीहरूले कति कमायौँ । तिमीहरूको व्यवसाय चलिराख्या छ, किनकि म केही बोल्या छैन । मैले भेट्दा तिमीहरू गाउँको सानो जमिनदार त थियौ । मैले यहाँ ल्याएर तिमीहरूलाई यहाँसम्म पुर्याएँ । मलाई उछिन्न खोज्यौ भने फेरि गाउँ फर्किनु पर्ला । याद गर । जाबो १५ लाखको कुरा गर्ने ? के म _ _ ‘ मुखभरि पानको रस भरिएर चुहिनै लागेकोले उनले बीचमै कुरा रोके । हातको इसाराले मतिर फर्केर थुकदानी मागे । म दौडेर गएर होन्डा कारबाट थुकदानी लिएर आएँ ।
मैले थुकदानी ल्याइसकेपछि न्याउरीतिर फर्केर बडो आरामले भने, “मेरा लागि थुकदानी तिमीले नै समाऊ न छोरा ।” न्याउरीले टेरेन । मेरो हातबाट थुकदानी लिएर उसलाई दिँदै भने, “छोरा, समात त ।”
न्याउरीले बाध्य भएर समात्यो । अनि महान्‌ समाजवादीले थुकदानीमा तीन पटक थुके ।
न्याउरीको हात थरर काम्यो, लाजले अनुहार कालो भयो । ओठ पुछ्दै उनले भने, “धन्यवाद छ छोरा तिमीलाई ।” मतिर फर्केर कपाल कन्याए, अनि सोधे, “अँ साँच्चै म के भन्दै थिएँ रे ?”
बल्ल देखियो महान्‌ समाजवादीको सकारात्मक पक्ष । उनले हाम्रा सबै मालिकहरूलाई खुबै होच्याए । त्यसैले हामीले उनलाई पछिसम्म पनि मत दिँदै गर्यौ ।

त्यस राति पनि आँगन बढारेको बहाना गर्दै म भुँडीफोर र उसको छोराहरूको नजिक पुगेँ । बेन्चमा बसेर पहेँलो रङको झोल भरेको गिलास हातमा लिएर उनीहरु कुरा गर्दै थिए । मुकेशजीले बोलिसकेपछि, बूढाले विमति जनाउँदै टाउको हल्लाए, “हामी त्यसो गर्न सक्दैनौं मुकेश, किनकि र हामीलाई चाहिन्छ ।”

“मेरो कुरा मान्नुस्‌ न बुबा । यो मान्छे हामीलाई अब चाहिन्न । दिल्लीमा हाम्रा धेरै मान्छेहरू छन्‌ । अब सीधै दिल्ली जानुपर्छ ।”
“मुकेशले भनेको ठीकै हो बुबा ।” अशो जीले भने । “यसले हामीसँग नोकरजस्तै व्यवहार गर्छ । कसरी सहने ?”

“तँ चुप लाग अशोक । यसको बारेम मुकेश र म कुरा गर्छौं ।”
दुईपटक आँगन बढार्दै, मैले सुनेँ । अनि पिङ्की मेडमको झुन्डिएको नेटलाई तन्काएर बाँध्न थालेँ ताकि उनीहरू बोलेको सुनियोस्‌ । शङ्कालु नेपालीका आँखाले मलाई देखिहाले । अनि भन्यो, “ए आँगनमा के भुलेर बसेको ? आफ्नो कोठामा गएर बस्‌ । मालिकले बोलाएपछि मात्र आउने।”
“हुन्छ ।”
रामबहादुरले खाउँलाजस्तो गरी हेर्यो । त्यसैले मैले भनेँ, ‘हुन्छ श्रीमान्‌ ।” (कुरा के भने एउटा नोकरले अर्कोलाई ‘श्रीमान्‌’ भनेको पच्दैन, श्रीमान्‌)

भोलिपल्ट बिहान कुकुरहरूलाई सेम्पुले नुहाइदिसकेर जब म ड्रायरले सुकाइदिँदै थिएँ, रामबहादुर छेउमै आएर सोध्यो, “तिमी दिल्ली गएका छौ ?”
मैले टाउको हेल्लाएँ ।
“उनीहरू एकहप्ताभित्रै दिल्ली जाँदै छन्‌ । अशोकजी र पिङ्की मेडम ३ महिनाका लागि दिल्ली जाँदै छन्‌ ।”
उसको कुरामा कुनै चासो नभएको जस्तो गर्दै मैले घुँडा टेकेर कुकुरका खुट्टा सुकाउँदै वास्तै नगरेजस्तो गर्दै सोधेँ, “किन जान लागेछन्‌ ?”

नेपालीले कुम हल्लाएर अनभिज्ञता जनायो । कसलाई के थाहा ? हामी मात्र नोकर नै त थियौँ, तर उसलाई एउटा कुरा चाहिँ थाहा थियो । भन्यो, “दिल्ली एकजना ड्राइभरमात्र लगिन्छ र उसले प्रतिमहिना तीन हजार पाउँछ । दिल्लीमा उनीहरूले दिने तलब यही हो ।”

म झसङ्ग भए । ड्रायर हातबाट खस्यो । “साँच्चै तीन हजार हो र ?”
“हो त ।”
“ऊ मलाइ लजान्छन्‌ त ?” उठेर विनम्र अनुरोध गरेँ, “तपार्इले उनीहरूलाई मलाई लिएर जान भनिदिनोस्‌ न ।
उपहास गर्दै नेपालीको ओठ खुल्यो, “उनीहरूले रामप्रसादलाई लैजान्छन्‌ । जबसम्म – – –
“जबसम्म ? के भन्नु भएको ?
“पैसा दे अनि बल्ल सिफारिस गर्छु ।” पाँचहजार घुस दियो भने मात्रै उसले भुँडीफोरसँग दिल्ली लैजानलाई मेरो सिफारिस गर्ने रे ।

“यत्रो पाँच हजार कहाँबाट ल्याउने मैले ? तलबजति सबै घर पठाउनु पर्छ ।”
“ए, ठीक छ । त्यसौ भए रामप्रसाद जान्छ ।” कुकुरतिर देखाउँदै उसले भन्यो, “तेरो काम जीवनभरि कुकुर नै सफा गर्ने हो जस्तो लाग्छ “