तपाईं मेरो कविताप्रतिको लगाव र विशेषगरी मलाई मनपर्ने सर्वकालीन चारवटा महान्‌ मुसलमान कविहरूको बारेमा त परिचित नै हुनुहुन्छ । इकवाल, जुन चारमध्ये एक अमर कवि हुन, एउटा उत्कृष्ट कवितामा आफूलाई राक्षसको रूपमा चित्रण गरेका छन्‌ ! उनले आफूलाई एउटा लडाकु पात्रको रूपमा उभ्याएका छन्‌ जति बेला भगवानले उनलाई दबाउन खोजेका छन्‌ । मुसलमानका अनुसार त्यो व्यक्ति कुनै बेला भगवानको प्रिय पात्र थियो । जब भगवान्‌ र उसका बीचमा दिमागी युद्ध सुरू भो ऊ एउटा स्वतन्त्र योद्धा भएर निस्क्यो । इकवालले यसकै बारेमा लेखेका छन्‌ । मलाई ठ्याक्कै उनका शब्दहरू त

स्मरण छैन, तर यो यस्तै जस्तो छ-
भगवान्‌ भन्छन्‌ : म सर्वशक्तिमान्‌ हुँ । म ठूलो हुँ । तिमी मेरो दास बन । यसमै तिम्रो कल्याण छ ।
राक्षस भन्छ : इस्‌ ! हेर त यो बौलाएको !
जब म यो झालरबत्तीमुनि बसेर इकवालको राक्षसलाई सम्झन्छु, जुन म प्राय; सधैँ गर्छु, म भिजेको खाकी पोसाकमा यौटा सानो कालो वस्तु, कालो किल्लाको ढोकातिर उक्लिरहेको देख्छु ।

अब ऊ अहिले एक खुट्टाले उभिएर.कालो किल्लाको भत्केको पर्खालछेउ दङ्ग परेका बाँदरहरूले घेरिएर बसेको छ ।

माथि निलो आकाशबाट सूर्यनारायण तलका मैदानमा उज्यालो छरिरहेका छन्‌ । उज्यालोमा सानो लक्ष्मणगढ गाउँ र गङ्गाको सानो सहायक नदी छर्लङ्ग देखिन्छ । पर लाखौं यस्ता गाउँ र करोडौ यस्तै मानिस देखिन्छन्‌ । भगवान्‌ मजस्तो फुच्चेलाई सोध्छन्‌- “फुच्चे मेरो सृजना कस्तो लाग्यो त ? के यो सानो छ ? तिमीलाई मेरो दास बन्न मन लाग्दैन ?.के तिमी मप्रति कृतज्ञ हुन सक्दैनौँ ?”

अनि म यो खाकी पोसाक लगाएको सानो मान्छे पसिनाले लत्रक्क भिजेर थरथरी कामेको देख्छु । यस्तो लाग्छ ऊ भगवानसँग रिसाएर बौलाएको छ |

भगवानलाई यो राम्रो सृजनाका लागि धन्यवाद दिनुको साटो ऊ सोच्छ कि अर्कै पाराले बनाउन सकिने सम्भावना छँदाछँदै भगवानले यो संसार किन यसरी बनाएको होला । म्‌ देख्छु यो खाकी पोसाक लगाएको सानो मानिसले पटकपटक भगवानलाई थुक्छ । सानो पङ्खाको कालो पाताले झालरबत्तीको प्रकाशलाई टुक्राइरहन्छ । म एकोहोरिएर हेर्छु |

आघा घन्टापछि तल ओर्लेर म सरासर भुँडीफोरको हवेलीतिर तेर्सिएँ । अशोक र उनकी श्रीमती पिङ्की कार छेउ मलाई कुरिरहेका थिए ।

“तँ कहाँ मर्याथिस्‌ यतिन्जेल ?” उनी गर्जिइन्‌ । “हामी कति बेलादेखि पर्खिराख्या छौँ ।”

“माफी होस्‌ म्याडम । म धेरै क्षमा चाहन्छु ।” ङिच्च हाँस्दै मैले भनेँ ।

‘पिङ्की कस्तो कठोर बनेको । ऊ आफ्नो परिवारलाई भेट्न गएको हो । तिमीलाई थाहा छ यो अन्धकारमा मानिसहरू आफन्तजनसँग कति धेरै नजिक हुन्छन्‌ ?’

हामी बाहिर गाडीमा निस्कँदा कुसुम, लुट्टु काकी र अरु सबै महिलाहरु बाटोमा जम्मा भएर हामीलाई हेरिरहेका थिए । छक्क पर्दै ठूल्ठूला आँखाले मलाई हेरे । माफी माग्न नगएकोमा बूढी हजूरआमा रिसाउँदै मलाई मुड्की देखाइरहिन्‌ |
एक्सिलेटरमा गोडा राखेर उनीहरूलाई छोड्दै म अघि बढें । हामी बजारको चोक हुँदै अघि बढ्यौँ । मैले त्यो पुरानो मेरो चियापसलतिर यसो हेरे । मानव माकुराहरू टेबुल पुछ्दै थिए । रिक्साहरू सबै पसलको पछाडि एक लाइनमा रोकिराख्याथे | नदीपारि दैनिक देखाइने अश्लील चलचित्रको प्रचारमा पोस्टर टाँसेको साइकलवाला चक्कर लगाउन निस्किसक्याथ्यो ।

हिलाम्मे पोखरीमा नुहाइरहेका भैंसी, झाडी र हरियालीलाई त्यहाँ छाड्दै म अघि बढेँ केराबारी, धानको खेत लहरे तरकारी, नरिवलको रूखहरू, निमका रूखहरू, वरको रूख, हामीलाई हेर्दै गोबरै गोबर भएको झाडीमा चरिरहेका भैँसीहरू सबै पछि छुटे | एउटा कट्टु मात्र लगाएको केटो भैँसीमाथि चढेर बाटो छेउमा भैँसी चराइरहेको थियो । हामीलाई देखेपछि मुठ्ठी उचालेर खुसीले चिच्च्यायो । म पनि जवाफ दिन चाइन्थेँ, “तँ जतिको म पनि छु । म अब भैँसी चढ्न कहिल्यै फर्कन्नेँ ।”

“अशोकी अब त बोल न ! मेरो प्रश्नको उत्तर” दे न ।”
“ल सुन । जब म भारत फर्के मैले सोचेको थिएँ कि म दुई महिनापछि फर्कन्छु । पिङ्की तर यहाँ यति धेरै परिवर्तन भएछ कि कुरै नगरौं | मलाई लाग्छ म अब न्युयोर्कभन्दा यहीँ धेरै काम गर्न सक्छु ।”

“अशोकी, कस्तो नपत्याउने कुरा गरेको ?
“होइन । साँच्चै मैले नचाहिने बोलेको होइन । भारतमा यति द्रुत गतिमा परिवर्तन भइराख्या छ कि यस्तै हो भने यो दस वर्षभित्र अमेरिका बन्छ | त्यसमाथि मलाई अमेरिकाभन्दा यहीँ रमाइलो लाग्छ । हाम्रो ख्याल राख्ने मान्छे यहाँ धेरै छन्‌- ड्राइभर, पाले अनि हाम्रा मालिकहरू । जसरी यहाँ हाम्रो बिस्तारामै रामबहादुरले चिया बिस्कुट लिएर आउँछ, अमेरिकामा त्यो कसले गर्छ ? ऊ हामीसँगै बसेको ३० वर्ष भयो । हामी उसलाई नोकर भन्छौं, तर ऊ हाम्रो परिवारको सदस्य हो । बुबाले यसलाई हातमा बन्दुक लिएर धनबादमा टहलिरहेको भेट्नुभो अनि भन्नुभो-‘
अचानक उनी रोकिए ।
“साँच्चै पिङ्की तिमीले देख्यौ ?”
“के ?”
“ड्राइभरले के गर्यो देख्यौ ?”
मेरो मुटुको चाल अलि बढ्यो । मैले के बिराएँ मलाई नै थाहा थिएन ! अशोकले मतिर निहुरेर सोधे, “ड्राइभर, तिमीले भर्खरै औंलाले आँखा छोएको, होइन त ?”

“हो हजूर !”
“तिमीले देखिनौ पिङ्की” अग्लो सोलिघोण्टे बुर्जामा चारैतिर जेलिएका काला सर्पहरू भएको मन्दिरतिर देखाउँदै अशोकले भने, “त्यै भएर ड्राइभरले _ _ _
मेरो काँधमा हात राखेर भने, “तिम्रो नाम के हो ?’
“बलराम हो हजूर !”
“ए बलरामले देवतालाई आफ्नो आँखा छोएर भक्ति दर्साएको । अन्धकारका गाउँलेहरू सबै अति धार्मिक छन्‌ ।”
मेरो त्यो कामले दुवैलाई खुपै प्रभाव पारेछ त्यसैले फेरि एकछिनपछि मैले आँखा छोएँ ।
“अहिले केका लागि आँखा छोएको ड्राइभर ? वरिपरि मन्दिर त छैन ।’
“अँ हामी एउटा पवित्र रूख छेउबाट आयौँ तपाईं । मैले मेरो आस्था प्रकट गरेको”

“सुन्यौ, उसको कुरा ? यिनीहरू प्रकृतिपूजक हुन्‌ । कति राम्रे कुरा, होइन त ?” जब हामी कुनै मन्दिर वा रूख छेउबाट जान्थ्यौँ, उनीहरू मेरो खुपै चियो गर्थे र हेर्थे म फेरि आस्था प्रकट गर्छु गर्दिनँ । म पनि झन्‌ हौसिएर त्यो गर्थे- पहिला आँखा छुने, अनि घाँटी, अनि दुवै कुम अनि दुवै छाती छुन्थेँ, अनि नाइटो पनि ।

उनीहरूलाई विश्वास भो कि यो पृथ्वीमा यति धार्मिक नोकर पाइँदैन | ( रामप्रसादको त झन्‌ के कुरा !)

धनबाद जाने हाम्रो बाटो छेकिएको थियो । बाटोमा एउटा ट्रक रोकिराखेको थियो । टाउकोमा रातो पट्टि बाँधेका मानिसहरू नारा लगाउँदै थिए ।

धनीहरूको विरुद्ध – उठ्नै पर्छ,
महान समाजवादीलाई – समर्थन गरौँ,
जमिनदार सामन्तलाई – खेद्छौं, खेद्छौँ आदि ।

फेरि लगतै अरू ट्रकहरू आए । टाउकोमा हरियो पट्टी बँधेका मानिसहरू अर्को ट्रकका मानिसहरूलाई गाली गर्न थाले । लडाइँ होल जस्तै भयो ।

पिङकी म्याडमले डराउँदै सोधिन, “यो के भैराख्या छ, यहाँ? ”
“तिमी चिन्ता नगर । यो चुनावको बेला हो, अरू केही होइन । अशोकले जवाफ दिए ।

यो बाटोमा ट्रकबाटै मानिसहरू एकअर्कालाई किन गाली गर्दै थिए भन्ने तपाईंलाई बुझाउन मैले प्रजातन्त्रको बारेमा सबै कुरा भन्नै पर्ने हुन्छ, जसको बारेमा तपाईं चिनियाँहरू अनभिज्ञ हुनुहुन्छ ।
यसका लागि भोलिसम्म पर्खनुपर्छ ।
महामहिम,
यति बेला बिहानको २:४४ भयो |
यो समय भनेको लागू पदार्थको दुर्व्ससनीहरू, बिग्रेका मानिस र बैङ्लोरकेन्द्रित उधमीहरूको हो ।

क्रमश……..