पेशागत रूपमा लेख्न शुरू गर्दा मैले भुर्कुट रूपमा अरूका राम्रा कुराहरूको नक्कल गरेँ, शैली चोरेँ । पख्नुस्, चोर्नु भन्नाले मैले अरूका सोच, राम्रा शब्दांशहरू चोरेको भने होइन । मेरो चोर्नुको अर्थलाई तपाईंले यसरी बुझ्नुस्ः
मानौँ कुनै सिद्ध डकर्मी वा सिकर्मी छ, उसको छेउमा चेलो बनाउन लायक कुनै ठिटो छ । त्यो ठिटोले सिद्ध डकर्मी वा सिकर्मीको पछि यसरी लाग्छ कि उसका हरेक कुरालाई नियालेर हेर्छ । उसका प्रत्येक मुड, उसका प्रत्येक हातका नचाई, उसको जिउको गति र त्यसले उत्पन्न गर्ने कलालाई भित्रैसम्म महसुस गर्छ । अनि, ऊ बन्छ एउटा गतिलो शागिर्द ! गतिलो चेलो !
ठीक त्यसैगरी मैले प्रत्येक राम्रा मानिएका लेखक, मलाई राम्रा लागेका सर्जकका शब्दशब्द नियालेँ । तिनका भाव, तिनलाई अभिव्यक्त गर्ने शैलीलाई हृदयंगम गरेँ ।
एउटा काष्ठकला जानेको सर्जकले उसले निकाल्ने वृत्त, चौकोर, कटनी, छँटनी, जोडनीजस्ता कुराहरू नियालेर हेर्दै गर्दा उसको छेउको शागिर्दले प्रत्येक ती कटनी, छँटनी र जोडनी बुझ्दा मुस्कुराउँदै सिक्छ, ठीक सोही गरी एउटा चोर लेखकले आफूलाई मनपर्ने लेखकको शैली, शिल्प र सिकाईलाई मूलमन्त्र मान्छ ।
मैले त्यही कुरा नक्कल गरेँ, आफ्ना मनपर्ने लेखकहरूका । त्यसो गर्नु भनेको एकलव्य बन्नु रहेछ । मैले पछि मात्र थाहा पाएँ । मैले ती शब्दहरूलाई गुरू थापेकी रहेछु ।
जब तपाईंले त्यसरी सिकेर लेखेका कुराको प्रशंसा हुन्छ, त्यो बेला तपाईं फिल्मी लाग्न सक्छ । ठट्टा र उडाइएको लाग्न सक्छ । तर कथानकलाई मज्जाले दौडाउने लेखकले मिहिनतापूर्वक केलाइएको कथाको नक्कल उतारेर लेख्नु जत्तिको रमाइलो के होला ?
पारस खड्काको क्रिकेटको खेल्ने शैली हेरेर नयाँ पुस्ताको नवयुवकले छक्का वा ब्याट हान्न सिकेजस्तै त हो ! अब पारसको नक्कल गर्यो भनेर कसले भन्छ त्यो नवयुवकलाई ? राम्रा कुराको नक्कलबाट नै राम्रा कुरा निस्कने हो । खराब चिजको नक्कलबाट खराबै चिज निस्कन्छ । त्यसैले नक्कल गर्ने भनेकै राम्रो चिजको गर्नुपर्छ ।
कहिलेकाहीँ राम्रो चिजको नक्कल त्यस्तै र त्यत्तिकै राम्रो भएन भनेर तपाईं दिक्क पर्न सक्नु हुन्छ । सारा सिकेका कुरा पोलेर खाइदिऊँ भनी आफ्ना जगटा लुछ्न मन लाग्न सक्छ । कहिलेकाहीँ त नक्कल गर्दागर्दै आफ्नो मन पर्ने लेखक नै त्यसमा बोलिरहेको हो कि भन्ने तपाईंलाई लाग्न सक्छ । यस्तो बेलामा लेखन कुञ्जजस्ता तालिमकेन्द्रमा गएर तालिम लिन सक्नुहुन्छ ।
शुरूवाती दिनमा म टम वुल्फजस्ता लेखकको मोहपासमा परेँ । मेरा पहिलेका सिर्जनामा उनका शैली र शिल्पलाई सर्लक्क अँगालेकी थिएँ । मलाई भ्रम भयो, अब टम वुल्फ फ्लप हुने भए ! तर यो संसारमा उनीजस्ता सर्जक उनी मात्रै छन्, कसैले उनलाई उछिन्न सक्दैन ।
यो बुझ्नेबित्तिकै मैले उनीभन्दा आफूलाई कसरी फरक देखाउन सक्छु भनी मिहिनेत गर्न थालेँ । मलाई अझै पनि उनका किताबहरू आफ्नो टेबुलमा छरपष्ट राखेर काम गर्दागर्दै त्यहीँ निदाउन मन लाग्छ ।
निदाएर जुरूक्क उठेर जुन समस्याका कारण मलाई गहिरो निद्रा चाहिएको थियो, त्यो पाएर म उनका किताब उठाउँछु र मेरै जस्तो समस्यामा परेका बेला उनका पात्रहरूले कसरी समस्या समाधान गर्दा हुन् भनेर प्रेरणा लिन पढ्छु र पढिरहन्छु । त्यो पठनले मलाई निकै सहयोग गरेको छ । धेरै नै सहयोग गरेको छ ।
एक हिसाबले टम वुल्फका पात्रहरू नै मेरा उद्धारकर्ता हुन् भनेर भन्न म हिच्किचाउँदिनँ । टम वुल्फ मात्र किन राम्रा किताबहरू मेरा गुरू हुन्, मन परेका सबैजसो किताबलाई म वरिपरि राखेर समस्या समाधानका लागि तिनीहरूसँग गिडगिडाउँछु, समाधान दिलाउन प्रार्थना गर्छु । अन्ततः मैले त्यो हासिल गरेरै छाड्छु । तिनै किताबहरू मेरा बेस्ट टिचर हुन्, ती जत्तिका गतिला शिक्षक मैले आजसम्म व्यक्तिका रूपमा कोही पाएकी छैन ।
(Susan Orlean – Medium बाट साभार तथा अनूदित)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।