कवि राजेश जोशीको परिचय
कवि राजेश जोशीको जन्म मध्यप्रदेशको नरसिंहगढ जिल्लामा सन् १९४६ मा भएको हो । औपचारिक शिक्षा पूरा गरेपछि पत्रकारिता सुरू गरेका उनले केही वर्ष अध्यापन पनि गरे । राजेश जोशीले कविताबाहेक कथा, नाटक, लेख र टिप्पणीहरू पनि लेखेका छन् । केही नाट्य रूपान्तर तथा केही लघु फिल्मका लागि पटकथा लेखनसमेत गरेका उनले भतृहरिका कविताहरूको अनुरचना भूमिका ‘कल्पतरू यह भी’ एवं मायकोव्स्कीका कविताको अनुवाद ‘पतलून पहिना बादल’ नामबाट गरेका छन् । उनका कविताहरू अनेक भारतीय भाषाहरूका साथै अङ्ग्रेजी, रूसी र जर्मन भाषामा अनुवाद भएका छन् ।
राजेश जोशी सामाजिक सरोकारका विषयमा कविता लेख्ने कवि हुन् । जीवनका सङ्कटमा पनि गहिरो आस्थाको खोजी उनका कविताले गरेका छन् । उनका कवितासङ्ग्रहमा ‘समरगाथा- एक लम्बी कविता’, ‘एक दिन बोलेंगे पेड़’, ‘मिट्टी का चेहरा’, ‘नेपथ्य में हँसी’, ‘दो पंक्तियों के बीच’ त्यस्तै कहानी सङ्ग्रहमा ‘सोमवार और अन्य कहानियाँ’, ‘कपिल का पेड़’, नाटकतर्फ ‘जादू जंगल’, ‘अच्छे आदमी’, ‘टंकारा का गाना’ तथा आलोचनात्मक टिप्पणीको पुस्तक- ‘एक कवि की नोटबुक’ प्रकाशित छन् ।
उनलाई शमशेर सम्मान, पहल सम्मान, मध्य प्रदेश सरकारको शिखर सम्मान र माखनलाल चतुर्वेदी पुरस्कारका साथै केन्द्र साहित्य अकादमीको प्रतिष्ठित सम्मानबाट सम्मानित गरिएको छ । भाषान्तर कविताको यस अङ्कमा कवि राजेश जोशीका केही कविताहरू प्रस्तुत गरिएका छन् ।
१. केटाकेटी काममा जाँदै छन्
राजेश जोशी
कुहिरो ओढेको सडकमा केटाकेटी काममा जाँदै छन्
बिहान बिहानै
केटाकेटी काममा जाँदै छन्
हाम्रो समयका सबैभन्दा भयानक पङ्क्ति हुन् यी
भयानक छ यसलाई विवरणका रूपमा यसरी लेखिनु
यसलाई त लेखिनुपर्ने हो प्रश्न जसरी
काममा किन जाँदै छन् केटाकेटी ?
के अन्तरिक्षमा खसेका हुन् सबै भकुन्डाहरू
के धमिराले खाएका हुन्
सबै रङ्गीबिरङ्गी पुस्तकहरू
के काला पहाडमुनि थिचिएका हुन् सारा खेलौना
के कुनै भूकम्पमा भत्किएका हुन्
सबै विद्यालयका भवन
के सारा मैदान, सबै बगैँचा र घरका आँगन
समाप्त भएका हुन् एकाएक
त्यसो भए बचेकै के छ यो संसारमा ?
कति भयानक हुन्थ्यो होला यदि यस्तो भएको भए
भयानक छ तर यसभन्दा धेरै यो-
यथावत् छन् सबै चिजहरू
तर संसारका हजारौँ सडकहरू पार गर्दै
केटाकेटी, धेरै सानासाना केटाकेटी
काममा जाँदै छन् ।
***
२. यो समय
राजेश जोशी
यो मूर्तिहरू विसर्जन गर्ने समय हो ।
मूर्तिहरू विसर्जित गरिँदै छन् ।
मथिङ्गलमा मात्र एउटा शून्यता छ
मस्तिष्कमा छैन कुनै विचार
छैन मनमा कुनै भाव
मात्र कालो पानीमा मूर्तिको मुकुट
बिस्तारैबिस्तारै डुबिरहेको छ !
***
३. गुरूत्वाकर्षण
राजेश जोशी
खल्तीमा राख न्युटन ! आफ्नो गुरुत्वाकर्षणको नियम
धरतीको गुरुत्वाकर्षण समाप्त हुँदै छ ।
अब त यसलाई यो डल्लो र भिरालो पृथ्वीमा
एकै ठाउँमा टेकेर उभिन पनि सम्भव छैन
चिप्लिरहेछन् हरेक कुराहरू आफ्नो धरातलबाट
चिप्लेर को कहाँसम्म पुग्छ
पुग्छ कुन रसालतसम्म यो चिप्ल्याइँ
भन्न सक्दैन कसैले
हाम्रो समयको एक मात्र सत्य हो यो
चिप्लिरहेछन् हरेक कुरा आफ्ना स्थानबाट ।
सिद्धिँदै छ गुरुत्वाकर्षण पृथ्वीको ।
भौतिकशास्त्रका ठेलीहरू !
न्युटनको सिद्धान्तको शिक्षा अब आवश्यक छैन ।
पृथ्वीको गुरुत्वाकर्षण समाप्त हुँदै छ ।
बेलाकुबेला चिप्लिन्छ राष्ट्राध्यक्षको बोली
कसको बोली चिप्लिन्छ कति बेला कसैलाई थाहा हुन्न
श्लोकहरूलाई धकेलेर लडाइदिन्छन् चिप्लेर आएका गालीहरू
अस्तव्यस्त भएका छन् सारा शब्दहरू
चिप्लेर वाक्यबाट बाहिर झरिरहेछन् तिनका अर्थ
यस्तो कुनै भाषामात्र बाँकी छ हामीसँग
जसमा बुझ्न सक्दैन कसैले कसैको कुरा
संवादहरू सबै समाप्त भएका छन्, स्वगत गर्दै छन्
नाटकका हरेक पात्रहरू ।
चिप्लेर आँखाबाट झरिसकेका छन् सबै सपनाहरू ।
करोडौँ वर्षपहिले ब्रह्माण्डमा घुम्दै गरेका हजारौँ चट्टानहरूलाई
समेटेर अफ्नो गुरुत्वाकर्षणमा
धरतीले बनाएको थियो जुन चन्द्रमा
चिप्लेर आफ्नो ठाउँबाट त्यो
कुनै कर्पोरेटको ठुलो जुत्तामुनि थिचिएर बसेको छ
बिरालोको छाउरोजसरी ।
चिप्ल्याइँ र मात्र चिप्ल्याइँ छ पुरै गोलार्द्धमा
र, पृथ्वीको गुरुत्वाकर्षण समाप्त भएको छ ।
हे निद्रा !
मलाई यो भयावह स्वप्नसत्यबाट बाहिर आउने बाटो दे !
***
४. मारिने छन्
राजेश जोशी
जो हुने छैनन् सहभागी यो बहुलट्ठीपनमा, मारिने छन्
उभ्याइने छन् कठघरामा
विरोध बोल्नेहरू
साँचो सत्य बोल्नेहरू मारिने छन्
पहिरन जोकसैको होस् सहन गरिने छैन
उनीहरूको भन्दा सुकिलो
दाग नभएको पहरन जसको छ, मारिने छन्
गलहत्याइने छ कलाको पर्दालभन्दा बाहिर
हैनन् जो स्तुतिगायक
गुणगान नगर्नेहरू, मारिने छन्
धर्मको ध्वजा जसले बोक्दैन जुलुसमा
उडाइने छन् गोलीले, नास्तिक मानिने छन्
निहत्था हुनु र अपराधी नहुनु
सबैभन्दा ठुलो अपराध हो यो बेला
जो हुँदैनन् अपराधी, मारिने छन् ।
***
अनु. निमेष निखिल
kavitakosh.org बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

