“इन्द्र प्रामाणिकले तपाईँलाई चरसा लैजानेछ ।” सामन्तले ऊ सँग भनेको थियो ।
“अँ , चरसालाई लिएर त्यसताका खुब खैलाबैला भएको थियो ।”
“किन ?”
“किनको मतलब ?”
द्वैपायनको अधरमा हलुका विद्रुपयुक्त मुस्कान फैलियो । उसको विचारमा निर्वाचित जनप्रतिनिधिहरू साँच्चैनै नकच्चरा कसाई जस्ता छन् । अशिक्षित छन् । त्यसपछि कुरोको लहरो फिजाउँदै भन्न थाल्यो, “एकै किसिमको अर्थव्यवस्था तथा जनविन्यास भएका पाँचवटा गाउँहरूमध्ये चारवटा गाउँमा केही नहुने तर एउटा गाउँमा त्यस्तो विप्लव ! यस्तो किन भयो ? किन यस्तो हुन्छ ?”
“अँ..,” सामन्तले तिखो वितृष्णाले विरोधी कम्युनिस्ट पार्टीको यो बुद्धिजीवीतिर हेर्यो र मनमनै सोच्न लाग्यो,‘साला जति पनि बुद्धिजीवी छन् ती सबै तिनको पार्टीमा छन् र जति पनि कार्यकर्ता छन् ती हाम्रा पार्टीमा छन् । त्यसैले यी तमाम भेडाबाख्राका घुर्की सहनु पर्छ ।’ त्यसपछि प्रकटमा शुष्क स्वरमा भन्यो, “गाउँमा उपद्रो किन हुन्छ , थाहा छैन ? गाउँका बारेमा लेख्नुहुन्छ । जमीनका लागि, जमीनउपर अधिकारका लागि संघर्ष हुन्छ , त्यति पनि थाहा छैन ?”
“त्यो त सबैलाई थाहा छ ।”
“अनि के थाहा पाउन चाहनुहुन्छ त ?”
“लडाकु गाउँ यदि लडाइ गर्दैनभने त्यो पक्कै पनि चोरी लुच्याइँ,फट्याइँ,गलफत्ति गर्छ ।”
“हैन हजुर, यी यावत कामहरूमा हामी सुकिलामुकिला भलाद्मीहरू पनि पछि परेका छैनौँ । त्यो त अपराध हो । जमीनका लागि लडिने लडाइ पनि त्यही अपराध हो र ?”
“ल ,भैगो । त्यहाँको स्थिति कस्तो छ ?”
सामन्तले उसलाई एउटा नक्सा देखायो । चोर औँलाले नक्साको थोप्लाहरू देखाउँदै भन्न थाल्यो, “यी तमाम गाउँहरू त्यसबेलाका लडाकु गाउँ हुन ।”
“यत्तिका !”
“अँ । यसपटक चार वर्षभित्र हामीले यो इलाकालाई टुक्र्याउँदै कत्ति वटा थानाहरूका अधिनमा पार्यौँ । राजमार्ग (हाइवे) बन्दै छ । जब यो इलाकाको बिचबाट राजमार्ग बन्ने छ अनि त यहाँका कतिपय जङ्गलहरू मासिनेछन् । यहाँ बाँध बन्नेछ । यहाँबाट नहर निकालिने छ । चरसा नदीको उद्दाम वेग घटनेछ । ”
“यसले यस क्षेत्रको उन्नति हुन्छ त ?”
“हुन्छ , र यो इलाका अरु इलाकासँग सम्बन्धित रहँदैन । अरुसँग सम्पर्क नहुनाको कारण सशस्त्र आन्दोलनमा सहयोगी भइरहेकोछ ।”
“अँ ,यो चाहिँ एउटा कारण हुन सक्छ ।”
“मेरो बिचारमा यही नै मुख्य कारण हो ।”
“जमीनको समस्या ज्युँका त्युँ राखेर र एउटा ठाउँलाई कुनै शहरी इलाकासँग गाँसिदिएर मात्रै समस्याको समाधान हुँदैन । कुनै राम्रो पुस्तक पढनुस ,सबैले यही कुरो दर्शाउँछन् । ”
“सबै समस्याको समाधान कहिल्यै हुन्छ र ? समस्या त फेरि पनि रहिरहन्छ नै ।”
“यी यावत् ठाउँहरूमा किन जाँदैछु ?”
“तपाईँ यी यावत् ठाउँहरूमा जाँदै हुनुहुन्छ । यी तमाम मानिससँग भेटघाट गर्दै हुनुहुन्छ । यी सन्थालहरू हुन् । तर अँ… ,चरसा,पलताकुडि,कदमकुवाँ,पियासोल,बाकुली चाहिँ त जानुहुन्न ।” फेरिनक्सामा औँलाले देखाउँदै भन्यो, “अँ , यिनै गाउँहरूमा जाँदै हुनुहुन्छ नि । यिनैलाई भेटनुहुन्छ नि । इन्द्रलाई म सबैकुरो भनिदिँदैछु । ”
“तपाईँ जसो भन्नुहुन्छ । ”
“इन्द्र केटो बडो होनहार छ । लडाकु… ” भन्दाभन्दै सामन्तलाई लाग्यो कि कुरो ठिक ढङ्गले भनिएन ,अधुरै रह्यो , त्यसैले पूरक व्याख्याको रूपमा भन्न थाल्यो, “उसको दाहिने पाखुराको पाँसुलामा हेर्नुहोला । हेर्न लायक छ । त्यस्तो यहाँले कतैकसैको देख्नुभएको छैन होला ।”
“किन ? पाँसुला किन हेरुँ ?”
“कलकत्तैको विरोधी मजदुर युनियनसँगको लडाइँमा छर्राले लागेको थियो उसलाई । इन्द्रले आफ्नै हातले मात्र पाखुराको पाँसुलाबाट छर्रा निकालेको थियो । खत अझसम्म पनि छँदैछ ।”
“आम्मै..!”
“डराउनुपर्ने त्यस्तो कुरो केही के छ र ? तर उसको अनुहार देखेर नआत्तिनु होला । इन्द्रको अनुहार साँच्चै डरलाग्दो छ ।”
“गाउँले कार्यकर्ता ?”
सामन्तको आँखामा अत्यासको भाव कुइलधुइल भएर छरियो । घाँटी सुक्नथाल्यो,त्यसैले अप्ठ्यारो मानीमानी भन्यो, “अँ ।”
“शहरमा मजदुर सङ्गठनको कार्यकर्ता थियो ?”
“गाउँमा पसेको छ ।”
“कहिले आउँछ ?”
“खबर पठाइदिएको छु । आउँदै होला ।”
मनमनै सामन्तले इन्द्रलाई गाली गर्यो ।‘कति दिन पहिले उसले इन्द्रलाई आउनु भनी खबर पठाएको हो । आउँदैछु भनेर समाचार पठाएर पनि चार दिनदेखि बेपत्ता छ ।’ सामन्तले अठोट गर्यो कि यस पटक ऊ कलकत्ता फर्कनेछ । ‘तर बिबिचमा यो इन्द्र कहाँ बेपत्ता हुन्छ ? यो त पत्ता लगाउनै पर्छ । यस्तो चार पटक भइसक्यो । सन्थाल विद्रोहको एकसय पचिसौँ वार्षिकोत्सवको अवसरमा सरकारी उत्सवको व्यवस्थापनमा इन्द्रले पटक्कै चासो राखेको छैन, मतलबै गरेको छैन ।’
सोच्नु पर्ने कुरो हो । काली साँतराको मामिलामा पुलिसको हठधर्मिताको कारणले गर्दा जागुला साम्राज्यमा सामन्तको स्थिति बिग्रँदै गयो । अपरेसन बसाई टुडुमा कालीलाई किन मारियो ? कालीका बारेमा सारा शहर र गाउँहरूमा यस्तो अफवाह चल्दा पनि सरकार चुप छ । काली बेपत्ता भएको समाचारमा कसैले विश्वासै गरेन । ऊ व्यग्र छ ,एकदम व्यग्र ।
००० ०००
इन्द्र प्रामाणिक अहिले तिस वर्षको छ । हेर्दाखेरि बढीजस्तो पनि लाग्न सक्छ वा थोरै जस्तो पनि लाग्न सक्छ । अग्लो, चाक्लो र कसिलो दोहोरो जिऊ,कालो वर्ण । कलिलै उमेरमा रिक्सा युनियनबाट पार्टीमा आएको थियो । राजनीतिक शिक्षाको श्रीगणेश काली साँतराले नै गरेको थियो । आँटिलो र इमान्दार युवकको रूपमा परिचित थियो ऊ । शिवराम कागज कारखानामा रज्जाकको सहयोगीको रूपमा मजदुर सङ्गठनमा काम गर्नका लागि सामन्तले उसलाई हावडा लगेको थियो । काम त्यस्तो सजिलो थिएन । मालिकको दानापानीमा चल्ने गरेको विरोधी सङ्गठनले मजदुरहरूको ठेकेदारी प्रथा शुरु गरेर पुरानो सङ्गठनलाई तहसनहस पार्ने कोसिस गरिरहेको थियो ।
इन्द्रको अथक प्रयास तथा कठोर मेहनतले अनेक पटक सङ्गठनले मजदुरको हितमा सङ्घर्ष गर्यो । त्यही सङ्घर्षको परिणामस्वरुप उसको सङ्गठन विजयी पनि भयो । अन्त्यमा सन् पचहत्तरमा इन्द्रलाई शहीद बनाउने षडयन्त्र गरियो । भाडाका गुण्डाहरूसँगको पाइप गन युद्धमा इन्द्र आफ्नो पाखुराको छेपारी निचोरेर छर्रा निकाल्दै भाडाका गुण्डाहरूसँग भिड्न युद्धमा निर्धक्क भएर अघि बढेको थियो । दृश्य असाध्यै डरलाग्दो थियो । यति भएपछि त प्रतिपक्षले उसलाई अजेय अरण्यदेवजस्तो देख्न थाल्यो र डराएर मैदान छोडेर भाग्यो । ती गुण्डाहरूलाई घाइते बनाएको हुनाले इन्द्र त्यसपछि गिरफ्तार गरियो ।
सन् सतहत्तरमा जेलबाट निस्केपछि पनि ऊ हावडा र कलकत्ता शहरमै थियो । तर सङ्गठनमा त्यसबेलाका कार्यकर्ताहरूको मालिकहरूसँगको बढदो मेलमिलाप देखेर इन्द्र अत्तालियो । केही दिनसम्म त घुमफिर गर्दै उसले वातावरण बुझ्ने प्रयास गर्यो । त्यसपछि देख्यो कि यदि चाहने हो भने मजदुर नेता बनेर राम्रो घरमा ऐशआरामले आनन्दसाथ बस्न सकिन्छ । मजदुर सङ्गठनका अधिकारीहरूको अवस्था अब राम्रो भइसकेको थियो । रज्जाकलाई उसले भन्यो, “सुविधासम्पन्न भएर यस्तो आरामतलब जीवन बाँचेर मजदुर भनेर बस्न सक्दिन म त ।”
यसको उत्तरमा रज्जाकले उसलाई सम्झाउने निकै प्रयास गर्यो । इन्द्रले जब देख्यो कि ठेकेदारी प्रथा आंशिक रूपमा स्वीकार गरिसकिएको छ र त्यो दिन जसले उसलाई मार्नका लागि गुण्डा लगाएका थिए ती पनि अचेल दादागिरी गर्दैथिए अनि त ऊ झन चिढियो ।
मजदुर सङ्गठनको हामिदले दुःखी हँुदै भन्यो, “पाशा पल्टिसक्यो ,गुरु । सबले अंशबण्डा गरिसके । सबै मोर्चामा यही व्यवस्था बसिसकेको छ । यो के भयो भयो !”
इन्द्रले पार्टीस्तरमा यो कुरो उठायो । तर चित्तबुझ्दो कुनै जवाफ कतैबाट पनि पाएन । विभिन्न स्तरका इमान्दार कार्यकर्ताहरूमा नेताहरूको सम्झौतावादी कार्यनीतिको विरुद्ध असन्तुष्टि देखियो । उसलाई एकदम ननिको लाग्यो । उसलाई लाग्यो – कलकत्ता नै सबै विकृतिको केन्द्र हो । यहाँ लोभलालसा बढी छ ।
‘के यसैले सबै कुरो यस्तो उलटपुलट भइरहेको छ ?’ उसको मनमा प्रश्न सलबलायो ।
पार्टीप्रति उसको पूर्ण आस्था थियो तर पनि उसले के कुरा मान्न बाध्य हुनुपर्योभने ‘प्रशासनिक ढाँचामा केही पनि परिवर्तन ल्याउन सकिँदैन । बेरोकटोक घुसको लेनदेन हुन्छ । मूल्यवृद्धि नियन्त्रण गर्ने,बिजुलीको सङ्कट समाधान गर्ने दिशामा कुनै पनि प्रयास गरिँदै छैन । फगत कुरा ,कुरा र कुरा ।’ त्यसैले इन्द्रले अठोट गर्यो र सामन्तसँग भन्यो,
“म गाउँमा काम गर्छु ।”
“राम्रो , एकदम राम्रो ।” सामन्तले भन्यो ।
जागुलाको बारेमा जानकारी लिँदाखेरि इन्द्रले सामन्तको मुखबाट बसाई र कालीको बारेमा पनि सुन्यो । काली बेपत्ता छ – यो कुरोले त्यसबेला उसको दिमागमा कुनै गहिरो छाप छोडेन । लामो समयदेखि ऊ जागुलाको सम्पर्कमा छैन , उही कहिलेकाहीँको आवतजावत बाहेक ।
सामन्तले भन्यो, “चरसा गाउँलाई केन्द्र बनाऊ । त्यहाँ निकै अप्रिय घटनाहरू भइरहन्छ । अब त्यहाँ स्वस्थ राजनीति बोधको भावना जागृत गराउनु पर्छ ।”
“जान्छु । ”
“काम गाह्रो छ ,इन्द्र ।”
“शहरपछि गाउँ ।”
“अँ ।”
“देख्दैछु ,शहरमा त एकस्तरमा सबैथोक लेनदेन भइरहेको छ ।”
“त्यो प्रचारमात्रै हो ,कुत्सित प्रचार ।”
“होइन । सबै प्रचार कुत्सित होइन । देख्नेबित्तिकै थाहा भइहाल्छ नि ।”
“सबैथोक बुझिसक्या छौ ?”
“म पार्टीको काम गर्न आएको हुँ ,सामन्त, काम गर्छु । हावडामा मजदुर इलाकामा काम गरेको अनुभव थिएन,भयो । म कुनै समय गाउँकै केटो थिएँ । काँकडासोल गाउँमा हाम्रो घर थियो ।”
“तिम्रो बुबा ललित प्रामाणिक जागुला आएका थिए । जुग बित्यो । पसल थापेको कुरो पनि सम्झना छ मलाई ।”
“मलाई त सम्झना छैन । गाउँको जेथाजमीन शिवेश्वर भुइँयाले लिइदियो । मैले त घरमात्र देखेको थिएँ । जागुलामा आएर बुबाले सैलुन खोल्नु भएको कुरो पनि मलाई सम्झना छैन । बुबा खस्नुभएपछि हामी फेरि काँकडासोल नै फर्केको थियौँ । घरमा काका हुनुहुन्थ्यो । हामी पनि त्यहीँ बस्यौँ । त्यसपछि फेरि जागुला ।”
“शिवेश्वर भुइँया त्यस्तै थियो ।”
“रामेश्वर त बाउभन्दा पनि चण्डाल छ । ”
“पहिले थियो ।”
“अब छैन ?”
सामन्त क्षणभर मौन रह्यो ,अनि हाँस्दै भन्यो,“होइन ,होइन । उसले पनि अब हृदयङ्गम गरिसकेको छ कि हाम्रो छत्रछायाँ नपाइकन बाँच्न सकिन्न ।”
“त्यस्तो हो र ? कि निकै ठूला जमीन्दार रामेश्वरको खुसामद हामी नै गरिरहेका छौँ ? तपाईँ नरिसाउनुस । जानुभन्दा पहिले केही कुराहरू स्पष्ट बुझ्न चाहन्छु । ”
“तिमीलाई अपरेसन वर्गाको बारेमा थाहा छैन ?”
“कसले भन्यो र ? पढेर जति थाहा पाउन सक्थेँ , थाहा पाएको छु । रामेश्वरसँग त असीमित जमीन छ । त्यो जमीन सरकारी दर्तामा छ ? वर्गा दर्ता छ ?अपरेसन वर्गामा दर्ता भएको छ त ?”
“होला , पक्कै होला ।”
इन्द्रलाई लागेको थियो – छैन होला । उसको ठम्याइ थियो कि गाउँको हकमा सरकारको एउटै नीति होला । उसको मनमा भडकाउ आउन थालेको थियो ।
“ म चरसा जान्छु । चरसा गाउँ कत्ति ठूलो छ? त्यहाँ ककसले बेनामीमा बढी जमीन लुकाएर राखेका छन् ?कोसँग जमीन छैन ?जेथाजमीन त बाकुलीको सूर्य साऊसँग पनि थुप्रै छ । सूर्य साऊ त मारियो होला नि, होइन ? उसको भाइ रोतोनी साऊ मालिक छ । गरिब गाउँ । चार प्रतिशत वर्गा गर्दछन् । बाँकी सबै कृषि मजदुर त्यहाँ किन जाँदैछन् ?”
“कृषि मजदुरको मोर्चा स्थापना गर्न र दिलीप सोरेनको प्रभाव मेटाउन । दिलीपको प्रभाव राम्रो छैन । ”
“के गर्दैछ ?”
“केही गर्दैन । यही त समस्या छ । शिक्षित युवक ,माध्यमिक शिक्षा उत्तीर्ण । पुलिसमा उसको जागिर मिल्थ्यो । चरसामा एकताका निकै विप्लव भएको थियो । ऊ त बेतुलको छोरो उद्धवसँग मिलेको छ । राम्रो व्यवहारको परिणाम यही नै हो । उद्धव एकताका बसाईको पार्टीमा थियो । बेतुल मरेको यतिका दिनपछि फर्केको छ । ताराचाँद भुइँयाले उसलाई शहरको बासबाट उठिबास लगाइदियो । त्यसैबेलादेखि चरसामा बसेको छ अनि अरुलाई पनि उसले त्यहीँ टिकाइराख्या छ । उसलाई गिरफ्तार गराइएन, कुनै मुद्दासुद्दामा पनि फसाएको छैनौँ ।”
“बेतुल को हो ? उद्धव को हो ?”
“सबै विरोधी पार्टीका हुन् । ”
“अनि,त्यसपछि ?”
“दिलीप र उद्धव मिलेर झमेला गर्न सक्छन् । धान कटाइ,खेतीहर ( कृषि मजदुर वा खेताला )को मजदुरी आदि अनेकथरी झमेला छन् ।”
“चरसामा बसौँ । कृषि मजदुर, अर्थात् खेतिहर मजदुर भन्नुस् वा खेताला ,को दल बनाऊँ । राम्रो कुरो हो । अनि मजदुरीको मामिलामा कसको पक्ष लिनू ?”
“त्यो त थाहै छ नि , मजदुरको पक्ष लिनु पर्छ ।”
“जानकारी लिँदैछु । मैले बुझेको पार्टीलाइन त अचेल अर्को किसिमको बन्दै गएको छ नि ?”
“तर रडाको नमचाउनू । मालिकले यदि थोरै दिने भनी जिद्दी गर्न लाग्यो भने… ”
“अनि त्यसलाई ठीक गरिदिऊँ ?”
“होइन, होइन । झगडा–रडाको गर्ने होइन । त्यस्तो बेलामा भनसुन गरेर आपसी सम्झौता गर्नु बेश हुन्छ । नक्सलीहरूझैँ उग्र नहुनू ।”
“उचित ज्याला पाउनका लागि आन्दोलन गर्छु भन्नु नक्सली भयो ?”
“अरे ,किन रिसाउँछौ ?”
“म जाऊँ त ?”
“तिम्रो घरमा को को छन् ?”
“कार्यकर्ताहरूका बारेमा यति चाँडै किन बिर्सनुहुन्छ ? आमा हुनुहुन्छ । एकजना भाइ छ ,चितरन्जनमा काम गर्छ । ”
“राजनीति गर्छ ?”
“होइन ,परिवार चलाउँछ । ”
“परिवारलाई राजनीतिक बनाउनु पर्छ । ”
“कस्तो कुरा गर्नुहुन्छ ? तपाईँको बैठकमा बसेर कुराकानी गर्दैछु । भित्र साइँबाबाको गीत बजिरहेको छ ,सुनिरहेको छु । किन बढता बोल्न लगाउनु हुन्छ ? यो के राजनीतिक परिवार हो ?”
“सबै आआफ्नो बाटोमा हिँडछन् ,इन्द्र । अहिले तिमी जाऊ ।”
यसपछि मानौँ कुनै जरुरी काम बिर्सेझैँको अभिनय गर्दै इन्द्रलाई बोलायो र केहीबेर उभ्याइ राखेर सामन्तले सोध्यो, “ कलकत्तामा नक्सलवादी उपद्रवको बेलामा तिमी त्यहीँ थियौ , होइन ?”
“अँ ।”
“तिम्रोमा कुनै गडबडी त भएन ?”
“अहँ ,भएन ।”
“के त सुनेको थिएँ ? अँ ..साँच्ची, मनिरुल को हो ?”
इन्द्रको अनुहार एकदमै भावहीन भयो । ससाना रौँ उम्रेको आँखिभौँ खुम्च्याउँदै सोध्यो,“ किन , भन्नुस त ?”
“ऊ त नक्सली हो नि , तिमीले उसलाई …”
“ ऊ त हाम्रो हनिफको भाइ हो । विद्युत सप्लाईको सङ्गठनमा थियो । पुलिसले नक्सलवादीलाई खेदेपछि उसले मजदुर टोलमा शरण लियो । म एक्लैले होइन,हामी सबैले त्यसबेला तिनीहरूको सङ्गठनको केही केटाहरूलाई शरण दिएको थियौँ , तिन्लाई पुलिसबाट बचाइदिएका थियौँ । ”
“किन ?अर्थात् तिमीहरूले यसो गर्नुको कारण के थियो ? तिनीहरूले त हामीलाई हजारौँको सङ्ख्यामा मारिरहेका थिए । ”
“साँच्चै ?”
“अर्थात् ..” झस्कँदै सामन्त अलि सजग भयो ।
“तिनले मारे , हामीले मार्यौँ । पुलिसले मार्यो । त्यसबेला कोही पनि चोखो थिएन । अनि के त ? हामीले त्यसो गर्नुको कारण के भने तिनीहरू मजदुर थिए र पुलिसको खेदाइमा परेका थिए । मजदुर भएर मजदुरलाई मार्दा वा पुलिसलाई जिम्मा लगाउँदा हामीलाई कसले पत्याउँथ्यो ? हाम्रोमा पार्टी पार्टीका बिच, मजदुर मजदुरका बिच कुनै तनाउ थिएन । त्यो मामिला पुलिस तथा मजदुर बिचको मामिला बनिसकेको थियो ।”
“ त्यो क्षेत्रमा नक्सली मजदुर छन् ?”
“छन् नि । यसरी सात–आठजनालाई हामीले शरण दिएका थियौँ । इलाकाका गैर मजदुर पार्टीका केटाहरू आइलाग्दा पनि हामीले तिनको रक्षा गर्यौँ । त्यो पनि राम्रो भयो । नौ वर्षमा हामीले आठजना असल कामरेड पायौँ । अहिले ती सबैजना हामीसँग छन् । ”
“राम्रो ,एकदम राम्रो !”
“तपाईको परखमा के म नक्सलीजस्तो लाग्दछु ?”
“होइन । तिमीबाटै यो काम हुन सक्दछ । ”
“ के रे ?”
“गाउँमा स्वस्थ राजनीतिक वातावरण बनाउने काम ।”
यही आस्था बोकेर इन्द्र चरसा गयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।