अफ्रिकाको एउटा देशमा हाफिज नामक एउटा सुखी किसान बस्थ्यो । उसको आँखाले भ्याउञ्जेलसम्मको खेत थियो । अनि त्यो खेतबाट जेजस्तो अन्नपातहरु फलाउँथ्यो, आफू र परिवारका लागि सन्तुष्ट हुने किसिमले खान्थ्यो । एक दिन कुनै भिक्षु त्यस किसानको घरमा भिक्षा माग्दै आइपुग्यो । भिक्षुलाई हाफिजले भिक्षा मात्र दिएन, मजाले मेजबानीसमेत गर्‍यो । उसको सरल मेजबानीबाट प्रभावित भएको भिक्षुले उसलाई त्यो रात केही गतिला शिक्षाहरु दियो । अनि उसले त्यसबेला हीराको कुरा पनि उठायो । भिक्षुले किसानलाई हीरा फलाउन सकिने र त्यसबाट संसार जित्न सकिने धन जम्मा गर्न सकिने समेत बतायो ।

त्यो रात हाफिजलाई निद्रा लागेन । उसले रातभर सोच्यो, हीरा कहाँ फल्दोरहेछ ! त्यहीँ लिन जान पाए, म कैयौँ गुणा धनी हुने थिएँ । अनि मेरो परिवारलाई म झन् धेरै सुख दिने थिएँ । भिक्षुले भनेको थियो– ‘यदि तिमीले आफ्नो बूढी औँलाजत्रो हीरा फेला पा¥यौ मात्र भने पनि एउटा शहर किन्न सक्छौ अनि हत्केलाजत्रो हीरा फेला पार्‍यौ भने तिमीले त देश नै किन्न सक्छौ ।’

आँखाले भ्याउन्जेलको खेतको मालिक हाफिजलाई अचानक शहरकै मालिक हुने रहर जाग्यो । र, अहिलेको सानो खेतको मालिक मात्र बन्न पुगेकोमा दुःखी भयो ।

बिहान भिक्षु थिएन तर भिक्षुले रोपिदिएको लोभ किसानको दिमागमा पसिसकेको थियो । त्यसैले उसले खेत बेचेर हीरा खोज्न निस्कने विचार गर्‍यो । बरु त्यसका लागि उसले आफ्नो खेत सस्तोमा नै दिने विचार गर्‍यो । छिमेकी किसानले खेत किनिदियो । आफ्नो परिवारका लागि राम्रो व्यवस्था गरेर हाफिज भने हीराको खोजीमा विदेश निस्कियो ।

हाफिज हीराको खोजीमा कहाँ पुगेन ? ऊ उत्तर अफ्रिकाबाट विस्तारै अघि बढ्यो र दक्षिणी यूरोप पुग्यो । त्यहाँबाट फेरि अन्तै गयो र फेरि त्यहाँबाट अझै टाढा पुग्यो । हिँड्दाहिँड्दै ऊसँग भएको पैसा पनि सकियो । त्यसपछि भोकै र प्यासै हिँड्न थाल्यो । एक दिन बार्सिलोना नदीको किनारमा आफू कहिल्यै नपाइने हीराको खोजीमा हिँडेकोमा पछुतो मान्न थाल्यो । तर त्यतिबेला नै नदीमा आएको बाढीले उसको प्राण हर्‍यो ।

उता घरमा नयाँ किसानले खेतीलाई राम्रो हेरचाह पु¥यायो । ऊ सधैँ खेत जान्थ्यो, हेरचाह गर्दथ्यो । उसले हेरचाहकै क्रममा खेतमा चम्किलो पत्थर फेला पार्‍यो । पत्थरतिर नयाँ किसानको ध्यान जाँदैनथ्यो होला, तर खोला किनारमा एउटा चम्किलो पत्थरमा बिहानी घामको किरण पर्दा इन्द्रेणीको झल्को दिइरहेको थियो । मनोरम त्यो दृश्य देखेपछि किसान त्यता तानियो । चम्किलो पत्थर देखेर मोहित भएको किसान, त्यसलाई लिएर घर फर्कियो ।

यो पत्थरले दिने प्रकाश देखेर हैरान भएको किसानले त्यसलाई बैठक कोठामा राख्यो, ताकि सबैले त्यो देख्न सकून् र किसानको यस्तो पत्थरको प्रशंसा गरुन् । त्यही दिउँसो त्यो भिक्षु घुम्दै हाफिजको घरमा आइपुग्यो । सीधै घरभित्र छिरेको भिक्षुले टल्किरहेको पत्थर देखेर खुसी हुँदै चिच्यायो ।

 

रसेल कनवेल

‘खोई हाफिज, कहाँ छ हाफिज ? हाफिज पक्कै फर्किएको हुनुपर्छ । आखिर उसले मैले भनेझैँ पत्थर फेला पारेरै छाड्यो’, भिक्षु एक्लै बर्बरायो ।

नयाँ घरमालिकले भन्यो– ‘तपाईंले भन्नुभएको हाफिजको त अहिलेसम्म अत्तोपत्तो छैन । तर तपाईंले उसलाई किन खोज्नुभएको ?’
‘तपाईंले सजाउनु भएको यो पत्थर सानोतिनो पत्थर होइन । मैले भन्ने गरेको हीरा यही हो । मैले थाहा पाएँ, यो त्यही हीरा हो’, भिक्षुले भन्यो ।

‘कहाँको हीरा हुनु यो ? मैले आफ्नै खेतबाट टिपेर ल्याएको’, अविश्वासपूर्वक नयाँ किसानले भिक्षुलाई उडाउँदै भन्यो– ‘यस्तो पत्थर त यहाँ कति छन्, कति । आउनुस् म तपाईंलाई देखाइदिन्छु, तपाईंले गनेर भ्याउनु हुने छैन ।’

खेत नजिकैको नदी किनारबाट केही ढुङ्गा उठाएर किसानले भिक्षुलाई दियो । भिक्षुले आफूसित लिएर गएका ढुङ्गाका नमूनाहरु जाँच गरायो । पछि ती ढुङ्गा हीरा भएको प्रमाणित भयो ।

‘एकड अफ डायमन्ड’बाट