कहानी पच्चीस हजार पाँच सय पचासको !

२५,५५० के हो ?  पैसा हो या कुनै इकाई  ?

के होला  त आखिर २५,५५० ? मैले  किन यो प्रसङ्गलाई  कोट्याएँ । के रहस्य लुकेको छ यस अङ्कमा?

एउटा प्रश्न सोध्छु है त, ” लगभग मान्छे कति दिन बाँच्छ ?”

अनिता काेइराला

पक्कै पनि अकमकिनु भयो ।

अर्को प्रश्न सोध्छु, “अब भन्नुस मान्छे कति वर्ष बाँच्छ ?”

तपाईंको अनुमान मिल्यो । लगभग  ७० / ८० वर्ष  बाँच्छ । धेरै नै बाँचे पनि  सय वर्ष बाँच्ला।

मान्छे कति वर्ष बाँच्छ ? भन्ने प्रश्न सुनेका छौँ । त्यसैले उत्तर दिन  हामीलाई सहज भयो ।औसत आयुको अनुमान लगाउन सक्छौँ। औसत आयुको अध्ययन गर्न सक्छौँ। बारम्बार सुनेका यस्ता प्रश्नहरूको उत्तर दिन हामी अभ्यस्त छौँ ।  प्रायः हाम्रो दैनिकी जीवनमा आउने यो अङ्कगणितमा हामी ९९% पास पनि हुन्छौँ।

तर कसैले हामीलाई- “मान्छे कति दिन बाँच्छ ?” भनेर प्रश्न गर्‍यो भने हामी अकमकिन्छाैैँ ।

हामीले हाम्रो जीवनलाई दिनमा हिसाब गरेका छैनौँ। सामान्यतय: मान्छे कति दिन बाँच्छ ?  भनेर कसैलाई सोध्ने गरेका पनि छैनौँ ।

अब २५,५५० को भेद खोलौँ । हाम्रो उमेर लगभग ७० वर्ष भयो भने हामीसँग केवल २५,५५० दिन मात्र हुन्छ । यदि सय वर्ष भए ३५,५०० दिन हुन्छ। हेर्नुस् त  हिसाब गरेर। कति थोरै दिन छ हामीसँग । यसो हेर्दा ७० वर्ष निकै लामो होला जस्तो लाग्छ।  २५,५५० इकाई यदि पैसा भएको भए हामीलाई धेरै हुन्थ्यो कि थोरै ?  के के गर्न सक्थ्यौँ होला यति जाबो इकाईले ? सामान्य आवश्यता पनि पूरा गर्न हम्मेहम्मे पर्थ्यो ।

तर यति महत्त्वपूर्ण दिनहरू खर्च गर्दा होसै छैन। हामी यसरी बाँच्छौँ कि हाम्रा दिनहरू अनगिन्ती छन् । मूल्यवान वस्तुको प्रयोगमा सावधानी अपनाउनु नै पर्छ। मानव जीवन जस्तो अमूल्य सम्पत्ति अरू केही छैन ? मानव जीवनको यो छिटो समयमा आँखा चिम्म गरेर बेधडक दौडिरहने । टल्सटायको त्यो  “मान्छेलाई कति जमिन चाहिन्छ ?” भन्ने कथा जस्तै आखिर अन्तमा हात लाग्ने के रहेछ ? अनि किन हस्याङ्फस्याङ्ग ? किन धपेडी  ? किन बेहोसी ?

वास्तवमा हामीले बाँच्ने वर्षमा होइन, दिनमा बाँच्ने  अभ्यास गर्नु पर्छ अझ पलपल आनन्दका साथ बाँच्ने अभ्यास गर्नुपर्छ । यो कुरा असम्भव पक्कै लाग्न सक्छ तर सकारात्मक सोच, सकारात्मक  कार्य र सकारात्मक अभ्यासले सम्भव छ । रमाइलोमा दिनहरू बितेको हामीलाई पत्तै हुँदैन। यहाँ सापेक्षवाद लागू हुन्छ । मुठ्ठीबाट बालुवा खसेझैँ हाम्रा दिनहरू खसिरहेका छन् कहिल्यै नफर्किने गरी । गहिरिएर विचार गर्दा आठ-दस वर्ष त बालापन मै सकिने रहेछ । दसदेखि पच्चीस वर्ष  पढाइ,  लेखाइ, रोजगारी आदिमा  सुटुक्क थाहा नै नपाई  दिनहरू खर्च भैसकेका हुने रहेछन् ।

जम्मा कति दिन छ हामीसँग त्यो पनि थाहा छैन कति दिन सकियो, कति बाँकी छ त्यो पनि थाहा छैन । अन्धाधुन्ध खर्च गर्नु जीवनरूपी अर्थशास्त्रको दुरुपयोग गर्नु हो । जीवनको उचित व्यवस्थापन नहुँदा हामी दीनहीन, दुःखी र दरिद्र भएका छौँ । हामीसँग भएको मूल्यवान समयलाई नजरअन्दाज गर्दै बेहोसीमा  खर्च गरेको नतिजा हो-यो अशान्त मानव । जब हाम्रा दिनहरू सकिँदै जान्छन् अनि हामी आतिन्छौँ र  झसङ्ग हुन्छौँ । मलाई त यो गर्नु थियो, त्यो गर्नु थियो भन्छौँ । तड्पिन्छौँ । खेर फालेको समय पुनः ल्याउन सक्दैनौं र पछुताउँछौँ  । महाकविले भनेकै छन्  –

” संसार रूपि सुख स्वर्ग भित्र,

रमे रमाएँ लिईभित्र चित्र!

रहेछ संसार निशा समान

जिउँदै रहँदानि आएन ज्ञान ।”

कविका कविताले जीवन दर्शन स्पष्ट पारिदिएको छ, बुझ्न् मात्र बाँकी छ । तर हामी सबै भन्छौँ, बुझौँला नि अहिले के बितेको छ र, आज त मस्तले बाँच्ने हो, भन्दै समयरूपी धन बर्बाद पनि गरिरहेका छौँ।समयले पनि हामीलाई सत्यको बोध गराएको छ। दुई भागमा समयलाई पस्केर  हेर्दा रात र दिन  देखिन्छ । यसो हेर्दा हाम्रो आधा उमेर त  सुतेर नै बित्ने रहेछ, आधा जागृत भएर ।

२५,५५० लाई दुई भागमा हेर्दा त  दिन अझ थोरै हुन्छ  ! १२,७७५ दिनहरू छन् भने  १२,७७५  रात  ।  जिन्दगीले हामीलाई दुई वटा अवसर दिएको छ   जीवनलाई उज्यालोतिर मोड्ने वा अँध्यारोतिर धकेल्ने हाम्रो हातमा छ हाम्रो जीवनको साँचो।

मानव जीवन कति महत्त्वपूर्ण छ । मानव जीवन अरू जीवन भन्दा श्रेष्ठ छ । मानव जिज्ञासु प्राणी हो, ऊ खोज गर्न सक्छ र पृथ्वीमा मात्र सीमित छैन । मानव जीवन अतुलनीय, अद्वितीय र अपार छ । यस्तो अमूल्य जीवन पाएर पनि मानव किन अशान्त छ ? यो बढो गम्भीर प्रश्न हो । समयलाई समयमा चिन्न नसक्दा मानव गलत मार्गबाट शान्त हुन खोज्छ जुन असम्भव छ । मानवताविरोधी मानव, चेतनाविहीन चेतनशील प्राणी र  अशान्तिको मसला बोकेको शान्तिले  आज विश्वमा कस्तो परिणाम निम्त्याएछ हामीलाई सर्वविदित नै छ । यो कस्तो दुर्भाग्य ।व्यवस्थित, सन्तुलित र होसपूर्ण जीवन बाँच्न सके साँच्चै मानव जीवनको भरपूर आनन्द उठाउन सकिने थियो । हाम्रा यी अमूल्य  दिनहरूको हिसाब आरामले बसेर हामीलाई गन्ने  फुर्सद खोई ?

भर्खरै बजारमा जीवन प्रसाईंले “धेरैको धपेडी” भन्ने उत्तम पुस्तक ल्याउनु भएको छ ।  जुन किताब असाध्यै समयसापेक्ष छ । सबैले पढेर मनन गर्नु पर्ने खालको छ । स्वस्थ्य र शान्त जीवन बाँच्ने उपाय र समाधान छ । तर हामी समस्यामा मात्र जकडिन अभ्यस्त छौँ । परिवर्तन देखावटी मात्र छ । भित्रैबाट आजको कान्छे  रुपान्तरण हुन नै चाहँदैन । त्यसैले जब हाम्रा दिन सकिन्छ तब छट्पटी गरेर के काम ?

हामीलाई हाम्रो जीवन निकै लामो छ जस्तो लाग्छ तर विडम्बना जीवनको  क्षणभङ्गुरता थाहा पाएर पनि हामी अन्ठाइदिन्छौँ । हामी सुखी, खुसी र शान्त हुने हो भने हाम्रो दिनहरूको  हिसाबकिताब राखेर खर्च गर्नुपर्छ अनि पो अनावश्यक अशान्ति, अवसाद, आलस्य, आरिस, आडम्बर, आक्रमण, असन्तुष्टि, अविवेक र अराजकतापूर्ण जीवनबाट मुक्ति प्राप्त गरेर शाश्वत शान्तको अनुभव गर्न सकिन्थ्यो । हामी त अँध्यारोमा  बाँच्न अभिशप्त छौँ। एक बारको जीन्दगी मोजमस्तीमा सिध्याउनु पर्छ भन्ने सोच धेरैको छ तर वास्तविक मोजमस्ती के हो बराकठा ! थाहै छैन । हामी सत्य भन्दा पनि भ्रम मन पराउँछौँ । तर सबैले खोजेको त आखिर त्यही आनन्द, शान्ति र शकुन त हो ।

बेहोस भएर दिनहरू खर्च गर्दा हामीले गर्नु  हुने-नहुने सबै कर्म गर्छौं।  जीवनरूपी बजारमा कहिलेकाहीँ खुजुराको हिसाब गरेर खर्च गर्दा  फाइदामा हुनेछौँ । हाम्रो बाँच्ने दिनहरूको सीमिततालाई बुझेर होस र संयमपूर्ण हाम्रा दिनहरू खर्च गर्ने हो भने पक्कै सार्थक जीवन हरेक मानवले भोग्नेछ । २५,५५० दिनलाई मस्तिष्कमा राखेर दिन बिताउने हो भने नकारात्मक भएर मान्छेले पक्कै समयको दुरुपयोग गर्ने थिएन ।

तर २५,५५० दिनरूपी अर्थलाई नजरअन्दाज गर्दै हावाको भरमा खर्च गर्ने ? कसैले चोरे पनि मतलब छैन । च्याते पनि मतलब छैन । एकचोटि हरेक दिन खर्च गर्नुभन्दा अगाडि आजको यो अमूल्य दिन बेकारमा खर्च गर्ने छैन भन्ने संकल्प गरौँ त ।

भौतिक सम्पत्ति  त खर्च गरेपछि पुनःकमाउन  सकिन्छ । खर्च नगरेर जोगाउन पनि सकिन्छ तर  दिनहरू जोगाउँछु भनेर जोगाउन सकिन्छ र ? समयलाई कसले रोकेर राख्न सकेको छ र ? आजको दिन आजै जान्छ चाहेर पनि रोक्न सकिँदैन जम्मा पारेर धेरै पार्न सकिँदैन । हरेक दिन खुसीमा बितोस् वा दु:खमा दिनलाई रोकेर राख्न सक्दैनौँ । त्यसैले सदा कोसिस गर्नुपर्छ हाम्रा अमूल्य दिनहरू बेपर्वाह खर्च नहोस् । एकएक पललाई सदुपयोग गरौँ । आनन्द, खुसी र शान्तिको अभ्यास गरौँ।

माथि उल्लेख गरिएको प्रसङ्ग प्रेम रावतजीको सन्देशबाट प्रभावित छ । हो, वहाँ विश्वशान्तिदूत हुनुहुन्छ । शान्तिको सन्देश उहाँको लोकप्रिय सन्देश हो । उहाँ शान्तिदूतका साथै एक प्रसिद्ध  लेखक पनि हुनुहुन्छ । भर्खरै न्यूयोर्क टाइम्सले प्रकाशित गरेको पुस्तक  “हियर योर सेल्फ”  ले विश्वभर  निकै चर्चा बटुलेको छ। यो पुस्तक लोकप्रिय हुनुका साथै सर्वाधिक बिक्री भैरहेको छ। प्रेम रावतले थुप्रै पुस्तकहरू लेख्नुभएको छ । जसमध्ये  “पिस इज पोसिवल”, “तीरको लक्ष्य ” वहाँका विश्व प्रख्यात  पुस्तकहरू हुन्।

प्रेम रावत भन्नुहुन्छ, “शान्ति सम्भव छ । शान्ति बाहिरको विषय होइन । यो त प्रत्येक मानवको हृदयमा विराजमान छ । शान्तिको अभ्यास गर्न मात्र जरुरी छ ।”

त्यसैले समयरूपी धनलाई खेंलाचीको रूपमा खर्च नगरौँ। मान्छेले  होसपूर्ण बाँच्नुपर्छ । समयको महत्त्व बुझ्नुपर्छ । व्यवस्थित जीवन बाँच्नुपर्छ । सीमित समयका लागि हामी यस पृथ्वीमा छौँ ।

“सीमित दिनहरूलाई यति सस्तो तरिकाले खर्च गरिरहेको छ आजको  मानव” भन्ने कुरा उहाँबारम्बार आफ्नो सन्देशमा भन्नुहुन्छ । उहाँको शान्ति शिक्षा कार्यक्रमले कैयौं देशमा सकारात्मक प्रभाव पारेको छ। कैयौं जेलहरूमा peace education ले कैदीहरूको जीवनमा चमत्कारपूर्ण रुपान्तरण ल्याएको अनुसन्धानले पुष्टि गरेको छ । दक्षिण अफ्रिकाका मुलुकमा द्वन्दले विक्षिप्त भएका मानवको हृदयमा peace education कार्यक्रम निकै लोकप्रिय भएको छ ।

प्रेम रावत फाउन्डेसनले अर्को महत्त्वपूर्ण कार्य गरेको छ ।  नेपालको धादिङ जिल्लाको सत्तरपूरमा जनभोजन कार्यक्रम सन् २००८ देखि सञ्चालन ल्याएको छ ।  यस्तो जनभोजन कार्यक्रम  भारत, नेपाल र अफ्रिकाको घानामा सञ्चालित छ । जुन कार्यक्रमको प्रशंसा विश्वले गरेको छ ।

प्रेम रावत भन्नुहुन्छ,  “यदि मानव वास्तवमा शान्त हुने हो भने मानवले गर्न नसक्ने काम यो ब्रह्माण्डमा नै छैन होला । यतिकै मानवलाई ईश्वरको उत्कृष्ट रचना भनिएको होइन ।”

सामाजिक ,आर्थिक ,राजनैतिक ,भौगोलिक , सांस्कृतिक  परिवर्तनले मात्र आजको  मानव पूर्ण रूपमा स्वस्थ, समृद्ध र शान्त हुन नसक्ने स्पष्ट देखिएको छ ।आज  प्रविधि विश्वका प्रत्येक व्यक्तिको हातमा छ । आजको मानव शिक्षित छ तर शान्त छैन । साझा परिवारमा पनि ऊ एक्लो छ ! दु:खी छ ! अधैर्य छ !

तर पनि शान्ति सम्भव छ !