
तित्रा, कथ्थके, सी. एम. भट्टराई जस्ता साहित्यिक नामबाट झापाली पत्रपत्रिकाहरूमा विभिन्न स्तम्भमार्फत निरन्तर हास्यव्यङ्ग्य सिर्जना गर्दै आइरहेका चूडामणि वशिष्ठ निबन्ध विधामा हास्य व्यङ्ग्यको अस्तित्व जोगाउन अटुट लागिरहेका स्रष्टा हुन् । विसं २०१४ साल कत्तिक १५ गते इलामको कन्याममा अन्मिएका वशिष्ठ प्राध्यापन पेशामा मेची बहुमुखी क्याम्पसमा तीन दशक बढी सेवा दिएर अवकास जीवन व्यतित गरिरहेका श्रष्टा हुन् ।
वि.सं २०४१ सालमा त्रि.विबाट नेपाली विषयमा स्नातकोत्तर तहको औपचारिक अध्ययन पूरा गरेका वशिष्ठले अङ्ख्य फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरेका छन् । उनको एकमात्र पुस्तकार कृति ‘कुरा यिनै हुन् कसो पो गर्ने र !’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६२ सालमा प्रकाशन भएको देखिन्छ ।
नेपाली साहित्यका विविध फाँटमा विगत तीन दशकदेखि सेवारत वशिष्ठ झापाली निबन्ध र समालोचना विधामा अग्रणी सर्जकको स्थान बनाउन सफल छन् । निबन्ध विधामा व्यङ्ग्यलाई अगुवाइ गर्ने वशिष्ठका “झापा पोष्ट” दैनिकमा वक्रदृष्टि स्तम्भमा छ सय जति फुटकर रचना छापिएका छन् ।

चूडामणि वशिष्ठ
वर्ष १, अङ्क १, २०६४ चैत्र १६ गते देखि वक्रदृष्टि स्तम्भमाा सुरू भएको व्यङ्ग्यात्मक निबन्ध आलेख प्रकाशन “झापा पोष्ट” दैनिककले वर्ष ३, अङ्क ३६५ सम्म निरन्तरता दिएको अध्ययनका क्रममा फेला परेको छ । दैनिक रूपमा नयाँ विषयवस्तुमा केन्द्रित भई देशमा देखिएको राजनीतिक, सामाजिक विकृति विसङ्गतिप्रति प्रहार गर्दै समाजका अगुवाहरूका कुप्रवृत्ति, बेइमानी, संस्थागत विचलन, ठगी, शोषण जस्ता जल्दाबल्दा समस्याहरूलाई प्रहार गरेर लेखिएको व्यङ्ग्यात्मक स्तम्भ हो ।
सरल सहज झर्रा नेपाली शब्दावलीमा मार्मिक प्रहार गरिएको वक्रदृष्टि स्तम्भ “झापा पोष्ट” दैनिकको एउटा मेरूदण्ड बनेको पाइन्छ । प्रत्येक दिन एउटा नयाँ विषयमा केन्द्रित भई आउने यस्ता व्यङ्ग्यले जाली, फटाहा, लुटहा, शोषक, सामन्ती, देश र समाज भाँडा, किर्ते—काइते, पाखण्डी, दुराचारी प्रवृत्तिको शब्दचित्र मार्फत कडा प्रतिवाद गरी समुन्नत र शालीन देश निर्माणको अपेक्षा राखेका छन् ।
लोकतान्त्रिक आन्दोलनको सफलतापछि जन अपेक्षा पूर्ण शासनव्यवस्था स्थापनामा उदासीन रहेका राजनीतिक दलहरूको कर्तव्यच्यूत अवस्थालाई विशेष केन्द्र बनाएका व्यङ्ग्यदेखि शिक्षा, स्वास्थ्य जस्तो आधारभूत आवश्यकताको नाङ्ले व्यापार जस्ता विकृति विसङ्गतिमा चोटिलो प्रहार गर्न कथ्थकेको वक्रदृष्टि स्तम्भ सफल छ ।

द्रोण अधिकारी “गुयेली”
नेपाली राजनीतिको उदाङ्गो बेमेल व्यङ्ग्यकार यसरी वक्रदृष्टि स्तम्भ भित्रको व्यङ्ग्य मार्फत छर्लङ्ग्याउँछन्ः
पोहोर परार राष्ट्रिय गीत लेख्नलाई जनतामा आव्हान गरिएझैँ समस्या यिन यिन हुन्, परिस्थित यस्तो यस्तो हो , यसमा प्रतिपक्षी पार्टीको दलील यस्तो रहेको छ । सत्ताधारीको जिकीर यस्तो छ, भाषा शैलीशिल्प, शब्दको चमत्कार, लक्षणा, व्यञ्जना शक्ति विम्ब, अलङ्कार आदि सम्पूर्ण कुरा मिलाएर सिपालु हातले स्वादिष्ट सर्वत बनाएझैं, लाठी नभाची साप मार्नेजस्तै राजनीतिको गाठो फुक्ने गरी, टन्किएका समस्याको पिलो छ्यालब्याल हुने गरी जसले भाषा खिप्न सक्छ उसलाई नि दस लाख । दस लाख भनेको जावो एउटा नेपाली नागरिकको मूल्य न हो, मूल्यबृद्धि यही गतिमा हुने हो भने दुई वर्षपछि एउटा बोकाको मूल्य त्योभन्दा बढी हुन्छ । राजनीति समस्या सुझिएन नेताहरूले सुल्झाउन सकेनन् भने तुरून्तै जनतामा जानु पर्छ भन्ने यत्तिनाथे राजनीतिको सरल पाठ हाम्रा नेताले बुझोकै छैनन् कि क्या हो ? (राजनीतिको सरल पाठ पनि “झापा पोष्ट दैनिक” वर्ष २, अकं १८८, २०६६ कार्तिक १३)
बोलचालको भाषालाई बढी महत्त्व दिएर विषय उठान हुने कथ्थकेको वक्रदृष्टि स्तम्भले हास्यव्यङ्ग्य निबन्ध विधामा नेपाली भाषा साहित्य जगतमा उल्लेखनीय योगदान पुर्याएको छ । शालीन र सौम्य शब्द संयोजनबाट निर्माण हुने गरेका यी व्यङ्ग्यहरू विचारका रूपमा निबन्धात्मक शैली समातेर पाठकलाई मनोरञ्जनको साथमा चेतना प्रदान गर्न सफल छन् । विकृति विसङ्गतिप्रति प्रहार गर्ने यस्ता व्यङ्ग्यहरू पाठकका मनमा उत्साह समेत जगाई नकारात्मक पक्ष त्याग्न प्रेरणा प्रदान गर्ने गर्दछन् । शिक्षालाई व्यापारीकरण गरेर लाखौँ असुल्न चाहनेहरूप्रति कथ्थकेले वक्रदृष्टिमा ‘शुभ लगन भो । शुभ लगन भो ।’ प्रतीकात्मक शीर्षक मार्फत यसरी व्यङ्ग्य प्रहार गरेका छन्ः
प्लस टुको व्यापार– व्यावसाय गरेर बसेका शिक्षको दोकान र पसल फिँजाएर बसेको साहु महाजन सेठहरू तयार ? तयार, एस एल सी दिएका विधार्थी र विद्यालयको सङ्ख्या टिपी झोलामा तथ्याङ्क बोकेर विद्यार्थी खोज्न, फकाउन र बाटो छेक्न पर्खी बसेका प्लसटु कर्मी भट्भटे डाइभरहरू तयार ? तयार ।, सरकारी कलेजको १२ हजारको जागिरको वास्ता नगर्ने प्लसटुमा गएर पच्चीस सयमा हड्डी घोट्ने, एकै दिनमा पाँच वटा प्लसटु भ्याइ तलब मात्र, फेरी बजाउने भिखारी जस्ता, करका दायरामा नपरेका, एकै जनाले पाँच जना बेरोजगारको जागिर खाइदिने, प्लसटुको महोदयहरू तयार ? तयार ।” (झापा पोष्ट दैनिक वर्ष १,अङ्क २२०, २०६५ मङ्सिर २१ )
वक्रदृष्टिका व्यङ्ग्यहरू अब्वल बनाउन व्यङ्ग्यकारले विभिन्न विम्ब, प्रतीकको प्रयोग गर्दै तुलनात्मक शब्द —चित्रको प्रहार गरेका छन् । कुनै पनि व्यङ्ग्य पढ्दा पाठक पर सर्दैन, अप्ठयारो महसुस गर्दैन, उठेर हिँड्दैन किनकि सरल भाषा सरस प्रस्तुतिभित्र यथार्थ घटना ।
यस प्रकार चूडामणि वशिष्ठको कथ्थके उपनाममा नियमित स्तम्भका रूपमा प्रकाशित वक्रदृष्टि स्तम्भमा स्थानीय स्तरका सामाजिक, संस्थागत, राजनीतिक विकृतिदेखि राष्ट्रिय राजनीतिक, सामाजिक, विकृति विसङ्गति, दुराचार, भ्रष्टचार, अनियमितता जस्ता जनसरोकारका विषयवस्तुमा केन्द्रित भई विकृतप्रति प्रहार गरेर व्यङ्ग्य हानिएको पाइन्छ । समाज, राष्ट्र र जनता विरूद्ध हुने गरेका वा भइरहेका दुराचारलाई नङ्ग्याएर रचिएका वक्रदृष्टिका व्यङ्ग्यहरू राष्ट्र र जनताको पक्षपोषणका लागि आउने गरेका छन् ।
सरल भाषा, सहज अभिव्यक्तिका रूपमा आएका यी व्यङ्ग्यहरू मध्यम संरचनामा संरचित छन् । भावपरक अभिव्यक्तिका रूपमा आउने गरेका यी व्यङ्ग्यहरूलाई उत्कृष्टता प्रदान गर्न हाँस्य मिसिने गरेको छ । नेपाली भाषा साहित्यका क्षेत्रमा “झापा पोष्ट” दैनिकको योगदान जोड्न अहम् भूमिका निर्वाह गर्न वक्रदृष्टि स्तम्भका व्यङ्ग्यहरू सम्पूर्ण रूपमा लागिपरेका छ्न् । झापाली साहित्यमा मात्र सिमित नरहेर यी व्यङ्ग्यरूले नेपाली निबन्ध साहित्यमा हास्यव्यङ्ग्यको माध्यबाट संख्यात्मक गुणात्मक योगदान पुर्याएका छन् । व्यङ्ग्यात्मक यो स्तम्भ नेपाली साहित्यको उल्लेख्य उपलब्धि मान्न सकिने देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

