
कविको दायित्त्व कविता लेख्नुमात्र नभएर विशिष्ट कविताको सृजना गर्नु पनि हो । प्रत्येक कविको आफ्नो शैली हुने गर्दछ । केही कवि जटिल विषयवस्तु र कठिन शब्द खोजी गर्ने गर्छन् । त्यस्ता कविका जटिल शब्द वनावट पढ्दा अनुमान लगाउने गरिन्छ कि कविता फलानो कवि कै हो, यो उनीहरूको आफ्नोपन बन्न पुग्दछ । कविताको विषयवस्तु, शब्द बनावट र स्वरूप हेर्दा फलानोकै हो भनी भन्न सक्नुको अर्थ हो पाठक कमाउनु । कविता लेखेपछि उपलब्ध हुन सकेका साहित्यकारहरू बीच छलफलमा ल्याउनु राम्रो हुन्छ । साहित्यका अन्य विधामा झैं कविता विधामा पनि नयाँ नयाँ प्रयोगहरू हुँदै आएका छन् । हिजोको परिभाषा र अर्थले आजको कवितालाई अर्थ्याउन सक्ने स्थिति छैन । कविताको संरचना, शिल्प प्रस्तुति र प्रभावलाई हेर्ने हो भने यसलाई बुझ्ने, बुझाउने र अर्थ्याउने कुरा हिजो थिएन र आज पनि छैन । कविताका लक्षणका विवादका क्रममा पूर्वका विद्वान् समालोचकहरूले अर्थ, शब्द र वाक्यलाई लिएर निकै ठूलो बहस गरेका थिए । बहस जे विषयमा गरे पनि कवितालाई अलग विधाका रूपमा छुट्याउने कुरामा भने पूर्वाय समालोचकहरूमा विवाद थिएन । वर्तमान युग गोपनीयताको नभएर पारदर्शिताको हो ।
पूर्व र पश्चिम दुबैतिर कविताको विषयमा बहस नचलेको होइन । पूर्वीय साहित्यमा ‘शब्द’लाई कविता मान्ने ‘शब्दवादी’ पनि भए । ‘अर्थ’लाई कविता मान्ने ‘अर्थवादी’ पनि भए । ‘शब्दवादी’ र ‘अर्थवादी’ दुबैका बीच बहसमात्र भएन द्वन्द नै चल्यो । त्यसपछि दुबैलाई समान महत्त्व दिएर मिलाउने ‘उभयवादी’ देखापरे । उनीहरूले ‘शब्द’ र ‘अर्थ’ दुबैको सहअस्तित्वले ‘शब्द र अर्थ’ नै कविता भएको बताए । तथापि विवादको समाधान भएन । अहिले पनि विवाद जहाँको तही छ । पूर्वीय काव्य परिभाषाले अहिलेको रचनालाई समेत समेट्ने गरी कवितालाई अर्थ्याउन सकेको देखिँदैन । वास्तवमा भन्ने हो भने वर्तमानमा जुन नयाँ कविता प्रवृत्ति देखापरेको छ, यस विषयमा कुरा गर्नु सहज भने छैन । यो कुरो पटक पटक आउने गरेको छ । तर प्रायशः यसको शिल्प चमत्कारले गर्दा समीक्षक या त सम्मोहित हुने गर्छन् अथवा यसको सतहमा प्रवेश गर्नबाट तर्किन्छन् ।

शीतल गिरी
पूर्वीय र पाश्चात्य जगतका कवितामा बढीभन्दा बढी महत्त्व ‘शब्द’लाई दिइएको देखिन्छ । तर के ‘शब्द’ले मात्र कविता जन्मन्छ ? ‘शब्द’ नै मात्र कविता हुनसक्छ ? अथवा ‘शब्द’ मात्रैले कविताको सम्पूर्णतालाई व्यक्त गर्न सक्छ ? कविताका विभिन्न संरचनालाई ‘शब्द’ले थेग्न सक्छ ? अहिलेको कविताका सन्दर्भमा भाव, शिल्पशैली, अर्थ, लय सबै कुरालाई ‘शब्द’ले बोक्न सक्छ ? यस सन्दर्भमा पूर्वीय र पाश्चात्य दुवै मान्यताले कवितालाई अथ्र्याउन सकेझैं लाग्दैन । ती पुराना परिभाषाको परिधिभित्र परेजस्तो लाग्दैन । कवितामा प्रयोग भइरहेका नवीन दृष्टिकोण, संरचना र शिल्पलाई ती परिभाषाहरूले समेट्ने क्षमता राख्दैनन् । तत्कालको लागि यति कुरा सजिलै मान्न सकिन्छ कि रचनाको नयाँ युग तब सुरु हुन्छ जब भनाइले मात्र होइन बरू भनिएको बस्तु पनि बदलिन्छ र त्यस नयाँ बस्तुको विश्लेषण–मूल्याङ्कन गर्नमा पुरानो आधार अपर्याप्त हुने गर्दछ । नयाँ पुस्ताले भूमण्डलीकृत वास्तविकताहरू आँकनमा सहज रुचि प्रदर्शित गरेको छ । खासकुरो यस्तो छ कि यस दौडमा विचारधाराप्रति जस्तो उदासीनता आएको छ, यसको प्रभावबाट अछुतो नरहँदा पनि यो कविता–पुस्ता मूल्यहीनता र मन्दस्वरतालाई स्वीकार गर्दैन ।
युवा रचनाको शक्ति, सीमाहरू र सम्भावनाहरूमा विचार गर्दाखेरि जुन समय पहिले हेर्नु पर्ने हुन्छ, त्यो नेपाली सामाजिकताको विस्तार हो । आदिवासी र ग्रामीण पृष्ठभूमिदेखि लिएर खाते र महानगरीय परिवेशसम्म यति वैविध्यपूर्ण अनुभव वर्तमान कवितामा खुम्चिएर आएको छ कि कुनै एउटा कविले सम्पूर्ण परिदृश्यको प्रतिनिधित्व गर्न सक्दैन, एउटा कवि–प्रवृत्तिको ‘मुख्य’ स्वर भन्न सकिन्न । गुण–दोष विवेचन पछिको कुरा हो, पहिले यो तथ्य सम्मुख राख्नु आवश्यक छ— धेरैजसो सताब्दीको जीवन–सम्बन्धमा अडकेको छ, अर्कोतर्फ २२औँ सताब्दीतर्फ दौडदै गरेको समयको प्रसंगमा केन्द्रित रहेको छ । यी दुबै अलग अलग दिशाहरू, जीवन स्थितिहरू र प्रसङ्गहरूले बन्ने नेपाली यथार्थ जति जटिल र परिवर्तनहरूको साक्षी छ त्यसलाई कवितामा रुपान्तरित गर्नको लागि आवश्यक सजगता र लचिलोपन कविहरूमा छ ।
यसकारण जोडदिएर भन्न सकिन्छ, यस पुस्ताको शक्ति, सीमाहरू र सम्भावनाहरू ‘शिल्प’मा मात्र नभएर अनुभवको ‘प्रक्रिया’मा छ । आजको कवितामा हामी आख्यान प्रसस्त पाउँदछौँ । यो प्रवृत्ति नेपालीसम्म मात्र सीमित छैन । साहित्यसम्म मात्र पनि सिमित छैन । आख्यानले जीवन स्थितिहरूको संरचनामा स्थिर गराउँदैन । यो सत्य हो, भूमण्डलीकृत परिदृश्यमा विचारधाराप्रति होइन, कुनै पनि किसिमको प्रकट या गुप्त सन्देशप्रति जुन उदासीनता देखापरेको छ, त्यो आजको प्रतिनिधि कवितामा आम कुरा हो । कविको संवेदनशीलता जीवन–प्रक्रियाको चित्रणप्रति हो । यस अर्थमा, युवा रचना प्रतिबद्ध छैन भने त कलावादी पनि छैन । यथार्थको गतिशीलता, चञ्चलता, उलझन्को साथमा चित्रित गर्नु एउटा नयाँ किसिमको वस्तुपरकता हो, जसलाई युवा कविताले आर्जित गरेको छ । उसको रुची जीवनको आत्मपरक अथवा दार्शनिक, कुनै पनि किसीमको व्याख्यामा छैन । नेपाली युवाका कविताले प्रचलित ढाँचालाई अस्तव्यस्त बनाउँदै छ । कविताको विषय, कल्पना र अभिव्यक्ति कसरी सम्प्रेषणीय बनाउने भन्ने कुरामा भने युवा कविहरू सचेत रहेका छन् । तर त्यसको प्रभाव कस्तो पर्छ भन्ने सचेतता भने केहीमा छ, केहीमा छैन । पाठकमा जेसुकै प्रभाव परोस् भन्नेहरू पनि छन् । पाठकमा उद्देश्यमूलक ढङ्गले प्रभाव पार्ने पनि छन् ।
कविताको स्तर निर्धारणका पक्षहरू अनेक हुन्छन् । पाठकले के कस्तो मन पराउँछ र मूल्याङ्कनकर्ताले के कस्तो मूल्याङ्कन गर्छ ती कुराले पनि कविताको ‘स्तर’ र ‘प्रभाव’लाई निर्धारण गर्दछन् । रचनाको प्रभाव कसमा कस्तो पर्छ भन्न सकिन्न । एउटै रचना कसैलाई राम्रो लाग्छ, कसैलाई नराम्रो लाग्छ । कविता पढ्दाको पाठकको अनुभव पनि फरक फरक रहँदै आएको छ । कविको बुझाइ जे हो त्यो पाठकमा नरहन सक्छ । कविको उद्देश्य जे हो त्यसभन्दा भिन्न उद्देश्य पाठकमा उत्पन्न हुन सक्छ । कविलाई नराम्रो लागेको पाठकलाई राम्रो लाग्न सक्छ । आजको कविताले वर्णनको प्रचलित शैलीहरू छोडेर आफ्नो वृतान्त बनाउँदै छ, जसमा आत्मगत र वस्तुगतको बीच, तथ्य र विश्वासको बीच, सम्बन्ध र भावको बीच, बरू जीवनको सूत्र र वर्णनको शैलीको बीच पनि कुनै किसिमको भागवण्डा पाइँदैन । भाववादी र यथार्थवादी, दुबै किसिमको बाटो त्याग गरी हरेक प्रकारको द्वैत र अद्वैतलाई अस्वीकार गर्दछ— परस्पर–विरोधी मानिएका तत्त्वहरूका बीच बौद्धिक विभाजनलाई अस्वीकार गर्दछ । यही यसको आफ्नो पन हो । यसकारण यसमा गति, काल र अर्थको नयाँ धारणा छ । समाजमा परिवर्तनको असर गाउँ गाउँसम्म पुगिसकेको छ ।
परिवर्तनको प्रभाव बाह्य जीवनमामात्र पर्दैन । यो कुरो ध्यातव्य छ कि एउटा त जीवनको जटिलताहरू र परिवर्तनहरूलाई युवा कविले मनुष्यको स्वभाव र सम्बन्धको स्तरमा हेर्दछ, अर्कोतिर परिवर्तनहरू जाँच्नको लागि तिनीहरू आफ्नो चरित्र धेरै सामान्य मानिसहरूबाट छान्दछन् । वास्तविक अर्थमा यो ‘सबाल्टर्न’ हो । यसबाट युवा कविहरूको संवेदनाको रूप स्पष्ट हुन्छ । उसका समस्याहरू साधारण मानिसहरूका जीवनको सामान्य समस्याहरू हुन्, जसबाट समाजको वर्तमान बनेको छ । युवा कविहरूका सजगता वर्तमान जीवन–सन्दर्भको प्रति छैन । परिवर्तनको आँधीमा जीवनको धेरैजसो क्षण र पेशा समाप्त भएको छ । युवा कवितामा न त परिवर्तनको कुनै एउटा स्तरमा यो एक रुपमा हेर्ने गरिएको छ न त हरेक किसिमको परिवर्तनको बारेमा एउटै दृष्टिकोण अपनाइएको छ । धेरै मान्छेले राम्रो भनिदिएपछि नराम्रो कविता पनि राम्रो मानिने र धेरै मान्छेले नराम्रो भनिदिएपछि राम्रो कविता पनि नराम्रो मानिने प्रचलन पहिले पनि थियो, अहिले पनि छदैछ ।
कल्पनाशक्तिद्वारा कविले एकतामा विभिन्नता र विभिन्नताभित्र एकता देखाउन सक्ने कुरा जन रस्किन बताउँछन् । एकता र विभिन्नताको सामञ्जस्यलाई कविताको एउटा सत्यको रूपमा अथ्र्याइन्छ । रस्किनकै भनाइमा सबै कल्पनाहरू दुई किसिमका हुन्छन् । ती हुन्— आन्तरिक र बाह्य । बाह्य कल्पना भएको कविले आफूले बयान गरेको वस्तुको खाली बाहिरी तस्बिर मात्र खिच्दछ । तर आन्तरिक कल्पनाले बयान गरेका वस्तुको आन्तरिक चित्र पनि खिच्छ । मुख्य कुरा त दुर्दमनीय विकास तथा अप्रासङ्गिक हुँदै गरेको पेशा र मनुष्यहरूको बीचको टकराहटले युवा कवि आफ्नो समयलाई चिन्ने संघर्ष गरेका देखा पर्दै छन् । सत्ता र वर्चस्वको धारणाले समता र न्यायलाई पृष्ठभूमिमा धकेलिदिएको छ । तर नेपालीका युवा कवि ‘माइक्रोनरेटिव’ पनि अधूरो र अपर्याप्त मान्दछ । ऊ आफ्नो कवितामा ‘सूक्ष्म’ र ‘इतिहास’ बीच अनिवार्य सम्बन्ध खोज्दछ । यसकारण ऊ प्रक्रियाधर्मी हो । ऊ मर्म घटित हुने क्षणलाई भूत–भविष्य र सामाजिक सम्बन्धको सारलाई जंजालमा फिजारिदिन्छ । प्रकटतः ऊ ‘इतिहास’लाई अस्वीकार गर्दछ । यो इतिहासको निषेधको साटो वर्तमानको बिडम्वना हो, जहाँ कमजोरको अतीत र स्मृति पनि दमन अथवा पीडाको नै उपज हो ।
अर्कोतर्फ, जो बलियो छ, ऊसँग चाहे आर्थिक तागत होस् या प्राविधिक, राजनीतिक तागत होस् या सांस्कृतिक, उसले आफ्नो अतित पनि पहिल्याउँछ । सत्य यो हो, बलियो वर्तमान र भविष्यको मात्र नभएर, अतीतको स्वामी पनि हो । यस बिडम्वनाप्रति जागरुकताले नै युवा कवितालाई नयाँ वस्तुदृष्टि र नयाँ इतिहास–बोध गराएको छ । युवा कविताको लागि वर्तमान यति भयंकर छैन, ऊ अतीत र भविष्यमा प्रक्षिप्त भैजाओस् र मनुष्यको चेतनालाई स्तब्ध गरिदेओस् । ऊ सम्भ्रान्त वर्गको दायराबाट बाहिर निस्केर बास्तवमा उपेक्षित र पीडितको नजरबाट वर्तमानलाई हेर्दछ र यसकारण भय र उम्मीद, विध्वंस र निर्माणको द्वन्द्वात्मकतामा वास्तविकतालाई ग्रहण गर्दछ ।
संसारलाई बदल्नको लागि पहिले स्वत्व आर्जित गर्न र सम्बन्धलाई बदल्नु आवश्यक छ । आर्थिक सम्बन्धहरूको विषमतामा मानवीय (स्त्री–पुरुष) सम्बन्धको विषमताको गहिरो सम्बन्ध छ । स्त्री शरीर पुरुषको विजय–स्मारक हो यसकारण शारीरिकतालाई नै दण्ड दिएर पुरुष आफ्नो सत्ता कायम गर्दछ । विशेषतः स्त्री–पुरुष सम्बन्धहरूको विषमता थुप्रै कविहरूका समस्या हो । युवा कविहरू व्यक्तिपरक ढंगबाट नै सही एउटा सकारात्मक विकल्प प्रस्तावित गर्दछ । गजानन्, माधव, मुक्तिबोधले कविताको रचना प्रक्रियाका सन्दर्भमा यसलाई कविको संवेदनात्मक पक्षसँग जोडेका छन् । उनीहरूका विचारमा कविताको रचना प्रक्रियाभित्र भावना, कल्पना, बुद्धि र संवेदनात्मक उद्देश्य मात्र होइन, जीवनको अनुभव पनि हुन्छ जुन कविको अन्तर्जगतको अङ्ग हो, त्यो इतिहास पनि रहन्छ जुन कविको आफ्नो संवेदनात्मक इतिहास हो । यस बाहेक पनि कविताको रचना प्रक्रिया धेरै कुरासँग जोडिएको हुने सङ्केत मुक्तिबोधले गरेका छन् ।
आजका कविहरू सामाजिक विकल्पहीनताबाट हतप्रभ हुँदैनन् । उनीहरूले भूमण्डलीकृत यथार्थलाई सहजरूपमा लिएका छन् यसकारण आफ्नो भित्र होस् या पारस्परिक सम्बन्धहरूमा होस्, शक्तिको नयाँ स्रोत खोजेका छन् । त्यो वैकल्पिक दृष्टि सामाजिक क्रान्तिकारिताबाट परिभाषित नभएर पनि सकारात्मक छ । युवा कविहरूले व्यक्तिपरकतालाई परस्परतासँग परिभाषित गर्न सीकेका छन् । भाषा मान्छेका लागि अनिवार्य माध्यम हो । मानव समाजको सर्वोत्तम उपलब्धिकै रूपमा रहेको छ भाषा । भाषाले नै मान्छेको ज्ञान–विज्ञानलाई बढाएको छ । भाषाविना मानव गतिविधि शून्यमा पुग्छ । विश्वमा अनेक भाषा छन् । देश देशकै भाषा फरक फरक छन् । जाति समुदाय र क्षेत्रकै भाषा फरक फरक छन् । आ–आफ्नो भाषाको प्रयोग र विकासमा सबैको अग्रसरता बढिरहेको छ । एउटै भाषामा पनि बोलिने र लेखिने भाषाको स्तर फरक हुन्छ । लेखिनेमा पनि साहित्य र साहित्यइतर भाषा फरक हुन्छ । थोरैमा धेरै कुरा भनिने, सङ्क्षिप्त अभिव्यक्तिमा पनि गम्भीर कुरा गरिने भएकैले पनि कविताको भाषा विशिष्ट हुन पुगेको हो । कविताको भाषा सामान्य भाषाभन्दा फरक हुन्छ । कविताको भाषा अद्भुत र चमत्कारिक हुन्छ । त्यसैगरी प्रत्येक युगमा मानिस कुनै न कुनै चमत्कारको प्रतीक्षामा रहन्छ ।
यस्तो चमत्कार वर्तमानमा पूँजीको तागतमा देखिएको छ । कविता भनेको त कलाको एउटा रूपै त हो । मानव मनको प्राचीनतम कलात्मक कार्य ।
जो पूँजीको तागतसँग जोडिन्छ त्यो ‘करोडपति’ बन्दछ । आजको सान–सौकत जे छ सबै पूँजीकै तागतमा छ । आजको असमान जीवन–स्थिति नेपालको वास्तविकता हो ।
सभ्य समाजको आकांक्षा र खुट्टा तान्ने शक्तिहरूको सङ्घर्षमा नै भय र आशङ्काको जन्म हुन्छ । भय, पराजय, पशुवृत्तिलाई निरस्त पार्दै आजको कविताले संवेदनशील मानवीय स्थिति र सम्भावनाहरूको उम्मीदलाई जिउँदो राख्दछ । भय र अमानवीयता समाप्त हुने आशाले मानिसलाई लाचार र स्तब्ध हुन दिदैन । यथार्थको अस्थिरताले आख्यानको अस्थिरता जन्माउँछ । बजार, देश र समाजको सीमाहरू तोड्दै छ, राजनीतिक विचारधारा र नैतिकताको सिमाहरू टुट्दैछन्, कविताको पनि सिमाहरू भत्किँदैछ । समाजमा ढाँचागत पुनर्गठन उच्च वर्गको पक्षमा भैरहेको छ, कवितामा संरचनागत पुनर्गठन साधारण जनको पक्षमा भैरहेको छ । शेलीका अनुसार कल्पनाको अभिव्यक्ति शक्तिलाई नै कविता मान्न सकिन्छ । जसमा अतिरिक्त मात्रामा कल्पनाको अभिव्यक्ति शक्ति हुन्छ, त्यही कवि हो ।
पक्कै हो, प्रतिबद्धता र सामाजिक परिवर्तनको नयाँ संकल्प देखा पर्दैछ । यसकारण कविताको निष्कर्षात्मक स्वरुप छिन्न भिन्न भएको छ, आख्यानको खुलापन र बहुलतापरक सम्भावनाहरू अगाडि आउँदैछ । शिल्पमा कवितालाई अल्झाउनु अथवा चमत्कृत गर्न आजका युवापुस्ताको रुचि छैन । कविताको कल्पना कविको भावनामा भर पर्छ, कविको मनोदशामा निर्भर हुन्छ र कविको कल्पनाशील परिस्थितिमा आधारित बन्छ । दुःख, आवेश, आक्रोश, क्रोध, घृणा, पीडा, हाँसो जे जस्तो अवस्थाले मस्तिष्कलाई घोच्छ, त्यही अनुसार कविताको कल्पना हुनसक्छ । जुन कुराले बढी घोच्छ, त्यसैमा कविको ध्यान केन्द्रित हुन्छ, त्यसैमा कल्पनाशीलता जागृत हुन्छ र कविता जन्मन्छ । कविताको संवेदनाको जागरण कारणवश कसैमा पनि पैदा हुन सक्छ । जसमा कविता संवेदना पैदा हुन्छ, ऊ कवि हुनसक्छ । वास्तवमा यो कला चलाख पुस्ताको हो ।
जीवनको बहुस्तरीय जटिलतालाई अभिव्यक्त गर्नको लागि युवापुस्ता शिल्पको गीतात्मक होइन, संगीतात्मक उपयोग गर्दछ । सामान्य लाग्ने घटना, संवेदना या समस्यालाई अनेकौं संवादी र विसंवादी सन्दर्भहरूबाट बुनेर युवा कविले अप्रत्याशित कविता निर्माण गर्दछ । आजका कवितामा शिल्पको युक्ति पर्याप्त पाइन्छ । शिल्पको साथै वर्णनको शैली पनि छ । आजको कवितामा आलंकारिकता जीवनको जटिलताहरू र बिडम्वनाहरूको उद्घाटनको लागि प्रयोग हुने गरेको छ । शिल्प र भाषाप्रति अत्यन्त सजग र आग्रहशील युवा कविहरू सजग पनि छन् । कतिपय कवि मर्मको बास्तविकता बाहेक अतिरिक्त वर्णन शैलीको विलक्षणताप्रति आकृष्ट छन् । यसबाट भाषाको एकरसता आउदछ, जसमा रचनात्मक उद्देश्य र व्यक्तिगत विशेषता गुमाउन पुग्दछ । जीवन सुख पनि हो, दुःख पनि हो । मान्छे सुखमा खुसी हुन्छ, हाँस्छ र दुख्दमा दुःखित हुन्छ, रुन्छ । जीवनपक्षीय कविहरू जीवनलाई सामान्यतः त्यही रूपमा लिन्छन् । जीवनलाई अनेकौं दुःख पीडा र अभावहरूले थिचिरहेको बेला त्यसबाट मुक्ति पाउनु नै प्रमुख कुरा हो । जीवन र जगतका कविहरूले जीवनको जीवनकै विषयलाई कविता बनाउँछन् । जीवनलाई नबुझ्ने वा बुझ्न नचाहनेहरू भोको पेटमा रोइरहेका जीवनलाई गिज्याउँदै प्रकृतिका कविता कोरिरहेका हुन्छन् । कविहरू स्वभावैले सौन्दर्यप्रेमी हुन्छन् । तर सौन्दर्यको बुझाइमा भने भिन्नता छ । कुन कविले केलाई सौन्दर्य मान्छ, केमा सुन्दरता देख्छ, यो कुरा कविको सोचाई, बुझाइ र हेराइमा भर पर्छ । पहिले लेखेको कविता पुरानो हुने र अहिले लेखेको नयाँ हुने भन्ने हुँदैन ।
यो सम्भव छ, वर्णनको संवेदनाबाट अलग पारेर विषयवस्तु, समय–सन्दर्भ, युग चेतना र भाषा शैलीका दृष्टिले दर्बिलो कविता सधै नयाँ हुन्छ । वर्णन स्वयं उद्देश्य हो । यदि यस्तो छ भने त आनन्द र आस्वादलाई सौन्दर्य मूल्य बनाउनु समकालीन उपभोक्तावादको नै साहित्यिक शिल्प हो । जुन कविताले जीवनलाई छुन्छ, त्यसलाई पुरानो मान्न सकिन्न । नयाँ भन्दैमा त्यसले जीवनलाई छुन सक्दैन र वर्तमान समाजसँग सान्दर्भिक पनि छैन भने त्यो नयाँ मानिदैन । जीवनलाई छुनु नै कविताको सामर्थ्य हो । कविमा भाषाले आफ्नो सिर्जनात्मक रूप गुमाएर चमत्कारमा सिमित हुन पुग्दछ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

