“बाइरोडको बाटोमा धुलो उडाउँदै …” नौबिसेबाट भैँसेतिर हानिँदा कसैले सम्झ्यो नेपाली गीत ।
मुग्लिन नारायणगढ सडकखण्डको बन्द छल्न हेटौँडा निस्केर नवलपुर जाँदै थियौँ हामी ।

त्रिभुवन लोकपथ काठमाडौं उपत्यका र तराई–मधेश जोड्ने नेपालको पहिलो सडक भए पनि पुरातन स्वरूपमै भेटियो । सडकसँग छोइएका गाउँबस्ती पनि गरिब र निर्धा नागरिकसरह देखिए । पातको साँघु हालेर गुजारा चलाए जस्तो देखिने गाउँले दिनचर्यामा कतै भेटिएन बाटोको डोबको प्रतिविम्ब । अकुत कुम्ल्याएर काठमाडौंमै सरेका धनी राजनेताहरू यो रेखामाथि गुड्छन् गुड्दैनन् ? यस्तै जिज्ञासाले मन पोल्दा आँखामा पनि झुल्किएन सुखद संयोग । फनफनी घुमिरहेका घुम्तीहरूमा पेट बटारिँदा गाउँको शिरपुछार कतै देखिएन खेतीपाती र पशुपालनको मन भुल्ने दृश्य । खोई कसरी हेर्नु रातारात कसैले रित्तो बनाए जस्तो गाउँघर !

रित्तो गाउँघर हेरेर थाकेपछि मैले आफैँलाई हेर्न खोजेँ । अस्तव्यस्त काठमाडौंले सुनसान गाउँलाई फर्केर हेर्न नसकेजस्तो भयो– आफ्नो अनुहार आफैँलाई ।

आज २०७४ सालको फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसको दिन । मुलुकमा दिवस मनाउने शैली सम्झेर फेरि बिग्रियो मन ।

निन्याउरो पहाडी अनुहार, डाँडाथुम्काको धमिलो छायाँ र तुँवालो लेसारिएको क्षितिज हेरेर टोलाइरहेँ म धेरैबेर । मौनतामा बोलिरहेथे दृश्यहरू । ती दृश्यसँग मुकभाषामै बोलिरहेथेँ म पनि । मौनतामा हुँदो रहेछ झन् बढी सम्वाद ।

थाक्रेगाउँ पुग्दा राधा र प्रज्ञाले एकैस्वरमा सोधे– “सेता फूल फुलेका बोट केका होलान् ?”

म बोल्न नपाउँदै छेवैको बहिनी बोलिथिन्– “नास्पाती ।”

भेषराज रिजाल

आकास ताकिरहेका नास्पातीका लाँकुरामा वसन्त आगमनको आभास दिँदै छपक्कै लागिरहेथे सेता फूलहरू ।

“सबै ऋतुमा फुल्ने फूल त मान्छेको मुस्कान पो रहेछ ।” फूल देखेर रमाइरहेका अनुहार हेरेर भनेथेँ मैले ।

“तिमी आउने बाटोमा फूल रोपी दिएँ तिमी आइनौँ, …” सपरिवार लुम्बिनी घुम्न निस्केका गायक डिजराज पौडेल पनि चाहनुहुन्थ्यो मान्छेको अनुहारको खुसी हेर्न । र त, गाउनुभएथ्यो आफ्नो चर्चित गीत ।

टिस्टुङ गाउँ झुल्कियो । सुनसान थियो गाउँ । अङ्गालोमा आकास बेरिरहेका सल्लेरी डाँडा हेरेर मन भुलाएथेँ ।

ससानो उपत्यका भएर फैलिएको पालुङ आइपुग्यो । मान्छे नभए जस्तो बस्तीका रङ खुइलिएका घरहरू बिझाए आँखामा । मनोरम पहाडी बस्तीको सुस्तगति चस्कियो छातीमा ।

सधैँ वसन्तले सुम्सुम्याइरहने यी गाउँपाखामा हेमन्ते सिरेटो डुलेको सम्झने परचक्री–मन मन परेन मलाई । आफ्नो मुलुकका सुन्दर गाउँघर घुमफिर गर्न छोडेर भोगविलासका खालमै रमाइरहने बुज्रुक–कर्म निको लागेन मलाई । स्वर्ग जस्तो यो मुलुकमा कति दिन पर्खेर बस्ने परदेशीलाई ?

दामनको उकालोबाट फर्केर हेर्दा भित्तैभर देखिए हिमचुलीहरू । धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णा, मनास्लु, लाङटाङ, गणेश, गौरीशंकर आदिको लस्कर हेरेर अघाएन मन । हिमसाम्राज्यमा हिमचुलीको विवाह हेर्न लालायित भएँ म । तब, हिउँकै पहिरन र हिउँकै आभूषणमा सजिएका देखिए हिमचुलीका दुलाहादुलही । हिउँकै ध्वजापताका, हिउँकै स्वागतद्वार र हिउँकै विवाह मण्डपमा सिँगारिएको रहेछ दुलही–आँगन । हिउँकै भोजभतेरमा रमाइरहेका भेटिए हरिया जन्ती पहाडहरू । सोच्छु, विवाह उत्सव हेरिरहेका मेघमण्डलले पनि आकास–लोकबाट बर्साउँदा हुन् हिउँकै फूलपात ।

रसिला पहाडहरूको लस्कर र हिउँका नवदम्पत्तिको यौवनउन्मत्त मुहार देखिने गरी तस्बिर लिन तल्लीन भएँ म पनि ।

उस्तै मोहक थियो लेकाली वनको सियाँल पोखिएको पाखो । सम्झिरहनेछु यो पहाडी बाटो, हरियो जङ्गल, नीलो आकास र रमाइला सहयात्रीहरू ।

“सहरका साँघुरा गल्लीमा ओइलाएको जीवन यी लेकाली छायाँ मुन्तिर कति बौरिँदो हो ।” खर्सुङका गाढा हरिया रुखहरू हेर्दै भनेथेँ मैले ।

करिब पच्चीससय मिटर उचाइमा अग्लिएर हिमछायाँमा पुलकित भेटियो सिमभञ्ज्याङ । हिउँले ढाकिँदा कस्तो देखिँदो हो झन्, हिउँ खेल्ने पाखातिर आँखा लगाएँ मैले । र, एउटा चिसो स्पर्शले रोमाञ्चित भएँ ।

मनमा पसेको चिसोले भने पिरोलिएँ– हिमाल र जङ्गलको छायाँले मात्र सिँगार्न सकेनछ कि सिमभञ्ज्याङलाई ? हिउँ पर्दा र गुराँस फुल्दा मात्र आउने बटुवाको मायाले पुगेनछ कि सिमभञ्ज्याङलाई ? सहरतिर सरेपछि बिर्सेछन् कि गाउँलेले सिमभञ्ज्याङलाई ?

आश्चर्यको अल्टिच्युडले झोक्राएथेँ म धेरैबेर । तुवाँलोले छेकेको क्षितिज जस्तो अँध्यारिएथ्यो मन ।
खानेकुरा खोज्दै पुगिएथ्यो एकजना बूढीआमैको पसलमा । रोटी, साग र चना खाइरहँदा दिग्दिगो लाग्यो छुट्टै गन्धको । बोसोमा पकाएको रहेछ चना । धेरैबेरसम्म छुटेन बोसोको दिग्दिगो । रिन र घिन बिर्सन गाह्रो हुन्छ भन्थे, साँच्चै रहेछ ।

बूढीआमैको व्यापार देखेर उदेक लागेथ्यो मलाई । कन्सिरीका रौँ र मनमा कुरा ठडिए पनि तिनको अनुहारको टिठलाग्दा मुजा हेरेर मरिचझैँ चाउरिएथेँ म ।

सिमभञ्ज्याङ छोडिएपछि नागबेली बाटो हेर्दै जीवनका अनेक उकाली, ओराली र देउरालीमा निमग्न भएँ म ।

प्रियजनको साथ र सहयात्राले रम्य हुँदो रहेछ जीवनपथ । प्रेमको रथमा चढेपछि खुसी, उमङ्ग र रोमाञ्चक हुँदो रहेछ जीवन–सयर । जीवनका कठिन घुम्ती र भीरहरू पनि सहज हुँदा रहेछन् । सुमधुर गीत गजल जस्तो लाग्दो रहेछ दिनचर्या ।

मेरा अनुभूति मसँगै हिडिरहेछन् खुसीखुसी । त्यसैले त लाग्छ, यो यात्रा र समय सुस्तरी बहोस् ।
“हाम्रो यात्रा अविराम छ, जीवनभन्दा पनि अनन्त र निरन्तर ।” जीवनसाथीतिर फर्केथेँ म ।

“यो यात्रा सधैँ बनोस्– सहयात्राको साथजस्तो, वेग हान्ने पङ्ख जस्तो ।” जीवनसाथीको समर्थन सुनेथेँ मैले ।

“सारथी साथै भएपछि समयको पर्वाह छैन मलाई ।” उनको हातमा हात राखेर भनेथेँ मैले ।

“उमङ्गका पलहरूले बनिरहेछ जीवन सुन्दर ।” मेरो छातीमा टाउको टेकाउँदै सुस्तरी बोलिथिन् उनी ।

“दुःखमा बितेका लामालामा वर्षभन्दा खुसीमा रमेका एकाध पलप्रति अगाध माया र सम्झना छ मेरो पनि ।” अनायासै उनको मुलायम कपालमा छिरेथे मेरा हातका औँलाहरू ।

प्रेमालापमा लठ्ठिएको थियो हाम्रो मन । समर्पणमा चुर्लुम्म थिए हाम्रा नयन । एकाकार भएर सुनेथ्यौँ हामीले मनको भजन ।

घाम, पानी र बादलको स्नेहिलो स्पर्श छ लेकाली वनभित्र । शीतल छायाँमा छोइएको दृश्य खेलिरहेछ मनभित्र । हो, यस्तै यात्रामा रमाएर युग बिताउने चाह छ मलाई पनि ।

भर्खरै आलु रोपेका बारीमा डुलाएँ नजर । नजरको ऐनामा हेर्न खोजेँ किसान र उसका मिहिन सपनाहरू । विस्तारित आँखामा कहाँबाट आयो एकमुठ्ठी छारो । आँसुले धमिलिए आँखा । त्यही धमिलोमा खज्मजियो किसानको आलुबारी र उसको सपना । म अन्योलमै रहेँ, यो देशमा किसानबाहेक अरू कसैले देख्दो हो कि उसका सुन्दर सपनाहरू ? माटोमा फुलेको किसानका सपनाहरू चोरिएका त छैनन् ?

दक्षिण मोहडाको पहाडी पाखोमा गुडिरहँदा गर्मीले बनाएथ्यो उकुसमुकुस । अनि त घरिघरि झ्याल खोलेर चिसो हावा हुल्नुभएथ्यो डिजराज । भँगेरोका जत्रा पखेँटा भए पनि चिसो हावामा कावा खाँदै बहकिएथ्यो मेरो चञ्चले मन ।

रानीभञ्ज्याङको मोडमा पानीअमलाका गाँज नभेटे पनि पहरोको विशाल छाती रसाएर मेटाइदिएथ्यो मेरो प्यास । शरीर थाके पनि रोमरोममा व्युँतिएथ्यो प्रेमिल स्पर्श । कान घाट्टिए पनि मनमा छिरेथ्यो मायालु धुन ।

तब, चिर्बिरे चरीको सुरिलो स्वर सुनियो । भरिला रुखको हरियो सियाँल भेटियो । अटल पहाडको आत्मीय उच्छ्वास छोइयो । वनेली यात्राको स्वर्गीय आनन्द भोगियो ।

बाघमाराको जङ्गलमा केटाकेटीले देखाए गुराँसका चहकिला थुङ्गा । राधा र प्रज्ञाले किने केही थुङ्गा गुराँस ।

“मेरो यौटा सानो उपहार हजुरलाई ।” राधाले मेरो हातमा थमाइथिन् एकथुङ्गा गुराँस ।

“यो भन्दा सुन्दर उपहार अरू हुन सक्दैन मेरा लागि । मेरो माया मात्र होइन, स्वदेश प्रेमसमेत छ तिम्रो उपहारमा ।” हाँसेथेँ म पनि ।

तराई झर्न लागेको पहाडको थुम्क्याइलो अनुहार हेरेर रमाएँ एकछिन । कालीटारको मलिन अनुहारसँग विरक्तिने मन थिएन मलाई । ढुङ्गेनी बाटोका घुम्तीहरूमा अल्मलिन मन थिएन मलाई । समयको खिया लागेका भैँसेका पुराना दाँत हेरेर उदेक मान्ने फुर्सद थिएन मलाई ।

महाभारत र चुरेको अङ्गालोमा फैलिएको तराई–मधेशको आँगन टेकिएपछि भने घरको सम्झना बढेर आयो ।

बाको बोली पुनरावृत्त भइरह्यो मनमा– “कि जागिर छोड, नत्र काठमाडौं छोड, … ।”

जागिरले पिठ्युँ फर्काएर कुदे पनि करिब तीनदशकदेखि अन्त कतै नहेरी पछ्याइरहेछु जागिरलाई । बाको जीवनको उत्तरार्धमा पनि बासँगै बस्न नदिने जागिरसँग झोक चल्छ कहिलेकाहीँ । फेरि सम्झन्छु, यही जागिरले जीवनयापनको उपाय सुझायो । यसैले समय, पात्र, परिस्थिति र मुलुक चिनायो । पछाडि नफर्की एकोहोरो हिँडेर आएको यो बाटो लत्याएर फेरि अर्को कुन बाटो रोजूँ ?
धर्मसङ्कटको चेपुवामा पिल्सिँदै बाआमाको वृद्ध अनुहार सम्झेथेँ । हरियाली हराएको बूढो रुखझैँ उभिएथ्यो बाआमाको अनुहार मभित्र । मनमनै भनेथेँ– “बाको वचन गल लाग्न सक्छ कुनै दिन मलाई ।”

भञ्ज्याङ नाघेर आएको बाटो गन्तब्यतिर सोझिए पनि डाँडामाथि पुगेको घामले पोखिरहेथ्यो मनै उदास बनाउने पहेँलो प्रकाश ।

बाको जस्तो मलीन सूर्य–मुहार देखेर भक्कानिएथेँ म । मन दुखेथ्यो टार्न नसकिने अनेक सांसारिक यथार्थ सम्झेर । आशाको मसिनो डोरीमा झुण्डिएर सोधेथेँ आफैँसँग – “कतिञ्जेल पर्खला डुब्न लागेको घामले ?”

डाँडाथुम्का र रुखपातमा परेको घामको पहेँलो प्रकाश सन्ध्याले मुख बाएको आकासबाट हराउँदै जान लाग्यो । मैले आँखा चिम्लेँ । रातको सङ्घारमा उभिएको मनले चित्कार गर्यो ।

मनलाई सम्झाउँदै भनेथेँ मैले – “मेरो मनबाट कहिल्यै मेटिने छैन त्यो घामको सुनौलो आभा ।”