पहिले यो गजल पढ्नुहोस्ः
यता अँध्यारो, उता उज्यालो नजिर छँदै छ
नदी छ बग्दै, बगर सुतेकै छ, तिर छँदै छ
हतार गर्ने प्रवृत्ति राम्रो हुँदैन भन्छन्
वसन्त आयो नभन्नू अहिल्यै शिशिर छँदै छ
देखावटी मात्र हो हजुर यो प्रसन्न मुद्रा
लुकाउँदै राखिएको मनभित्र पिर छँदै छ
दलाल छन् व्यस्त रातदिन, मौन बस्छ सरकार
विदेश जाने युवा प्रशिक्षण शिविर छँदै छ
भनेर मात्रै हुँदैन भन्छन् तथापि भन्छु
हजुरहरूका अगाडि मेरो जिकिर छँदै छ
चलाउने काम हो अनेकौँ विकल्प हुन्छन्
मिलेन सिम्रिक नगर्नु चिन्ता अबिर छँदै छ
अर्कान—१२१२२ . १२१२२. १२१२२
रदिफः
रदिफ गजलका लागि ऐच्छिक तत्त्व हो । काफिया र रदिफ दुवैको मञ्जुल समन्वितिले गजललाई आकर्षक र श्रुतिमधुर तुल्याएको हुन्छ । मतलाका दुवै मिसरा र अन्य सेरहरूका मिसरा ए सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ । यो काफियाको ठिक पछाडिपट्टि प्रयोग हुन्छ । अनिवार्य तत्त्व नभए पनि यसको प्रयोगले गजलको सौन्दर्य प्रसाधनमा महत्त्वपूर्ण भूमिका खेल्ने र गायनका क्रममा श्रुतिमा मधुरता समेत थपिने हुनाले अधिकांश गजलकारहरू यसलाई त्याग्न सक्दैनन् । सिकारु वा नवोदित गजलकारहरूमध्ये कतिपयले त रदिफलाई नै अनिवार्य तत्त्व ठान्दछन् । बरु उनीहरू काफियालाई महत्त्वव दिंदैनन् । वस्तुत: बुझ्नै पर्ने कुरा के हो भने काफिया विनाको गजल बन्नै सक्दैन, तर रदिफविना गजल बन्न कुनै व्यवधान उत्पन्न हुँदैन । रदिफको प्रयोगको आधारमा रदिफ प्रयुक्त गजललाई मुरद्दफ गजल र रदिफ प्रयोग नभएको गजललाई गैर मुरद्दफ गजल भनिन्छ । तपाईंले भरखरै माथि पढेको गजल मुरद्दफ गजल हो । यसमा प्रयोग भएको छँदै छ रदिफ हो । गजलमा एकदेखि तीन शब्दसम्मका रदिफ राम्रो मानिन्छ । एउटा शब्दको रदिफलाई एकल रदिफ र एकभन्दा बढी शब्दका रदिफलाई बहुल रदिफ भन्न सकिन्छ ।
तहलिली रदिफः
काफिया बन्धनका पछाडि जोडिएर आउने विभिन्न खालका प्रत्यय, नामयोगी र विभक्तिहरू तहलिली रदिफ अन्तर्गत पर्दछन् । तलको गजल हेर्नुहोस् त । यस गजलमा सफर, सहर,नजर आदि काफिया हुन् भने यिनका पछाडि जोडिएको मा तहलिली रदिफ हो ।
छोडेर गाउँबस्ती निस्केँ म जब सफरमा
गन्तव्यविन्दु खोज्दै आखिर पुगेँ सहरमा
पृथ्वी छ गोल भन्छन् भूगोलशास्त्र पढ्ने
चेप्टो छ जस्तो लाग्यो तर यो मेरा नजरमा
संस्कार फेरिँदै छन्, आकार बद्लिँदै छन्
नवसभ्यता पसेको देखिन्छ गाउँघरमा
उल्टो भएछ नतिजा पक्कै यथार्थ बुझ्दा
मैले जितेर हारेँ भन्दै छ ऊ समरमा
एक्लै नहिँड्नु भन्ने आदेश आउँदै छ
छर्नेहरू यहाँ छन् सन्त्रास हर डगरमा
बाढी प्रकोपका छन्, छन् युद्धका वृतान्त
पाइन्न सुन्न खासै राम्रा कुरा खबरमा
भाषण गरे मजाले झगडाविरुद्ध जसले
बेमेल रैछ उनकै परिवार बीच घरमा
अर्कान—२२१. २१२२—२२१. २१२२
(निभेका शिखाबाट)
केही प्रश्नहरूः
रदिफ भनेको के हो ? यो गजलका लागि कस्तो तत्त्व मानिन्छ ?
रदिफ प्रयोग भएको गजललाई के भनिन्छ ?
रदिफ र तहलिली रदिफमा के फरक छ ?
एकल र बहुल रदिफ भन्नाले के बुझिन्छ ?
काफिया र रदिफमा के भिन्नता छ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।