दैलेख जिल्लाअन्तर्गत नेपाली भाषाको सर्वप्राचीन नमूना अभिलेखसमेत रहेको द्रोणाचलको दुल्लु नजिकै पर्ने वडलम्जीका श्री रामकृष्ण आचार्य ‘विशेष्य’ विद्यार्थीकालमा नै ‘सर्वोत्तम अनुसन्धान पुरस्कार २०७०’ प्राप्त गर्न सफल साहित्यकार हुनुहुन्छ । वि.सं. २०६० भन्दा पूर्व नै जिल्लाव्यापी निबन्ध प्रतियोगितामा पुरस्कार जित्न सक्षम आचार्यको साहित्यिक रचनाको प्रारम्भ निबन्ध विधाबाट भएको भेटिन्छ । उहाँको प्रथम प्रकाशित रचना भने कविता हो । आचार्यले नेपाली साहित्यका क्षेत्रमा थुप्रै कृति पत्रपत्रिकामा प्रकाशन गर्नु भएको छ । अनेकौँ पत्रपत्रिका तथा कृति सम्पादन गर्नु भएको छ ।

यसरी नेपाली साहित्यका विविध विधामा कृति प्रकाशन गर्न सफल साहित्यकार आचार्यका सबभन्दा रुचिपूर्ण क्षेत्र उही प्राक्सभ्यताको घुम्तीमा घुम्न रत्तिएका गाउँ सहरभन्दा टाढा रहेर पनि रमाउन जानेका आदिम जीवनका प्रतिनिधि राउटेहरूको अर्धमुदित जीवनको यथार्थ धरातलमा आधारित कथा लेखन रहेको देखिन्छ । यस कुराको प्रबल प्रमाण उहाँका प्रकाशित कथाकृति र प्रकाशनको उद्याचलमा झुल्केको प्रकाश बिम्बजस्तै मोहक प्रस्तुत कथासङ्ग्रह हो । यसबाट स्पष्ट हुन्छ आचार्यको प्रस्तुत कथासङ्ग्रह नेपाली साहित्यका प्रख्यात र प्रखर साहित्य–प्रतिभाले समेत नपहिल्याएका र अझै सर्वसाधारण जनताको दृष्टिलाई अज्ञानताको कुहिराले छोपिराखेको तथा अनकन्टार जङ्गलका छाप्रा र ओडारमा आफ्नै किसिमको रमाइलो जिन्दगी बिताउन रुचि राख्ने आफ्नै किसिमको विचार र मान्यताको परिपथमा परिक्रमा गर्ने, नितान्त बेग्लै भएर पनि विषादविनिर्मुक्त अलिखित जीवनको विविध पाटाका जीवन्त चित्रण हो ।

यस कथासङ्ग्रहमा कथाकारले अद्यापि आखेट युगबाट कृषि युगमा समेत प्रवेश नगरेका जङ्गललाई राज्य मान्ने र आफूहरूलाई जङ्गलकै राजारानी मान्दै जङ्गल–जङ्गल चहारेर र घुमन्ते जीवन बिताउन रुचाउने राउटेका रहस्यमय तथा रोमाञ्चक जीवनको पर्दा उघार्नु भएको छ । यस सन्दर्भमा कथाकारले हाम्रो देश नेपाल र विश्वपरिवेशमा समेत अनौठो मानिने अचम्मलाग्दो वन्यसन्ततिका जीवनचक्रको परिक्रमा गरी तिनका विस्मयावह अपूर्व परिघटना र परिदृश्यका झाँकीहरू पनि यहाँ सरल भाषामा तर अतीव गम्भीर तवरले प्रस्तुत गर्नु भएको छ ।

साहित्य रच्ने कवि र उज्यालो छर्ने रवि दुवैले नभेट्टाउने गरी घना जङ्गलमा रम्ने राउटेहरूकहाँ पुगेर कथाका माध्यमद्वारा उनीहरूको वैचित्र्यपूर्ण जीवनको संवेदनशील र अमुखरित पक्षको समुद्घाटन गर्न कथाकार आचार्यले यस कथासङ्ग्रहमा २० वटा शीर्षकका कथाहरू समाहित गर्नुभएको छ ।

‘मुखिनीको मृत्यु’ कथामा कथाकारले राउटेको जीवन पद्धतिमाथि सिंहावलोकन गर्दै तिनका सुख, दुःख, लज्जा, भय, त्रास तथा जीवनचर्यामा प्रकाश पारी राउटे मुखियाकी पत्नीको मृत्युमा ती वनवासी राउटेको सारा बस्ती नै शोकमग्न रही बस्ती नै छाड्ने भावपूर्ण प्रथाको आलेख प्रस्तुत गरिएको छ ।

‘अँध्यारो यात्रा’ कथामा गाउँघरमा बस्ने मान्छे जङ्गलमा बसे राउटेको अधिकार हनन हुने सोच उनीहरूमा भएको भाव व्यक्त भएको छ । ‘राउटे जागरण’मा वनवासी राउटे मुखियाको शोषण र अचाक्लीप्रति विद्रोही बनेको उदाहरण प्रस्तुत गरिएको छ । दासता र शोषण कहीँ पनि नटिक्ने तथ्यलाई उजागर गरिएको छ । ‘हृदयको आवाज’मा राउटेका तर्फबाट ‘हार खाएर जिन्दगीलाई नमार, समाजसँग मुकाबिला गर, अन्यायको भण्डाफोर गर’ भन्ने सन्देश दिएर अन्त्य भएको छ । ‘राउटेको मगनी’ कथा निकै रोचक भेटिन्छ । यसले राउटे बस्ती र संस्कृतिको सुन्दर झाँकी प्रस्तुत गरेको छ र अहिलेसम्म अनालोकित विषयमा आलोक छरेको छ । ‘राउटे पूजा’ कथामा राउटेले गर्ने पूजाप्रति फैलिएको भ्रमलाई चिरेको पाइन्छ । ‘बासी समाचारः राजधानीमा राउटे’मा आधुनिक परिवेशले राउटेको जीवन पद्धतिमा पारेको प्रभावको चर्चा गरिएको छ ।

प्रा.डा. रामचन्द्र लम्साल

‘दर्शन र राउटे’ कथामा राउटेको जीवनचर्या राम्ररी अध्ययन नगरी जेमा पनि राउटेको उदाहरण दिने समाजका प्रतिनिधिमाथि सूक्ष्म व्यङ्ग्य गरिएको छ । ‘विसङ्गत जीवन’मा राउटे महिलाको चरम दुःखानुभूतिको गहन चर्चा गरिएको छ । ‘निर्वस्त्र छाउ’ कथामा राउटे समाजमा पाइने छाउपडी प्रथाको कारुणिक तथा दुःखान्त परिणाम देखाइएको छ । ‘सम्पादन’ कथामा वनवासी राउटे र गाउँघरवासी सामान्य जनताको अनुभूतिमा समानता भए पनि संस्कारमा राउटे आफ्नो परम्परा छाड्न तयार नहुने दृढता देखाइएको छ ।

कथाकारले राउटे ‘र’ कथामा ‘र’ अक्षरलाई राउटेको प्रतीक देख्ने एउटा बालकको मनोविज्ञानलाई प्रस्तुत गर्नुभएको छ । ‘राउटे नाच’ मा राउटे जनतामा रहेको अनुशासन र मुखियामा रहेको अहन्ताको पोल खोलिएको छ । ‘बलात्कृत विधवा’ मा भाउजू बेहोर्ने चलनलाई अनौठो किसिमले प्रस्तुत गर्नुभएको छ । ‘राउटे र डर’ मा ठूलो मान्छे होइन असल मान्छे बन्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । ‘अनौठा मान्छे अनौठो गुण’ मा राउटेका अनौठा विशेषताका बारेमा चर्चा छ ।

पानीको अनौठो गुण पढाउँदा गुरुले शिष्यप्रति गरेका अभद्र व्यवहारको स्मरण गरिएको छ । ‘जङ्गली प्रेम’ मा युवायुवतीको आकर्षण, प्रेम र समर्पण जस्ता विषयलाई अगाडि सारिएको छ । विवाह पहिलेको शारीरिक सम्बन्धलाई अवैध मानिएको छ । विवाहपूर्व शारीरिक सम्बन्ध राख्न खोज्ने पात्रलाई चारपाटा मोडेर राउटे बस्ती घुमाइएको छ । ‘आदिमानव’मा कथाकारले सिडियोको डायरीलाई प्रस्तुत गर्नुभएको छ । अनुमतिविना सिडियोको डायरी पल्टाएकामा क्षमा पनि माग्नुभएको छ ।

समग्रमा यस सङ्ग्रहका कथाहरूलाई परिक्रमा गरी दृष्टिगत गर्दा के प्रतीत हुन्छ भने यी कथाहरूको उद्भवभूमि अझै कवि कलाकारको अपेक्षित दृष्टिगोचरभन्दा पर रहेको अतीव अनुपेक्षणीय मौलिक सृजनभूमि हो । यहाँ कथाकारले ती सीमान्तकृत यायावरीय आदिम जनजातिको जीवन धराको विचरण गरी तिनको जीवन पद्धतिलाई निरीक्षण गर्दै अनि तिनका दुःख– सुख, रोदन–हाँसो, भय लज्जा तथा दिनचर्या आदि सूक्ष्म पक्षको कथात्मक अभिलेख तयार पार्नुभएको छ । मलाई लाग्छ, यस सङ्ग्रहका यी कथाले अवश्य नै पाठकलाई अँगालो मारेर त्यो लोकमा भ्रमण गराउने छन् जुन कौमार्यस्थलका रूपमा अझै कौतूकमय रहेको छ ।

अर्को कुरा, यो कथासङ्ग्रह विषयवस्तुका दृष्टिले मात्र होइन, पात्रविधानका दृष्टिले पनि विलक्षण छ । यस सङ्ग्रहका कथामा सदैव सक्रिय बनेर सल्बलाउने पात्र हाम्रै समाजभित्रका भए पनि हामीभन्दा धेरै पर कुनै नयाँ द्वीपका बासिन्दा जस्ता प्रतीत हुन्छन् । यी पात्र रातोदिन अभावै अभावले थलिएका छन्, तर पनि तिनीहरू धन दौलत, खसीबाख्रा आदि चोरी गर्न गाउँघर पस्दैनन् र कसैको अन्नबालीमा समेत नोक्सान पार्दैनन् । तिनीहरू आफ्नै वन्य द्वीपमा घुम्छन् र जे जति भेट्टाउछन् त्यसैमा जीवन निर्वाह गर्छन् र त्यसैमा उनीहरूको जीवनयात्रा चलायमान छ । त्यसबाहेक उनीहरूलाई चाडपर्व मनाउन र जन्म, विवाह, मृत्यु आदि उनीहरूका संस्कारमय कृत्य सम्पादन गर्न विशेष खाद्यान्न खसी, रक्सी, जाँड आदि चाहिएमा उनीहरू वनका काठबाट मदुस, कोसी तथा अन्य काष्ठकलाका सामान बनाएर गाउँ पस्छन् र तिनलाई विक्री वा विनिमय गरेर आपूर्ति गर्छन् । यस कथासङ्ग्रहमा ती वन्यसन्तति राउटेको त्यस किसिमको प्राकृतिक, सरल र निच्छल जीवनका व्यापक र विविध पक्षमा प्रकाश पार्ने तिनका क्रियाकलाप प्रस्तुत गरेर कथाकारले नौलो जीवन पद्धति अँगालेका मान्छेहरूको विविध पक्षसँग पाठकलाई परिचित गराएर ज्यादै नौलो र गहिरो अनुभूति प्रदान गर्नुभएको छ जुन अतीव प्रशंसनीय कार्य हो ।

यति मात्र होइन, यस कृतिमा कथाकार विरलै मात्र पाठक परिचित हुने राउटेको आश्रयस्थल जङ्गल र त्यसको परिवेशलाई प्रस्तुत गरेर पाठकहरूलाई ताजुव पार्न निकै सफल बन्नु भएको छ । यो पनि कथाकारको अनन्य वैशिष्ट्य हो ।

यस कथासङ्ग्रहमा अर्को अवद्येय पक्ष के हो भने यसमा सङ्ग्रहित कथाहरूले अँगालेका विविध पाटाहरू यस्ता छन् जसको जानकारी कथाकारमा जति छ त्यति अन्यमा हुन कठिन छ । त्यसैले पनि यस सङ्ग्रहका कथाहरू नितान्त नयाँ, ज्यादै मर्मस्पर्शी, अनुसन्धानमय र अतीव मननीय तथा नूतन क्षितिजमा समुदित पाइन्छन् । यस कथासङ्ग्रहको यो पनि अर्को अन्यत्र अचर्चित किन्तु यहाँ चर्चा गरिएको अत्यन्त प्रशंसनीय पक्ष हो ।

यसरी यस कथासङ्ग्रहलाई समन्ततः परिक्रमा गर्दा के प्रतीत हुन्छ भने यी कथाहरू राउटे जीवनका विविध आयामलाई केलाएर नयाँ लोकको अनालोकित बहुविध पक्षमा नवालोक प्रदान गर्ने कथाकारले सँगालेका यथार्थ पात्रसँगको जीवन्त क्रियाकलापसित सम्बन्धित सृजनात्मक अभिलेख हुन् जसले प्रसादमय अभिव्यक्तिका रूपमा प्रकटित भएर लेखकका निम्ति जति सुखद सन्तुष्टि प्रदान गर्न सफल भएका छन्, पाठकका निम्ति पनि त्यति सुस्वाद्य अनुभूति सञ्चार गर्न सफल भएका छन् । यस कथासङ्ग्रहमा सङ्ग्रहित यी कथाहरू हृदयस्पर्शी बुनोटमा विरचित, नूतन क्षितिजका आविष्कारक, नौलो जीवनका समुद्घाटक, नितान्त नौलो र मनोहारी परिवेश पस्कने कथाकारको गहिरो अनुभूतिलाई अङ्कित गरी कथाकृतिको रचनात्मक कौशल झल्काउने आख्यात्मक उत्कृष्ट आलेख ठहर्छन् र अनालोकित जीवनको उज्ज्वल आलोक प्रतीत हुन्छन् ।