
बजारमा पुस्तकहरू आइरहन्छन् । आएका सबै पुस्तक सबैका लागि उपयोगी हुँदैनन् । पाठकहरूको आआफ्नो रुचि हुन्छ, सबै पुस्तक सबैका लागि रुचिकर हुँदैनन् र रोजाइमा पनि पर्दैनन् । सबैका लागि उत्तिकै रोचक लाग्ने र पठनीय एउटा कृति हालैमात्र बजारमा आएको छ त्यो हो ‘मेरी उनी र म’ ।
रामप्रसाद कोइरालाद्वारा लिखित तथा घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित यो पुस्तक लेखकको आत्मवृतान्त हो । यसमा लेखकको जीवनमा घटेका घटना र भोगाइको संस्मरण छ ।
पुस्तकको भूमिका कुलचन्द्र गौतमले लेखेका छन् जो लामो समय संयुक्त राष्ट्रसंघमा सेवा गरेका व्यक्ति हुन् । पदीय हिसाबले गौतम युनिसेफका पूर्व सहकार्यकारिणी निर्देशक र लेखक युनिसेफमै लामो समय सेवा गरेर निवृत्त भएका व्यक्ति हुन् । गौतमले आफ्नो भूमिकामा पुस्तकका बारेमा धेरै कुरा लेखेका छन् ।
गौतम लेख्छन् ‘सामान्य र सरल नेपाली भाषा र शैलीमा लेखिएको यस वृतान्तमा लेखकले आफूलाई खुलस्त र निष्कपटपूर्ण तरिकाले प्रस्तुत गरेका छन् । आफ्ना भावना र अनुभवलाई क्रमबद्ध गर्न उनले गद्य र पद्य दुबैको सहारा लिएका छन् जसले गर्दा यस किताबलाई अरू भाषामा अनुवाद गर्न गाह्रो होला तर यसले साहित्यिक भाव भएका नेपाली पाठकहरूलाई मन्त्रमुग्ध गराउँछ ।’
यसैगरी पुस्तक पढेर प्रतिक्रिया जनाउने आख्यानकार महेशविक्रम शाहले ‘आख्यानको सुगन्ध समेटिएको गैरआख्यान’ शीर्षकमा यस पुस्तकको बारेमा विस्तृत रूपमा लेखेका छन् । शाह लेख्छन् ‘म र मेरी उनीमा लेखकले आफ्नो जीवनगाथाको माध्यमबाट नेपाली महिलाहरूमाथि हुने व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक विभेदको वास्तविक तस्बिरलाई उजागर गरेका छन् ।’ उनी भन्छन् ‘आफ्नो जीवन वृतान्तमा लेखकहरू प्रायः आफ्ना कमजोरीहरू लुकाएर राम्रा कुराहरूको मात्र पक्षपोषण गर्दछन् । तर यस मानेमा यस ग्रन्थका लेखकले आफूलाई ओभानो सावित गरेका छन् । आफ्नी हजुरआमाबाट प्रदत्त शिक्षालाई जीवनको मार्गनिर्देशक सिद्धान्तका रूपमा ग्रहण गरेका लेखकले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो इमान र जबानलाई डगमग हुन दिएका छैनन् ।’ शाहको एउटा महत्त्वपूर्ण धारणा के पनि छ भने ‘यदि लेखकले आफ्नो जीवनगाथालाई आख्यानको रूप दिएको भए यो एक सुन्दर उपन्यास हुने थियो ।’
कमल रिजालसमेतका अन्यले पनि पुस्तकलाई मन पराएर आफ्नो प्रतिक्रिया जनाएका छन् । रिजाल लेख्छन् ‘मूलतः प्रस्तुत पुस्तक आत्मवृतान्त हो, उपन्यास होइन । उपन्यास कल्पनाप्रधान हुन्छ आत्मकथा घटनाप्रधान ।’ शाह र रिजालका यी भनाइबाट कृतिमा आख्यानको स्वाद छ भन्ने प्रष्ट हुन्छ ।

विनोद नेपाल
लेखक स्वयम्ले लेखकीयमा आफ्ना कुरा प्रष्ट रूपमा राखेका यस कृतिमा लेखकको पारिवारिक पृष्ठभूमि र जीवनका उकाली ओरालीका बारेमा मात्र उल्लेख गरिएको छैन हाम्रो तात्कालीन सामाजिक–पारिवारिक परिवेश, सामाजिक मान्यता र विश्वासहरू अनि समाजमा रहेको लैङ्गिक विभेद आदि बारे पनि उल्लेख गरिएको छ । कतिपय घटना यस्ता छन् जसले पाठकलाई भावुक बनाउँछन्, थाम्दाथाम्दै पनि आँसु रोकिन्नन् ।
‘उनी’ शब्द झट्ट सुन्दा पत्नी वा प्रेमिका सम्झना सकिन्छ । तर यस पुस्तककी ‘उनी’ लेखककी हजुरआमा हुन्, जो लेखकको जीवन-आदर्श हुन् ।
लेखककी हजुरआमा समाजसेवी हुनुहुन्थ्यो । आफूले पनि युनिसेफमार्फत् खानेपानी र सरसफाईका क्षेत्रमा विश्वका विभिन्न मुलुकमा पुगी सेवा गर्न पाएको र त्यो उहाँकै रुचिको क्षेत्र भएकोमा लेखक सेवाका लागि सन्तुष्ट छन् । आफ्नी हजुरआमाकै पदचिन्ह अनुसरण गरेको बताउने लेखकमा आफ्नो कर्मप्रति सन्तुष्टि छ ।
यो कृति पढ्दा लेखकका अनुभव र अनुभूतिको रसास्वादन सँगै लेखकसँगै विश्वका थुप्रै मुलुक घुम्न पाइन्छ । यस पुस्तकले जीवन सङ्घर्ष हो मात्र भन्दैन यसले हरेकलाई कर्ममा लाग्न उत्प्रेरित गर्छ । पुस्तकले निराशा र नकारात्मकताबाट मुक्त हुनुपर्छ, जस्तोसुकै अप्ठ्यारो आइपरे पनि सकारात्मक सोच, निष्पक्षता र दृढतासाथ आफ्नो कर्ममा लाग्नुपर्छ, सफलता सुनिश्चित हुन्छ भन्ने सन्देश दिन्छ ।
पुस्तकका सामग्रीका बारेमा धेरै लेख्नु उचित हुँदैन, कौतुहलसम्म जगाउने हो टिप्पणीकारले । भित्रका सामग्री यस्तो उस्तो भनिदिन थाल्यो भने पाठकले पढ्नु आवश्यक नै हुँदैन, यसैले यो भन्दा धेरै नलेखौं पढ्नुस्, यसमा हाम्रो सामाजिक परिवेश बोलेको छ , लेखकले हाम्रै समाज, हाम्रै परिवार अनि हामी मध्ये कतिपयका भोगाइ नै लेखेका महसुस हुनेछ ।
यो पुस्तक पढ्दै गर्दा पङ्तिकार पुस्तकमै हरायो, यहाँहरू पनि हराउनुहुनेछ । पढ्नुस् धेरैकुरा जान्न, बुझ्न र सिक्न पाइन्छ । जीवन के हो ? सफलता कसरी प्राप्त हुन्छ ? आत्मसम्मान कसरी कायम गर्नुपर्छ ? जस्ता कुरा यस पुस्तकको अध्ययनबाट सिक्न सकिन्छ । यसैगरी पारिवारिक सद्भाव कसरी कायम राख्न सकिन्छ ? समाजमा व्याप्त कुरीति, बेथिति र विसङ्गतिहरू कम गर्दै सामाजिक न्याय, सहयोगको हकमा मानिस जोसुकै पनि काम लाग्छ भन्ने खालको कुरा पनि यस पुस्तकले देखाएको छ ।
भाषाशैली साधारण छ, विषयवस्तुको प्रस्तुति रोचक छ, यसर्थ पुस्तक समाएपछि छाड्न मन लाग्दैन । ४५६ पृष्ठको यस पुस्तकको मूल्य रु.७५०।– केही महँगो लागे पनि यस पुस्तकले जुन सन्देश बोकेको छ त्यसका दृष्टिले यो बढी होइन भन्ने लाग्छ । ‘मेरी उनी र म’ कुनै काल्पनिक कुरा र आफ्नै मात्र बढाइचढाइ नगरिएको एउटा भिन्न आत्मसंस्मरण कृति हो । यो प्रेरक,पठनीय र सङ्ग्रहणीय समेत छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

